Sushila Aama Ra Dr Basant Pant | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सुशीला आमाको मृत्यु र डा. वसन्त पन्तको धर्म




   इन्दिरा प्रसाई - Feb 13 2019

डा. वसन्त पन्तले उनका पारिवारिक पुरोहित पण्डित रामचन्द्र खतिवडासँग आगामी तेह्रदिने मृत्युसंस्कारबारे परामर्श गरे । अस्पतालमा डा. पन्त आफैँले शल्यक्रिया गर्नै पर्ने दश जना विरामी कुरिरहेका रहेछन् । तर ‘सुशीला आमाको मृत्यु संस्कार पाँच दिनभित्र सकौँ’ भन्ने डा. वसन्तको आग्रह पं. खतिवडाले स्वीकार गरेनन् ।



२०७५ साल माघ १४ गते मध्यान्नको ३.०० बजेको कुरा हो; त्यसै बेला डा. वसन्त पन्तकी महतारी सुशीला पन्तले निर्वाण प्राप्त गरिसकेको खबर हामी नइ समक्ष पनि आइपुगेको थियो । अन्तर्राष्ट्रिय जगतका सुविख्यात स्नायु रोग विशेषज्ञ डा. पन्त र सुनगाभाकी प्रसिद्ध वैज्ञानिक प्रा. डा. विजया पन्तसँगको आत्मीय सहचार्यका कारण पन्त निवासका साना ठूला घटनाहरू पनि नइ समक्ष आइरहने गर्छन् नै !

यस चराचर जगतमा, यस देशमा अथवा यस काठमाडौँको खाल्डोमा मृत्युका कैयौ र सैयौँ शङ्खध्वनी हामीले सुनिसकेको परिप्रेक्ष्यमा ८२ वर्षीय सुशीला पन्तको मृत्युको समाचार कुनै आश्चर्यजनक र उल्लेख नगरी नहुने विषय पनि थिएन । अर्को कुरा प्राणीको धरा उपस्थिति भनेको नश्वर हो । यस धरामा प्रवेश हुने देहधारीका लागि अनिश्चित समयमा धराबाट पलायन अनिवार्य छ । शाश्वततासँग आत्मसात हुनेका लागि कुनै पनि व्यक्तिको धरा उपस्थिति नै व्रह्महाण्डको एउटा सुक्ष्मकण भन्दा बढी होइन भन्ने यथार्थ बुझ्नेका लागि पनि सुशीला आमाको धरा पलायन विशेष उल्लेखनीय नहुन सक्छ । त्यसैले जीवन मृत्युको मात्र कथा लेखिनुको कुनै औचित्य पनि छैन । तर कुनैकुनै मानव जीवन र मृत्युको प्रसङ्गको उल्लेख नगरी पनि नहुने अवस्था पनि आउन सक्छ । घर परिवारसँग मात्र सरोकार नभएर, समाज र राष्ट्रका लागि समेत उल्लेखनीय घटना सधैं जीवित हुने पनि गर्छन् । अनि यसको सरल प्रमाणका रुपमा आमा सुशीला पन्त र छोरा डा. वसन्त पन्तलाई पनि अघि सार्न सकिन्छ ।

प्रकृतिकी पुजारी र स्वावलम्वनकी उदाहरण सुशीला पन्त मृत्युका दिनसम्म पनि आफैँले पस्केको भात खान र आफ्ना लुगा आफैँ धुन रुचाउँथिन् । छोरा विश्वप्रसिद्ध चिकित्सक हुनुको गर्वमा रमाउने सुशीला आमाको फुर्तिलो र स्वयम्सेवी व्यक्तित्व उनका छोरा डा. वसन्त, छोरीद्वय कविता पराजुली र कल्पना नेपालका साथै बुहारी प्रा. डा. विजया पन्तका लागि समेत प्रेरक बनेको कुरा पनि स्मरणीय बनेको छ । नेपाली धरामा डा. वसन्त पन्तजस्ता अश्विनीकुमारको अवतरण गराउने सुशीला आमाको आत्माको शान्तिका लागि हामी कसैले प्रार्थना गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन । देहत्यागपछि जान पाइने यदि कुनै वैकुण्ठ छ भने यस्ता आमाहरूका लागि त्यस धाममा सुव्यवस्थित वास अग्रीम वन्दोवस्त गरिएकै हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

हाम्रो अहिलेको वस्तुवादी एवम् नैतिक मूल्य धरासयी समाजमा बाबु, आमा बाँचुञ्जेलसम्म उनीहरूको सेवाटहल वा उनीहरूसँग एकैछिन भलाकुसारी गर्न पनि फुर्सत् नहुने छोराछोरी पनि छन् । त्यस्ता सन्तानले अपहेलित तिनै बाबु, आमाको मृत्युपछि भने गोहीका आँसु धरधरी बगाएको पनि देखिन्छ । हाम्रो सनातन हिन्दू संस्कारको पालनामा तिनै सन्तानले दागबत्ती दिँदै सेतो धरो फेरेर तेह«, सात अथवा पाँच दिने किरीयापुत्री बसेको हेर्नु अति सामान्य प्रचलन हुँदै हो । तर सबै छोराछोरीहरूको मन, विचार र दृष्टिकोण एउटै प्रकृतिको हुँदैन भन्ने बेहोराको उदाहरण डा.वसन्त पन्तबाट पाइन्छ । किनभने हाम्रै साक्ष्यमा धरावासी हुञ्जेल सुशीला आमाको खुसी र सुखका लागि डा. वसन्त र उनका परिवारवाट हरसम्भव व्यवस्थापन गरिएको थियो ।

माघ ११ गते सुशीला पन्त आफ्नी कान्छी छोरी कल्पनाका घरमा पुगेकी थिइन् । आमा छोरी रमाइलो गरेर बसिरहेकै सन्दर्भमा साँझ चार बजे अचानक सुशीला आमाको स्वास्थ्यमा गढबढी देखा प¥यो । स्वास्थ्य सचेतनाले घनिभूत छोरी कल्पनाको शिघ्र सूचनाका आधारमा आफ्नी आमालाई डा. वसन्त स्वयम्को नेतृत्व र सहभागितामा अन्नपूर्ण न्यूरो अस्पतालको आईसीयूमा भर्ना गरियो ।

सुशीला आमाको सिटी स्क्यान आदि मेडिकल अनुसन्धानपश्चात मस्तिष्कको दायाँ भागमा क्लट भएको रहेछ । अथवा भनौं डा. वसन्तले आफ्ना अनुयायी चिकित्सक टोलीसँगको सरसल्लाहपछि सुशीला आमालाई स्ट्रोक भएको ठहर गरे । अनि आमाको जीवन बचाउन अन्तिम प्रयास गर्ने निधोका साथ डा. पन्तले नै माघ १२ गते साँझ सात बजे आफ्नी आमाको मस्तिष्कको शल्यक्रिया गरे । ठीक त्यसै समयमा आमाको मात्र नभएर अन्य दुई जटिल विरामीहरूको पनि डा. पन्तले नै शल्यक्रिया गरेका थिए । साथै ती दुई विरामीहरू शल्यक्रियापछि कुराकानी गर्न पनि थालिसकेका थिए । तर त्यसै रात दुई बजे सुशीला आमाको भने मस्तिष्कको मृत्यु भनौं ‘बे्रन डेथ’ भइसकेको कुरा डा. वसन्तले थाहा पाए ।

डा. वसन्त भनेका एक जना स्नायू रोगका सर्जन हुन् । उनी हजारौँ स्नायू रोगका जटिलतम रोगीहरूको सफलतम शल्यक्रिया गरेर मृत्युका सङ्घारमा पुगिसकेका विरामीलाई जीवन दिएर ईश्वरतुल्य आस्था र विश्वास कमाउन सफल चिकित्सक हुन भन्ने कुरा जगजाहेर छ । डा. पन्तले नै ८६ वर्षीया मेरी सासू भागीरथा प्रसाईको समेत २०६२ सालमा मस्तिष्कमा रगत जमेको (ब्लड कल्ट) को शल्यक्रिया गरेका थिए । मेरी सासूलाई पनि उनैले सात वर्षको थप जीवन दिएको घटना उल्लेख योग्य छ । तर विधिको विडम्वना भनौँ डा. पन्तले ८३ वर्षीय आफ्नै आमाको शल्यक्रियामा सफलता पाउन सकेनन् ।

२०७० सालमा सुशीला पन्तको ढाडको नसा च्यापिएको अथवा भनौं डिस भएको थियो । त्यसको सफल शल्यक्रिडा डा. वसन्तले सम्पन्न गरेका थिए । सहोदर दिदी कविताको पनि सोही रोगको सफलतम् शल्यक्रिया उनैले गरिसकेका हुन् । तर वर्तमानमा सम्पन्न शल्यक्रियामा भने डा. पन्तले आफ्नै आमालाई समेत बचाउन सकेनन् । यसो हुनु भनेको विधीले सुशीला आमालाई माध्यम बनाएर ‘आफ्नो समय सकिएपछि जानै पर्छ । आफ्नै विश्व प्रसिद्ध चिकित्सक छोराले उपचार गरेर आफ्नी आमालाई बचाउने खोजे पनि यस धरामा बस्न पाइँदैन’ भन्ने सत्य नश्वर जगतका लागि प्रकाश गरेको हुनसक्छ ।


आफ्नी आमाको निधनकोे पीडाले डा. वसन्त पन्त केही बेर खुब भौतारिए । त्यो पीडा यति मर्मभेदी थियो कि डा. पन्त आमाको अवसान बोकेर माइती घरस्थित अन्नपूर्ण न्युरो अस्पतालबाट आधारातमा निर्जन सडकमा एक्लै र पैदलै जाउलाखेलस्थित आफ्नो निवाससम्म पुगे । हुनत डा. वसन्तले २०४८ सालमै आफ्ना ६० वर्षीय पिता रङ्गकर्मी एवम् हास्यव्यङ्ग्य साहित्यका लेखक अनि ‘कर्के आँखा’ र ‘सेतो सालिग्राम’का सर्जक गोपालराज पन्तलाई काठमाडौँको सडक दुर्घटनामा गुमाइसकेका हुन् । प्रहरी सेवामा रहेका डा. वसन्तका प्रतिभासम्पन्न पिता गोपालराज पन्तले रेडियो नेपालमा साप्ताहिक रेडियो नाटक प्रस्तुत गर्थे भने ‘प्रहरी’ पत्रिकाका संस्थापक प्रधान सम्पादक पनि उनी नै थिए । यसका साथै सेवा निवृत्त भएपछि पनि आफ्नै प्रधान सम्पादकत्वमा ‘तथ्यकथा’ मासिकको प्रकाशन निजी तवरवाट गर्दै आएका थिए । कर्मजिवी आफ्ना पिता असमयमै गुमाउँदा पनि डा. पन्तले आफ्नी आमाको काखमा टाउको राख्ने ठाउँ पाएका थिए । आमाबाट शान्तवना पाएका डा. पन्तलाई आफ्नी ममतामयी माता गुमाउनु परेको क्षण अति नै मर्महात थियो ।

डा.पन्तलाई आफ्नी आमाका लागि आफ्नै सीप काम नलाग्ने अवस्था र आफ्नो चिकित्सकीय असफलताको दोहोरो पीडाले मर्मान्त पीडा दिनु अनौठो थिएन । यसवीच सो पीडावाट सहज निस्काशनका विविध उपाय अवलम्वन गर्दै डा. वसन्तले आफूलाई सहज बनाउने प्रयत्न गरे । स्वास्थ्यस्थिति सामान्य रहेकी आमाको मातृत्वको काख यति क्षणिकरूपमा गुमाउनु पर्ला भन्ने कल्पना पनि नगरिँदै घटेको यस दारूण घटनाले डा. वसन्त चोटिनु यथार्थ थियो । आमाको सम्झनामा विचलित बस्नु सन्तानको वास्तविकता पनि हो । तर तत्क्षण डा. वसन्तले विधिले आफूसँग छिनेको आमाको साथ अब नफर्कने यथार्थसँग सम्झौता गरे । अनि उनले आफूलाई वास्तविकजीवनमा ल्याएर आफ्नो चिकित्सकीय जीवनको गहन जिम्मेवारीवोध गरे । यो त्यही महत्वपूर्ण क्षण थियो जसले गर्दा त्यसै साता डा. वसन्तले नै शल्यक्रिया गर्नुपर्ने विरामीहरूको शल्यक्रिया सम्भव भएको थियो । यसै सहजीकरणको फलस्वरुप डा. पन्त आमाको ‘भेन्टिलेटर डेथ’ को विचलनको प्रतीक्षामा बसेनन् । उनले यसको साटो आमाको स्वार्गारोहणका दिन अथवा १४ गतेको मध्यान्नसम्ममा पनि उपचारका लाइनमा राखिएका थप तीन जनाको जटिल शल्यक्रिया सम्पन्न गरेका थिए ।

त्यसपछि सुशीला आमाको आर्यघाटसम्मको शवयात्रा र विद्यूतीय शवदाह केन्द्रमा हिन्दू धर्म संस्कार अनुरूप दाहसंस्कार गरिनु सामान्य घटना नै थियो ।

यसैवीच डा. वसन्त पन्तले उनका पारिवारिक पुरोहित पण्डित रामचन्द्र खतिवडासँग आगामी तेह्रदिने मृत्युसंस्कारबारे परामर्श गरे । अस्पतालमा डा. पन्त आफैँले शल्यक्रिया गर्नै पर्ने दश जना विरामी कुरिरहेका रहेछन् । तर ‘सुशीला आमाको मृत्यु संस्कार पाँच दिनभित्र सकौँ’ भन्ने डा. वसन्तको आग्रह पं. खतिवडाले स्वीकार गरेनन् । ‘आठौँ दिनसम्म तपाईँका प्रतिनिधि व्राह्मणद्वारा किरीयास्थलमा पूजा गरिने गरी तपाईँलाई चोखो खानपीन गरेर आफ्नो कर्मका लागि छुट दिन सक्छु तर नवौँ दिनदेखि पुत्रद्वारा गरिनै पर्ने संस्कार भने म संशोधन गर्न सक्दिन ।’ पं. खतिवडाको निर्णयात्मक सुझाव त्यस अवस्थामा राम्रै थियो ।

पण्डित खतिवडाको सुझाव शिरमा राखेर डा. वसन्त पन्तले आफ्ना विरामीहरूको सर्वोत्तम हितका विषयमा सोचे । ‘मेरी आमा त मैले गुमाई सकेँ, तर मेरा अनुपस्थितिका कारण कसैले आफ्ना परिवारजन गुमाउनु नपरोस भन्ने चिकित्सकीय धर्मबारेको आफ्नै मानस आग्रह मैले स्वीकार गरेँ ।’ यसै निश्चयको परिणामस्वरूप डा. पन्तले आमाको मृत्युसंस्कार प्रारम्भ भएको आठौँ दिनसम्ममा बाह्र जना विरामीको जटिल शल्यक्रिया सम्पन्न गरे । मृत्यु अस्वम्भावी हो र चिकित्सकले यस कुरालाई थप नजिकबाट देखेका हुन्छन् । तर डा. वसन्तले झैँ मृत्यु आत्मसात गर्दै आफूलाई सहज बनाएर आफ्नो कर्ममा अटल रहने चिकित्सक यस लेखकको जानकारीमा भएन ।

जीवन क्षणिक हो र मृत्यु सत्य हो भनेर जान्दाजान्दै पनि आफ्नै परिवारभित्र अझ आफ्ना प्रियजनको मृत्यु पचाउन जो कसैका लागि पनि निकै कष्टकर हुने गर्छ । मोहमा ग्रसित मनुवा अरूलाई परेका बेला ठूलो ढाडस, शान्तवना र पण्डित्याईँ प्रकट गर्न सक्छ तर स्वयम् माथि विधातीय मर्म पर्दा शोकमा विह्व्ल बन्दै किंकत्र्तव्यविमुढ नै बन्दछ । डा. पन्तका सन्दर्भमा पनि यसो मात्रै हुँदो हो त यस लेखको कुनै अर्थ हुने थिएन । तर यहाँ अर्कै अनौठो र समाज प्रेरक घटना घटेकाले यसलाई सञ्चारित गर्नु मैले आफ्नो धर्म सम्झेँ । यसै उद्देश्यले यस रचनाले प्रत्यक्ष हुन पायो ।

स्नायू रोगका विशेषज्ञका रूपमा विख्यात डा. वसन्त पन्तकोे महत्वले विशिष्टता हासिल गरेको कुरा चिकित्सकीय परिवेशका लागि सुखद् यथार्थ हुँदै हो । सनातन हिन्दू धर्म संस्कारको मर्यादामा चोट नपु¥याई आफ्नो कत्र्तव्यको पालना गर्ने डा. वसन्त पन्तले अठार पुराणको रचनापछि व्यास ऋषिले दिएको निष्कर्ष ‘परोपकारः पुण्याय पापायपरपिडनम्’ जस्तो शास्त्रीय उक्ति अर्थात् ‘अरूप्रति परोपकार गर्नु नै पूण्य हो र कसैलाई कष्ट दिनु नै पाप हो’ भन्ने वचनको परिपालनमा आफूलाई समर्पण गरेको तथ्य अहिलेको युगका लागि शिक्षाप्रद, प्रेरक र अनुकरणीय हुन पुगेको छ ।

---
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका अध्यक्ष इन्दिरा प्रसाई कथाकार, कवि तथा साहित्यका विभिन्न विधामा क्रियाशील हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.