कतिपय मानिसको सास ज्यादै दूर्गन्धित हुन्छ । अझ सार्वजनिक बस, भिडभाड वा बैठकमा आम्नेसाम्ने भइयो भने त दूर्गन्धित सासले गर्दा निसास्सिने, टाउको दुख्ने, वाकवाकी लाग्ने र मुर्छा नै परिएला जस्तो हुन्छ । सास गनाउने मानिसलाई न केही भन्न नै सकिन्छ नत दूर्गन्ध खप्न नै । सास गनाएकै कारण मानिस मानिसबीचको पारस्परिक सम्बन्ध, माया, सद्भावको सटृा दूर्भावना, घुणा र अपहेलनाको स्थिति मात्र बनिदिन्छ । परिवारमा कसैको सास गनाउने भयो भनेसँगै बस्न कति कठिन हुन्छ । यस लेखमा सास गनाउने कारण, लक्षण र त्यसलाई निको पार्ने उपायहरुको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
सास गनाउने कारणः
मुखको संक्रमण : जिभ्रोको फेंद र घाँटीमा रहने ब्याक्टेरियाले हामीले खाएको प्रोटिन पचाउने शिलशिलामा गन्धक (sulfur) मिश्रित उड्डयनसिल ग्यास उत्पादन गर्नाले सास उत्पादन हुने गर्दछ ।
खानेकुराः लसुन, प्याज, चाउचाउको धुलो, सुप र माछाका परिकार र मूला खाँदा पनि सास गनाउँदछ ।
पानीः मुख सुख्खा भएमा मुखमा र्याल नआउनाले ब्याक्टेरियाको बृद्धि भै मुख र गनाउन थाल्दछ । पर्याप्त पानी पिउनाले मुख सुख्खा हुँदैन ।
किटोनः प्रयाप्त कार्बोहाइड्रेट खानेकुरा नपुग भएमा शरीरले आफ्नो बोसो र मासुलाई शक्ति उत्पादनमा खर्च गर्दा किटोन नामक रसायनहरु उत्पन्न हुन्छन् जसले सास गनाउछ ।
खराब बानीः मादक पदार्थ, मद्यपान, धुम्रपान, सूर्ति तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने लगायतका खराब आनिबानी भएका कतिपय मानिसको सास पनि गनाउँदछ ।
रोगः मुख, गिँजा, दाँत, टन्सिल, पेट, घाँटी, आन्द्रा, फोक्सोको संक्रमण, घाउ, अलसर, क्यान्सर आदि भएमा पनि सास गनाउने हुन्छ ।
अमिल्चुकिः कहिले काहीँ पेट बटारेर वा पेटको समस्या भएको अवस्थामा पेटको अमिलो पानी र आन्द्राबाट पित्त समेत मुखमा आउने (अमिल्चुकी) आउनाले पनि मुख गनाउन सक्दछ ।
पिनासः लामो समयदेखि पिनास भएका मानिसमा निधारको भित्रि भागमा रहेका साइनसहरुमा पिप जम्ने र त्यसबाट मुख वा सास गनाउने हुन सक्दछ ।
जीर्ण रोगः कहिले काहीँ मृगौला बिग्रिने, मधुमेह लगायतका जीर्ण प्रकृतिका आन्तरिक रासायनिक असन्तुलन समेतबाट सिमित मात्रामा सास गनाउने हुन सक्दछ ।
लक्षणः
सास गनाउने मानिसमा निम्नानुसारका लक्षणहरु देखिन सक्दछन् :
- जिब्रोको सतह, दाँत र गिँजा जोडिने भाग ओरिपरि लेउ जम्ने र पछि ढुगा बन्ने,
- र्याल ननिस्कने र मुख सुख्खा हुने, र्याल बाक्लो हुने र घाँटी चिलाइरहने र पटक पटक खोक्ने
- गिँजाबाट रगत वा पिप र नाकबाट पानी वा पिपजस्तो सिंगान बग्ने
- बिहानमा धेरै सास गनाउने र जिभ्रोको फेदमा पोल्ने
- मनिस नजिक जान नचाहने, मुण्टो बटार्ने र रोगीलाई व्यक्तित्वमा असर पर्ने तथा हीनतावोध हुने
सारांशः
सास वा मुख गनाउने समस्या हल गर्न निम्नानुसार गर्न गराउन सिफरिस गरिएको छः
१. विशेषगरी खाना खाइसकेपछि तथा सुत्नु अँघि मुख र दाँतको नियमित सरसफाई गरी ब्याक्टेरियाको बृद्धि हुनमा रोक लगाउने सकेमा सास गनाउने समस्यालाई सदाका लागि निर्मूल गर्न सकिन्छ ।
२. दाँत माझ्दा फ्लोराइडयुक्त मञ्जन प्रयोग गर्नाले सास गनाउने र दाँतमा किरा लाग्ने समस्या समेतबाट निकास पाइन्छ ।
३. मुख सफा गर्ने क्लोरहेक्जिडिन जस्ता औषधिहरुले मुख कुल्ला गर्नाले पनि मुखमा दुर्गन्धित सास उत्पादन गर्ने ब्याक्टेरिया नियन्त्रण गर्न सकिन्छ ।
४. दाँत माझ्दा जिभ्रोको पनि राम्रोसंग सफा गर्नु पर्दछ । जिभ्रोलाई ब्रस लगाएर सफा गर्दा मात्रै पनि झण्डै ७० प्रतिशतसम्म दूर्गन्ध कम हुन्छ ।
५. पर्याप्त पानी पिउने र मुख सुख्खा हुन नदिने ।
६. धेरैजसो दाँत वा गिँजामा संक्रमण भएको कारण सास गनाउने भएकाले ६, ६ महिनामा एक पटक दन्त चिकित्सकलाई जँचाउनु पर्छ । यसो गर्नाले सास गनाउनेका साथै दाँत किराले खाने, गिँजा पाक्ने, दाँत हल्लने, मुखमा क्यान्सर हुने लगायतका गम्भिर समस्याहरुको समय मै पहिचान र पर्याप्त सावधानी अबलम्बन गरी निरोगी जीवन यापन गर्न सकिन्छ ।
- डा.प्रतीक्षा घिमिरे, डा आदर्श खनाल, डा.सिमा घिमिरे
डेण्टल हेल्थ विशेषज्ञ
Liked by: