हाम्रो समाजमा दशैँ‚ तिहार‚ छठ्‚ नयाँ बर्ष‚ तीज‚ इद‚ ल्होसार‚ सक्राति‚ पूर्णीमा‚ भूम्या‚ उभौली‚ उधौली‚ क्रिस्मस लगायत बर्षैभरि कुनै न कुनै चाड पर्व भैरहने गर्दछ।जुनसुकै चाड पर्वमा पनि खाना र विशेषगरी मिष्ठान्न आकर्षणका केन्द्र हुने गर्दछन् । अझ‚ दशैँ तिहार जस्ता चाड पर्वमा धेरै गुलियो मिष्ठान्न‚ अल्कोहलयुक्त पेय पदार्थ‚ कोकाकोला लगायतका कार्बोनेटेड पेय पदार्थको सेवनमा बृध्दि हुँदै गएसँगै दाँत गिँजा‚ मुख मात्र नभएर मधुमेह‚ मुटु तथा उच्च रक्तचाप लगायतका जटिल अस्वस्थकर अवस्था सृजना हुने र मुख स्वास्थका चुनौतीका साथै अकालमा ज्यानै जाने जोखिम पनि थपिँदै गएको पाइएकोछ। तसर्थ‚ यस लेखमा मेला पर्वको समयमा आफ्नो आहारबिहारमा सावधान हुन र मुख तथा दाँतको विशेष हेरचाह गर्न सचेतना जागृत गराउने प्रयास गरिएकोछ।
दाँत बिग्रने कारणः
निम्नलिखित आहार बिहार तथा आनिबानि र बिशेषगरी चाड पर्वमा गरिने लापर्वाहीको कारण दाँत तथा गिँजा र मुखमा गम्भिर असर पर्ने गरेकोछः
१․ मिष्ठान्नः चिनी‚ चकलेट वा जुनसुकै गुलियो वस्तु र बिशेषगरी मिठाईको अधिकतम सेवन ।
२․ कार्बोनेटेड पेय पदार्थः कोकाकोला‚ फाण्टा‚ ड्यू‚ पेप्सी‚ मिरिण्डा लगायतका कार्बोनेटेड पेय पदार्थ (सफ्ट ड्रिङ्क) तथा रक्सी वा जुनसुकै अल्कोहलयुक्त मादक पदार्थ ।
३․ बानीः खानपिन गरेपछि नचुठ्ने‚ कुल्ला नगर्ने र दाँतको सरसफाइ नगर्ने ।
दाँत बिग्रने प्रकृयाः
१․ नियमित दाँत सफा नगरेमा दाँतको बाहिरी भाग (इनामेल) मा अडिएको जुनसुकै र बिशेषगरी गुलियो खानेकुरामा मुखमा हुने सुक्ष्म जीवाणु (ब्याक्टेरिया) बृध्दि हुने गर्दछ। ती ब्याक्टेरियाले इनामेलमा वायोफिल्म वा प्लाक तयार गरी टाँस्सिएको खानेकुरामा अम्लिय पदार्थ उत्पादन गर्दछन् जसले इनामेलमा भएका क्याल्सियम लगायतका खनिज पदार्थ गल्ने र दाँतमा सुक्ष्म छिद्रहरु बन्ने र दाँत खिइन्छन्।साथै खनिज पदार्थ जम्मा भएर ढुङ्गा वा टारटार बन्ने‚ मुख वा दाँतको सक्रमण हुने र समस्या उत्पन्न हुने गर्दछ ।
२․ कार्बोनेटेड पेय पदार्थमा भएको अमिलो रसायनले पनि जीवाणुजन्य रसायनले जस्तै दाँतको इनामेल खियाएर सुक्ष्म छिद्र बनाउँदछ। यस्ता पेय पदार्थको अधिक सेवन गर्नाले र्यालद्वारा मुखमा हुने अम्लियपनालाई सन्तुलनमा राखेर दाँत बिग्रनबाट जोगाउन सक्दैन ।
दाँतमा देखिने लक्षणः
१․ दाँत खिइने‚ दाँत कुहाउने वा खाल्टो (क्यारिज वा क्याभिटी) बनाउने र टारटारले निरन्तर गिँजामा असर गर्ने र सुन्निने‚ चबाउन नसकिने‚ दाँत कुहिएर खाल्टो पर्ने र कालो दाग देखिने‚ दाँत झर्ने‚ गीँजाबाट रगत बग्ने‚ सास गन्हाउने र मुखका अन्य सममस्या उत्पन्न गराउँछ।
२․ इनामेलमा छिद्र परेको दाँतमा चर्कने‚ फुट्ने‚ भाँचिने‚ कमजोर हुने‚ सिरिङ्ग सिरिङ्ग गर्ने‚ दुख्ने र अन्य संरचनागत जटिलता देखिन्छ ।
३․ मुख वा दाँतमा देखिएका समस्या त्यहीँमात्र सिमित नभएर मुटु (भेजिटेटिभ इण्डोकार्डाइटिस)‚ मृगोला (नेफ्राइटिस)‚ पेट (ग्यास्ट्राइटिस) लगायत समग्र शरीरमा असर गर्ने‚ मधुमेह‚ उच्च सक्तचाप र कालान्तरमा अर्बुद रोग (क्यान्सर) जस्ता प्राणघातक अस्वस्थकर अवस्थासँग जोडिएका हुन्छन्।
बचावटका उपाय
१․ आहार बिहारः मुख स्वास्थ सरक्षण गर्न चाड पर्वको समयमा बिशेषगरी आहार बिहारमा पर्याप्त ध्यान पुर्याउनु र माथि उल्लेखित जोखिमपूर्ण खानेकुरा सकभर सेवन नगर्ने र गर्नै परे पनि खानासँगै खाने बानी गर्नु पर्दछ।
२․ कुल्ला गर्नेः खाना‚ मिठाई वा गुलियो वस्तु खाइसकेपछि राम्रोसंग मुख कुल्ला गरेर मुख वा दाँतमा अडिएको खानेकुरा हटाउनु पर्दछ।
३․ दन्त मञ्जनः खाना खाइसकेपछि हरेक पटक र कम्तिमा पनि दैनिक बिहान बेलुका दाँत र दाँतको बिच बिचमा रहेको खानेकुरा हटाउने गरी सहि तरिकाले दाँत माझ्नु नै मुख स्वास्थ जोगाइराख्ने आधारभूत कार्य हो । नियमित दन्त मञ्जन गर्नाले दाँत‚ गिँजा‚ जिभ्रो र मुखमा जमेको लेउ (प्लाक) हट्ने‚ मुख वा दाँतमा सक्रमण रोकिने मात्र नभएर गिँजा‚ दाँत तथा मुख स्वास्थ सम्बन्धि समस्याहरुका अतिरिक्त १२० भन्दा अधिक प्रणालीगत रोगबाट सहजै बचावट गरी निरोगी हुन सकिन्छ।
४․ अन्य सावधानीः चाड पर्वको समयमा मुख स्वास्थ तन्दुरुस्त राख्ने केही अन्य उपायहरु निम्नानुसार उल्लेख गरिएकोछः
मुखमा जति धेरै र्याल आउन सक्यो त्यति नै गुलियो तथा अमिलोपन र सुक्ष्म जीवहरु हटाउन सकिने भएकाले गुलियो नभएका चुइङ्गम चपाउन सकिन्छ ।
चाड पर्वको समयमा दाँत भाँचिने एउटा सबैको समस्या भनेको दाँतले बियर वा पेय पदार्थको बिर्को खोल्ने हो । यो व्यवहारमा सुधार गर्न जरुरीछ ।
मुख र दाँतमा टाँस्सिने चक्लेट जस्ता वस्तुहरु यथासम्भव खानु हुँदैन ।
नियमित दन्त चिकित्सकसग परामर्श लिएर दाँत तथा मुख स्वास्थको सरक्षण गर्दै समग्र स्वास्थको सुरक्षा गर्न सकिन्छ।
डा․ प्रतिक्षा घिमिरे‚ डा․ नारायणप्रसाद घिमिरे, डा․ आदर्श खनाल र डा․ सिमा घिमिरे
सुमेन डेण्टल होम‚ बसुन्धरा‚ माहाराजगञ्ज‚ काठमाण्डाैं
Liked by: