आजभोली जसलाई भेटे पनि अनि सोधेपनि तनाव अनि हतारमै हुने गर्दछन् । यो व्यस्त जीवनशैली, अत्याधीक प्रतिस्पर्धा, अनावश्यक महत्वाकांक्षा अनि प्रकृतीसंगको दुरीका कारणले तनावले डिप्रेशनको रुप पनि लिन सक्दछ ।
डिप्रेशनले हरेक उमेर समुहका मान्छेहरु, हरेक आर्थिक र सामाजिक वर्गका व्यक्तिहरु अनि बालबालिका सम्मलाई असर गर्न सक्दछ तर डिप्रेशनलाई आजसम्म पनि किन संवेदनशील रुपमा लिइदैन्, आज यसै बिषयमा कुरा कोट्याँउ ।
पहिले पहिलेको तुलनामा अझ भनौ पछिल्लो पुस्ताको तुलनामा डिप्रेशन अहिलेका पुस्ताहरुमा धेरै देखिएको छ । यसका कारण धेरै हुन सक्दछ, जस्तै कि पहिले पहिले सहज स्वास्थ उपचार र मनोसामाजिक बिषयलाई प्रार्थमिक्ता नदिएकाले डिप्रशेन भएतापनि नदेसखने या वास्ता नगरिने चलन भएर पनि थोरै देखिएको हुन सक्दछ ।
अर्को तर्फ अहिलेको मान्छेहरुको भगादौड, कृत्रिम कुराहरुमा खोज्न थालिएको रमाइलो,बढदो उपभोक्तासिलता आदिले पनि डिप्रेशन बढाइरहेको हुनसक्दछ ।
घाम देख्दा खुशी हुन नजान्नेहरु अध्याँरोमा ब्रान्डेड ग्याजेटहरु संग भर्चुअल संसारमा खुशी खोजिरहेका हुन्छन् । स्थाही खुशीको खोजी कोही मदिरा र अन्य लागुऔषधमा गरिरहेका हुन्छन् भनें कोही मरिकुस्तले कमाउन र जोगाउनका लागि पेट काटेर जम्मा गर्नुलाई खुशीसंग जोड्न थालेका छन् ।
जीवन जीउने कला नभएर पनि हुनसक्दछ, खुशीका खोजकर्ताहरु तपाँई हामी नै डिप्रेशनमा परिरहेका हुन्छौं ।
एकफेर सोच्ने बेला चाँही आएकै छ, केवल तिनवटा धारमा
१. के हामीलाई हाम्रो सामुदायिक र व्यक्तिगत समबन्धहरु कमजोर छन् जस्तो लाग्छ ?
२. के हामी धेरै उदेश्य केन्द्रित भएर नाम, दाम अनि छवीको पछाडी मात्र अन्धो भएर त कुदेका छैनौं ?
३. म जे पनि गर्न सक्छु भन्ने बिश्वासमा के हामी जीवनमा नचाहीने बोझ बोकेर त हिडिरहेका छैनौं ?
र यसका अलावा हाम्रो समाजमा भएको तुलना गर्ने चलनले पनि हामीलाई धेरै नचाहीने बोझ बोकाइरहेको हुन्छ ।
यसका छोरीले यसो गरि, आफ्ना भनें यस्ती
फलानाको छोरा त हेर त
अनि जोडिन्छ गाडी, घर अनि बिवाहको बोझ ।
फगत भौतिक समपन्नताका आधारमा अनमोल जीवनलाई तुलना गरिनु नै डिप्रेशनको मुख्य कारक हो ।
अनि आजभोलीका सामाजिक सञ्जालहरु पनि पाखण्डीपनाको उच्चतम बिन्दुमा पुगेका छन् । जो मान्छे जे हैन त्यही देखाउन चाहन्छ, खुशी अनि सौहार्दले भरिपूर्ण स्ट्याटसहरु सर्वप्रिय हुुन भनेंर लेखिन्छ । जब लाइक्स र शेयरमा जीवनका अवयवहरु तुलना गरिन्छ अनि आफ्नो पक्कड नापीन्छ, तब डिप्रेशनको झन्को हामीलाई लागिहाल्छ ।
मुख्य कुरा त जीवनको तलमाथि लाई सहजै स्वीकार गर्दै हामी निर्धक्क रुपमा जीवन बिताउने साहस राख्छौं कि राख्दैनौं भन्ने सामान्य प्रश्न नै आफूलाई सोधिन जरुरी छ । अर्कोतर्फ मानिसको प्रारम्भिक व्यबहार नै मानिसको संगत हो, मायाको छुवाई अनि प्रत्यक्ष भेट हो । भर्चुअल संसारमा यथार्थलाई पन्छाँउदा मानिसको मानसिकता अस्तव्यस्त हुन सक्ने संभावना पनि उत्तिकै छ ।
कुनै परिवर्तन, नाफा या घाटा या कसैको बिछोड र मृत्यू लाई पनि जीवनको तितो सत्यका रुपमा वहन गर्दै अगाडी बढ्ने साहस जीवनले खोज्दछ ।
कुनै पनि कुरामा धेरै आशक्त नहुने र भविष्यमा हार्न सकिने संभावनालाई सँगाल्दै फेरि उठेर हिँड्न सक्ने सार्मथ्य हुन जरुरी छ ।
नियमीत रुपमा व्यायाम गर्ने र योगअभ्यास गरेमा त झन डिप्रेशनवाट जोगिन सकिन्छ । सकारात्मक सोचका साथ धेरै दबाब नलिईकन जीवन बाँच्ने कला जरुरी छ भनें आफूले आफूलाई दोषी नठानेर हास्न सिक्न झन जरुरी छ ।
अर्को कुरा बेलामा निन्द्रा अत्यन्त आवश्यक छ, राती राती काम गर्ने या राती बस्ने प्रकृतीको काम गर्ने साथीहरुले निन्द्राको महत्व बुझ्न झन जरुरी छ ।
कुनै एउटा खेलमा आफूलाई चासो लाग्ने वातावरण श्रृजना गर्दै खेल खेल्ने बानी पनि जगाउन जरुरी छ ।
जीवन अनमोल छ, डिप्रेशनलाई सबै मिलेर पर भगाऔं ।
सदैव मुस्कान देख्न पाइयोस्
जय होस्
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: