प्रधानमन्त्री के. पी. ओलीको प्रतिनिधि सभामा गरेको भाषणको रेकर्ड सुन्ने अवसर मिल्यो । आफूलाई अहिलेका नेताहरूमा अलि भरोसा भएको नेता ओली नै लाग्ने भएकोले भाषणको अवधिभरि डर लागिरह्यो ता कि कतै हौसिएर बोल्दा न चिप्लियून ! आफूलाई मनपर्ने खेलाडी, कलाकार, नेता, आफन्त या विदेशमा बस्दा कुनैपनि नेपाली कुनै ठाउँमा चिप्लिएला वा केही अस्वाभाविक गर्ला भनेर डर लागि रहन्छ । मलाई फुटबल मनपर्छ र खेलाडीमा मेस्सी । मेस्सीले हार्दा त दुख हुन्छ नै तर खेलमा पनि उसको स्तरसँग नमिल्ने कुनै गल्ती गरि हाल्छ कि भनेर खेल अवधिभरि डर लागि रहन्छ । उसले गरेको गल्तीको अपजस आफैलाई मिल्छ झैँ लाग्छ । सायद त्यसैले गर्दा पनि होला राजनीतिमा आफूलाई फुटबलमा जस्तै लगाव नरहोस् भन्ने लाग्छ, हैन भने त हरेक पटक त्यो अपमान, त्यो पिडा झेल्न कमसेकम म मा त्यो शक्ति छैन।
एक समय ओली मेरा मन नपर्ने मध्येका एक नेता हुन् । मन नपर्दा उनी कति सम्म छुच्चो देखिन्छन् भन्ने पनि थाहा छ मलाई । उनको अभिव्यक्ति कति नमीठो लाग्छ, उनलाई घृणा गर्नेहरुको प्रतिक्रिया हेरेर अहिलेपनि म अनुमान गर्न सक्छु । त्यसै खगेन्द्र संग्रौला उनको विरोध गर्न पाउँदा आफ्नो धोती खुस्किएको थाहै नपाई त्यति धेरै उफ्रिने गरेका होइनन् ।
भेट्ने अवसर त अरूको पछि लागेर २ चोटिसम्म भएको हो, त्यो पनि हुलमूलमा । तर उनका कुरा अरूबाटै अझ आफ्नै दाई बाट सुनेपछि मेरो धारणा अलि परिवर्तन हुँदै गएको हो । अहिले भने राजनीतिज्ञमा कोही भेटौं भन्ने लाग्दा उनी नै पहिलो नम्बरका राज नेता होलान् । फेरी यो आकर्षण भने ओलीका पानी जहाज, ग्याँस वा रेलका सपनाहरू या यीनका उखान टुक्काको प्रभाव भने होइन ।
भाषण सुन्दा त्यस्तो केही भएन, तर अरू नेताहरूको अनुहारतिर भने मौका मिल्दा हेरि राखेँ । उनले गरेका कुराहरूले आफ्नै पार्टी, विपक्षी दल र ओलीको बेला बखत चर्को विरोध गर्ने तराई केन्द्रित दलका नेताहरूको अनुहारमा त्यस्तो अस्वाभाविक भाव केही देखिए जस्तो लागेन । बरु आफैलाई उनको आत्मविश्वास, उनको स्पष्ट दृष्टिकोण अझ उनको यो देशलाई छिट्टै समृद्ध बनाउने दुस्साहस?( अहिलेको बेथिति देख्दा त्यस्तै लाग्छ) देखेर भने ताजुब लाग्यो । यति पिछडिएको देश, भ्रष्ट तन्त्र, पुराना परम्परा, संस्कारमा जकडिएको समाज, जबाफदेहिता नभएको कर्मचारीतन्त्र, आशा मार्दै गएका जनताहरू, नेपालको जटिल भौगोलिक राजनैतिक अवस्था, गैरजिम्मेदार नेताहरूको बाहुल्यता रहेको अहिलेको परिवेशमा यो धृष्टता ? पक्कै पनि जो कोही अचम्भित हुनसक्छ , मेरो त के कुरा ।
प्रथमतः: ओली राजनीतिमा उदाएका नयाँ खेलाडी हैनन् । देशको गृहमन्त्री र प्रधानमन्त्रीको रूपमा कार्य गरि सकेका छन् । पार्टीमा अहिले अध्यक्षको रूपमा छन् त्यो पनि पहिलो ठूलो पार्टीको । प्रधानमन्त्री भएर भारतीय नाकाबन्दीको असहज परिस्थितिमा पनि सफल देखिए । त्यसपछि नै “वाह वाही” बटुलेका छन् धेरै । त्यही रूपमा हेर्दा यीनले राजनीति बुझेका छैनन् भन्नु मूर्खता ठहरिएला । त के ऊनले बुझेर नै नेपालमा यति छिटै विकास र समृद्धि सम्भव देखेका हुन् त? तर उनले झैँ सजिलै जनतालाई ढुक्क बनाउन पनि गाह्रो मात्र हैन मेरो कोणबाट त म असम्भव देखिरहेको छु । तर पनि उनको यो धृष्टता प्रति मेरो सम्मान छ ।
दोस्रो, यीनले बुझेका छन् भनौं भने, देश त्यही हो, मानसिकता उस्तै छ – यीनका कुरामात्रै अरूका भन्दा फरक देखिएका छन् । यीनकै पार्टीको स्थानीय तहको कार्यकर्ता, नगर पालीका प्रमुखको नाकै मुनी एकजना अबोध बालिकालाई बोक्सीको आरोपमा मरणासन्ना हुने गरी कुटपिट भएको दुःखद घटना ताजै छ। पुलिस, प्रशासन त्यही, पार्टी, कार्यकर्ता त्यही – कसरी सम्भव छ यो समृद्धि ? फेरी उनी निर्धक्क विकासको कुरा गरिरहेका छन् । सपना देख्नु र पुरा हुन नसक्नू फरक कुरा हुन् । तर पनि राज्यले सपना देख्ने र देखाउने नेता पाउनु ठूलो कुरा हो । म आशावादी छु ।
म मात्रै हैन धेरैमा आशा पलाएको छ । नाकाबन्दी पछि यीनले आफ्नो प्रभाव छोडेका छन् । आफ्नो उँचाइ ह्वात्तै बढाएका छन् । जनतामा भरोसा जागेको छ । यीनका विपक्षीले भने जस्ता स्वैर कल्पनाहरूले मात्र यो जगाएको हैन । यीनका उखान टुक्काको मात्रै जादु पनि यो होइन । यीनले केही गरेर देखाई सकेका पनि छैनन् । तर पनि जनतामा यीनले विश्वास जगाएका छन्, आफूसँगै सपना देख्न सिकाएका छन् । विषम परिस्थितिमा सपना जोगाउनु, भरोसा पलाउनु पहिलो शर्त हो, नत्र त खरानीमा कसरी समृद्धि सम्भव होला र?
गगनले गरेका आशंका बाहेक उठाएका कुराहरू जायज छन् । ओलीले चाहदैमा अधिनायकवादी अवस्था सिर्जना हुन्छ भन्नु या त अपरिपक्व सोच हो या ओलीको लोकप्रियतामा प्रहार गर्न बनाएको असफल तीर मात्रै । देउवाको लोकतन्त्रको नामको अराजक कार्य शैली भन्दा ओलीको केही गरेर मर्ने सोचले गगन जस्ताहरूलाई अधिनायकवादी बाटो हैन जनकल्याणको फराकिलो लोकतान्त्रिक मार्ग प्रशस्त गर्नेछ । लोकतन्त्र आचरण हो, संस्कार हो न कि सस्तो नारा ।
सपनाहरू देख्नुपर्छ । सपना बिनाको समृद्धि सम्भव छैन । सृजना गर्न सपना देख्नु पर्छ । स्वप्न द्रष्टाहरूले मात्रै सुन्दर भविष्यको परिकल्पना गर्न सक्छन् । सम्भव छन् ओलीका सपनाहरू !
मुक्ति गौतम
टिमिन्स, क्यानडा
मार्च १२, २०१८
Liked by: