एड्स नियन्त्रणमा दन्त चिकित्सा | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

एड्स नियन्त्रणमा दन्त चिकित्सा





एड्स महामारी:
विश्व स्वास्थ्य सङ्गठनले डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवस घोषणा गरेको छ । यस बर्ष "Equalize" को नारा र विभिन्न कार्यक्रम सहित विश्वभर यो दिवस मनाइँदैछ । मानिसको रगतमा भएका शरीरको प्रतिरक्षा प्रणाली सम्बद्ध लिम्फोसाईट (CD4+) नामक स्वेत रक्त कोषमा वृद्धि भै ती कोषलाई नष्ट गरेर प्रतिरक्षा प्रणाली नै ध्वस्त पार्ने रेट्रो भाइरसलाई Human immunodeficiency virus (HIV) भनिन्छ । HIV को संक्रमण भएर प्रतिरक्षा प्रणाली नष्ट भै जीवनको लागि चुनौती उत्पन्न गर्ने अर्बुद रोग (Cancer) लगायतका अन्य सङ्क्रामक रोगावस्थालाई Acquired Human Immunodeficiency Syndrome (AIDS) भनिन्छ ।

सन् १९८८ मा अफ्रिकाको घना जंगलमा रहने चिम्पान्जी र वानर प्रजातिको शिकार गर्ने र प्रत्यक्ष संसर्गमा रहँदा उनीहरूमा सदियौं देखि भएको Simian Immunodeficiency Virus (SIV) मानिसमा सरेर एड्सको रुपमा विकास भएको पुष्टि भएको छ । एड्स रोग अप्राकृतिक यौन सम्पर्क (मुख मैथुन‚ मलद्वार मैथुन) लगायतका असुरक्षित यौन क्रिया र संक्रमितको रगत‚ प्रजनन अङ्गहरूबाट बहने श्राव जस्ता शरीरबाट निस्कने तरल पदार्थ मार्फत स्वस्थ मानिसमा सर्ने गर्दछ । सन् १९९० को तुलनामा हाल कडा एन्टिरेट्रोभाइरल औषधिको प्रभाव समेतको कारण यो महामारी एक अत्यन्तै जीर्ण‚ निको नहुने तर व्यवस्थापन गरी जीवन सहज बनाउन सकिने स्वरूपमा परिणत भएको छ । 

मुख स्वास्थ्य र एड्स:
नेपाल लगायत विश्वका धेरै स्थानमा अधिकांश मुख स्वास्थ्य र एच आइ भि एड्सका रोगीहरू आर्थिक सामाजिक हिसाबले पछाडि परेका, अशिक्षित‚ स्वास्थ्य सम्बन्धी चेतनाको स्तर कम भएका‚ कुपोषित‚ गरिब र विपन्न समुदायमा देखिन्छन् । यस्ता स्थानका मानिसहरूमा रुढीवादी अन्धविश्वासको बाहुल्यता रहने र गुणस्तरीय चिकित्सा सेवामा पहुँच नपुग्नाले समस्यालाई थप जटिल बनाइदिन्छ । एक त स्वस्थ मुख नभएसम्म शरीर स्वस्थ हुनै सक्दैन त्यसैमाथि एड्सका रोगीहरूलाई आरामदायी जीवन जिउनको लागि झनै आवश्यक पर्दछ र मुख स्वास्थ्यमा देखिने खराबीले एड्सको असर थप गम्भिर पारिदिन्छ र अन्त्यमा मृत्यु सम्म हुन सक्दछ । तसर्थ‚ मुख स्वास्थ्य कायम गर्न पर्याप्त ध्यान दिएर एड्स नै लाग्न नदिन र लागि हाले पनि जीवन सजिलो पार्न मुख स्वास्थ्यको विशेष हेरचाह गर्न आवश्यक हुन्छ ।

दन्त चिकित्सककहाँ आउने बिमारीहरुमध्ये  एड्स लागेको तर बिमारीलाई थाहा नभएको‚ आफुलाई एड्स लागेको थाहा भएर पनि भन्न नचाहने र आफु एड्स संक्रमित भएको र स्वेच्छाले स्पष्ट बताउने जस्तो पनि हुन सक्दछ । यस्तो अवस्थामा सबै बिमारीलाई एड्स संक्रमित भएको हुन सक्ने अनुमान गरी सावधानीपूर्वक जाँच पडताल र उपचार गर्नु पर्दछ । एच आ्इ भि को जे जस्तो अवस्था भएपनि अत्यन्तै सावधानी पूर्वक बिमारीको जाँच र उपचार गर्नु पर्दछ ।

एच आइ भि बाट संक्रमित र्‍याल‚ थुक‚ रगत वा उपकरणको लसपसबाट अचानक हुनसक्ने संक्रमणबाट आफ्नो‚ आफ्ना कर्मचारी र बिमारीको सुरक्षाको प्रबन्ध पहिलेनै गर्नु पर्दछ । स्वास्थ्य केन्द्र वा क्लिनिकहरुबाट एच आइ भि नसरोस भनेर भाइरस संक्रमण नियन्त्रणको व्यवस्था ज्यादै गम्भिरतापूर्वक गर्नु पर्दछ । सुईले एक्कासी घोंचीने जस्ता घटनाहरु भएमा तत्काल औषधोपचारको व्यवस्था गर्नु पर्दछ ।

