सन् २०२० लाई फर्केर हेर्दा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सन् २०२० लाई फर्केर हेर्दा





सन् २०२० को शुरुवातमा मानिसहरुले पक्कै पनि यसलाई धेरै अर्थमा एउटा सुनौलो वर्षको रुपमा हेरेका हुन सक्छन्।एउटा दशकको अन्त्य व्यापक बनाउने हामी मध्ये प्राय सबैको चाहना हुनसक्छ । तर, विश्वभरका अधिकांश मानिसहरुका लागि सन् २०२० सुखद भएन । कारण थियो विश्वभरि कै स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेर आएको, कोरोना भाइरस । सन् २०१९ मा चिनको वुहानबाट फैलिन शुरु गरेको यस भाइरसको वस्चर्व २०२० मा विश्वभर नै रह्यो । जनजीवन कष्टकर बन्यो, समय कठिन हुँदै गयो । सधैँ एकअर्काको साथमा अंकमाल गर्दै अगाडि बढ्नु पर्छ भन्ने मानसिकता सिकेको हामीले पहिलो पटक सामाजिक दूरी कायम गर्न सिक्नु पर्यो । तर, सन् २०२० को सकारात्मक पक्ष हेर्ने हो भने यो विशेष वर्षले हामीलाई धेरै कुराहरु सिकाएर जाँदैछ । हामी भित्रको धैर्यता, आइपर्न सक्ने समस्याको लागि पूर्वतयारी अनि सामाजिक हुन कति जरुरी छ भनेर सामाजिक दूरी कायम राख्दा आएका समस्याहरुले सिकाएर गएको छ। भ्याक्सिन नआउन्जेल सम्पूर्ण सावधानी अपनाऔँ । हामीले अपनाएको सतर्कताले नै कोरोनालाई कमजोर बनाउँछ ।

यस्ता धेरै तिता मिठा खबरहरूको बीचमा सन् २०२० ले आफ्नो बिट मार्न लागेको छ । यस लेख मार्फत हामी २०२० का त्यस्तै आकर्षक खबरहरु जुन नेपाल र विश्वभरि चर्चामा रहन सफल भयो, त्यसबारेमा चर्चा गर्नेछौ ।

कोरोना भाइरस
सन् २०२० लाई कोरोना भाइरस विशेष वर्ष भन्दा फरक नपर्ला। विश्वभरि अहिलेसम्म ८ करोड ८० लाख मानिसहरुलाई कोरोना संक्रमण भएको तथ्यांक छ जसमध्ये ४ करोड ५७ लाख मानिसले यसलाई जितेका छन् भने १७ लाख मानिसहरुले यसै भाइरसका कारण आफ्नो ज्यान गुमाउन पुगेका छन् । विश्वमा अमेरिका, ब्राजिल, भारत, मेक्सिको, इटाली लगायतका देशहरूमा यस भाइरसको प्रभाव अत्यन्तै धेरै देखा परेको थियो भने यो लेख लेखिँदा सम्म नेपालमा २ लाख ६० हजार करिब सङ्क्रमितको सङ्ख्या पुगेको छ जसमध्ये १८०० भन्दा धेरैले यसको कारण आफ्नो ज्यान गुमाएका छन् । यो वर्षको अन्त्य तिर विभिन्न देशहरुमा कोभिड विरुद्धको भ्याक्सिनको सफल परीक्षणको खबरले मानिसहरुमा उत्साह बढाएको छ भने अर्कोतर्फ भर्खर मात्र केही देशहरुमा थप घातक कोरोना भाइरस भेटिएको खबरहरु पनि आईरहेका छन् ।


संक्रमण नियन्त्रण गर्नको लागि लामो समय लकडाउनमा खुम्चिएर बस्न सहज थिएन । सन् २०२१ कोरोनाको कारण धेरै प्रभावित नहोस्, भ्याक्सिन छिट्टै विश्वका हरेक कुना कुनामा पुगोस् अनि मानिसहरु फेरी एकपटक भयरहित सहज जीवनशैली तर्फ फर्किऊन् । यस भाइरसका कारण ज्यान गुमाउन पुगेका सम्पूर्ण मृत आत्माको चिर शान्तिको कामना गरौँ ।

अमेरिकी चुनाव

 कोरोनाभाइरस महामारी बीच पनि यस वर्ष अमेरिकी चुनाव सम्भव बन्यो । जसमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भए । बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति समेत रहेका बाइडनको जित डोनाल्ड ट्रम्पले सहजै भने स्वीकार गरेका छैनन्। राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेपनि बाइडेनले ट्रम्पबाट साथ र सहयोग नपाएपछि सरकार निर्माणको कदम भने अगाडि बढाएका छन् ।

नेकपा विवाद
वर्षभरी नै नेपाली राजनीतिमा चर्चाको विषय बन्न सफल भयो, नेकपा विवाद। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच सहमति जुट्न नसक्दा वर्षको अन्त्य तर्फ आइपुग्दा यो विवादले भयावह स्थिति लियो । जब प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरू सहयोग नदिएको र काम गर्ने वातावरण नभएको भन्दै प्रतिनिधि सभा विघटन गर्ने कदम चालेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लाग्दा ओलीले प्रतिनिधि सभा विघटन गर्ने सिफारिस राष्ट्रपति अगाडि पेश गरे, उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पारित गर्दै आगामी निर्वाचनको मिति तोकिन। अर्कोतर्फ अर्का अध्यक्ष प्रचण्डले भने ओलीको कदम संविधान र देशको हितमा नभएको भन्दै प्रतिनिधि सभा पुर्नस्थापना गरेरै छाड्ने अडान लिएका छन्। पुन: एकपटक अस्थिरताको सङ्केत बनेर आएको यस विघटनले थुप्रै राजनीतिज्ञ र जनताहरुलाई विभाजित गरेको छ । सबैलाई सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा छ ।

लिम्पियाधुरा, लिपुलेख र कालापानी समेटिएको नयाँ नक्सा
  
सन् २०२० मा राजनीतिक अस्थिरता अघि नेपाली जनताहरुले हाम्रा राजनीतिक दलहरुको एकताको अव्बल उदाहरण पनि देख्न पाए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरी त्यसलाई संसद् बैठकबाट पारित समेत गर्यो। यसक्रममा आफ्नो भूमि फिर्ता ल्याउन छिमेकी राष्ट्रलाई दबाब दिँदा धेरैले छिमेकी राष्ट्र भारतसँग सम्बन्ध चिसिएको अनुमान पनि गरे । छिट्टै नै भारतसँग यस विषयमा वार्ता गर्न तयार नेपालको यो ऐतिहासिक कदमलाई सम्पूर्ण नेपालीहरूले सम्मान अनि उत्साहका साथ स्वागत गरे ।

अफगानिस्तान सरकारको तालिवानसँग वार्ता
लगभग चार दशकको युद्धलाई पूर्णविराम लगाउने उद्देश्यले दोहामा तालिवानी विद्रोहीसँग अफगान सरकारको ऐतिहासिक शान्ति वार्ता भयो । अमेरिकाले मध्यस्थताको भूमिका निभाएको उक्त वार्ता तब मात्र सम्भव भयो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गरेर आफ्नो सेनालाई स्वदेश फिर्ता लिन तयार भए ।

कुलमानको बिदाइ
सन् २०२० मा नै आफ्नो चार वर्षे कार्यकाल सकाएर नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भए । लोडसेडिङबाट देशलाई मुक्त बनाएका कुलमानले आफ्नो कार्यकालमा घाटामा गइरहेको प्राधिकरणलाई नाफामा समेत ल्याएका थिए । आफ्नो सोच अनि कार्यशैलीको कारण सबै जनताको मनमा बस्न सफल कर्मचारी कुलमानको कार्यकाल थप गर्न सरकारलाई जनताले दबाब दिइरहँदा पनि सरकारले कुलमानलाई पुन नियुक्त गरेन ।


रहेनन् राष्ट्रकवि माधव घिमिरे
'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’, 'फूलको थुङ्गा बगेर गयो' नेपाली मनहरुमा सधैँ स्थान बनाउन सफल यी र यस्ता अन्य कैयौं गीतहरुका रचनाकार राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षको उमेरमा निधन भयो । स्वासप्रश्वासमा समस्या भएको कारण राष्ट्रकवि घिमिरे लामो समयदेखि आफ्नो घरमा उपचाररत थिए । कुशल नेपाली साहित्यकार कवि र गीतकार माधव घिमिरेको कमि हामीले सधैँ महसुस गर्नेछौँ।

बेरुतको त्यो विष्फोट
अगष्टमा लेबनानको बेरुतको एक बन्दरगाहमा भएको विष्फोटमा परेर सैयौंले ज्यान गुमाए भने ४००० भन्दा बढी मानिसहरु घाइते छन्। गोदाममा असुरक्षित तरिकाले राखिएको “एमोनियम नाइट्रेट” विष्फोट हुँदा शक्तिशाली विष्फोट हुन पुगेको थियो। सामाजिक सञ्जालमा उक्त विष्फोटको भिडियो भाइरल नै हुन पुगेको थियो । उक्त विष्फोटमा भएको जनधनको क्षतिको कारण लेबनानमा शोक दिवस समेत मनाइएको थियो।

चिन-भारत अनि चिन-अमेरिका बीचको विवाद

यो वर्ष चीनको भारत अनि अमेरिकासँग लगातार तनाव बढीरहेको खबर निक्कै चर्चामा रह्यो । कहिले अमेरिकाले ताइवान छेउमा शक्तिशाली विमानको गस्ती बढाएको भने कहिले सोहि क्षेत्रमा उडिरहेको अमेरिकी विमानलाई चीनले लखेटेको खबरहरु आइरहे । त्यस्तै, भारतसँग भने गलवान उपत्यकाको विषयलाई लिएर तनाब सृजना भएको हो । एशियाका दुई ठूला राष्ट्रको सेनाहरुबीच सिमामा भएको लडाईको खबरले विश्वको ध्यानाकर्षण गरेको थियो ।

चर्चामा सरिता गिरी
आफ्नो शब्दहरूको कारण सधैँ चर्चामा रहिरहने सरिता गिरीलाई पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले निष्काशित गर्यो । सरिता गिरीले भने पार्टीको उक्त निर्णय विरुद्ध अदालतमा रिट दर्ता गरिन्। लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी गिरीको यसैकारण थुप्रै आलोचना समेत भएको थियो।

भारतीय मिडिया
यस वर्ष नेपाली दर्शकहरुले चर्चित पत्रकार अर्नव गोस्वामीको शोमा मिनेन्द्र रिजालको बयानको चौतर्फी तारिफ गरे । प्रतिपक्षी दलका रिजालले गोस्वामीको अगाडि नेपाली भूमि फिर्ता ल्याउन नेपालमा सम्पूर्ण राजनीतिक दलहरु एक भएको बयानले निक्कै चर्चा कमायो । त्यसपछि भारतीय मिडियाले चिनिँया राजदूत होउ यान्छीको नेपाली राजनीतिमा सक्रियता अनि सहभागितालाई गलत ढङ्गमा प्रस्तुत गरेपछि नेपाल सरकारले भारतीय न्युज च्यानलहरूमा प्रतिबन्ध समेत लगाएको थियो।

सन् २०२० मा चलचित्र क्षेत्र
सन् २०२० मा कोरोना महामारीको कारण चलचित्र क्षेत्र निक्कै प्रभावित रह्यो। लगभग १० महिना सिनेमाघरहरु बन्द रहे, नयाँ चलचित्रहरु प्रदर्शनमा आउन सकेनन् । अहिले सिनेमाघरहरु खुलेपनि निर्माताहरु आफ्नो चलचित्र प्रदर्शन गर्न हिच्किचाइरहेको अवस्था छ । कारण, महामारीको डरले सोचे जति दर्शक हलसम्म आइपुग्न सक्ने अवस्था छैन । नेपाली चलचित्र क्षेत्र कोरोनाको कारण अति नै प्रभावित हुन पुग्यो । हुन त कोरोनाको प्रभाव हलिउड र बलिउडमा नभएको भने हैन । तर पनि त्यहाँ ओटिटि प्ल्याटफर्ममा चलचित्रहरु प्रदर्शन भए । दर्शकहरुले नयाँ चलचित्रको स्वाद भने पाईरहे ।


बलिउडमा सन् २०२० भने धेरै दुखद साबित भयो । सुपरस्टार ऋषि कपूर, इरफान खान, संगीतकार वाजिद खान जस्ता चर्चित हस्तीलाई बलिउडले गुमाउन पुग्यो भने युवा सुपरस्टार सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउड मात्र नभई सम्पूर्ण चलचित्रप्रेमीहरुलाई स्तब्ध बनायो । सुशान्त आत्महत्यापछिको प्रभाव पनि उतिक्कै दुखद थियो । कहिले नेपोटिजम त कहिले ड्रग काण्डमा थुप्रै चर्चित कलाकारहरुको नाम अगाडि आउनु बलिउडको लागि लज्जास्पद हुन पुग्यो । त्यसबाहेक नायिका कंगना रनावत र शिव सेनाबीचको टकरावले सम्पूर्ण बलिउड माथि नै प्रश्न चिन्ह उठाएर गयो।

सन् २०२० मा खेलकुद
यस वर्ष राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापा लगायतका ६ जनाले म्याच फिक्सिङ् आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । २०७२ सालमा खेलाडीहरूलाई म्याच फिक्सिङको आरोप लागेको दिनले खेलप्रेमीहरूलाई निक्कै दुखित बनाएको थियो।

त्यसबाहेक, कोरोनाको कारण खेल क्षेत्र निक्कै प्रभावित हुन पुग्यो । सोचे अनुरूप खेलहरू हुन सकेनन् । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले यस वर्ष आइपिएलमा एक खेलपनि खेल्न नपाउँदा नेपाली खेलप्रेमीहरु दुखी भए । अहिले भने सन्दीप बिग ब्यास खेल्न अष्ट्रेलिया पुगेका छन् । त्यस्तै वर्षको अन्त्यमा नेपालका ३ खेलाडी कुशल मल्ल, सोमपाल कामी र करण केसी टि १० लिगमा आवद्द भएका छन् भने नेपालका पूर्व कप्तान पारस खड्का ट्यालेन्ट हन्ट गर्न टिम आबुधावीमा अनुबन्धित भएका छन् । त्यसबाहेक अर्को खुशीको खबर भने क्यानले नेपाली क्रिकेट टिमको प्रशिक्षकको भूमिकामा अनुभवी डेभ वाटमोरलाई चयन गरेको छ । उनको अनुभवले नेपाली क्रिकेट टिमलाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ ।

त्यस्तै यस वर्ष फुटबलको जगतमा चर्चित र धेरै युवाहरुको प्रेरणाको श्रोत समेत रहेका अर्जेन्टिनाका जादुमयी खेलाडी म्याराडोनालाई संसारले गुमाउन पुग्यो । ६० वर्षको उमेरमा हृदयघातका कारण संसारबाट बिदा भएका म्याराडोनाको खबरले विश्वभरको खेलप्रेमीलाई दुखी बनायो । त्यसबाहेक, यो वर्ष लिग खेलका फुटबलहरु महामारीको कारण खाली स्टेडियममा खेलिए। खाली स्टेडियममा खेल हेर्दाको फरक अनि खल्लो अनुभव खेलप्रेमीहरुले देख्न पर्यो ।

यस्ता विभिन्न आरोह अवरोहहरुका साथ सन् २०२० त अन्त्य हुँदैछ । बितेका कुराहरुलाई हामीले यादमा मात्र साचेर राख्न सक्छौं । आउनुहोस् हामी सबै मिलेर एउटा सुखद २०२१ को कामना गरौँ । यो महामारी चाडै अन्त्य होस् । जनजीवन फेरी पुरानै लयमा फर्कियोस् ।

नव वर्ष २०२१ को सबैलाई शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.