शङ्कर लामिछानेको कारूणिक जीवन कथा | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

शङ्कर लामिछानेको कारूणिक जीवन कथा




उनलाई जतिसुकै आर्थिक, सामाजिक र मानसिक तनाव भए तापनि उनको मन जागीरको खोजी, जनसम्पर्क र लेखनमा नै केन्द्रित थियो । त्यसैले उनले काम, यात्रा र लेखनमा आफूलाई सकेसम्म नजिक राखिरहे । यात्राका क्रममा उनले नेपालका केही भूभाग र भारत अनि जापानको भ्रमण गरेका थिए ।



नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्कर लामिछानेलाई चिनेका छन् । खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्कर लामिछानेको नाउँ आउँछ । तापनि निबन्धमा लामिछानेका पाठक देवकोटाका भन्दा शायद थोरै चाहिं छैनन् । वास्तवमा कलात्मक लेखनका उनी एउटा मूर्धन्य साहित्यकारका रुपमा सुप्रसिद्ध भए । उनले निबन्ध विधालाई नयाँ शैली, नयाँ आयाम र नयाँ परिवेश दिए । त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए ।

लामिछाने खुबै मिलनसार थिए । उनी महाकवि देवकोटाका पनि अति नजिक थिए । त्यस बेला यी दुबैजना आर्थिक हाहाकारमा भास्सिएका थिए । किनभने उनीहरुको कमाई खानेभाँडो ठूलो थिएन । त्यसैले एक पटक लामिछानेकै पारामा लागेर देवकोटा पनि लामिछाने झैं विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध भए । त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई यो पनि एउटा जिविकाको काम हो भनेर त्यतै मोडेका थिए । देवकोटा पनि अबोध बालक जस्तै थिए । त्यसैले जस्ले जे भन्यो उनी त्यही मानिदिन्थे । अनि फेरी तुरुन्तै अर्को कुनै मान्छेले भड्काए पछि देवकोटा उसैका कुरा पत्याइ दिन्थे । तर लामिछानेले चाहिं देवकोटालाई आर्थिक रुपमा पनि उकास्ने प्रयत्न गरेका थिए ।

लामिछाने नेपाली साहित्यमा जति लागिपरे विवादमा पनि त्यतिकै तानिइरहे । कहिले उनलाई चोरी वात लाग्यो, कहिले उनी बहुविवाहको झमेलामा परे र कहिले जागीर र व्यवसायले उनलाई रन्थन्याई रहृयो । तर पनि साहित्यमा चाहिं उनले एक निष्ठ भएर लेखिरहे । लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका महारथीका रुपमा स्थापित पनि भए ।

दार्जिलिङकी रत्ना राईसँग लामिछानेको प्रेमविवाह भयो । उनीहरूबाट दीप र शिखा जन्मे । फेरि लामिछानेले काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पनि अर्को विहे गरे । त्यहाँबाट पनि प्रकाश र प्रभास जन्मे । तर पनि उनले सुक्खको मुख देख्न पाएनन् । वास्तवमा उनी बाँचुन्जेल पारिवारिक रूपमा अत्यन्तै दुखित थिए । अथवा भनौं त्यस ताका आफूले खनेको खाडलमा उनी आफै डुबेका थिए । उनलाई जतिसुकै आर्थिक, सामाजिक र मानसिक तनाव भए तापनि उनको मन जागीरको खोजी, जनसम्पर्क र लेखनमा नै केन्द्रित थियो । त्यसैले उनले काम, यात्रा र लेखनमा आफूलाई सकेसम्म नजिक राखिरहे । यात्राका क्रममा उनले नेपालका केही भूभाग र भारत अनि जापानको भ्रमण गरेका थिए ।

हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्कर लामिछानेको जन्म १९८४ साल चैत ५ गते काठमाडौको जैसीदेवलमा भएको थियो । उनी बामे सर्दानर्सर्दै उनका बुबा र आमाको आन्तरिक सङ्घर्ष चल्न थाल्यो । अनि उनकी आमाले आफ्नो घरबाट पाइलो लोटाउने निर्णय गरिन् । जसका कारण उनी शिशुकालमा हुँदा नै आफ्नो दुधे भाइसँगै आमाका पछि लागेर मावली घर वनारस पुगे । त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भएको थियो ।

वनारसमा लामिछानेकी आमाले स्कुलमा पढाएर छोरो पालिन् । अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो । त्यसपछि किशोरावस्थाको आरम्भमा नै लामिछाने फेरि काठमाडौ आए ।

लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे । अनि उनी जागीरमा लागे । राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए ।

लामिछाने चञ्चले थिए । रक्सीलाई यी चिज गर्थे । नारीको यी जयजयकार गथें । त्यही प्रवृत्ति जोडिएर पनि नारी जाति उनका मन पर्ने विषय हुन थाल्यो । उनले थुप्रैसँग प्रीति गाँसे । त्यही क्रम तानिएर उनी पारिजातको सम्पर्कमा पनि पुगे । पारिजातसँगको उनको सम्पर्कलाई धेरैले प्रेमको संज्ञा दिए; तर उनले बाँचुन्जेल पारिजातलाई बहिनी भनिरहे । साहित्यजगत्मा चर्चा थियो, "पारिजातको 'शिरीषको फूल'को भूमिका लामिछाने र पारिजातबीचको प्रेमको सेतु थियो ।" भनिन्थ्यो अथवा भनौं हल्ला थियो- "शङ्कर लामिछाने र पारिजात एकअर्कालाई प्रेम गर्थे । दैनिक दसबाह्र पल्टसम्म पनि लामिछानेको पारिजातसँग भेट हुन्थ्यो ।"

आफ्नो जीवनको अस्थिर प्रवृत्तिले गर्दा लामिछानेले भएको सरकारी जागिर पनि छाडे । त्यसपछि उनी नेपाल-भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए । त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए । अनि त्यस ठाउँमा नयाँ मान्छेसँग उनको विचारको मेल भएन र स्वाभिमानका कारणले उनले त्यहाँबाट पनि हात धोए ।

लामिछाने जागीरकै सिलसिलामा घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए । त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन् । अनि फेरि उनले ज्यूज्यान बचाउन सिनेमा हलमा पनि काम गरे । उनले नेपालकै पहिलो सिनेमा हल जनसेवा सिनेमा हलमा व्यवस्थापकका रूपमा काम गरे । त्यतिमात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्डटुर्ससम्म पनि जागीर खाए । ती ठाउँहरुमा पनि उनी सफल भएनन् । अथवा भनौं गमलामा बरको बोट अटाएन । उनले विदेशीका लागि क्यूरियो पसल पनि खोले । त्यहाँ पनि उनी घाटामा नै परे ।

लामिछानेको वैयक्तिक जीवनमा आँधीहुरी आए तापनि उनी लेखनका नम्बरी सुन थिए । खास गरेर उनी निबन्धका चाहिं वादशाह नै मानिए । उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहे । उनले आफू पन्ध्र वर्षपुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोतमा छापाए । त्यसपछि उनी क्रमशः चर्चापरिचर्चामा आइरहे । किनभने उनले घनत्व भएका कृतिको मात्र निर्माण गरे । उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन र प्याज'ले २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । उनका फूटकर रूपमा थुप्रै कविताहरू छापिएका थिए भने कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (२०२५) प्रकाशित भएको थियो । साथै उनको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब' (२०२८) प्रकाशित भएको थियो । 'गोधुली संसार' (२०२७) र 'शङ्कर लामिछाने' (२०३२) नामक उनका थप निबन्धका कृति प्रकाशित भएका थिए ।

लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे । उनी आँसु लेखन नै गर्थे । उनको लेखन सीप अलौकिक मानिन्थ्यो । उनी लेख्ता मनबाट लेख्थे, मस्तिष्कबाट लेख्थे र वचनबाट लेख्थे । त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो । त्यही कारणले उनी छिटोछिटो लोकप्रिय हुँदै गए । त्यसमाथि उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो । महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भए, त्यसपछि उनी इन्द्रेणीको पनि सम्पादक भए । साथै उनले हाम्रो साहित्य नामक बाल पाठ्यसामाग्रीको आठ वटा भागको सम्पादन गरेका थिए । उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित थिए ।

लामिछानेको जीवनको प्रारम्भदेखि ४८ वर्षम्म सङ्घर्ष बाहेक केही थिएन । पृथ्वीमा मानसिक र भौतिक कष्टसँगसँगै बेहोर्ने मान्छेका अग्र पङ्तिमा पर्ने मान्छेको नाउँ लिनु पर्दा लामिछानेलाई पनि लिने गरिन्छ । अन्ततः सङ्घर्षमा नै नापिदानापिदैं उनको स्वास्थ्य पनि विग्रिन सुरु भयो । यसक्रममा उनको गिदीको जालो सुनिन थाल्यो । अनि त्यही कारणबाट उनको निधन भयो । २०३२ साल माघ १० गते नेपाली भाषासाहित्य संसारमा निष्लोट कालो बादल मडारिएको थियो ।

---
‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

(प्रकाशोन्मुख "साहित्यमा बाँचेका मान्छे" को एउटा पाठ)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.