मायाको अालिङ्गनमा रहेका कति प्रेमी जोडिहरु कहिल्यै त्यो अालिङ्गन नछोड्नेगरी एकैभर्इ हराए अनि कति त्यस्ता अनगिन्ती परिवारका सदस्यहरु के भए, कता गए अझै अत्तोपत्तो छैन, यता रगत वग्थ्यो उता बाच्नेहरूको आँशु शायद् संगसङ्गै। काठमाडौका तिनै दरबार स्क्वाएरहरु क्षतविक्षत छन्, अझै बन्न सकेका छैनन्.. बन्दैछन भनौं या के भनाै म दोधारमै छु । देशमा बैशाख ३१ मा स्थानिय निकायको चुनाव हुँदैछ, रमेश भाई! शायद त्यसपछि स्थानिय विकासले फड्को मार्छ होला ।
बैशाख १२, २०७४ साल
प्रिय रमेश भाई!
जहाँ छौ, आनन्दले बस है, तिमी र धरहरा एकै दिन बिलाइगयाै, म लगायत धेरै साथीहरुले तिम्रो फेसबुक वालमा (RIP) रेस्ट ईन पिसको सन्देश लेख्यौं, आशा छ तिमीले शान्ती पायौ होला...
मलाई अझै पनि २०७२ सालको त्यो बैशाख १२ को चिसो दिन याद छ अनि त्यो अकल्पनीय प्रकृतिले उत्पन्न गरेको महा-कम्पन्, उफ कति त्रासदीपूर्ण थियो त्यो दिन, तिमीलाई पनि त्यही निष्ठूरी दिनले हामीबाट चुँडेर लग्यो । आज दोश्रो वार्षिकीमा तिमी अनि तिमीसंगै नेपालका विभिन्न ठाउँहरूमा वितेका ९ हजार नेपालीसंगै गर्लम्म लडेका घर अनि भताभुङ भएका सपनालाई सम्झदैंछु ।
त्यो दिन सम्झिंदै अाङ जिरिङ हुन्छ, लडेका घरहरू भित्रका अनेक सपनाका खातहरु अनि सपना देख्नेहरूको अनगिन्ति प्राणविहिन भर्इ ढलेका शरीरहरुको तस्विरले । तिमी धरहरा चढ्न पुगेका रहेछौ त्यो दिन, मैलै अरूबाटै थाहा पाएँ । धरहरा! भिमसेन थापाले बनाएका अनि जङ्ग बहादुर राणाले छाता बोकेरै हामफालेका सम्मको कथा बोकेको आधूनिक नेपाली इतिहास बनेर शहरको बिचोबिच उभिएको प्राचिन धरोहर । राणाकाल विरुद्धको आन्दोलन देखि राजा हटाउने आन्दोलनसम्म धरहराले देखेको थियो ।
सिङ्गारिएर चिरिच्याट्ट पारिएको धरहरा तरुनो देखिन्थ्यो तर फगत रङ्ग लगाएर कपाल कालो पारिएको अनि नक्कली दाँत हालेको उमेर गलेक मान्छेको तरुनो नियती जस्तो धरहराले आफ्नो बूढेसकालमा त्यो दिन अाएको शक्तिशाली कम्पनबाट खुट्टो टेकिरहन सकेन र गर्लम्म ढल्यो ।
तिमीजस्ता सैयौं धरोहर यात्रीलाई अाफूमै समाहित गरेर लडेको धरहरा म भूँईचालो गएको केही घण्टा भित्र दौडदै आईपुग्दा समाप्त भइसकेको थियो, एउटा ढूँटो टुक्रो देखिन्थ्यो, लाग्थ्यो धरहराले त्यो ढूँटो बाहेक माथीको अाफ्नो शरीरलार्इ भारी बोझ झै बिसाएको... ठ्याक्कै थकित भरीया अनी पोखीएको भारी ।
रमेश भाई! तिम्रो आमा अझै पनि झापामा तिमीलाई सम्झना गर्दै रुनुहुन्छ, आँशु अझै थामिन्न । म त गाँउ जाँदा तिम्रो घर पस्ने आँट पनि गर्न सक्दिन... आमाको आँशुको जवाफ न त समयसँग छ न त मसँग । पहिले त तिम्रो झापाको घर गाँउ विकास समितीमा थियो अब त कुन्नी के हो, गाँउपालिकामा परेको छ अरे, मैले नि कुन गाउँपालिका हो बुझ्न सकेको छैन है ।
रमेश भाई! काठमाडौ मात्र नभई धादिङ, गोर्खा, सिन्धूपाल्चोक, काभ्रेपलान्चोक लगायत थुप्रै जिल्लाहरुलाई भूँईचालोले बेस्सरी हल्लायो । दोलखा त झन जर्जर बनायो, सिँगटी भन्ने गाँउ त हराएरै गयो, म गएको थिए एकफेर सिँगटी अब सम्झनामा छन्, सिँगटी, तिमी र धरहरा ।
काष्ठमण्डप भित्र रक्तदान भईरहँदा त्यहा धेरै रक्तदाता सहित समाजसेवीहरु पनि असल कर्मकै क्रममा पुरीए । मायाको अालिङ्गनमा रहेका कति प्रेमी जोडिहरु कहिल्यै त्यो अालिङ्गन नछोड्नेगरी एकैभर्इ हराए अनि कति त्यस्ता अनगिन्ती परिवारका सदस्यहरु के भए, कता गए अझै अत्तोपत्तो छैन, यता रगत वग्थ्यो उता बाच्नेहरूको आँशु शायद् संगसङ्गै।
काठमाडौका तिनै दरबार स्क्वाएरहरु क्षतविक्षत छन्, अझै बन्न सकेका छैनन्.. बन्दैछन भनौं या के भनाै म दोधारमै छु । देशमा बैशाख ३१ मा स्थानिय निकायको चुनाव हुँदैछ, रमेश भाई! शायद त्यसपछि स्थानिय विकासले फड्को मार्छ होला । तर तिमी ढुक्क नहुनु यहाँ कुनै परीवर्तन भएको छैन, त्यो त्रासदीले भत्काएर हज्जाराैंको साँस एक गाँसमैं त लग्यो लग्यो २ वर्ष वितिसक्दा पनि बाँचेका साँसहरू यो अवधिविच अाएका प्रकृतिका अनेक मारहरूबाट भाँच्चिएका टेकोको अडेस लागेका च्यात्तिसकेका त्रिपालमैं छन् । चिसोको समय ठिहरीएरै बस्छन्, पानी पर्दा भिजेरै बस्छन् । तर हाँस्न चाहिं जानेका तर जब तिमी जस्तै गुमाएका प्रिय सदस्य सम्झन्छन् अाँशु त अब सुकीसके र निस्कदैन पनि तर अनुहार हेर्ने लायक हुन्न....
रमेश भाई! भूँईचालो जाँदा म शहर माथी थिए, शनिबार घुम्न गएको । एक्कासी हल्लायो, पहिले त मैले ठम्याउनै सकिन, वास्तवमा हल्लिएको किन हो, पछी मात्र ठम्याएँ र मैले ठम्याउञ्जेल शायद! महा-त्रासदीले धेरै उर्जावान शरीरहरूबाट प्राण पखेरू लूटेर लगीसकेको थियो । म खुल्ला ठाँउमा भएर त भयानक अत्यास लाग्यो तिमीलाई धरहरा भित्र झन कति सकस भयो होला । भूँईचालोपछी शहरबाट आकाशमा केवल धूलो उडेको थियो त्यो दिन, त्यो धूलोमा तिमी पनि उडेका रछौ, मैले पछी थाहा पाएँ ।
तिम्रो विदेश जाने रहर अधूरो भयो अनि मैले तिमीलाई भेट्ने... खैर ति रहरका त के कुरा गर्नु रमेश भाई! भूँईचालोले घरबार लडाएपछी बल्लतल्ल त्रिपालमुनी छानो पाएकाहरुले त्यही त्रिपाल मुनी दुईवटा हिउँद र वर्षा बिताईसके, त्रिपाल मक्कियो, लर्कियो तर त्यहि बनाउन सरकारले प्रमुख पदनमा दुर्इजना नियूक्त गरीसके तर भूँइचालोले गालेको दुर्इजनाको मुहारमा अझै खुशी दिनसकेनन्, तिमीलार्इ हिजो को खबर थाहा छ? २ वर्षमा ४० प्रतिशत पूनर्निमार्णको कार्य सम्पन्न भयो रे! उदेक लाग्दो...
उपचारकालागि विदेश जाने नेताहरुको लाम बढेर देशले थेग्नैनसक्ने भईसक्यो तर त्रिपालले हिउँदको सिरेटो खपेकाहरुको झिनो आवाज पनि सदन सम्म पुग्न सकेको छैन् । तिमी जुन धरहारामा च्यापियौ नि रमेश भाई हो त्यही धरहरा बनाउने भिमसेन थापाकी जीवन सङ्गीनी 'सती'ले सरापेको थिईन रे! शायद त्यसपछीनै होला सरकारले निमुखाको कुरा सुन्ने बखत यो देशमा कानमा तेल हालेर बस्ने चलन भएको ।
रमेश भाई! भूँईचालो सक्किएर २ वर्ष भएपनि त्यसले दिएका चोटहरु अझै आला छन्, त्यसपछी राहतको नाममा धर्म साटियो, भोकै पेट बस्नु भन्दा धर्म बेच्नु ठिक मान्नेहरु पनि गलत छैनन, आखिर सरकार मौन बस्ने चलन नेपालमा के नौलो हो र ? अभावले तत्काल गाँस, वास र कपास खोज्छ तर सरकार अझै अास बाँड्ने कार्य गर्दैछ ।
चाउचाउ र विस्कुटको मनग्यै ब्यापार बढ्यो त्यसपछी, अनि राहतको नाँउमा चाउचाउ र बिस्कुट अनि मिनरल वाटर बाँड्दै सेल्फी खिच्नेको जमात नै बढ्यो । मैले त्यसो गरिन रमेश भाई! काठमाडौ अचम्मको शहर रहेछ, यहाँ भूँईचालोपछी आकाशमा धूलो उड्यो अनि केहीदिनमै बिलाए यहाँका पहरेदारहरु । भूँईचालो आएको केही दिनमै यो शहर रित्तियो, मलाई लाग्छ त्यतिबेला चाँही काठमाडौलाई मान्छे चाहिएको थियो तर अफसोच सबैजना बग्रेल्ती बाहिरीए । उतिबेला शहरमा मान्छे थिएनन्, चोक चौराहमा दिउँसै शून्यता थियो ।
आज फेरि शहर खचाखच भरिएको छ, तिमीले काम गर्ने पसलमा नयाँ भाई कामदार भएर आएको पनि १ वर्ष हुन आँट्यो, मान्छेले फेरि भूँईचालो बिर्सिन थालिसके तर मैले तिमीलाई बिर्सन सकिन रमेश भाई । तिमी अनि त्यसदिन बिदा भएका हजारौं नेपालीहरुलाई मनैदेखि दिप प्रज्वलन गरेर सम्झना गर्छु, स्विकार है !
अनि फेरि जन्मिने माैका मिल्यो भने नेपालै आउ है, रमेश भाई !
---
मोफसलका तिम्रा दाजू
सुयोग ढकाल
हाम्रो पात्रो
Liked by: