एन्टिमाइक्रोवियल रेसिस्टेन्स र न्यूनीकरणमा दन्त चिकित्सा
एन्टिमाइक्रोवियल रेसिस्टेन्सः
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोवियल रेसिस्टेन्सको कारण सन् २०५० सम्ममा विश्वमा करिब एक करोड मानिसको मृत्यु हुने आंकलन गरेकोछ । मानिसले व्याक्टेरिया, ढुसी, परजीवि, भाइरस जस्ता सुक्ष्मजीव नासक वा प्रतिरोधक एण्टिवायोटिक लगायतका प्रतिजैविक (antimicrobial)औषधिहरुको अधिक, जथाभावी प्रयोग वा दुरुपयोग गर्नाले सुक्ष्मजीवहरुले त्यस्ता औषधि विरुद्ध लड्ने क्षमता सहितको औषधिले काम नगर्ने स्वरुप (रेसिस्टेण्ट) मा विकास हुने अवस्थालाई प्रतिजैविक प्रतिरोधी अवस्था (antimicrobial resistance) भनिन्छ ।
सन् १९२८ मा नोवेल पुरस्कार विजेता अलेक्जाण्डर फ्लेमिङ्गले मानव सभ्यताकै बरदान मानिएको पेनिसिलिन नामको एण्टिवायोटिकको आविष्कार गरे । त्यसपछि वैज्ञानिकहरुले धेरै प्रकारका एण्टिमाइक्रोवियल औषधिहरुको विकास गरे । मानिसले सूक्ष्मजीवबाट जस्तोसुकै दुसाध्य रोग लागे पनि एण्टिमाइक्रोवियल औषधिको प्रयोग गरेर निको पार्दै यस्ता रोग विरुद्ध विजय प्राप्त गरेको थियो । तर आज मानिसले एण्टिमाइक्रोवियल औषधिको जथाभावी प्रयोग वा दुरुपयोग गरेको कारण कुनै पनि यस्ता औषधिले काम नगर्ने अति–रेसिस्टेण्ट (superbug) सुक्ष्मजीवहरुको भएको छ । विगतमा सामान्य मानिएका रोगहरु पनि बजारमा उपलब्ध अधिकांश वा सबै एन्टिमाइक्रोवियल औषधिहरुले असर नगर्ने घातक बन्दै अब सामान्य संक्रमण भएपनि उपचार नलागेर अल्पायु मै मर्नु पर्ने त्रासदिपूर्ण अवस्था सिर्जना भएको छ । यी रेसिस्टेण्ट सूक्ष्मजीवहरुले जीव विज्ञानमा भएको विकासलाई चुनौति दिँदै मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य सामु २१सौं शताब्दिका प्रमुख चुनौती बनेका छन् ।
दन्त चिकित्सा र एण्टिमाइक्रोवियल रेसिस्टेन्सः
दन्त चिकित्सामा एण्टिमाइक्रोवियल औषधिहरुको प्रयोग हुने गर्दछ । दन्त चिकित्सकको प्रेस्कृप्सनबाट मात्रै सम्पूर्ण एण्टिवायोटिकको प्रयोगमा करिब १० प्रतिशते खपत हुने गरेको अनुमान गरिएको छ । दन्त चिकित्सकहरुले एण्टिमाइक्रोवियल औषधिको प्रयोग गर्ने भएकाले यस्ता औषधिको रेसिस्टेन्स न्यूनीकरण गर्न गराउने कार्यमा उनीहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ । दन्त चिकित्सकहरुले एण्टिमाइक्रोवियल औषधिको महत्व, रेसिस्टेन्स उत्पन्न हुने कारण र न्यूनीकरण गर्ने सम्बन्धमा गहन अध्ययन गरेका हुनाले त्यसलाई सहजै व्यवहारमा उतार्न सक्दछन् । उनिहरुले आवश्यक नपरेसम्म सकभर एण्टिमाइक्रोवियल औषधि प्रयोग गर्दैनन् । विश्वका विभिन्न मुलुकहरुमा दन्त चिकित्सकहरुले एण्टिवायोटिकको प्रयोगमा निकै नै कमी गरेर रेसिस्टेन्स न्यूनीकरण गर्नमा सहयोग गरेका छन् । वेलायतमा सन् २०१३ को तुलनामा सन् २०१७ मा करिब करिब एक चौथाई प्रेस्कृप्सन लेखनमा कमी आएको थियो ।
तर हाम्रो जस्तो कमजोर स्वास्थ्य सेवा, अशिक्षा, गरिबी र जनचेतनाको कमी भएको मुलुकमा दन्त चिकित्सकको प्रेस्कृप्सन विना नै औषधिहरुको खरिद बिक्रि हुने गर्दछ । त्यसैमािथ बजारमा उपलब्ध हुने एन्टिवायोटिक औषधिहरुको गुणस्तर सदैव शंकास्पद रहने गर्दछ । मानिसले आफुखुसी जथाभावी एण्टिवायोटिकको प्रयोग गर्ने गर्दा एण्टिवायोटिक रेसिस्टेन्सको अवस्था सिर्जना हुन सक्ने जोखिम रहन्छ । तसर्थ, दन्त चिकित्सामा संलग्न स्वास्थ्य कर्मीहरुले चिकित्सकको प्रेस्कृप्सन अनुसार एण्टिवायोटिक औषधिको सेवन गर्न लगाउने र जनचेतना जागृत गराएर एण्टिवायोटिक रेसिस्टेन्स न्यूनीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।
एण्टिमाइक्रोवियलको कम भन्दा कम प्रयोग गर्ने सम्बन्धमा दन्त चिकित्सकहरु प्रयत्नशिल रहंदा रहदै पनि सन् २०१९ मा कोभिड माहामारीको प्रकोप भएपछि मानिसले एण्टिमाइक्रोवियल औषधि आफुखुसी जथाभावी प्रयोग गर्न थालेको, दन्त चिकित्सकको प्रेस्कृप्सन विना पनि एण्टिवायोटिक लगायतका औषधिहरु बिक्रि वितरण हुने गरेकोले एण्टिमाइक्रोवियल रेसिस्टेन्सको दरमा पनि उल्लेखनीय रुपमा बृद्धि भएको छ ।
विश्व स्वास्थ्य संगठनले एण्टिमाइक्रोवियल रेसिस्टेन्स न्यूनीकरण गर्न सन् २०१९ मा कार्य योजना तर्जुमा गरेको छ । दन्त चिकित्सकले सोही योजनाको आधारमा एण्टिवायोटिकको सदुपयोग गर्न गराउन सक्दछन् । दन्त चिकित्सकले निम्नानुसार गरी गराई एण्टिमाइक्रोवियल रेसिस्टेन्सको समस्यालाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान गर्न सक्दछन् ।
१. सचेतना परामर्शः शिक्षा, सूचना, सञ्चार, तालिम, प्रकाशन, मिडिया लगायतका माद्यमबाट एण्टिमाइक्रोवियल रेसिस्टेन्सको बारेमा जनचेतना जागृत गराउने ।
२. प्रयोगः आवश्यक भएमा मात्र दन्त चिकित्सामा एण्टिमाइक्रोवियल औषधिको प्रयोग गर्ने ।
३. अध्ययन, अनुसन्धानः दन्त चिकित्सामा एण्टिमाइक्रोवियल रेसिस्टेन्स बारे अध्ययन अनुसन्धान, समन्वय, सहकार्य र सहजीकरणलाई बढावा दिने ।
४. दन्त चिकित्सालाई राष्ट्रीय स्वास्थ्य संरक्षण कार्य योजनामा आबद्ध गर्ने र एण्टिवायोटिक प्रयोगको अनुगमन गर्ने ।
सारांश र सुझावः
एण्टिमाइक्रोवियल रेसिस्टेन्स २१सौं शताब्दिको साझा स्वास्थ्य चुनौती भएको छ । यसबाट मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य समेतमा गम्भिर असर पर्ने भएकाले यसको समाधानकालागि गरिने प्रयासहरुमा चिकित्सक, दन्तचिकित्सक, पशु चिकित्सक, औषधि विक्रेता तथा उपभोक्ता लगायतका सबै सरोकारवालाहरुको अग्रणी भूमिका रहेको हुन्छ । तसर्थ, यो समस्याको निराकरणको लागि राष्ट्रिय रेसिस्टेन्स न्यूनीकरण योजनाले सबै सरोकारवालहरुसंग सहकार्य, समन्वय र सहभागिता सुनिस्चित गर्नु आवश्यक छ । अति आवश्यक परे मात्र चिकित्सकको परामर्श अनुसार प्रयोग गर्ने, आफुखुसी प्रयोग नगर्ने र प्रयाप्त सावधानी अपनाएर एण्टिमाइक्रोवियल रेसिस्टेन्स न्यूनीकरण गर्न सकिने भएकाले सबै सरोकारवालाहरुले आजैदेखि आआफनो स्थानदेखि नै यस पुनित कार्यमा योगदान गरी एण्टिमाइक्रोवियल रेसिस्टेन्स न्युनीकरण गर्दै मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षणमा योगदान गरौं ।
डा. प्रतिक्षा घिमिरे, डा. नारायण प्रसाद घिमिरे, डा. आदर्श खनाल र डा. सिमा घिमिरे
सुमेन डेण्टल होम , बसुन्धरा, काठमाण्डौ