दन्त चिकित्सक र प्राविधिकमा एड्सको जोखिम:
दन्त चिकित्सक तथा प्राविधिकहरु रोगीको प्रत्यक्ष सम्पर्कमा आउने र रोगीको निरीक्षण‚ परीक्षण‚ उपचार आदि कार्य गर्दा लामो समयसम्म रोगीको प्रत्यक्ष संसर्गमा रहने‚ उपचारको क्रममा मुखभित्र औजारहरु राखेर काम गर्नु पर्ने‚ मुखमा दाँत‚ गिँजा वा अन्य भागबाट रगत‚ पिप‚ फोहर आउने र मुखको तन्तुसंग प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने‚ उपचारमा प्रयोग गरिने उपकरणहरुबाट सामान्य घाउचोट लाग्न सक्ने र त्यस्तो घाउमा एड्स भाइरसको संक्रमण हुन सक्ने जोखिम रहन्छ । पर्याप्त सावधानी र सुरक्षा व्यवस्था अबलम्बन नगरेमा रोगीबाट आफुमा रोग सर्ने जोखिम रहन्छ ।

मुखमा एड्सको संकेत:
एड्स रोगीको प्रतिरक्षा शक्ति कमजोर भएको‚ भाइरसको परिमाण बढिरहेको र एड्सको औषधि (एण्टिरेट्रोभाइरल) प्रयोग गरेको अवस्थामा पनि मुखमा घाउ वा अन्य परिवर्तन देखा पर्न सक्दछन् । यस्ता परिवर्तनहरुले एड्सको प्रारम्भिक अवस्थाको संकेत गरेपनि मुखको जाँच गर्दा यस अवस्थामा एड्स भएको नै भन्न सकिंदैन । तथापि शंका गरेर निदानतर्फ तत्काल पहल गर्न सकिन्छ ।
एच आइ भि एड्स संक्रमण भएमा पनि मुखमा निम्न लिखित समेतका ३० भन्दा धेरै परिवर्तनहरु हुने गर्दछन् । 
१. ढुसीको संक्रमण: Candidiasis, Histoplasmosis र Aspergillosis
२. भाइरसको संक्रमण: Herpes Simplex Virus, Human Papilloma Virus, Epstein Barr Virus र Cytomegalovirus
३. ब्याक्टेरियाको संक्रमण: Spirochetal, Mycobacterium Sp.
४. क्यान्सर: Kaposi’s sarcoma, Non-Hodgkin’s Lymphoma
५. मुखमा अल्सर: Aphthous ulcers, Aphthous-like ulcers
६. गिँजाका समस्या: Linear Gingival Erythema, Ulcerative Necrotizing Gingivitis, Ulcerative Necrotizing Periodontitis
७. र्‍याल ग्रन्थी: र्‍याल ग्रन्थी सुन्निने‚ र्‍याल ननिस्किएर मुख सुख्खा (xerostomia) हुने । 
८. अन्य: मुख वा दाँत दुख्ने‚ असहज हुने लगायतका समस्याहरु ।

दन्त चिकित्सकको मुख्य भूमिका: 
एच आइ भि एड्स नियन्त्रण गर्ने शिलशिलामा स्वास्थ्य सेवा प्रदायी मध्येको दन्तचिकित्सकको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । दन्त चिकित्सकले दाँतका स्वभाविक समस्याहरुका साथै एड्ससंग सम्बन्धित मुखका घाउ तथा अन्य परिवर्तनहरुको आवश्यकता अनुसारको र विशेष प्रोटोकल अनुसार उपचार गर्ने र रोगी एवं अभिभावकसंग छलफल र प्रशिक्षण गरेर सचेतना जागृत गराउने‚ अभिलेख राख्ने र आवश्यकता अनुसार रेफर गर्ने गर्दछन् । यो महान कार्य सम्पादन गर्दै गर्दा दन्त चिकित्सकहरु एड्स रोगीको अग्र पंक्तिको रोग नियन्त्रक बन्न पुग्दछन् । दन्त चिकित्सकले यो कार्य सम्पन्न गर्न आफुलाई निरन्तर शिक्षामाफर्त ज्ञान‚ शिप र दक्षतामा अबब्ल राख्नु पर्दछ । दन्त चिकित्सकले मानिसलाई एड्स जस्तो माहामारीको रोकथाम तथा नियन्त्रण गर्न‚ सर्वसाधारणलाई माहामारीबाट बचाउन‚ गोपनीयता र नैतिकता कायम राख्न र अबब्ल चिकित्सा सेवा प्रदान गरेर समाजमा अत्यन्तै मर्यादित स्थान प्राप्त गरेका हुन्छन् ।

सारांश
नेपालमा एड्स व्यापक रुपमा फैलिएको र जुनसुकै समयमा जो कसैलाई सर्न सक्ने जोखिम रहेको छ । दन्त चिकित्सकले आफ्नो बिमारीलाई उच्चतम स्तरको प्राविधिक सेवा टेवा प्रदान गरेर मुख स्वस्थ राख्दै सम्पूर्ण स्वास्थ्य कायम गर्न मद्दत गर्दछ । उसले रोगको सुरु सुरुकै अवस्थामा निदान तथा उपचार गरेर मानिसलाई मृत्युको मुखबाट रक्षा गर्दछ । नेपालमा दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सेवामा समावेस नगरेर सर्वसाधारण र एड्स रोगी प्रति विभेद भएको छ । दन्त चिकित्सा राज्यबाटै उपेक्षित भएसंगै एकातर्फ आम सर्वसाधारण गुणस्तरीय दन्त चिकित्सा सेवाबाट बञ्चित छन् भने अर्कोतफर् एड्स फैलिंदै गर्दा नियन्त्रणमा कठिनाइ आइपरेको छ । तसर्थ‚ गुणस्तरीय दन्त चिकित्साको प्रबर्धन गर्दै एड्स नियन्त्रणमा लागि परौं ।

डा. प्रतिक्षा घिमिरे‚ डा. सिमा घिमिरे‚ डा. नारायण प्रसाद घिमिरे  र डा. आदर्श खनाल
सुमेन डेन्टल होम‚ बसुन्धरा‚ काठमाण्डौ  



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.