आजभोलि दिनै पिच्छे किल्निक मा वा व्यक्तिगत रूपमा भेट्ने बिरामी हरू लाई फिजियोथेरापी उपचार को लागि के गर्नुहुन्छ ? भनि सोध्दा सुन्ने गरेको छु," मेरो छोरा ले अमेरिका बाट पठाईदिएको कम्मरको बेल्ट, छोरी ले आष्टे्लिया वाट ल्याइदिएको घुँडाको पट्टी, , मालिस गर्ने तेल, सेक्ने ब्याग, मालिस गर्ने भाइब्रेटर" आदि प्रयोग गर्दछु। यति महँगो/विदेशी समान प्रयोग गरे पछि त पक्कै ठिक हुन्छ। यदा कदा सुन्न पनि पाइन्छ "यहाँ जापानी/जर्मनी/अतिआधुनिक प्रविधिको मेसिन बाट थेरापी गरिन्छ" । "नेपाल मै पहिलो पटक इ-सपिङ्ग ले ल्याएको छ म्याग्नेटिक नि वारमिङ्ग प्याड्।" यि बाहेक कुनै कम्पनिको प्रतिनिधि वा पेशाकर्मीले आफ्नो सामान/ पद्धतिको व्याख्यामा त्यसको प्रभावकारीता को बारेमा धेरै आधारहिन र अप्रमाणित तथ्य प्रस्तुत गरेर उपभोक्ता सम्म प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका हुन्छन्। कुनै किल्निक वा हस्पिटल को बिज्ञापनमा टेलिभिजन वा रेडियो मा २-४ जाना बिरामी हरू को अनुभव समेटेर अन्तर्वार्ता नै प्रस्तुत गरिएको पाइन्छ। त्यसमध्ये कति सत्य होलान् भनेर ठोकुवा गर्न सकिदैन। अधुनिक उपचारको नाममा गरिने यस्ता कामहरु ले उपभोक्ताको आर्थिक नास स्वास्थ्य को हानि साथै पेशाकर्मिमा पेशा प्रति को नैतिकता र इमान्दारिता मा आँच पुर्याउछ।यि समस्याहरु हल गर्न फिजियोथेरापिष्ट स्वंय ले र केही हदसम्म बिरामी हरूले पनि प्रमाण आधारित फिजियोथेरापी अभ्यास बुझ्न जरुरी छ।
प्रमाणमा आधारित अभ्यास अथवा इभिडेन्स बेस्ड प्रयाक्टिश चिकित्सा सेवा प्रवाह गर्ने आधुनिक र अपरिहार्य बिधि हो। समयानुकूल नयाँ प्रबिधीको प्रयोग, शोध पत्रमा आधारित तथ्यहरु तथा उपभोक्ताको अपेक्षा र धारणामा आधारित भई उपचारको पद्धति अपनाउनुलाई प्रमाणमा आधारित अभ्यास भनिन्छ।यसमा उत्कृष्ट रिसर्चले स्थापना गरेको तथ्य, चिकित्सक को बिशेषज्ञता र बिरामी को मुल्य मान्यता को आधारमा आवश्यक चिकित्सा प्रणाली अपनाइएको हुन्छ। यसको उपयोग गर्न चिकित्सक हरुमाझ निकै चुनौतिपूर्ण रहेको पाइन्छ। नेपाली फिजिथेरसपिष्टहरू मध्ये गरिएको एक अध्ययनले आवश्यक अभिमुखीकरण कार्यक्रम को कमी, फिजियोथेरापी सेसन को सिमित समय र आवश्यक पुर्वाधार को कमी ले इभिडेन्स बेस्ड प्रयाक्टिश वा प्रमाण मा आधारित फिजियोथेरापी अभ्यास सहजै प्रयोग गर्न नसकिएको जनाएको छ।
इभिडेन्स बेस्ड प्रयाक्टिश को मुख्य तिन खम्बाहरू:
१. उत्कृष्ट रिसर्च मा आधारित तथ्यहरु
२. चिकित्सक को अनुभव/बिशेषज्ञता
३. सेवागार्हिको अपेक्षा मुल्य मान्यता
१. उत्कृष्ट रिसर्च मा आधारित तथ्यहरु भन्नाले वैज्ञानिक शोधकार्य वा रिसर्च ले तयार भएको नतिजा र यसको सारांशलाई जनाएको हो। शोधकार्य विभिन्न किसिमका हुन्छन्। शोधकार्य को किसिम यसको प्रश्नले निर्धारण गर्दछ।कुनै रोग सम्बन्धि व्याख्यात्मक प्रश्न जस्तै "कम्मरको दुखाई जनसङ्ख्या को कति प्रतिशत मा व्याप्त छ?" ले व्याख्यात्मक शोध पत्र तयार हुन्छ। कुनै उपचार पद्धति को प्रभावकारीतामा को जाँच गर्ने लाई इन्टरभेनशनल वा सामान्य रूपमा किल्निकल ट्रायल भनिन्छ। जस्तै कम्मरको दुखाई हुँदा लम्बार ट्राक्शन (कम्मर तान्ने फिजियोथेरापी बिधि) गर्दा दुखाईको मापनमा कति कमि आउँछ वा कार्य क्षमता कति प्रतिशत (वा अङ्क) ले वढ्छ भन्ने शोध प्रश्न रहेको इन्टरभेनशनल रिसर्च हुन्छ। यस बाहेक माथि उल्लेखित रिसर्च हरु मध्ये एकै किसिमको रिसर्च हरुलाई व्यवस्थित रूपमा विभिन्न किसिमका एकिकृत निष्कर्ष निकाल्ने रिभियु शोधकार्य हुन्छ। यसरी रिभियु गरिएको, सम्भव भएसम्म सङ्ख्यात्मक बिश्लेषण गरिएको रिसर्चलाई उत्कृष्ट मानिन्छ। विभिन्न उत्कृष्ट रिसर्च हरुलाई आधार मानेर किल्निकल प्राक्टिस गाइडलाइन वा अभ्यास निर्देशन लाई चिकित्सा साहित्य मध्ये सर्वोत्कृष्ट मानिन्छ।
२.चिकित्सक को अनुभव/बिशेषज्ञता पनि प्रमाण आधारित अभ्यासको महत्वपूर्ण स्तम्भ हो।सबै प्रश्नको उत्तर रिसर्चले पुष्टि गरेको हुदैन वा पुष्टि गर्न पर्याप्त मात्रामा रिसर्च भएको हुदैन। रिसर्च भएको मध्ये पनि सबै ले अलग अलग परिणाम दिएको पाइन्छ। कतिपय अवस्थामा रिसर्चहरु आवश्यक विधि पुर्ण रुपमा नअपनाउने वा कुनै परिणाम पुष्टि गर्ने किसिमले तयार भएको हुन्छ। नयाँ र आधुनिक उपचार प्रणालीको पर्याप्त रिसर्च भइसकेको हुदैन। कुनैएक समुदाय वा भौगोलिक क्षेत्र मा गरिएको रिसर्चलाई दरूश्त अर्को समुदाय वा क्षेत्रमा अभ्यास गर्नु अगाडि त्यहाँको सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष अनुकूल परिमार्जन गर्न अत्यावश्यक हुन्छ
३. सेवागार्हिको अपेक्षा मुल्य मान्यता अन्तर्गत विभिन्न पक्षलाई मध्यनजर गर्दै अभ्यास निर्धारण गर्नुपर्छ। मानौं कुनै फिजियोथेरापी उपचारात्मक पद्धति को प्रभावकारीता हरेक दिन फलोअप गर्दा हुन्छ भनेर पुष्टि गरे पनि भौगोलिक अवस्था को कारण हाम्रो जस्तो देशमा हरेक दिन फिजियोथेरापी सेवा लिन असमर्थ हुने हुनाले घरमा गर्न सकिने उपचार जस्तै कसरत, तातो/चिसोले सेक्ने आदि पनि इभिडेन्स बेस्ड प्रयाक्टिश हो। काठमाडौं उपत्यका को निमित्त प्रभावकारी रहेको कतिपयअभ्यास ताप्लेजुङमा प्रयोग गर्न विभिन्न पक्षलाई निर्क्यौल गर्नुपर्छ। यसमा बिरामी हरू मुल्य मान्यता पनि उत्तिकै महत्वपूर्ण छ। जस्तै कम्मरको दुखाई कम गर्न फिजियोथेरापीको मेसिन बाट हुने फाइदाहरु रिसर्च ले यथेष्ट मात्रामा पुष्टि नगरेको भए पनि बिरामी हरूको अनुभवलाई सम्मान गर्दै यसको प्रयोगमा निरन्तरता दिनु पनि इभिडेन्स बेस्ड प्रयाक्टिश हो।
फिजियोथेरापिष्टले कसरी अभ्यास गर्ने?
कुनै पनि किल्निकल प्रश्न आउने बित्तिकै यस सँग सम्बन्धित रिसर्च साहित्य लाई नजिक बाट अध्ययन गर्ने बानी बसाल्नु पर्दछ। अध्ययन गरिएको रिसर्च मध्ये उत्कृष्ट रिसर्चले स्थापना गरेको तथ्य पत्ता लगाई यसको सारांशलाई अभ्यासमा जोड्दै जानुपर्छ। यसो गर्न सिमित समय हुने हुनाले समयको व्यवस्था गर्न निकै कठीन हुन्छ। यस अवस्थामा प्राक्टिस गाइडलाइन वा अभ्यास निर्देशन ले दिएको परिणाम लाई आधार मानेर किल्निकल प्राक्टिस गर्दा समयको बचत हुन्छ। किल्निकल प्राक्टिस निर्देशन ले निर्देश गरेको अभ्यास लाई हु-बहु प्रयोग गर्नु भन्दा पनि अफ्नो बिरामी को मुल्य मान्यता, आफ्नो अनुभव र अन्य आधारहरू लाई पनि उत्तिकै ध्यान दिएर अभ्यास निर्धारण गर्नुपर्छ। यसलाई किल्निकल डिसिजन मेकिङ्ग पनि भनिन्छ। आफुले अपनाएको पद्धति को प्रभावकारीता को मापन गर्न विभिन्न मापन यन्त्र वा आउटकम मेजर को प्रयोग गर्नु पर्छ। यसको उदाहरण दुखाई को मात्रा मापन गर्न नेपाली न्युमेरिकल पेन रेटिङ स्केल हो। यस्ता मापन यन्त्र वा सुचक नेपालमा प्रयोग गर्न सम्भव भएसम्म नेपाली भाषामा अनुवाद गरि सामाजिक, आर्थिक र सँस्कृतिकरूपमा सुहाउँदो हुनु पर्छ। हालसम्म नेपाली भाषामा एक दर्जन भन्दा बढी आउटकम मेजर अनुवाद गरि प्रयोग गर्न योग्य पुष्टि भइसकेको छ। यो अभ्यास लाई सार्थक तुल्याउन समय समयमा व्यवसायिक विकास तालीम, गोष्ठी र अन्तरक्रिया कार्यक्रममा भाग लिने पनि एक उत्तम उपाय हो।
सेवा ग्राही ले के जान्ने?
फिजियोथेरापी अभ्यास को लागि प्रयोग गरिने बिधि वा पद्धतिको मुल्य, ब्राण्ड र बिज्ञापन भन्दा पनि यसको प्रभावकारिता को पुष्टि भएको रिसर्च को आधारमा यसलाई उपभोग गर्ने। कुनै पनि फिजियोथेरापी उपचार गराउदा मुख्य दुई सुचक दुखाई को मात्रा र दैनिक कृयाकलाप गर्न सक्ने क्षमता को मापन यन्त्र प्रयोग गरेको छ वा छैन विचार गर्ने।आफ्नो चिकित्सकले सिप र दक्षता निखार्न समय समयमा निरन्तर व्यवसायी तालिम लिएको छ/छैन हेक्का राख्ने। यसको कार्यान्वयन पक्ष नियमन निकाय जस्तै फिजियोथेरापीको निमित्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गर्न जरुरी छ।
विनय कडेल
उप प्रमुख फिजियोथेरापिष्ट(नवौं)
नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
हाल: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
वीर अस्पताल
प्रमुख, फिजियोथेरापी युनिट
Liked by: