सुधन सुवेदी
काठमाण्डौं रक्स एट द सेम टाइम पब्लिक ट्रान्सपोर्ट सक्स ।
बेलुका अफिस सकेर घर फिर्दा ती आखाँहरु हेर्न पाइन्छ जुन ब्यग्रताकासाथ बसको प्रतिक्षामा हुन्छन् । बस रोक्ने ठाउँ आधा ओगटेर बसेका ती सबै आँखा धनीका चाहना सकुसल घर र्फिन पाइयोस् भन्ने मात्र हुन्छ । माघको ठन्डीले रात चाँडै निम्ताइराख्दा यो कुराइ झन् अत्यासै लाग्ने हुन थालेको छ । एउटा माइक्रो सुसेल्दै आइपुग्दा चढ्न खोज्ने ती अटाउने पन्ध्रका बीचमा बीसले मौका पाउछन् छिर्न । बीसले तैबिसेक आफूलाई अड्याउने ठाउँ पाउँछन् बाँकिका नसिबमा चिसा डण्डी ।
दाइ अलि पर मिलेर उभ्भिनुस् न । दिदी यो सिटमा तीन जना बस्ने हो अलि पर सर्दिनुस् न । आमाले दुईजनाको सिटमा बस्दिनुभो । यस्तै वार्तालापका सिरिज सुरु । गुन्द्रुके बनिदैंन बरु गइदैंन । यस्ता बसवालालाई सुली चढाउनुपर्छ । सराप्यो । अर्को गाडी नआउला कि भन्ने सोचले केही क्षण अघिको स्वाभिमानलाई दरो च्यालेन्ज मात्रै गर्दैन लुरुक्क परेर खलाँसी भाइको कुरो मान्दै माइक्रो छिर्न वाध्य नि बनाउँछ ।
रेलका सपना देख्दै सुरु हुन्छ बतासे हुइँकाई । चलाको पारा हेर्दा लाग्छ यी ड्राइबर भाईहरुका हातमा सरकारको स्टेरिङ्ग भए यिनले विकासको गतिमा सबलाई उछिन्थे । ट्रोल नै बनाएर एक जमातले खलाँसीका गुणगान गर्न भ्याए । देशमा सबैलाई मिलाउने जिम्मा यिनलाई दिए हुन्छ रे,सानो फिस्टे गाडीमा तीसौं जनालाई खाँदी मिलाएर लानसक्ने खुबी यिनीहरुमा मात्रै देखियो रे । यता हाम्रा उकुसमुकसुको पारो चढ्दैछ । धेरैका धैर्यताको कठीन परिक्षा लिने मास्टरको रुप नि धारण गर्छन् हेर्दाहेर्दै यी चालक र उनका सहचालक किलिन्डरले । सुबिस्ताले जान परे ट्याक्सी चढे हुन्छ । फेरि कोपाइलट भाइ कड्किन्छन् । हुुँदाहुँदा कुहिनो अलि भित्र लिनुस् सम्म पनि भनी भ्याउछन् । साझा यातायात, राजधानी यातायात जस्ता केही छोटो दूरीका बससेवा बाहेक धेरैमा चढ्ने दोहो¥याएर चढ्न नपरे हुन्थ्यो भन्ने कामना गर्छन् ।
चुच्चे रेल, मेट्रो, मोनोरेल त बनाउँला बिहान बेलुका घर अफिस कुद्ने सार्वजनिक सवारी पहिले पर्याप्त चाहियो । जनताका आधारभूत कुराहरु शिक्षा, स्वास्थ्य लगायत यातायातमा नीजि क्षेत्रको सहभागितामा पूनरावलोकन गर्न जरुरी भइसकेको छ । सार्वजनिक पहँुचको क्षेत्रमा सरकारी स्वामित्व र लगानीले मात्रै आगामी दिनहरु सहज होलान् । पिक आवरमा कति माइक्रो वा मिनिबसले रुटमा नगुडी स्कुलका विद्यार्थी ओसार्न वा अन्य रिजर्भका काममा प्रयोग हुन्छन् हेक्का ट्राफिकले राख्न पर्छ । उही समयमा उही रुटमा सधैंको गाडी अपर्याप्तता झेली राख्दा महिनौं सम्म कतैबाट केही नहुनु त जनतालाई सोझै मार नै हो ।
चल्तीका रुटमा इजाजत बनाउन पैसाको चलखेल बाहिर आएकै खबर हो । सडक सानो गाडी धेर भएको स्थिति हाम्रो मात्र एक्लो हैन । कुशल ब्यवस्थापनले सहज हुने स्थिति आउन सक्छ । सधैं जाम हुने क्षेत्रमा वैकल्पिक उपाय अबलम्बन गरिनुपर्छ । सडकका अवस्था र जाम सार्वजनिक सवारीका बाह्य परिस्थिति भए अर्कोतिर यातायात साधन भित्र कै अवस्था झन् भयावह छ ।
नयाँ गाडीमा केही बेरलाई उभिएर भए नि यात्रा गर्न सकिएला पुरानामा टिकीनसक्नुछ । खिया लागेका डण्डी, गियर बदल्दाका च्वाइँचुइँ भन्दा बढी पीर त चाहेका बेला विभिन्न पुर्जाले काम गर्न नसक्लान् धेरै अवस्थामा बिवाद साना कुरामा उत्पन्न हुन्छन् । पर सर्नलाई भन्दा नसर्दा खलाँसी ड्राइबरबाट अपशब्द प्रयोग भई झगडाले उग्र रुप समेत लिएको हुन्छ । झुण्डिएर यात्रा गर्दा हुने दुर्घटना त छदैँछन् । महिला सिटमा बसेकी युवती बच्चा बोकेकी अर्की महिलालाई सिट छाड्दिनन् । एक साथीले सामाजिक सञ्जालमा आफ्नो यात्रा अनुभव पोख्दै थिए । महिला, बृद्ध, असक्त लगाएतलाई आरक्षणको सिट टेम्पु जस्ता साना सवारीमा छोड्दा बच्ने सिट नै थोरै हुँदो रहेछ । आफ्ना अधिकारको प्रयोग गर्न तल्लीन सबैले आफुभन्दा अझ बढी हकदारलाई सिट छोड्दा अधिकार गुमाएको नभई मानवताको कदर गरेको बुझ्नुपर्छ यसले समाज उभोँ नै लाग्छ ।
समाज पनि यस्ता सानातिना अवयव मिलेर नै बन्ने हुन् । सार्वजनिक यात्रा सहज बनाउन आफ्नो भूमिका केही नभएको भनेर नेपथ्यमा बस्ने आम जमात कै कारण यी परिस्थिति उत्पन्न भएको हो । स्वतन्त्र हात हल्लाएर हिँड्ने आफ्नो अधिकार र पछाडि हिँडिरहनुभएको अर्को ब्यक्तिका नाकको दूरिलाई ख्याल गरेमा धेरै समस्या समाधान हुन्छ ।
Liked by: