वि.सं. २०७८ लाई स्वागत र २०७७ लाई बिदाई गर्नको चटारो छ । संवतहरु फेरिने, वर्षहरु परिवर्तन हुने र शताब्दी अनि सहश्राव्दीको शुरुवात हुने लगायतका कुराहरुले चलायमान समयको झल्को दिने गर्दछ।
वि.सं. २०७७ ले आफ्नो दायित्व निभाएर बिदा माग्दैछ । अब फेरि अर्को ७७ आउन अर्को १०० वर्ष कुर्नुपर्नेछ र त्यो हुनेछ वि.सं. २१७७ साल । १९औं संवतको अन्त्य ताका नेपालले स्वतन्त्रताको लागि संघर्ष गरिरहेको थियो, जहानिया राणा शासन बिरुद्ध उर्लेका नेपाली जनताको जनलहर बिसं १९८५ पछि नै देखिएको थियो । त्यसपछि वि.सं. २००७ मा नेपालले पाएको प्रजातन्त्रको संरक्षणमा त्यसपछिका हरेक वर्ष नेपालीहरूले राजनैतिक चुनौति र उतारचढावमा नै बिताएका छन् ।
वि.सं. २०७७ ले प्रजातन्त्र प्राप्तिको ७० वर्षको शंखनाद त गर्यो तर यस वर्ष राजनैतिक रुपमा अहिलेसम्मकै सर्वाधिक चलायमान वर्षहरुका रुपमा पनि लिन सकिन्छ।पुरुषोत्तम मास परेको यस वर्षमा हरेक चाडपर्वहरू २५ दिन पछाडि सरेका थिए । यस वर्ष नै यस्तो हो जुन वर्षमा धेरै धार्मिक सभा सम्मेलनहरु भएनन्, मेलाहरू रोकिए अनि सामाजिक प्राणी मान्छेले आफ्ना अधिकतम समय यसवर्ष कोठाभित्र नै त्रासमा बिताएका छन् । यस वर्ष नेपालले राष्ट्रकवी माधव प्रसाद घिमीरे लगायत बेलायतका राजकुमार फिलिप्स, ऋषि कपुर, इरफान खान, विश्वप्रसिद्ध काला वर्णका हलिउड स्टार च्यान्डीक वुजम्यान लगायतका थुप्रैले बिदा मागे । साँच्चै भन्दा यस वर्षले रौनक भन्दा विलौना बढि दिएर गएको छ । उता यसैवर्षको अस्कार अवार्डमा कोरियन चलचित्र प्यारासाइट पहिलो गैर अंग्रेजी चलचित्रका रुपमा ओस्कारको वेस्ट मोसन पिक्चर अवार्डमा पुरस्कृत भयो ।
नदेखिने भाइरसले विश्वलाई नै घुँडा टेकाएको यस वर्षले धेरै चुनौति, रूपान्तरण अनि समाधानहरु समेत दिएर गइरहेको छ ।
यस वर्षले नयाँ चलन शुरुवात गरेको छ । बजार र बाटोमा मास्क बिनाका मान्छेहरु यस वर्ष उप्रान्त विरलै देख्न पाइनेछ । यस वर्षले मान्छेहरुलाई प्रविधिसँग धेरै निकट तर मान्छेहरुलाई मान्छेहरु बाट नै धेरै टाढा बनाएको छ । शुरुवात कै समयमा कोरोना त्रासले विश्व आक्रान्त भएको यस वर्षको रौनक शुरुवात देखि नै फिक्का फिक्का नै थियो । विश्वभरिका लाखौं मान्छेहरुको मृत्यु, नेपालमा पनि हजारौं मान्छेहरुको मृत्यु गराउने कोरोना भाइरसको त्रासका बिच लकडाउनमा नै यस वर्षको शुरुवात भएको थियो । वर्षभरि भाइरसको नाम र प्रभाव नै सर्वाधिक चर्चामा रह्यो । यस वर्षले सेतो कोट लगाउने स्वास्थकर्मीहरुलाई पनि सेनाको दर्जा दिएको छ । बाहिरी आक्रमणबाट देशलाई बचाउने सेना र अदृश्य जीवाणुको हमलाबाट देशवासीलाई जोगाउने स्वास्थकर्मीहरु बिच खासै फरक नभएको तथ्य यस वर्षले स्थापना गरेर गएको छ ।
कोरोना संक्रमण लहरको अग्रपङ्तिमा रहेर जनस्वास्थका लागि निडर भएर लागेका स्वास्थकर्मीहरु प्रति हामी गर्व गर्दछौं । सरकारी संयन्त्रले सोचेजति र भनेजति स्वास्थ्यकर्मीहरूलाई भत्ता, बिमा र अन्य पारिश्रमीक दिन नसकेको खेद पनि यस वर्षले जाहेर गरेको छ , सम्बन्धीत पक्षहरुले आँउदा वर्षमा स्वास्थकर्मीहरुको योगदानको कदर गर्न सकोस् ।
यस वर्षले कोभिडको त्रास र खोपको उपलव्धता दुबै देखाउन सक्यो । प्रार्थमिक्ताका आधारमा यस वर्षमा खोप पनि लगाइएको छ । यस वर्षमा केहि सपनाहरु पनि साकार भएको छ । वि.सं. २०२९ बाट अध्ययन शुरु गरिएको मेलम्ची खानेपानी परियोजना यस वर्षवाट काठमाण्डौका घरघरमा आइपुगेको छ, आँउदै छ, यो यसवर्षको उपलव्धी हो ।
विगतका वर्षहरुमा देखिएको पानीजहाज सपना, हावावाट विजुली चल्ने संभावनाहरुले यस वर्षमा गति लिन सकेनन् । राजनैतिक रुपमा सत्तारुढ पार्टी भित्रकै बिवाद अनि नेताहरुको खोपभाजनले गर्दा यस वर्ष थुप्रै कुराहरु भए । प्रधानमन्त्रीको राजिनामा मागको बिवादले सत्तारुढ पार्टीलाई टुक्रायो, निकै आन्दोलन र भाषणहरुका बिचमा यस वर्ष पार्टीगत बिवाद अझै अन्त भइसकेको छैन ।
यस्तै पार्टीगत बादबिवादका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली ले भनेका नाटक नै हो र प्रचण्डले भनेको नौटंकी नै हो भन्ने वाक्याशं यस वर्ष निकै भाइरल भयो, यस संवाद टिकटक लगायत अन्य थुप्रै सामाजिक सञ्जालहरुमा मेम र ट्रोलका रुपमा देखीयो । वर्षको प्रथम ६ महिना त लकडाउन, बन्द, फेरि लकडाउन लगायतका क्रममा नै बिते । सुस्तरि खुल्दै गएको वर्ष अब सकिन आँट्दा कोभिडको दोश्रो लहरका कारणले फेरि बन्दाबन्दीको अवस्थामै पुग्न लागेको छ । वि.सं. २०७७ ले भाइरसलाई धपाउन सकेन, आगामी वर्षहरुले भाइरसलाई धपाउन सकुन् ।
वर्षको केहि महिनापछि उकाली लागेको शेयर बजार फेरि ओराली लागेपछि वर्षको अन्तमा शेयर लगानीकर्ताहरु खासै उत्साही छैनन । यस वर्ष कोरोना प्रभावले धेरै आर्थिक उतारचढाव भएपनि धरजग्गाको कुरामा चाँही यस वर्ष कोरोनाको प्रभाव मुल्यमा देखिएन । घरजग्गाको मुल्यमा गिरावट र मागमा कमी दुबै यस वर्ष कोरोना लहरका बाबजुद पनि देखिएन ।
भौतिक उपस्थितीका व्यबसायहरु डामाडोल हुँदै गएको यस वर्षमा धेरै आर्थिक अवरोह अनि आरोहहरु देखिएका छन् । वर्षभरि जसो नै कलेज, स्कुल लगायत अन्य सबै शैक्षिक संस्थाहरु बन्द भए भने सिनेमा हल, शपिंग मल, होटल लगायतका व्यवसायहरु पनि नराम्रो चपेटामा परेको पाइन्छ । सार्वजनिक यातायातका साधनहरु पनि उतिकै प्रभावित भएको यस वर्षमा अन्तका केहि महिनामा अवस्था सामान्य बन्दै गर्दा फेरि संक्रमण जोखिम बढेको अवस्था छ । भारत लगायत अन्य थुप्रै देशहरुका केहि प्रान्तहरुमा लकडाउन र मानव चहलपहलको सिमा तोक्ने कार्य भइसकेको छ । भारतसँगको खुल्ला सिमा भएका कारणले नेपाल पनि संक्रमण जोखिममा उत्तिकै भयावह स्थितीमा रहेको स्पष्ट छ । विगतका वर्षमा कारोनाले बिगारेका कुराहरु लयमा आउन नसक्दै फेरि अन्यौलको अवस्था आएको छ ।
यस वर्ष मछिन्द्रनाथको रथयात्राका क्रममा ललितपुर पुल्चोकमा भएको स्थानीय र प्रहरीको झडपले पनि निकै चर्चा पायो । स्थानीयहरुको परम्परागत रथयात्रा अनि संक्रमण जोखिमका कारण प्रशासनको बन्देजले निम्त्याएको यस झडपले यस वर्षमा रोकिएका अनेक मेला र भेलाको फेरिहिस्त बयान गर्दछ ।
मत्स्यनारायणको मन्दिरमा हरेक पुरुषोत्तममासमा हुने मेला समेत नलागेको यस वर्षमा अधिकतम समय धेरै मन्दिर, मठ, मस्जिद, गिर्जाघर र गुम्बाहरु बन्द थिए । यसै वर्ष नेपाली बिधार्थीहरुले आफूले बनाएको गरुडा रकेटको प्रयोग प्रक्षेपण गरेका छन् । अमेरिकामा हुने विश्वस्तरिय प्रतिस्पर्धामा नेपाली बिधार्थीहरु आफ्नो आविष्कारका साथ भाग लिने जनाइएको छ जुन आगामी वर्षमा पर्नेछ । यस वर्ष कलंकी नागढुगांको सुरुगंमार्ग निर्माण देखि फास्ट ट्रयाक निर्माणले तिव्रता पाएको छ ।
यस वर्ष काठमाण्डौले मेलम्चीको पानी पाएको छ । नेपालका लागि यस हिसाबले यो ठुलो उपलव्धीपूर्ण वर्ष हो । दशकौं देखिको उपत्यकावासीहरुको सपना पुरा गरिदिएकोमा बिसं २०७७ लाई हार्दिक धन्यवाद । यसवर्षमा सलह किराको आक्रमण अनि वालीनाली नष्ट पारिदिने त्रासको पनि निकै डर रह्यो । सलह किराको आक्रमण, थाल कचौरा ठटाएर किराहरु भगाएको भिडियोहरु बिसं २०७७ को पूर्वार्धमा निकै चर्चामा रहे । वर्षको उत्तरार्धमा काठमाण्डौमा भएको वायू प्रदुषण अनि छेउछाउका जंगलहरुमा भएका डढेलोको प्रकोपले पनि निकै चर्चा पायो । विग्रदो वायू गुणस्तरमा आँउदा वर्षहरुले पैरवी गर्न सकुन् ।
नेपालमा बिधुतिय सवारी साधनहरुको निकै राम्रो बजारीकरण भएको वर्षका रुपमा वि.सं. २०७७ लाई लिन सकिन्छ । अमेरिकी मोटर उत्पादक कम्पनी टेस्लाले निकालेको करोडौंको टेस्ला मोडलको बिधुतिय कारहरु देखि थुप्रै ई स्कुटरहरुसम्म नेपाली सडकमा दौडिएको देखिएको छ । टेस्ला कम्पनीका सञ्चालक अनि विश्वमा अत्याधिक चर्चामा रहेका व्यवसायी एलन कस्क पनि यसै वर्ष पिता बनेका छन् ।
बैदेशिक रोजगारीका लहरहरुका यस वर्षले केहि कमी देखाएको छ र यस्को कारण हुन सक्छ अफ्ठेरो बैदेशिक आवागमन । यस वर्ष पनि अन्य वर्षहरु झैं सिरियाको द्धन्द चलिनैरह्यो, हकंकगंमा चीनविरुद्धका प्रदर्शनहरु वर्ष भरि नै चलिरहे भने ईज्रेल र प्यालीस्टाइनी द्धन्दका खबरहरु दिनहुँ जसो आइरहे । कश्मिर र जम्मुमा भने अन्य वर्षहरुको तुलनामा यस वर्ष त्यति धेरै हिंसाका घटनाहरु सुन्नमा आएन । अमेरिकाको राष्ट्रपतिय चुनावमा डोनल्ड ट्रम्पले आफ्नो पद गुमाए भने जोय बाइडेनले आफ्नो स्थान सुरक्षित गरे । अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमा यस वर्ष भएको चुनावलाई चाँही सबैभन्दा धेरै आलोचना र लज्जाको चुनाव भनि दर्जा दिइएको छ ।
गत वर्षको शुरुवातमा नै उत्तर कोरियाली शाषक किज मोंगको मृत्यु भइसकेको घटनाले निकै चर्चा पाएको त थियो तर त्यो गलत साबित भयो । उता यसै वर्ष नै रुसमा राष्ट्रपति पुटिनको विरुद्धमा बोल्न सक्ने एकमात्र बैकल्पिक नेतृत्व नाभाल्नीलाई खानेकुरामा विष सेवन गरि मृत्यूको मुखसम्म लगियो । नाभाल्नीलाई उद्धार गरि जर्मनमा उपचार गरिएतापनि अब स्वास्थगत हिसाबले नाभाल्नीको सक्रिय राजनैतिक जीवनको समापन भएको अड्कल काटिएको छ ।
यसैवर्ष बेलायतले आफुहरुलाई औपचारीक रुपमा यूरोपियन यूनियनबाट निस्केको घोषणा गरे ।
नेपालका लागि बेलायतका तर्फवाट राजदुत भएर आएका पूर्व राजदुत रिकार्ड मोरिस आफ्नै देशमा महिनौंसम्म हराए । पछि उन्को शव फेला पर्यो । घर छेउको जंगलमा उन्को शव फेला परेको थियो, रिकार्ड मोरिसको मृत्यु पनि यस वर्षले छाडेर गएको एक रहस्य हो । उता बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मारक्लेले आफूहरु राजपरिवारवाट अलग रहने घोषणा पनि यसै वर्ष गरिदिए । यसको केहि महिनामै राजकुमार फिलीप्सको पनि मृत्यु भएको छ । वेलायती राजपरिवारका लागि पनि यस वर्ष निकै उतारचढावका साथ आएको थियो ।
यस वर्ष पनि निर्मला पन्तले न्याय पाइनन, अबका वर्षहरुसँग न्यायको आशा पनि कम हुँदै गएको छ ।
कोरोनाले नेपाली समाजवाट छानी छानी प्रतिभाशाली र प्रभावशाली भविष्य भएका मान्छेहरू लिएर गएको भान गराँउछ । यसै वर्ष कलाकार रमेश भट्टराई रोहिणी जो चलचित्र निर्माताका रुपमा भुईमान्छे चलचित्र लिएर आउनुभएको थियो, वहाँको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । नेपाली परिवेशमा यस वर्षले धेरै आशा र निराशाहरु दिएर गएको छ । वि.सं. २०७७ उति सहज वर्ष चाँही पक्कै थिएन । कोरोना संक्रमणवाट मृत्यु भएका सबैमा श्रदान्जली सुमन अर्पण गर्न चाहन्छौं ।
कोरोना संक्रमण जोखिम बढ्दो भएपनि सरकारी तवरवाट स्वस्थजाँचका संरचनाहरु बढाउन खासै पहल भएको पाइएन । नेपालीहरूले लगाएका कोरोना विरुद्धका खोपको प्रभावकारिता अनि विश्ववजारमा चलेका अन्य प्रभावकारी खोपहरुको विश्वशनियतामा थप अध्ययन गर्नुपर्ने दायित्व अर्को वर्षलाई दिएको छ ।
संक्षेपमा भन्दा १२ महिनाको वि.सं. २०७७ धेरैजसो घरभित्र, लकडाउनमा अनि मास्क लगाएर स्यानीटाइजर घस्दै नै बितेको छ । आँउदा वर्षहरु होलाखुकुला हुँदै जाउन । मास्कको वर्ष वि.सं. २०७७ लाई बिदाई ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: