२०७८ लाई फर्केर हेर्दा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

२०७८ लाई फर्केर हेर्दा





वि.सं २०७९ लाई मानिसहरुले पक्कै पनि धेरै अर्थमा एउटा सुनौलो वर्षको रुपमा हेरेका हुन सक्छन्। पछिल्ला केही वर्षमा कोभिडले नराम्रो प्रभाव पारेपछि यो वर्ष विभिन्न क्षेत्रमा कार्यरत मानिसहरूको लागि एउटा राम्रो अवसर बनेर आएको छ । सबै नेपालीहरूले मनमनै कोरोनाको नयाँ भेरीयेन्ट, नयाँ लहरले २०७९ मा कुनै प्रभाव नपारोस् भनेर कामना गर्दैनै हुनुहुन्छ होला। हाम्रो समाज हाम्रो देश यो संक्रमणबाट मुक्त रहोस्, कोभिडका सबै प्रभावहरू २०७८ सम्म मात्र सीमित रहोस् ।

कोभिड बाहेक विसं २०७८ का अन्य धेरै कुराहरू आगामी अनेक वर्षहरू सम्म भुल्न नसकिने भएर गएको छ । कहिले एमसीसी, कहिले गभर्नरलाई निलम्बन, त कहिले क्रिकेट खेलाडीहरूलाई भएको कारवाही, यी र अन्य धेरै उतारचढावले भरिएको वर्ष २०७८ का केही चर्चामा रहेका खबरहरू आज सम्झना गरौँ।

वर्ष २०७८ मा नेपालका प्रमुख राजनैतिक दलहरूले आफ्नो महाधिवेशन गरेर प्रतिनिधिहरू छान्दै चुनावको तयारी शुरु गरिसकेका छन् । अन्य सबै दलहरूमा पुरानै अनुहारहरू नेतृत्वमा दोहोरिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मा भने धेरै वर्षपछि एउटा नयाँ अनुहार देखिएको छ । राप्रपा अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन् ।


वैकल्पिक पार्टीका रूपमा मानिएको विवेकशील साझा पार्टी भित्रको विवादहरू यस वर्ष पनि उस्तै नै रहे भने विवेकशील साझा पार्टीका संस्थापक उज्ज्वल थापाको यसै वर्ष कोरोनाको कारण मृत्यु भएको थियो ।

जाँदाजाँदै यस वर्षले आगामी वर्षको पोल्टोमा भनेर निर्वाचनका शृंखलाहरु छाडेर गएको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ।

यस वर्षका पछिल्ला केही महिनाहरूमा चाहिँ आर्थिक मन्दीका कारण अर्थतन्त्र असाध्यै चपेटामा परेको छ । घरजग्गा कारोबार लगायत कुनै पनि प्रकारका कर्जाहरू बैङ्कहरूले प्रवाह गरिरहेका छैनन्, अर्कोतर्फ केही साताका लागि एलसी नखोल्ने निर्णय पनि सरकारको निर्देशनमा बैङ्कहरूले गरेका छन् । यो निर्णयले प्रत्यक्ष रूपमा कारोबारी व्यवसायीहरू र ग्राहकहरूमा प्रभाव परेको छ ।

२०७८ मा पेट्रोलियम पदार्थको अहिलेसम्मकै चर्को मूल्य पुगेको छ। यसै कारणले वर्ष २०७८ वाट अन्य वर्षहरू भन्दा बढी बिजुलीका सवारीसाधनहरू नेपाली बाटाहरूमा दौडन थालेको देखिन्छ । वर्ष २०७८ मा पटक पटक गरेर पेट्रोलियमको मूल्य बढाइएको हो, संभवत एकै वर्षमा यति धेरै पटक पेट्रोलियमको मूल्य बढेको वर्ष पनि २०७८ साल नै हो ।

यसै गरि बिजुलीकै कुरा गर्दा नेपालभरि बिजुलीको ग्रिड स्थापना गरिदिने र बाटो बनाउने भनेर प्रस्ताव गरिएको अमेरिकी सहयोग नियोग एमसीसीको चर्चा पनि यस वर्ष नेपालमा धेरै देखियो । विदेशी अनुदान एमसीसी लिनु अघि जनताले त्यस अनुदानको विरोधमा व्यापक प्रदर्शन गरेका थिए तर अन्ततः संसदबाट शीर्ष नेतृत्वले पारित गरेपछि उक्त आन्दोलन औचित्यहीन भएको थियो ।

कूल ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन २०७८ असार मा भयो । स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको रुपमा लिइएको छ। यो हाइड्रोपावरले विद्युतको समस्यालाई दिगो समाधान प्रदान गर्ने विश्वास लिइएको छ।

२०७८ मा बहालवाला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सत्तारूढ गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता भएको थियो । वर्षको अन्त हुनै लाग्दा भर्खरै सरकारले राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गरेर अर्को एउटा घटनाक्रम जोडेको छ । धेरैका अनुसार राजनैतिक पूर्वाग्रह मानिएको यस घटनाका आफ्टर इफेक्टहरू आगामी वर्षले देख्नेछ ।

नायिका करिश्मा मानन्धरको न्वारनको नाम सुर्जेकुमारी रहेको भन्ने भाषण र उनको नेकपा एमाले प्रवेशको घटनाक्रमले सामाजिक सञ्जालमा निकै ब्यङ्ग्य भएको देखियो ।

सरकारका बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफ्नो काम र सुपरीवेक्षणको लागि वर्ष २०७८ मा असाध्यै भाइरल भए । बतास समूहले सञ्चालन गरेको होटलहरूको आलोचना पनि यो वर्ष व्यापक चर्चाको विषय बन्न पुग्यो ।

नेपालको चुच्चे नक्सा विषयमा गत वर्ष बाट सुरु भएको आन्दोलन र कालापानी मुद्दा यस वर्ष असामान्य रूपमा सेलाएको छ । नक्साका विषयमा भएको त्यत्रो सडक देखि सदन सम्मका चहलपहलहरू यस वर्ष नेपाली सडक र सदन दुवै ठाउँले भुलेको छ ।

यस वर्ष पनि कैलालीकी निर्मलाको आत्माले शान्ति र न्याय पाउन सकेन । उनको न्यायका विषयमा हुने आन्दोलन र प्रदर्शनहरू वर्ष २०७८ मा खासै देखिएन ।

कोरोना विरुद्धको खोप लगाउने अभियानमा यस वर्ष नेपालले निकै सफलता हासिल गरेको छ भने वर्ष २०७८ बाट नै नेपालमा विद्यार्थीहरूलाई टाइफाइड विरुद्धको खोप पनि लगाउने अभियान शुरु गरिएको छ ।


उता यसै वर्ष नेपालले झर्रो वादी आन्दोलनका हस्ती र वरिष्ठ भाषाविद्ध डाक्टर तारानाथ शर्मालाई पनि गुमाएको छ ।

वर्ष २०७८ मा धान भित्राउने बेलामा आएको बेमौसमी वर्षाका कारण नेपाली किसानहरू असाध्यै मारमा परेका छन् । अन्य वर्षहरू झैँ मल र बजारका लागि यस वर्ष पनि किसानहरूको सङ्घर्ष जारी रह्यो जसलाई समयमा नै व्यवस्थापन गर्न सरकार सक्षम नभएको पाइयो ।

वर्षको अन्तमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्धलाई सुधार गरेको र धेरै परियोजनाहरू र समझदारी विकास गरेको बताइएको छ ।

वर्ष २०७८ मा नै नेपालमा लामो समयदेखि बन्द रहेको जनकपुर जयनगर रेलमार्ग नयाँ स्वरूपमा कुर्ता भन्ने ठाउँसम्म पुन: सञ्चालनमा आएको छ।

वर्ष २०७८ मा नै १२ वर्षे पनौतीको मेला लागेको थियो ।

यसका अलावा मेयरको उम्मेदवारीका लागि स्वतन्त्र युवाहरूको उम्मेदवारी घोषणाले पनि वर्ष २०७८ को नेपाली सामाजिक सञ्जालहरूमा ठूलै स्थान पायो ।

गत वर्ष चर्चा गर्दा उता रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व नै लगभग ध्रुविकृत हुने अवस्थामा छ । तेलको मूल्य अकासिएको छ भने विश्व अर्थतन्त्रमा नै अवरोहहरू देखापरिरहेको यस युद्धले विश्वभरि निर्यात हुने गहुँको विशाल परिमाणलाई पनि प्रतिकुल प्रभाव पार्ने भएको छ । यसै युद्धको कारणले सन् १९९० यता विश्व खाद्य मूल्यमा अहिलेसम्मकै सर्वाधिक धेरै वृद्धि भएको तथ्याङ्कहरू देखिएको छ ।

यसरी विश्वभरि निर्यात गरिने गहुँको अधिकांश प्रतिशत उत्पादन गर्ने युक्रेनले निर्यात गर्न नसक्ने भएपछि यस वर्षबाट विश्व बजारमा भारतीय गहुँहरू निर्यात हुन थालेका छन् ।

पाकिस्तानमा सांसदले अविश्वासको प्रस्तावका साथ प्रधानमन्त्री इमरान खानलाई पदच्युत गरेको छ । पाकिस्तानमा बढ्दो महँगी र राजनैतिक उथलपुथलका बिच असाध्यै प्रतिकुल अवस्था सृजना भएको छ । अर्कोतर्फ वर्ष २०७८ मा नै अफगानिस्तानमा तालिबानहरूले सत्ता कब्जा गरेका छन् र त्यहाँ आउन सक्ने मन्दी र भोकमरीको चेतावनी विश्व खाद्य सङ्गठनले समयसमयमा दिइरहेको छ ।

विश्व एथलेटिक्स सङ्गठनले रुस र बेला रुसलाई प्रतिबन्ध गरेको छ भने यसै वर्ष रुसलाई स्वीफ्ट पेमेन्टमा अमान्य ठहराइएको छ । अमेरिकी बैङ्कहरूले रुसी बैङ्कहरूको सम्पत्ति फ्रिज त गरे यद्यपि रुसले आफ्नो मुद्रालाई प्रत्यक्ष सुनसँग सापेक्ष मूल्याकंन राखेपछि आगामी वर्षहरू आर्थिक युद्धमा बित्ने कुरामा दुईमत रहेन ।

दक्षिण कोरियामा राष्ट्रपतिको चुनाव सम्पन्न भएर नयाँ राष्ट्रपति युन सुक इओल निर्वाचित भएका छन् भने अप्रिल १० मा फ्रान्सको पनि राष्ट्रपतीय चुनाव भएको छ ।

२०७८ मा मनोरञ्जन
लोकप्रिय अभिनेता पल शाह विरुद्ध किशोरी युवती सँगको अवैध सम्बन्धको आरोपको कारण अहिले कलाकार शाह प्रहरी थुनामा छन् । गायीका समिक्षा अधिकारीलाई बिवाह गर्ने आश्वाशन दिएर अवैध सम्बन्ध राखिएको आरोप लागेको छ। जससँग सम्बन्धित अडियो प्रकरणहरूको श्रृखलापछि अन्ततः पल शाह थुनामा पुगेका हुन्। शाह थुनामा जाँदा उनको चलचित्र “म यस्तो गीत गाउँछु २” प्रदर्शनमा आइरहेको थियो । हलहरू संचालनमा आएपछि यो चलचित्रले दर्शकहरूलाई पुन: नेपाली चलचित्र हेर्न हलसम्म तानेको थियो । बैसाख १ गते प्रदर्शनमा आएको चलचित्र “ए मेरो हजुर ४”ले यस क्रमलाई निरन्तरता दिने कुरामा अहिले चलचित्रकर्मीहरू ढुक्क छन् । आशा गरौँ यो नयाँ वर्षले नयाँ सुरुवात दिनेछ र हाम्रो चलचित्र क्षेत्र पुन पुरानै लयमा फर्कन सकोस् ।

नेपालको टेलिभिजन जगतमा केही वर्ष अघि देखी मात्र शुरु भएको रियालिटी शोको मोह २०२८ मा झन् बढ्यो । “बुगी वुगी” “सारेगामापा लिटल च्याम्प्स” “द भ्वाइस किड्स” जस्ता शोहरु ले धेरै भन्दा धेरै दर्शकहरूलाई आकर्षित गरी मनोरञ्जन प्रदान गरिरहे । केही वर्ष अगाडि देखि शुरु भएका शोहरुले निरन्तरता पाइरहे । विदेशी फ्रेन्चाइजका शो मात्र नभएर “कमेडी च्याम्पियन” जस्ता रियालिटी शोहरुकै कारण दर्शकको एउटा ठूलो जमात पुन टिभी तर्फ आकर्षित भएको छ भन्दा गलत नहोला ।

प्रकाश सपुतको पिर भन्ने गीतले नेपाली दर्शकहरूलाई वर्ष २०७८ मा जनयुद्धको सम्झना गरायो र उक्त गीतलाई हटाउन आएको राजनैतिक दबाबका बिच उनले भिडियोका केही अंश सम्पादन गरेर फेरि प्रकाशन गरेका थिए ।
अर्कोतर्फ वर्ष २०७८ को सुरुवात तिर नै महानायक को भन्ने विवादले नेपाली सामाजिक सञ्जालमा एउटा सरगर्मी बढाएको थियो । यस वर्ष आएका विदेशी चलचित्रहरू जस्तै पुष्पा, आरआरआर जस्ता दक्षिण भारतीय चलचित्रहरूले नेपालमा निकै राम्रो व्यापार गरेका थिए । नेपालमा मात्र नभई यस वर्ष दक्षिण भारतीय चलचित्रहरू बलिउड र विश्व बजारमा समेत निकै चल्तीमा र लोकप्रिय भएका छन् ।

२०७८ मा खेलकुद
२०७८ मा लोकप्रिय क्रिकेटर र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका हुन् । राष्ट्रिय टोलीको कप्तानी सम्हालीरहेका ज्ञानेन्द्र मल्ल सहित अन्य खेलाडीहरूलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तानका रूपमा सन्दीप लामिछाने नियुक्त भएका छन् । त्यसैगरि कोच पुबुदु दासानायके पनि यस वर्ष नेपाली क्रिकेट टोलीको कोचको रुपमा फर्किएका छन् । नेपालले यस वर्ष घरेलु मैदानमा भएका टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाहरूमा जित हासिल गरेतापनि यसै वर्ष अष्ट्रेलियामा हुन लागेको टि २० विश्वकप सम्मको यात्रा तय गर्न भने सकेन ।

ओलम्पिकको लामो इतिहासमा पहिलोपटक यो प्रतियोगिता निर्धारित समयभन्दा पछि सरेर २०७८ मा आयोजना भयो । कोभिडको कारण २०७८ मा भएको ओलम्पिक्समा अमेरिकाले ३९ र चिनले ३८ स्वर्ण जितेर स्वर्ण पदक जितेर पहिलो र दोश्रो स्थान हात पार्न सफल भए ।


ओलम्पिक जस्तै युरो कप पनि सरेर २०७८ मै आयोजना भयो । युरोपियन राष्ट्रहरू बीच हुने फुटबलको यो रोमान्चक प्रतियोगितामा इटालीले बाजी मार्यो । गत वर्षको युरोकपमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनलाई खेलकै क्रममा मैदानमा आएको हृदयघातको दृश्यले विश्वभरका सम्पूर्ण खेलप्रेमीहरूलाई स्तब्ध बनायो । सबैको प्रार्थनाका कारण एरिक्सन अहिले सकुशल छन् ।

यी सबै चर्चाका खबरहरू सहित हामीले २०७८ लाई विदाई गरेका छौं । वर्ष २०७९ को सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना ।

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.