हो मलाई एड्स लागेको छ !
एकदिन म ग्राहकसंग भएकी होटलमा पुलिसले छापा मार्यो, पक्कै पनि होटलको साहुसंग पैसाको बिषयमा कुरा नमिलेर त्यसो गरेको हुनपर्छ । नत्र पुलिसहरु आँफै पनि त्यही होटलमा खाने र मोज गर्ने गर्दछन् । यसरी छापा मार्दा म लगायत केही अरु म जस्ता अनि हाम्रा ग्राहकहरुलाई पनि हिरासतमा राखे । हिरासत मेरा लागि नयाँ थिएन, मेरो पेशामा ओच्छ्यान र हिरासतमा खासै फरक हुँदैन ।
बुटवल शहरमा मेरो सानो कोठा छ, कोठामात्र हैन मेरो छोरा पनि सानो छ । मेरो जीवन यति खोटो रहेछ कि मेरा जीवनको धेरै कुराहरु साना भएको सुस्तरि चालपाउन थाले ं। मेरा परिवारको चित्त, समाजको परिवेश अनि मेरो अस्तित्व पनि आँफैम धेरै सानो रहेछ । साना कुराहरु छिटै सकिन्छन् त्यसैले होला म सकिँदै गएँ या सकिँदै जाँदैछु । हाम्रो पुरानो घर अर्घाखाँची जिल्लामा हो, त्यहाँ पुरुषहरु भारतमा काम गर्न जाने चलन छ । मेरो पति पनि त्यसै क्रममा भारत काम गर्न गए, फर्किदाँ एचआईभी को उपहार बोकेर आए अनि मलाई पनि संक्रमीत पारे ।
गाँउमा बसिखान पाइएन, छिछिदुरदुर को क्रम कतिसम्म चल्यो भने हामी घर छाडेर गोठमा बस्न गयौं । गोठमा चितुवाले आएर मर्नु भन्दा त बरु शहर पसेर जुठो भाँडा मोलेर पनि खाँउला भनि यहाँ आयौं ।
श्रीमान औंशीेपूर्णे जस्ता थिए, कहिले आँउथे कहिले हराँउथे । अहिले त उनि नआएको पनि १५ महिना भइसक्यो, शायद रक्सीले लग्यो या एचआईभीले लग्यो तर उनि अब छैनन भनेर चित्त बुझाएकी छु । शहर झरेको केही महिना मै छोरा भएको हो, अहिले छोरो पनि बर्षदिन कटिसक्यो । पीएमटीसीटी सुबिधाले गर्दा छोरालाई एचआईभी छैन्, मेरो आशाको दियो भनको यहि छोरा मात्र त हो । म यो छोराको लागि काम गर्छु, मेरो काम धेरैलाई मन नपर्न सक्छ तर मलाई ठिकै लाग्छ ।
मेरो काम त राती नै शुरु हुन्छ अनि बिहान सम्म हुन्छ । हतार हतार साँझमा खुवाएर कोठामा राखेकी छोरालाई खुवाउन अनि भेटन कोठामा बिहानै पुग्छु । उसलाई भेट्दा मात्र पनि थकान मेटिन्छ । मेरो छोरा १३ महिनाको भयो, ओच्छ्यान वाट बामे सर्दै तल, माथि गर्छ, रातभरि आफू नहुने हुँदा उसलाई सुरक्षित पार्न हरेक उपाय लगाउन पर्दछ ।
घरमा म नहुँदा अरु कोही भएपनि छोरालाई हेरिदिन्थे भन्ने लाग्दछ तर यो एचआईभी ले त पहिले मेरा आफन्तका आँखामा मलाई मार्यो अनि मात्र मलाई मार्ने भयो ।
यो संसारमा कोही छ भनें कि त यो छोरा अनि कि त म आफैं । खाटमा चारैतिर झुललाई टाइट बाँधेर छोरा निस्कन नमिल्ने गरि उसलाई साझ सुताएर मात्र निस्कन्छु । उसलाई दिशापिसाबल लगेमा डाइपर लगाइदिएकी हुन्छु जून आएपछि खोलिदिन्छु ।
हरेक पल छोरा तल झरेर पानी खेल्न थाल्यो कि ?
कतै पानीको भाँडोमा उँधोमुन्टो पारेर खस्यो कि भन्ने पीर लागिरहन्छ । हरेक बिहान कोठाको साँचो खोलेर भित्र पुग्दा खाटभित्र हाँसेर बसेको छोरा देखेपछि मन्दिरको देवता नै देखे जस्तो हुन्छ ।
पहिले एचआईभीले मार्यो अनि अब समाजले मार्दैछ । मलाई मेरो पेशासंग कुनै आपत्ति छैन, यसै पेशाले मैले छोरा पालेकी छु, आफ्नो गुजारा गरेकी छु । गाँउमा शिर निहुर्याएर बाँच्नुभन्दा यहाँ अरुको ओच्छ्यान तताउन परे नि स्वाभिमानी त भएकी छु ।
एकदिन म ग्राहकसंग भएकी होटलमा पुलिसले छापा मार्यो, पक्कै पनि होटलको साहुसंग पैसाको बिषयमा कुरा नमिलेर त्यसो गरेको हुनपर्छ । नत्र पुलिसहरु आँफै पनि त्यही होटलमा खाने र मोज गर्ने गर्दछन् । यसरी छापा मार्दा म लगायत केही अरु म जस्ता अनि हाम्रा ग्राहकहरुलाई पनि हिरासतमा राखे । हिरासत मेरा लागि नयाँ थिएन, मेरो पेशामा ओच्छ्यान र हिरासतमा खासै फरक हुँदैन ।
मलाई बिहान जसरी पनि छोराको लागि पुग्न थियो, संयोगबश मेरो बाबुलाई त्यसै साँझ ज्वरो आएको थियो । हातमा पैसा नभएको अनि पुरानो ग्राहकले फोन गरेपछि पैसाको पनि जोहो हुन्छ भनेर म गएकी हुँ । प्रहरी समक्ष मैले रोईकराई गरें, कोठाको साँचो र छोराको बिवरण सुनाँउदा पनि उनिहरु चटपटाएनन । मेरो आँशुको हिसाब मेरा आँखाहरुले राख्न सकेकनन् । मैले त्यस दिन भगवानलाई दोश्रो पटक धिक्कारें, जसका लागि यि सब गरेकी हुँ उसको अनुहार आँखामा आयो । मेरो बाबु अब म पुग्दा त्यसै गरि हाँसेको हुन्छ या हुँदैन ? म सोच्दै रुँदैथिए ।
मेरो देशको कानुन पनि धिक्कार लाग्दो रहेछ, मलाई मेरो श्रीमानले सारेको रोग मा उ कहिले पनि दोषी भएन । समाज ले हेप्दा समाज कहिले दोषी भएन तर म आँफै केही गर्छु भनि यो पेशामा लाग्दा मैले फल भोग्दै थिँए । बिहानको १० बजे बल्ल हामीलाई छोडियो, म दौडेर कोठा गएं । परैबाट छोरा रोएको आवाज मैले सन्न थालें, प्रथमपटक रोएको भए पनि छोराको आवाज सुनेर खुशी लाग्यो ।
मजस्ता धेरै एचआईभी लागेका दिदिबहिनीहरु यस पेशामा छौं, हामीलाई समाजले त सम्मान गरेन नै यस देशको कानुन र यसका रखवालाहरु ले हाम्रो मर्मको किन ख्याल राखिदिदैनन ?
मलाई एचआईभी छ या म यो पेशामा छु तर मेरो छोराको यसमा के दोष ? मलाई त भ्रष्टाचारी नेता भन्दा आफ्नै पेशा सही लाग्छ, फोहोर सही तर कमाई त पसिना कै हो ।
मलाई आज पनि त्यस घटनाले तुरुक्क रुवाँउछ, एचआईभीका ठूला ठूला नारा गुञ्जिदा हाम्रा साना आवाज ओझेलमा परे । मलाई एचआईभी लागेको छ तर जे गरेका छौं त्यो गरिखान त देउ?
अहिले हामी संक्रमीत दिदिबहिनी मिलेर आलोपालो बच्चाहरु हेर्ने अनि पकाएर पनि संगै खाने चलन ल्याउन खोज्दैछौं । हप्ताको थोरै भएपनि बचत गर्दछौं र एकअर्कालाई सहयोग गर्दछौं ।
मेरो नाम नभनिदिनुहोला ? फोटो खिच्न पाउनुहुन्न नि , तर मेरो व्यथा एकफेर सबैलाई सुनाइदिनु होला, तपाँई त लेखक मान्छे लेखिदिनुहोला । म हाम्रो पात्रोमा हेर्नेछु नि ।
नोट
एचआईभी भाइरस को नाम हो र संक्रमण हो भनें एड्स भनेको अवस्था हो । नेपालमा अधिकांशले बोचीचालीमा एड्स र एचआईभीलाई उस्तै रुपमा प्रयोग गरेको पाइन्छ जुन गलत हो ।
सुयोग ढकाल