देश खोजीरहेकाहरु ! | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

देश खोजीरहेकाहरु !




   Mukti Gautam - Apr 15 2018

हामी चराहरु जस्तै छौं, पंख फिजाएर अनन्त उडिरहेका । मन छ या आफू छैनौं मनसँग अथवा मन छैन आफ्नो वसमा ! झल्याक झुलुक आउँने नयाँ दृष्यहरुले न लोभ्याउन सक्छन्, न पुरानोले बाँध्न नै । सबै भएर पनि केही नभएका चराहरु जस्तै !


नेपाल नफर्किएको करिब १४ वर्ष पुगेछ, देश छोडेको त १८ वर्ष नै पुग्न थाल्यो । आजकाल कहिलेकाही त फर्किने कुरा सोच्दा पनि कता कता डर लागेर आउँछ । सशस्त्र युद्धको बेला काठमाण्डौबाट मेरो पूर्ख्यौली घर रुकुम जाने कुरा सोच्दा त्यस्तै हुन्थ्यो । लामो समय अनुपस्थित हुँदा त्यहाँ भएको परिवर्तन सँग अनभिज्ञ भएको र कतिपय सुनेका कुराहरुले मानसिकता बनाउने भएर पनि यस्तो भएको होला जस्तो लाग्छ । अथवा बाहिरको सुख सुविधासँग नेपालको समस्याहरूलाई दाँजेर पनि हुनसक्छ ।

चिने जानेका बाट विदेश आएकोमा हुने घोचपेच र गुनासोहरूले पनि यस्तो भएको हुनसक्छ । एक थरी छन् ईर्ष्याले गाली गर्छन् विदेश बसेकोमा । आफू जान नपाएका, त्यहाँ नेपालमै बसेर केहि गर्न नसकेका या अरूको राम्रो देखेर जल्न मन पराउने हरू छन् एक थरी । कोही कोही आफू भ्रष्टाचारमा चुर्लुम्म डुबेका सरकारी जागिरे र राजनितीलाइ जागिर बनाएर हिडेका सरकार र जनताको बीचमा बसेर कमाई खाने केही दलालहरु पनि छन् यो समुहमा । यिनीहरु आफू देशमै बसेर ठूलो काम गरेको कुरा गरेर कहिल्यै थाक्दैनन् । नमीठो मुख पारेर गाली गर्छन् यिनीहरूले । कहिले दुःख लाग्छ र कहिले हाँसो, यिनीहरुका कुरा सुनेर ।

अर्का थरी सहृदयी छन् । माया गर्छन् । पैसा मात्रै केही होइन या भौतिक सुविधाले मात्रै पुग्दैन भनेर फर्किन सुझाउँछन् । यिनीहरुको कुरा सुन्दा मीठो लाग्छ, आजै फर्किन मन लाग्छ । केही पुराना र केही नयाँ पुस्ताका मान्छेहरु छन् जो ईमान्दारिता पूर्बक नेपालमै बसेर केही गर्न चाहन्छन् र गरिरहेका पनि छन् । नसकेर या नपुगेर उनीहरुमा यो राष्ट्र प्रेम आएको भने होईन । यिनीहरु बाहिर जानेलाई पनि हेयले हेर्दैनन् । बरु नेपाल फर्किए हुन्थ्यो भनेर मनदेखिनै चाहान्छन् यी सज्जनहरु । मेरो नमन छ यी सज्जन हरु प्रति ! उसो त यतै हुर्के बढेका आफ्ना सन्तानहरु नेपाल गएर काम गरे या उतै बसे पनि हुन्थ्यो भन्ने हामीलाई पनि नलाग्ने कहाँ हो र ! हामी विदेशमा बस्नेहरू लाई पनि कहाँ विदेशी माटोमा मजा मात्रै भइरहेको हुन्छ र अरूले सोचे जस्तै !


“ह्वेर आर यू फ्रम ?”
देश छोडेको यो १८ वर्षमा १८ सय पटक भन्दा बढी यो प्रश्नको जबाफ दिइयो होला ।
“ आई एम फ्रम नेपाल, यू नो माउन्ट एभरेष्ट, ईट्स ईन नेपाल, बुध्द वाज बर्न ईन नेपाल”- यो त आफूलाई चिनाउँदा या नेपालको कुरा गर्दा टाउको दह्रो पार्दै ३६०० पटक भन्दा बढि भनियो होला ।

हिन्दी भाषीले हिन्दीमा, पन्जाबीले पन्जाबीमा, बंगलादेशीले बंगालीमा, पाकिस्तानीले उर्दू र श्रीलंकालीले तामिल र सिंहलीमा सयौं पटक उनीहरूकै भाषामा कुरा गर्न आए र अलमलिएको थाहा पाए पछी यही प्रश्न गर्थे । मैले पनि भाषा मिलाएर सके उनीहरूकै न सके अंग्रेजीमा जबाफ फर्काउँदै आए “आई एम फ्रम नेपाल।” कहिले त मेक्सिकन या कोलम्बियाली हरू समेत “स्पेनिस” बोल्दै कुरा गर्न पनि आए । फेरि उही “आई एम फ्रम नेपाल....आदि” चलिरहेको छ र हामी पछिको पुस्तालाई पनि छोड्ला जस्तो छैन यो समस्याले ।

२००१ मा अमेरिकाको सेप्टेम्बर ११ को घटना पछि नर्वेको ओस्लोमा हुँदा एउटा बृद्धाले बसमा म बसिरहेको सिटबाट अगाडी बढ्दा हात र मुखले हेय भाव देखाएर अघि बढिन्, म अचम्भित भएर निरीह हेरिरहें । उनको त्यो घृणाको भावको पछाडी मेरो मुस्लिमहरू सँग मिल्ने अनुहार थियो सायद । सबै मुसलमानहरू आतंककारी देख्ने मनोबृतीको कारण रङ्ग मिल्ने भएर बिदेशिएका हामी नेपालीहरूपनि कैयौपटक शिकार भएका छौं । अहिले पनि कुनै अप्रिय घटनापछि या अरू सामान्य अवस्थामै आफूतिर ठोक्दिन आउँने सशंकित आँखाहरू अघि म उस्तै निरीह नै हुन्छु, भलै अहिले मसँग क्यानडाको नागरिकता पनि छ र यतैको पासपोर्ट पनि ।

एक पटक नर्वेमा एक भारतीय दम्पतीसँग भेट भयो । गोरा बाहेक अरू मुस्किलले देखिने ठाउँमा आफै जस्ता मान्छे देख्दा खुलदुलीको सिमा नै रहेन ।
“ह्वेर आर यू फ्रम?” – हामीले पनि प्रश्न फ्याँकि हाल्यौं उनीहरू तिर ।

“वी आर फ्रम क्यानडा” हामी चकित पर्यौं, मनमनै भन्यौ “मोराहरु फूर्ती गर्छन् ।” हामीले उनीहरूको देश पहिले नै खुट्याईसकेका थियौँ, उनीहरूको मुखबाट उत्तर सुन्न चाहेकोले मात्र प्रश्न गरेका थियौँ । उनीहरू भारतीय भएको कुरामा हामी ढुक्क थियौँ ।

तर उनीहरू क्यानेडियन नागरिक भएका र क्यानडामै बसोबास गर्ने कारणले उनीहरूको जबाफ पनि ठीक, उनीहरूको रूप, रङ्गको आधारमा हाम्रो अन्दाज पनि सायद ठिकै थियो होला त्यस बेला । अहिले आएर हामीहरूको हकमा पनि अरूहरूको मानसिकता त्यस्तै हुने नै भयो ।

चाईनिज या जापानीज अनुहारका अरू कसैले पनि फरक देशको नाम लिए भने त्यस्तै लाग्छ, चाहे उनीहरू त्यही देशमा जन्मिएका किन नहोउन् । बर्षौं अर्को देशमा बसे पनि रङ्ग र स्वरूप त फेरिँदैन नि !

मैले माथिका प्रशंग हरू कोट्याउँनुको पछि जति बाहिर बसे पनि वा उताको नागरिक भएपनि अनुहार र रँगले हुने भेदभाव या भोग्नु पर्ने समस्यालाई अलिकति भएपनि बुझ्न सजिलो होस् भन्ने हो । अथवा मातृभूमी या कर्मभूमी बीचमा परेको आप्रवासीको समस्या या पीडालाई उल्लेख गर्न खोजेको हो ।

कतिपयलाई लाग्ने जस्तो बिदेशमा बस्नेहरु बिदेशमै रमाउँने र देश न सम्झिने हुँदैनन् । मेरो हकमा भन्ने हो भने मैले जीवनमा सबै भन्दा धेरै मेरो गाउँ सम्झिएको अहिले नै होला । हरेक कुराहरु सम्झिन्छन्, हरेक घट्नाहरु ठोक्किन आउँछन् । दु:ख पीडामा मात्रै हैन; मिठो खाँदा, राम्रो लाउँदा पनि देश सम्झिन्छ ।


मैले क्यानडाको नागरिकता लिदा नेपालको नागरिकता छोडेको कतै महशुष नै गरिन र त्यो गरेको पनि हैन । क्यानडाकै नेताले नागरिकता लिने कार्यक्रममा गर्व साथ स्वागत गरे र आफ्नो जन्मेको देश, भाषा र संस्कृतिको महत्व पनि भने । उनी आप्रवासी नै थिए । क्यानेडियन सरकार आप्रवासीहरूको भाषा, संस्कृति, धर्मको कुरामा अत्यन्त संवेदनशील छन् र संरक्षणको लागि थुप्रै कार्यक्रमहरू पनि संचालन गरिरहेका छन् ।

तर हामी आप्रवासीहरूको समस्या भने अर्कै छ । हामी मनले अर्को देश स्विकार गरि हाल्न सक्दैनौं । आफूले छोडेर आएका हरेक चीजहरूले बिस्तारै सताउन थाल्छन् । पहाडहरू, खोला, घर, गाउँ, आफन्त र सबै सबै मनमा चौबीसै घण्टा घुमि रहन्छन् । गाउँको ठूलो ढुङ्गा, ठूलो रुख, धुलाम्य बाटो, खेतका गह्राहरु, जङ्गल सबैले तान्न थाल्छ मन । मामा, काका, साथी सबै आउँछन् एकै पटक । बिधालय, मन्दिर, गोठ सबै आउँछन् ।

यता सबै पुगेर पनि अपुरै हुन्छ । मन खाली खाली जस्तो । यताको सबै चीज उताको सँग दाँज्न मन लाग्छ । देश या मातृभुमी भनेको भावनासँग जोडिएको कुरा हो । यो सम्बन्ध हो । नाता हो । चाहेर वा छोडेर सजिलै हराउने कुरा हैन ।


धेरै आफन्तीले भनेका राम्रा कुराहरू भन्दा थोरै नराम्रा मान्छेहरूले भनेका तिखा शब्दहरूले पोल्छन् । अन्य देशहरूले विदेशमा गएका आफ्ना नागरिकहरूको चासो लिएको देख्दा मन कल्पिदो रहेछ । सर्वसाधारणले भनेको त चित्त बुझाउँला, तर जिम्मेवार पदमा रहेका हरुको पनि विदेश गएका प्रतिको धारणाले मन अमिलो हुन्छ । कोही नजीक सम्झिएकाहरुको ब्यबहार पनि त्यस्तै हुन्छ । फर्किन पनि कता कता डर लाग्ने र बस्न पनि । सधैँ दोधारमा हुन्छौं हामी ।


लाग्छ हाम्रो कुनै देश छैन । बीचमा छौं हामी । हुन त दुईटा देश हुन्छ हाम्रो रोजाईमा । बच्चाहरु एक परिवेशमा हुर्किन्छन्, उनीहरुको आफ्नो संसार हुन्छ । हामी न बृध्द आमा बा संग रहन्छौं, न छोरा छोरीहरु सङ्ग हुन्छौं । न यताको हुन सकिन्छ, न उताको नै रहन । खुट्टा यता र मन उता । हामी जीवनभरि सायद स्थायित्व खोजीरहन्छौं र कहींको हुँदैनौं । मन हुँदैन आफूसँग, मनलाई पछ्याईरहन्छौं, दौडीरहन्छौं मनको पछि । खुलेर देश भन्न नै कठिन, हामी देश खोजिरहेका आप्रबासीहरु ।

मुक्ति गौतम
अप्रिल ०७, २०१८
टिमिन्स, क्यानडा




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.