गाँउमा राम्रो स्कूल थिएन या म वदमाश थिए । मलाई बच्चैमा शैक्षिक मुग्लान पठाईयो, आमावुवाको सपना थियो पढेर ठूलो मान्छे बनोस भन्ने । मम्मीको पुरानो डायलग अझै याद आँउछ, बाबु राम्ररी पढ है नत्र हलो जोतेर खान पर्ला भन्ने । तर हलो जोत्ने काम अनि श्रमिक कार्यहरु मलाई अत्यन्त कुल लाग्थे, एकदिन सरले सबैलाई सोध्नुभयो आफ्नो जिवनको लक्ष्यकावारेमा । मैले गाँउछेउको रजिन्द्रा दाईको माछा मार्ने जालो र पोखरीमा डुबुल्की मार्दै माछा मारेको देखेको थिए, रमाईलो र मज्जाको काम म पनि ठूलो भएर यहि गर्छु भन्ने कल्पना पनि कसो नगरेको होला र ?
सरलाई मैले म माछा मार्ने मान्छे बन्न चाहन्छु भनेर लेखेर कपी बुझाए, सबैको कपी फिर्ता आयो तर मेरो र अर्को एकजना साथीको कपी सरसँगै अन्तीममा दिने भनेर राख्नुभएको थियो । एउटा मेरो कपी थियो, माछा मार्ने बन्न चाहन्छु भन्ने र अर्को कपीमा चाँही साथीले गृहणी बन्न चाहन्छु भनेर लेखेकि रहिछन् ।
हामीलाई सरले वोलाएर जीवनको लक्ष्य भनेको त डाक्टर, ईन्जीनियर, पाईलट, बिजनेसम्यान पो हुन्छ त ? यो त हुँदैन भनेर पठाउनुभयो, पछिसम्म पनि साथीहरु मेरो कपी हेरेर हासेका थिए, म अमुक थिए ।
माछा मार्ने मान्छे एउटा श्रमिक हो, कक्षा कोठामा पढाएको विधार्थी भएकाले नै सरले मलाई दया गरेर श्रम गर्ने वाटोवाट पर हटाउन खोज्नुभएको हुनसक्छ । तर पढेर पनि वैज्ञानिक रुपमा माछा पालेर, वेचेर अनि माछा मार्ने ब्यवसायलाईनै पूर्नपरिभाषीत गर्न सक्ने संभावनालाई सरले बुझ्न सक्नुभएन ।
विधालयमा नयाँ कुरा सिकाईयो, हामीलाई पसिना चुहाउने पेशा अर्थात श्रम वाट रेसक्यू गर्ने थलो रहेछ विधालय ।
यो पनि हेर्नुहोस् :अन्तर्राष्ट्रिय मजदुर दिवस
त्यहीवाट श्रम अनि पढाई विचको सौतेनी ब्यवहार शुरु भयो ।
ममा पढाई र हलो जोताई विचको समबन्ध केलाउन सक्ने बुद्धि थिएन, विस्तारै बुझदै गए त्यो त हामी सबैजना नेपाली आमाहरुको राष्ट्रिय डायलग रहेछ । अझै बुझ्दै गईयो, उमेर वढपेछि, हलोसँगको दुश्मनी हैन रहेछ, हलोको बिम्ब प्रयोग गरेर पढिनस भने श्रम गरेर खानपर्ला भन्नुभएको रहेछ । पढाई र श्रम विचको लुकामारीमा हुर्कदै आएको म सँगको पुस्ताहरु अझै पनि पसिना चुहाएर काम गर्न अगाडि कलमको धाक छोड्छौ । नियती यस्तो छ कि मकै भुटिने खाडीको गर्मीमा भने नेपाली पसिना लाईन लागेरै झर्छन, यता भान्सामा खाएको थाल लगेर थुपार्ने हातहरु उता तातो बालुवासँग पौठेजारी खेलीनैरहेका छन् ।
परिवार अनि समाजले सँधै श्रमिक अनि श्रम को नकारात्मक उदहारण दिँदा दिँदा हामीमाझ श्रम गर्ने मान्छेकालागी सहानुभुती मात्र बाँकी हुन्छ शायद, श्रमिक प्रतीको यो दृष्टिकोण दुर्भाग्यपूर्ण हो ।
स्मरण रहोस्, हामी वसेको घरमा सबैभन्दा पहिले मानव कमिलारुपी श्रमिकहरुले नै ईटा, वालुवा, सिमेन्ट ल्याएर गारो लगाएका हुन्, बनाएका हुन , हैन र ? लगाएको कपडाका धागाहरु हेरौ श्रमका सीपहरु देखिन्छन्, फालिएका फोहोरहरु उठाउन एकदिन मात्रै पनि कोही आएन भने के हुन्छ ? यातायातका साधनहरुका श्रमिकहरुलाई संझना गरौ अनि थुप्रै ति पसिना धाराहरु जो बिना हामी संभव छैनौ ।
आँउदो पुस्ता हाकिम होस्, सबैको चाहना छ तर हाकिम बनाँउने सोचमा श्रम गर्न नसक्ने अल्छी चाँही नबनाँउ है । श्रमिक प्रती सम्मान जनाउने अनि श्रम प्रती वफादार पुस्ता आजको १२८औँ अन्तराष्ट्रिय श्रम दिवसको आवश्यक्ता हो । पढाई र श्रम विच सौतेनी त्यान्द्रो गाँसिन हुन्न, हामी बसै श्रमिक नै हौ र श्रम विना विकास संभव पनि त छैन् । श्रम लाई सीपमा बदल्न सकौ, श्रमिकहरु वास्तवमै सम्मानका लायक छन्, आँउदो पस्ताले थाहा पाओस् ।
उतिबेलै आमावुवाको शुभविवाहमा मावलको हजुरवुवाले दिनुभएको एउटा नेशनल लेखेको बडेमानको रेडियो थियो, म रेडियो जत्रै थिए । त्यो समयमा रेडियोमा यो गीत बज्दा मलाई साह्रै चित्त पथ्र्यो, हातमा औजार भएका, कलम भएका अनि वाजा वजाएका मान्छेहरु कल्पना गर्थे, रमाईलो लाग्थ्यो ।
गाँउ गाँउ वाट उठ
वस्ती वस्ती वाट उठ
हातमा कलम हुनेहरु कलम लिएर उठ
हातमा औजार हुने हरु औजार लिएर उठ
वाजा वजाउन जान्नेहरु वाजा लिएर उठ
साथमा केही नहुनेहरु आवाज लिएर उठ
यो देशको मुहार फेर्नलाई उठ
आखिर देशको मुहार फेर्नलाई सबैजना सीप, कला अनि आवाज भएका श्रमिकहरु उठ्न जरुरी छ, कलम देखि मलम समाउने सबैलाई श्रम सम्मान गरौँ ।
सुयोग ढकाल
Liked by: