दक्ष जनशक्ति सहितको ठूलो देश
संयुक्त राज्य अमेरिका धेरै जनसङ्ख्या भएको देश त हो नै, साक्षर र शिक्षितहरूको सङ्ख्या धेरै भएको देश पनि हो। उच्च सीप र दक्षताले युक्त पेशाकर्मीहरू ठूलो सङ्ख्यामा बसोवास गर्ने देश पनि हो। अमेरिका आफैंले उच्च जनशक्ति उत्पादन गर्छ साथै विश्वभरिका अति उच्च जनशक्तिलाई विभिन्न किसिमका सुविधा (छात्रवृति प्रदान गर्ने, आर्थिक सहयोग गर्ने, ग्रिनकार्ड दिने र लामो समय बसेमा नागरिकता समेतपनि दिने) प्रदान गरेर अमेरिका आउन आकर्षित पनि गर्छ। संसारभरिमा अमेरिकामात्र एक यस्तो देश होला जहाँ विश्वका लगभग सम्पूर्ण देशका नागरिक अवैसरको खोजीमा आएका छन् र आआफ्नो ज्ञान र सिपको सन्तोषजनक प्रयोग गर्न पाएका छन्। यस कारणले पनि अमेरिकामा सयौं किसिमका संस्कृति र सयौं किसिमका भाषाभाषी देख्न सकिन्छ। विश्वमा त्यस्ता धेरै राष्ट्र छन्, जहाँ जति लामो समयसम्म बसेपनि ती देशको नागरिकता पाउन सकिंदैन। तर अमेरिकामा कानूनीरूपले र अमेरिकाले गरेको नागरिकतासम्बन्धी कानूनी व्यवस्था अनुरूप बसेको व्यक्तिले विनाभेदभाव नागरिकता पाउन सक्छ। अर्थात् अमेरिकाले प्रवासीहरूलाई सहज किसिमले आफ्नो देशको नागरिकता दिन्छ। त्यसरी अमेरिकी नागरिक बन्ने प्रवासीहरूलाई मूल अमेरिकीसरह नै अधिकार प्राप्त हुन्छ। यसले गर्दापनि विश्वभरिका दक्षता र सीपले युक्त व्यक्तिहरूका लागि अमेरिका सार्वकालिक आकर्षणको केन्द्र बन्न पुगेको छ। अमेरिकामा प्रतिदिन २७०० जति व्यक्ति अमेरिकामा नै बसोवास गर्ने उद्देश्यका साथ अमेरिका प्रवेश गर्ने गरेको अनुमान गरिन्छ। अमेरिकामा स्थायी बसोवास गर्ने चार करोड व्यक्ति विदेशमा जन्मेको एउटा तथ्याङ्कले देखाएको छ। अर्थात् उनीहरू पहिले अन्य देशका नागरिक थिए। यसरी दक्ष जनशक्ति भित्र्याउनेमा अमेरिका विश्वमा नै एक नम्बर हुन पुगेको छ।
अमेरिकामा (सन् २०१८ को अनुमान अनुसार) १५ वर्ष वा सोभन्दा माथिका उमेरका व्यक्तिहरूमा ९९ प्रतिशत व्यक्ति लेख्न र पढ्न जान्दछन्। अर्थात् अमेरिकामा बसोवास गर्ने लगभग सबै व्यक्ति लेख्न र पढ्न सक्षम छन्। कुनै पनि राष्ट्रको आर्थिक विकासको लागि यो ठूलो कुरा मान्ने हो भने यो एक किसिमले ठूलो वरदान हो। जनसङ्ख्याको ठूलो भाग शिक्षित भएमा सरकारी नीति नियम सजिलै लागू गर्न सकिन्छ। साथै जनहितका कुरा समाजमा छोटो समयमा सजिलै विस्तार गर्न सकिन्छ। उच्च ज्ञान (व्यवस्थापकीय) र उच्च प्रविधिको विकास गर्न सजिलो हुन्छ। र देश र समाजलाई अनावश्यक आर्थिक भार दिने अनेक किसिमका कुरीति, अन्धविश्वास, कुसंस्कार कम पार्न सकिन्छ। देशका बहुसङ्ख्यक व्यक्ति शिक्षित भएमा जातीय हिंसा, सामाजिक भेदभावजस्ता समास्या कम हुन्छ। रुवान्डामा शिक्षितहरूको प्रतिशत अधिक भएको भए तेत्रो ठूलो जातीय नरसंहार हुने थिएन। सन् १९९४ मा हुटु र टुट्सीबीच जातीय सङ्घर्ष भएर रुवान्डामा हुटुहरूले टुट्सीहरूको जातीय सफाया गर्नुको मुख्य कारण त्यस देशमा ज्ञान, चेतना र शिक्षाको अभाव मानिएको थियो। सन् १९९४ मा रुवान्डामा भएको जातीय नरसंहारमा केवल १०० दिनमा मात्र १० लाख रुवान्डाली मारिएका थिए। त्यसताका रुवान्डाको साक्षरता करिब ६० प्रतिशत थियो। रुवान्डामा अहिले पनि ठूलो सङ्ख्यामा मानिस अशिक्षित छन्। त्यहाँ ज्ञान र चेतनाको अभाव छ। र रुवान्डाको जस्तो स्थिति अफ्रिकाका अनेक राष्ट्रमा विद्यमान छ।
रूस, क्यानाडा, संरा अमेरिका, चीन, ब्रजील, अस्ट्रेलिया, इन्डिया, अर्जेन्टिना, काजखस्तान र अलजेरिया क्षेत्रफलको आधारमा विश्वका क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौ, आठौं, नवौं र दसौं ठूला राष्ट्र हुन्। अर्थात् संरा अमेरिका क्षेत्रफलको आधारमा विश्वको तेस्रो ठूलो राष्ट्र हो। यसरी पर्याप्त भूभागको हिसाबले पनि अमेरिका ठूलो राष्ट्र हो। जनसङ्ख्याको हिसाबले पनि संरा अमेरिका ठूलो राष्ट्र हो। जन सङ्ख्याको आधारमा पहिलो चीन, दोस्रो भारतपछि अमेरिका विश्वको तेस्रो ठूलो राष्ट्र हो। जनसङ्ख्याको आधारमा अमेरिका तेस्रो ठूलो राष्ट्र भए तापनि अमेरिकाले आफ्नो नागरिकलाई राम्रो शिक्षा, ज्ञान, सीप, दक्षता प्रदान गरेको छ। बहुसङ्ख्यक नागरिकलाई अति उच्च दक्षता र सीपले युक्त पारेको छ। अति उच्च सीपले युक्त अमेरिकीहरूको समूह, अमेरिकाको राष्ट्रिय अमूल्य सम्पत्ति हुन पुगेको छ। अमेरिकाको यो मानवीय सम्पत्ति (अति दक्ष जनशक्ति) सँग विश्वको कुनैपनि राष्ट्रको मानवीय सम्पत्तिले प्रतिस्पर्धा गर्न सक्ने स्थिति अहिले छैन। यो सम्पत्तिको उपयोग अमेरिकाले आफ्नो राष्ट्रिय राजनैतिक र आर्थिक शक्तिको उच्च विकासमा भरपूर उपयोग गरेको छ। शक्तिको हिसाबले अमेरिका जति राजनैतिक र आर्थिकरूपमा कुनैपनि राष्ट्र शक्तिशाली छैन। युरोपका सबै विकसित राष्ट्र (उदाहरणः युरोपियन युनियन) ले एकता गरेर पनि अमेरिकालाई न राजनैतिक, न आर्थिकरूपमा चुनौती दिन सक्छन्। आर्थिकरूपमा (बजारशक्ति) अमेरिका अहिले यति शक्तिशाली छ कि यसले कुनै देशमाथि आर्थिक नाकाबन्दी गरेमा त्यस देशको अर्थतन्त्र ओरालो लाग्ने मात्र होइन, त्यस देशका नागरिकको जीवन, बेरोजगार र कम आम्दानीले गर्दा कष्टकर हुन पुग्छ। यस तथ्यको उदाहरण इरान, उत्तर कोरिया, क्युबा, भेनेजुएला लाई लिन सकिन्छ। यी देशहरूले अमेरिकी आर्थिक नाकाबन्दी खेपिरहेका छन्। यतिमात्र होइन, अमेरिकाले ‘यो देशमा आर्थिक नाकाबन्दी लगाऊ’ भनेर कुनै देशलाई आदेश दिएमा, आग्रह गरेमा, त्यो देशले बाध्य भएर अमरिकाको त्यो आदेश पालना गर्नुपर्छ। त्यस्तो नगरे त्यो देशले पनि अमेरिकी आर्थिक नाकाबन्दी खेप्नुपर्ने स्थिति आउन सक्छ। अमरिकाले अति बलियो बजारशक्ति आफू ठूलो जनसङ्ख्या भएको देशको कारणले मात्र पाएको होइन, त्यो ठूलो जनसङ्ख्यालाई उच्च ज्ञान र सीपले युक्त पारेकोले गर्दा पाएको हो।
विश्वको तेस्रो ठूलो जनसङ्ख्या भएको देश भए तापनि अमेरिकाले प्रमाणित गरेर देखाइदिएको छ कि ठूलो जनसङ्ख्या अभिशाप होइन, बरु वरदान हो। कुनै देशले आफ्नो जनसङ्ख्याको उचित व्यवस्थापन गर्ने हो भने ठूलो जनसङ्ख्या ठूलो शक्तिको दीर्घकालीन स्रोत हुन सक्छ।
माथिका तथ्य र तथ्याङ्कहरूद्वारा के उल्लेख गर्न खोजिएको हो भने चीन र भारतझैं अमेरिका ठूलो जनसङ्ख्या भएको देश भए तापनि अमेरिकामा साक्षरहरूको सङ्ख्या उच्च छ। चीनको जनसङ्ख्या अमेरिकाभन्दा ज्यादै उच्च छ, तर चीन अमेरिकाको तुलनामा साक्षरतामा पछाडि छ। चीनमा साक्षरता (सन् २०१८ को अनुमान अनुसार) ९६ प्रतिशत छ। साक्षरताको मामिलामा भारतको स्थिति झनै दयनीय छ। भारतको साक्षरता (सन् २०११ को जन गणना अनुसार) ७४ प्रतिशत छ। जनसङ्ख्या ठूला भएका भारत र चीनले जनसङ्ख्या व्यवस्थापन (शिक्षा र साक्षरता) उचित किसिमले गर्न सकेका छैनन्। सांस्कृतिक विकासको मामिलामा यी दुवै राष्ट्र अमेरिकाभन्दा निकै पछाडि रहेकाले यिनीहरू पचासौं वर्षमा पनि अमेरिकालाई विकासको मामिलमा पछाडि पार्न सक्ने सम्भावना छैन। भारत त अमेरिकाभन्दा झनै पछाडि छ। भारतमा केही समय यता ह्वातै विकास भएको देखिए पनि त्यो विकास सन्तुलित छैन। भारतका गाउँहरूमा ऋण तिर्न नसक्ने कृषकहरूले अहिले पनि आत्महत्या गरि रहेका छन् भने ‘सती प्रथा’, ‘दहेज’ ‘छोरामात्र सन्तान’ जस्ता कुसंस्कारहरूमा विश्वास गर्नेहरूको सङ्ख्या भारतमा अहिले पनि ठूलो छ।
अमेरिका विश्वमा नै बहुसङ्ख्यक प्रशिक्षित व्यक्तिहरू बस्ने देश हो। अमेरिकाको शिक्षा नीतिले पनि बहुसङ्ख्यक अमेरिकीहरूलाई साक्षर एवं शिक्षित तुल्याउन विशेष भूमिका खेलेको छ। अमेरिकामा १२ कक्षासम्मको शिक्षा निश्शुल्कमात्र छैन, गरीब विद्यार्थीहरूलाई दिउँसो खाना विद्यालयले नै ख्वाउने व्यवस्था छ। विद्यालयले नै विद्यार्थीहरूलाई घरबाट विद्यालय र विद्यालबाट घर पुर्याउने कार्य निश्शुल्क रूपमा गर्दछ। प्रान्तीय र सङ्घीय सरकारले शिक्षालाई यति महत्वपूर्ण मानेको र शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको हुनाले नै अमेरिका दक्ष जनशक्ति उत्पादन गर्न विश्वमा नै प्रथम हुन सकेको हो।
साक्षर, शिक्षित, दक्ष र अति दक्ष जनशक्तिसहित ठूलो जनसङ्ख्या भएको देश भएर नै अमेरिका अहिले विश्वभरमा पहिलो र एकमात्र शक्तिशाली राष्ट्र हुन पुगेको छ। स्थिति अहिले यस्तो छ कि कुनै पनि देशमा सुरक्षा सङ्कट (गृहयुद्ध वा अर्को देशबाट हुने आक्रमण) परेमा त्यस देशले अमेरिकालाई नगुहारी हुन्न। अमेरिकाको सहयोगविना कुनै पनि राष्ट्रले आफूलाई सुरक्षित राख्न सक्ने स्थिति छैन। हुनपनि आधुनिक प्रविधि र विज्ञानले युक्त भएको अमरिकी सैन्य व्यवस्था अहिले विश्वमा नै पहिलो शक्तिशाली सैन्य व्यवस्था हुन पुगेको छ। अमेरिकाले चाहेको खण्डमा कुनैपनि देशको सरकारको पतन छोटोभन्दा छोटो अवधिमा गर्न सक्छ। इराकमा यस्तै स्थिति देखिएको थियो।
यहाँ उल्लेख गर्न खोजिएको मुख्य कुरा के हो भने अमेरिकाले आफ्ना देशका बहुसङ्ख्यक नागरिकलाई साक्षर र शिक्षित पार्न सकेको हुनाले नै यो देश विश्वको एकमात्र महाशक्ति राष्ट्र हुन पुगेको हो। अमेरिकाको आर्थिक एवं राजनैतिक विकासले के देखाउँछ भने कुनैपनि देशले आर्थिक क्षेत्रमा छिटो र दिगो विकास गर्न खोज्छ भने उसले, पूर्व शर्तको रूपमा शिक्षा विकासमा बढी जोड दिनुपर्छ। सीप र खास दक्षताले युक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्छ। आफ्नो प्रत्येक नागरिकलाई शिक्षित वा शिक्षित हुन नसके साक्षरमात्र पनि पार्नुपर्छ। तर आर्थिक विकासका लागि प्रत्येक नागरिकलाई साक्षर त पार्नैपर्छ।
Liked by: