शास्त्रले रजस्वालालाई नराम्रो भन्दैन, तर हामी किन भेदभाव गर्छौ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

शास्त्रले रजस्वालालाई नराम्रो भन्दैन, तर हामी किन भेदभाव गर्छौ ?




   Suyog Dhakal - Aug 25 2017

कुनै पनि सनातन शास्त्रले छाउपडीको उल्लेख गरेको छैन् र अलग्गै घरमा राखेर रजस्वालाको समय कटाउन नियम उल्लेख गरेको पाइन्न ।



स्वर्गका राजा ईन्द्रलाई ब्रहमहत्याको दोष लागेको हुन्छ जसलाई कटाउन ब्रहमा स्वयमले भुलोकका महिला, बृक्ष अनि पानीमा बराबरी बाँडेका कथन छ । यसैकारणले पानीमा भुमरी र एकआपसमा पानीका वहाव ठोकिएपछि फिँज उत्पन्न हुने, सुख्खा ठाँउमा उम्रिने बृक्षहरु जस्तै सल्ला लगायतका रुखवाट खोटो निस्कने र महिलाहरुमा मासीक रजोदर्शाना हुने गरेको कथन छ। कथन र कथाहरुले जे भनुन, रजस्वालालाई दोष भन्दा पनि एउटा अत्यन्त पुण्य शक्ति र जग अनि श्रृष्टिको आधारका रुपमा हेरिएको छ ।

यो पनि हेर्नुहोस : कथा 'छाउभोट'

रजस्वालालाई रजोदर्शना पनि भनिन्छ, संस्कृतमा रजोदर्शाना अर्थात रज भनेंको रगत र दर्शना भन्नाले देखिनुलाई सम्मानजक रुपको अभिव्यक्त गरिएको हो । रज अर्थात रगतमा प्राण वायू अनि प्राणको संभावना रगत भएका कारणले रगतलाई राजसी तत्वका रुपमा पनि लिइन्छ । राजसी भन्नाले अत्याधिक रजशर्भ शक्ति भन्ने बुझिन्छ तसर्थ रजस्वालाका समयमा अत्याधिक शक्ति वहन हुने र संबेदनशील समयकारुपमा परिभाषीत गर्न सकिन्छ ।

चाण्क्य नीतीलाई यहाँ उदृत गर्न चाहन्छौं
भस्मना शुद्धयते कांस्यं ताम्रमम्लेन शुद्धयति। राजसा शुद्धयते नारी नदी वेगेन शुद्धयति। अर्थात पीतललाई खरानीले शुद्ध गर्न सकिन्छ, तामालाई अमिलोले शुद्ध गर्न सकिन्छ अनि महिलाको ४ दिने रजस्वाला समापन भएलगत्तै शुद्ध हुन्छिन् । अब यहाँ एउटा प्रश्न आँउछ, के यी ४ दिनको समयमा महिला अशुद्ध या दोषी हुन्छन त ? के यहि दोषका कारणले नै उनिहरुलाई छुवाछुत गरिएको हो त ?

उपयूक्र्त श्लोकले महिलाको शुद्धिकरणका कुरा गरिहँदा ४ दिनमा अशुद्ध र दोषी हुन्छन तसर्थ कामकाज या अरु कुराहरुवाट अलग्ग राखिएको भन्न खोजेका हैनन् । महिलाहरुको आरामका लागि अनि रजस्वालाको समयमा कुनै काम गर्ननपरोस भन्नकालागि ती परिधीहरु सनातन संस्कारले कोरिदिएको हो । महिनावारीको समयमा रक्त निष्काषन हुने र त्यसैसाथ बिभिन्न बिकारहरु पनि निष्कनेहुँदा महिला स्वयमको स्वास्थकालागि र आरामका लागि केही परापूर्व सिमाहरु कोरिएका हुन् जसको तात्वीक अर्थ महिलालाई असम्मान गर्नु या भेदभाव गर्नु कतै छैन्, पछी आएर यी चलनहरुको उल्टो र आधा व्याख्या भएको पाइन्छ ।

कुनै पनि सनातन शास्त्रले छाउपडीको उल्लेख गरेको छैन् र अलग्गै घरमा राखेर रजस्वालाको समय कटाउन नियम उल्लेख गरेको पाइन्न । आधुनिक यूगमा हामी छुवाछुतको समर्थन या वकालत भनें गरिरहेका छैनौं । आफ्नो आहार, बिहार अनि आराम तय गरेर आफ्नो स्वास्थको ख्याल राख्न सक्ने महिलाहरुले छुवाछुतको पछि लागिरहन पर्दैन । शास्त्रले पनि शुद्धता अर्थात सरसफाईलाई मात्र ध्यान दिएको हो ।

महिनावारीको समयमा एउटी आमालाई बच्चासँग पर राखिनु अनि छुन नदिइनु सनातन संस्कार हैन, अमानवीय कार्य हो । तथापि आमाको रजस्वाला चक्र समापन भएलगत्तै बच्चा अनि आमा दुबैले स्नान गर्न भनें जरुरी छ ।

आउनुहोस् अब सोझै बेदका कुराहरु उदृत गरौं र पत्ता लगाऊ के भन्छ त बेदका ज्ञानले रजस्वालाका बारेमा ?बैद्धिक समयमा सनातन महिलाहरु रजस्वाला हुँदा पनि खुल्ला रुपमा मन्दिर या देवालय जाने र
पूजाअर्चना गर्ने गरेको र अहिलेको भन्दा धेरै स्वतन्त्रता रहेको कुरा कश्यप बेद अध्यन सस्थाँ
भारतका बिभिन्न अध्ययन अनि शोधमा उल्लेख गरिएको छ । आजपनि धेरै आमाहरुले नै आफ्ना छोरीहरुलाई महिनावारीका समयमा मन्दिरमा नजान अनि पूजा आजा नगर्न भन्दछन् जून, उनिहरुको सनातन संस्कारको जरासम्म ज्ञान र दृष्टि नपुग्नुको उपज हो । परम्परालाई न्याय दिन शास्त्रको गलत व्याख्या गरिनु नै सनातन सस्कारको दुर्भाग्य हो ।

महिनावारीको समयमा हिँडडुलमा अफ्ठेरो हुने अनि संक्रमण ईत्यादिको संभावनाले अरु समयको तुलनामा सकेसम्म बिहार नगर्न भनें सुझाव दिइएको छ तर ती सुझावहरु अशुद्धताका रुपमा भनें गलत व्याख्या गरिनु दुर्भाग्य हो ।

भगवानको भाषा अनि नजरमा महिला र पुरुषलाई असमान अधिकार र स्वतन्त्रता नभएको कुरा
त बेदहरुले नै प्रष्ट पारेका छन् ।

क्रृगवेदमा १०। १९१। ३ मा प्रष्ट लेखिएको छ पुरुष र स्त्री दुबैलाई बरावर रुपमा प्रगती गर्नकालागि सम्पूर्ण मन्त्रहरु प्रदान गरिएको छ । क्रृगवेदमा ३।३१। १ मा प्रष्टसँगले बूवाको सम्पतीमा छोरा र छोरीको बरावर हक हुने भन्ने पनि उल्लेख छ, नेपालमा सम्पतीको समान हकको कानुन पारित भएको हालसालै न हो । बेदलाई गलत अर्थ लगाएर धेरै पक्षहरुको आफुशुखी व्याख्या गरिएको प्रमाण यो पनि एउटा हो ।

रजस्वालाको समयमा यौन सम्पर्क बन्देज गर्न भनि यर्जूवेदको तैत्रिय सहिंताको श्लोक २।५।१ मा भनिएको पाइन्छ । बास्तवमा महिनावारीको समयमा यौन सम्पर्क बैज्ञानीक र यौन स्वास्थका हिसाबले पनि राम्रो
मानिदैन, यस कुरामा त आधुनिक बिज्ञान र बेद दुबै एकै तर्कमा छन्, हैन र ?

सानो उदहारण यहाँ प्रस्तुत गर्न चाहयौं
आर्यूवेदले पनि प्रत्यक महिलाले हरेक महिना महिनावारीको रगतका रुपमा बिकार पदार्थहरु निष्काषन गर्ने भएकाले उनिहरु सामान्यतया पुरुष भन्दा धेरै बाँच्ने बताएको छ ।

मनुस्मृतीलाई यहाँ प्रस्तुत र्न चाहयौं, हुन त मनुस्मृतीलाई वेदको भाग मानिँदैन तथापि सनातन जीवनशैलीको प्रतिबिम्ब मनुस्मृतीले गज्जबले गरेको छ ।
यत्र नार्यस् तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्र एतास् तु न पूज्यन्ते सर्वास् तत्र अफलाः क्रियाः ॥

जहाँ जहाँ नारीको सम्मान हुन्छ त्यहाँ मात्र देवताको वास हुन्छ । नत्र जहाँ नारीको सम्मान छैन त्यहाँ गरेका कुनै पनि क्रिया फलदायी हुनेछैन् ।

रजस्वाला या अन्य कुनै पनि कुराका आधारमा नारीहरु माथि गरिने भेदभाव निकृष्ट छ । बेद या उपनिषद हरेक तर्फ यस्ता कुराहरुलाई दुरुत्साहित गरिएको छ । रजस्वालालाई त आयूवेदले चन्द्रमानसंग पवित्र तुलना गरेको छ , स्मरण रहोस् चन्द्रमान पनि २८ दिनको हुन्छ भनें रजस्वाला चक्र पनि २८ दिनकै हुन्छ ।

रजस्वालाको पवित्रताको कदर गरियोस् अनि र शास्त्रको झुठो खोल ओढेर भेदभाव र छुवाछुत बन्द होस् । देशको कानुन र ग्रन्थहरुले पनि यही भन्दछन् ।

हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.