दाँतको परीक्षण तथा उपचार गर्ने शिलशिलामा अनायास उत्पन्न हुने तनावलाई दन्त उपचारको भय र त्राश (Dental Fear and Anxiety) भनिन्छ । कतिपय अवस्थामा के कारणले यस्तो त्राश हुन्छ भन्नेसम्म पनि थाहा हुँदैन तर दन्त उपचार गराउनु अगावै अब केही नराम्रो भैहाल्छ कि भन्ने मनोवैज्ञानिक डर देखा परिसक्छ । यस्तो अनायास डराउने अवस्थाले कुनै पनि जाँच, ठोस निर्णय लिने समय, कार्य कक्ष वा यस्तै धेरै अवस्थामा ठूलो क्षति पुर्याउन सक्छ । दन्त चिकित्सक र दन्त उपचारको मनगढन्ते डरले आफ्नो मुखको हेरचाह र उपचार गराउने कार्यमा गम्भीर असर पुर्याउन सक्छ ।
दन्त चिकित्सा प्रतिको मनोवैज्ञानिक त्राश अकार्थमा मनमा उब्जिएको त्यस्तो त्राशदिपूर्ण प्रतिकृया हो जुन दाँतको संरचनामा असर पार्ने जुनसुकै चिकित्सकीय कृयाकलाप प्रति परिलक्षित हुँदै विशेषगरी दन्त चिकित्सा र अन्ततः सम्पूर्ण चिकित्सा प्रकृयामा अवरोध खडा गरेर अभिव्यक्त गरिने एउटा अत्यन्तै गम्भिर र निरन्तर प्रतिकृया हो ।
मुखको स्वास्थ्य वा दन्त चिकित्सा भन्ने बित्तिकै आत्तिने वा डराउने मानिसले दन्त चिकित्सककहाँ गयो भने वा दाँतको उपचार गरायो भने कुनै अप्रत्याशित ठुलै दूर्घटना भैहाल्छ कि भन्ने मनगढन्ते अनुमान गरेर चिकित्सक समक्ष जानै मान्दैनन् । यसो गर्दैजाँदा सास गनाउने,दाँत झर्ने, दाँत खिइने, दाँतमा किरा लाग्ने, गीँजा पाक्ने हर्षा पर्ने लगायतका समस्याहरू बल्झिँदै गएर आखिरमा समग्र मुखको स्वास्थ्य बिग्रिँदै गएर जटिल अवस्था सिर्जना हुन सक्छ । यस्तो गम्भिर अवस्थाले उनीहरूलाई थप त्रसित र आतङ्कित पार्दै भविष्यमा कहिल्लै पनि दन्त चिकित्सककहाँ नजाने मनोविज्ञानको विकास गराउँदछ। यस्ता मानिसहरूले इमर्जेन्सी परेपछि मात्र दन्त चिकित्सककहाँ जान वाद्य हुन्छन् जतिवेला सानो समस्या पनि बल्झिएर जटिल दुसाद्य बन्न पुग्दछ । यस्ता बिमारीलाई सम्झाई बुझाई सावधानीपूर्वक उपचार गर्न पर्दछ । अन्यथा उनीहरू भड्किएर मुखको हेरचाह नै नगर्ने, दन्त चिकित्सा त्राशको दूस्चक्रमा फँस्ने, कहिलेकाँही त उपचार नै गर्न नसकिने क्यान्सर हुने र अल्पायु मै मृत्यु समेत हुन सक्छ ।
दन्त त्राश (Dental Anxiety) को कारणः
पहिले पहिले वा बाल्यकालमा मुखमा लागेको चोटपटक र त्यसको पिडा सम्झेर झस्कने,
परिवारका सदस्य वा अग्रज वा साथीहरूबाट मुखको स्वास्थ्य सम्बन्धी डरलाग्दा घटनाको बारेमा जाने सुनेका,
कुनै पनिकुराको शंका या हानिको स्थितिबारे सोच राख्ने(neurotism and self-consciousness) प्रवृत्ति,
मुखको स्वास्थ्य सम्बन्धी सामान्य जानकारीको कमी,
दन्त चिकित्सकले सञ्चार माद्यममा व्यक्त गरेका अतिगम्भिर अवस्थाबाट त्रशित,
अस्वस्थकर अवस्थाको व्यवस्थापन गर्ने व्यक्तिगत क्षमता,
कुनै समस्याप्रति आफ्नै शरीरको प्रतिकृया र उपचारको लागि दन्तकुर्सीमा पल्टिँदा असहाय भएजस्तो महसुस गर्ने लगायतका व्यक्तिका आफ्नै जटिलताहरूले दन्त त्राशको अवस्था सिर्जना हुन सक्छ।
दन्त चिकित्सा कक्षको उज्यालो, स्केलिङ्ग, ड्रिलिङ्ग, डेन्टाइन चिर्ने वा अन्य चिकित्सा अभ्यास गर्दाका विभिन्न प्रकारका आवाज, इयूजिनोल, फिनेल, स्प्रिट लगायतका रसायनहरूको गन्ध समेतका त्यसैपनि डरलाग्ने वातावरण सिर्जना गर्ने कुनै एक वा एकाधिक कारणले पनि कतिपय मानिसमा चिन्ता, टाउकाको दुखाइ र दन्त त्राश उत्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
दन्त त्राश (Dental Anxiety) को व्यवस्थापनः
दन्त त्राश उत्पन्न गराउने एउटै मात्र नभएर अनेक कारणहरू हुने भएकाले यसको व्यवस्थापनको लागि पनि बहूआयामिक उपायहरू अवलम्बन गर्नु पर्ने हुन्छ । डेन्टल क्लिनिकको वातावरणले पनि बिमारीको मनोविज्ञानमा असर पारेर दन्त उपचार भय वा तनाव सिर्जना गर्नमा ज्यादै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । डेन्टल क्लिनिक वा अस्पतालमा उपयुक्त वातावरण श्रृजना गर्नको लागि रिसेप्सनिष्ट, डेन्टल हाइजेनिष्ट र नर्सको महत्त्वपूर्ण भूमिका रहन्छ । बिमारीलाई खुसी र तनावमुक्त राख्नको लागि यी कर्मचारीहरूले हँसिलो र मिजासिलो स्वभावमा सकारात्मक सोँच, मुस्कानसहितको बोलिचाली, हाउभाउ, जिम्मेवारीपूर्ण हेरविचार गर्न र धैर्यतापूर्वक बिमारीको विवरण लिन सक्नु पर्दछ । प्रतिक्षालयमा आकर्षक पोष्टर वा तस्बिरहरू लगाउने र प्रशस्त पत्रपत्रिका, पुस्तक तथा जर्नलहरू उपलब्ध गराएर पनि चिन्तामुक्त गर्न सकिन्छ । उपचार कक्षमा औजार र उपकरण प्रयोग गर्दा कमभन्दा कम आवाज निस्कने व्यवस्था गर्ने र निस्किएका आवाजहरू ढोका लगाएर वा अन्य उपयुक्त व्यवस्था गरेर पनि कम गर्न सकिन्छ । क्लिनिक वा अस्पतालमा आएका मध्ये चिकित्सा प्रकृयादेखि डराउने बिमारीलाई उच्च प्राथमिकता दिएर छिटो छिटो उपचार गरी पठाउनु उपयुक्त हुन्छ। यसोगर्दा बिमारीले उपचार शिलशिलामा हुने उसलाई डर लाग्ने कृयाकलापहरूसंग कमभन्दा कम समय सम्मुख हुने र भयरहित हुन सक्छन्।
सारांशः
दन्त चिकित्सा प्रतिको भय र त्राशले मानिसको जीवनमा नकारात्मक असर पार्ने भएकाले व्यक्तिको मुखको स्वास्थ्यको सुधार र समग्र जीवननै सुन्दर बनाउन वाधकको रूपमा रहेका यस्ता प्रमुख अवरोधहरूको पहिचान गरी समयमै निराकरण गर्न सक्नु पर्दछ । दन्त चिकित्सासँग भयभित र त्रशित बिमारीलाई विशिष्टिकृत उत्कृष्ट चिकित्सा सेवा र परामर्श उपलब्ध गराएर त्राश न्यूनीकरण गर्दै मुखको स्वास्थ्य र समग्र जीवन नै सुखदायी बनाउनमा दन्त चिकित्सकको अहम् भूमिका रहन्छ। समाजमा दन्त चिकित्सासँग डराउने मानिसको सङ्ख्या धेरैनै हुने भएकाले यस्ता मानिसहरूलाई उपयुक्त परामर्श दिनुकासाथै उचित व्यवहार दर्शाएर तनावमुक्त गर्दै उचित व्यवस्थापन गर्नु दन्त चिकित्सकको महत्त्वपूर्ण पेशागत अभ्यास बन्न गएको छ । बिमारीले प्रदर्शन गरेका त्राशदिपूर्ण व्यवहारको आधारमा उनीहरूलाई त्राशको सामान्य, मध्यम वा चरम अवस्थामा वर्गीकरण गरी त्यसअनुरूप व्यक्ति अनुसार फरक फरक उपचार विधि अबलम्बन गर्नु पर्ने पनि हुन सक्छ। सामान्य वा अलिअलि डराउने बिमारीलाई मनोवैज्ञानिक उपचार विधि प्रयोग गरेर फाइदा पुर्याउन सकिन्छ भने ज्यादै भयभित बिमारीलाई तनाव कम गर्ने वा लठ्ठाउने खालका मनोद्दिपी औषधि र परामर्श वा दुवै विधि र प्रविधिको प्रयोग गर्नु पर्ने पनि हुनसक्छ ।
जस्तोसुकै उपचार पनि सफल बन्नका लागि रोगी र चिकित्सककोबीचमा अति सौहार्दपूर्ण सम्बन्ध विश्वास र सहयोगको वातावरण तयार गर्नु पर्छ । एउटा तनावमुक्त शान्त र सहयोगी बिमारीको उपयुक्त वातावरणमा गरिएको उपचार निश्चय पनि तुलनात्मक रूपमा बढि प्रभावकारी हुने कुरामा दुईमत नहोला ।
Liked by: