५५ वर्षअघिको पारिजातसँगको त्यो कुराकानी
सिसल एक प्रकारको रुख हो, जो कडा र रुखो भएको कारण सबैले चिन्दछन् । यता सिसल एक जना नारीको नाम पनि हो । सिसल सौम्य छिन्, नरम अनि लयालु भावनाहरूले लैस सिसल एउटी अद्भुत नारी हुन् ।
फुलहरूको फुलाई अनि फक्राई नै जीवनको मूलभूत र एउटा मात्र उद्देश्य हो । सिसल के हावाहरूलाई वहने अधिकार छैन ? हावाहरूलाई पनि विश्वास गरिदेऊ न सिसल, प्यारी सिसल हावाहरूलाई आफूमा स्वीकार गरेर हेर न । यस जनावरमय विश्वमा हुर्किएर तिमी पनि त एउटी जनावर भएकी छौ सिसल, केवल एक पटकका लागि जे हुन्छ हुन देऊ सिसल, तिमी हावासरि बहिदेऊ शायद त्यसपछि तिमी कहिल्यै रुन पर्ने छैन ।
के तिमी मलाई माया गर्दछौ?
कस्तो अर्थहीन प्रश्न हो यो ? मेरो माया पर्याप्त छ र ? पक्कै छैन नि ।
त्यसो भए तिमी मलाई विवाह गर्नेछौँ हैन त ?
हेर म त्यस पुरुषसँग विवाह गर्नेछु जसलाई मैले पहिल्यै कहिले देखेकी छैन । त्यस पुरुषले विवाहको रात नै मलाई आफ्नो निर्दयीपना र मायालु भाव दुवै प्रमाणित गरेर देखाउनु पर्नेछ बुझ्यौ । उसले मेरो मानसिकता बुझ्ने सम्म पनि प्रयास गर्यो भनेँ उ सदाका लागि हार्नेछ । हाहा अब त तिमीले बुझ्यौ होला नि ? म मायामा विश्वास गर्दिन , पटक्कै गर्दिन ।
सिसल
हेर मैले विवाहको महत्त्वलाई आत्मसाथ नगरेकी हैन तर म विवाहको नाममा आत्मसमर्पण गर्न चाहन्न ।
सिसल यो त तिम्रो हो यो केवल मेरो व्यक्तिगत निष्कर्ष हो ।
रूपरेखा पत्रिकामा प्रकाशित एक कठिन निष्कर्ष कथाको एक अंश जो पारिजातको कलमबाट निस्केको हो ।
र यस निष्कर्षमा म पारिजातको जीवनको रूपरेखा नै पाउँछु । म पेसाले लेखक, मेरो नाम सुयोग शब्द आफैमा पारिजातको शिरीषको फूल पुस्तकको मुख्य पात्रको नाम वाट साभार गरिएको हो । म मेरो नाम र सर्वनाम दुबैमा पारिजात पाउँछु, म सुयोगवीरको सुयोगका अंशका रूपमा पारिजातको कलम र मसीले आफूलाई सदैव भिजाएको पाउँछु ।
विवाहप्रति पारिजातको विचार खरो थियो, उनी कसैको लागि विवाहका नाममा आत्मसमर्पण गर्न नचाहने तर्क राख्दै मानवताको बिम्ब प्रयोग गर्दथिन । विवाहको नाममा एकले अर्कालाई शरीर सुम्पने चलन मात्र को विरुद्ध रहेकी पारिजातमा एक प्रकारको सुपेरियटी कम्प्लेक्स नै थियो शायद ।
पारिजातले आफ्नो प्रेम प्रसगंलाई एउटा रहस्य नै बनाएर गइन, हुन त समकालीन भूपी शेरचन, मदन रेग्मी लगायत अन्य केहीहरूको नाम पारिजातसँग नजोडिएका त हैनन् तर ती नामहरू केवल साथीका रूपमा मात्रै रहे । शायद उनीहरुसगं पारिजातले चाहेको गुणहरु थिएन या त प्रेमको गुरुत्व वलले पारिजातलाई त्यता तानेन ।
पारिजातले पटक पटक भनेको वाक्य, मलाई मानिसहरू सर्वश्रेष्ठ प्राणीहरू हुन भन्ने कुरामा चाहिँ विश्वास लाग्दैन शायद त्यसैले होला म कुकुर र मान्छेलाई सरोवर देख्दछु । कारण के भनेँ मलाई धेरै पटक मान्छेले मान्छे नभएको झैँ झुक्क्याएका छन् ।
एक फेर एक जना पङ्क्तिकारले पारिजातलाई सोधे, पारिजात जी किन तपाईँ आफ्ना कथा र पात्रहरू बाट बाहिर निस्कनु हुन्न ?
पारिजात त्यसै गरी बसेकी थिइन जसरी शिरीषको फुलमा सुकन्या बस्थिन, त्यस्तै झ्यालमा बसेर बुनिएका कुशन र केही थान बुनाई का काँटाहरू पारिजात र पङ्क्तिकारका बिचमा थिए ।
पारिजातको उत्तर थियो
मेरा कुनै पनि रचनाहरू मेरा जीवनगाँथा बयान गर्न लेखेकी हैन तर साकम्बरी, सिसल र सुयोगवीरले मेरा भावनाहरू बोल्दछन् । उनीहरूको जीवन र मेरो जीवन दर्शनमा म कुनै फरक नै पाउँदिन ।
यति भनेपछि पारिजात केही बेर चुप लागिन अनि पङ्क्तिकार पनि ।
पारिजातको कोठामा एउटा केटा केही फुलहरू साथमा लिएर छिर्दछ । उसलाई थाहा छ कि पारिजातलाई फुलहरू मन पर्दछ । पारिजात एउटा यस्ता फुलको नाम यी लेखिकाले चुनिन जुन झरेपछि मात्र चढाउन योग्य कहलाउँछ, त्यो फुल जुन महाभारतमा अर्जुनले कुन्तीलाई भेट गर्दछन् ताकि कुन्तीले ती फुलहरू महादेवलाई अर्पण गर्न सकुन् ।
तर यी पारिजातको कोठामा भनेँ कमल र सर्वदा फुल मात्र देखियो, फुलहरू कुनै विशेष साजसज्जाका साथ थिएनन् र त्यहाँ केही थान कमल, केही थान सर्वदा र एउटी सग्ली पारिजात थिइन् ।
पारिजात पछिल्ला समयमा धेरै पलहरू एक्लै बिताउँथिन, बाथ रोगले उनलाई कैदी बनाएको थियो । ठुलो भित्ता अनि झ्यालबाट देखिने लामो बाटो, पारिजातका दैनिक देखिने दृश्यहरू थिए । सिंहदरबार भित्रका ठुला रुखहरू, ती रुखका वसन्त सहयात्री चरा अनि फुलहरू पनि देखिन्थे वसन्त ताका । त्यस कोठाबाट पारिजातले आफ्ना कथा, कवितामार्फत धेरै उडानहरू भरिन, आजसम्म पनि हामी पढ्दैछौं ।
पारिजातको डायरीमा बहिनी सुकन्याका लागि यी शब्दहरूले यिनको जीवन अवस्था चित्रण गर्दछ । मेरी कान्छी बहिनी सुकन्या साहित्य र राष्ट्र प्रेमको भावनामा पागल झैँ भएकी छे । उ आफू हुनुभन्दा पनि मेरो अवस्थितिलाई अझ गहिरो रूपमा मेरो प्रतिनिधित्व गर्न सक्दछे । म जो यस्ती मान्छे हुँ जो माया र निर्भरतालाई जीवनभर घृणा गर्दै आएँ आज मेरी बहिनीका लागि माया र उपचारका लागि एउटी परजीवी दिदी नै भएकी छु ।
पारिजातको डायरीमा लेखिएको अर्को मन छुने कुरा । मैले आफूभित्रको भय भुलाउनका लागि लेख्न थालेँ, अनि लेख्दै गएँ । समयसँगै पारिजातको धर्मप्रतिको धारणा परिवर्तन हुँदै गयो, उनले गीता, कुरान र बाइबलको अध्ययन गरेपछि भनेकी एउटा वाक्यांश यस्तो थियो ।
धर्म एउटा अनुभव हो जसको कुनै पहिचान छैन । बहुतै गहिरो अर्थ बोकेको यो भनाई मा पारिजातको धर्म प्रतिको बढ्दो उदारता र आत्मिक आत्मसाथ झल्केको छ ।
तपाईँलाई के लेख्न मन पर्दछ, कविता या कथा ?
पारिजात सहज उत्तर दिँदै : कविता
हुन त शिरीषको फुल भ्रम र चुम्बन मै ओईली झर्दछ यस हरफमा नै समग्र कथा अटाएको छ, सारांश समेत ।
सेप्टेम्बर ७ सन् १९७३ मा यस अन्तरवार्ता लिइएको थियो । उत्तम कुँवर जी ले लिनुभएको यस अन्तरवार्ता रेकर्ड नेपालमा अङ्ग्रेजी भाषामा प्रकाशित छ ।
सुयोग ढकालले अनुवाद र परिपेक्ष्यकृत गर्नुभएको ।
Liked by: