विश्व क्षय रोग दिवसः
विश्व स्वास्थ्य संघको आव्हानमा नेपाल लगायत विश्वभर मार्च २४ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम र नाराहरू सहित बर्षेनी विश्व क्षय रोग दिवस मनाइन्छ । विश्व स्वास्थ्य संघले यस वर्षको लागि हो, कामी क्षय रोग निर्मूल गर्न सक्छों भन्ने नारा तय गरेको छ । समुदायमा क्षय रोग सम्बन्धी जनचेतना जागृत गराई यसको नियन्त्रण अभियानमा सबैको सहभागीता सुनिश्चित गराउने अभिप्रायले आयोजना गरिने विश्व क्षय रोग दिवसबाट आम जनसमुदायमा क्षय रोगको जानकारी र सावधानीका उपायहरूबारे जानकारी प्राप्त गरि लाभान्वित हुने अपेक्षा गरिएको छ ।
क्षय रोगको बढ्दो प्रकोपः
क्षय रोग लाखौं बर्षदेखि मानिसमा सर्वाधिक मृत्यु गराउने प्रमुख संक्रामक रोगहरुमध्ये एक हो । यो रोग औषधि गरेर निको पार्न सकिने भएपनि आज विश्वमा एण्टिमाइक्रोवियल औषधिलाई निस्प्रभावी बनाएर मानिसको मृत्यु गराउने मानव सभ्यताकै लागि एक महत्वूर्ण चुनौतकिो रुपमा देखा परेको छ । क्षय रोग विश्वको करिब एक चौथाइ जनसंख्यामा लक्षण नदेखिने, शरीरमा भएका क्षय रोगका जीवाणु निस्कृय रहने, अरूलाई रोग नसार्ने सुसुप्त अवस्थामा रहेको अनुमान गरिएको छ । तर यस्तो सुसुप्त अवस्थाको क्षय रोग भएका करिब १० प्रतिशत मानिसमा जुनसुकै समयमा रोगले क्लिनिकल स्वरूप देखाउन सक्ने जोखिम रहन्छ ।
विश्व स्वास्थ्य संघले विश्वबाटै अन्त्य गर्ने शिलशिलामा विगत २३ बर्षमा क्षय रोगको निदान र उपचार गरेर ७ करोड ४० लाख मानिसको ज्यान बचाएको दावी गरेको छ । सन् २०२१ मा विश्वमा १ करोड ६ लाख मानिस क्षय रोगबाट संक्रमित भएकोमा र १६ लाख मानिसको क्षय रोगबाट मृत्यु भएको थियो । बर्षेनी लाखौं मानिसको मृत्यु गराउने क्षय रोगका जिवाणुले सबै औषधिलाई निस्प्रभावी बनाएर बहू औषधि प्रतिरोधी स्वरूपमा मानिसमा तिब्र रुपमा संक्रमण गरिरहेको छ । कोभिडको विश्वव्यापी माहामारीको अवसरमा क्षय रोगको निदान र उपचार प्रकृयामा व्यवधान भएकाले हाल क्षय रोगको प्रकोप पुनः विगत दुई, तीन शताब्दिमा जस्तै मानव सभ्यताकै लागि बढ्दो चुनौतीको रुपमा देखा परेको छ ।
नेपालमा क्षय रोगः
नेपाल सरकारले सन् २०३० सम्ममा क्षय रोगलाई विश्वबाट निवारण गर्ने विश्व अभियानमा लिखित प्रतिबध्दता जनाएर योजनाबध्द रूपमा कार्क्रमहरू गर्दै अइरहेको छ । यो प्रतिबध्दता कार्यान्वयन गर्न जारीगरिएको रणनीतिले भने सन् २०९१।९२ सम्ममा क्षय रोगको अन्त्य र सन् २१०६।०७ सम्ममा क्षय रोग निवारण गर्ने र क्षय रोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार शून्यमा झार्ने लक्ष लिएको छ । नेपालमा सन् २०१८।१९ को क्षय रोग सर्भेक्षणको नतिजा अनुसार अनुमानित ६८००० जना नयाँ क्षय रोगीहरू रहेका र बार्षिक २७२३२ जना बिमारीले उपचार गराइरहेकोमा रोग पत्ता लागेर पनि उपचारमा ल्याउन नसकिएका करिब ६० प्रतिशत बिमारीहरू राज्यको सामु चुनौती बनेका छन् । यसैमाथि कोभिड माहामारीको प्रकोपको कारण क्षय रोगका बिमारी खोज्ने र उपचार गराउने कार्यमा वाधा परेकोले पाण्डेमिक अवधिमा क्षय रोगको प्रकोप व्यापक रूपमा बढेको पाइएको छ । क्षय रोग पशुपन्छी र मानिसबीच सर्ने जुनोटिक प्रकृतिको भएरपनि जनस्वास्थ्यको प्राथमिकतामा नपरेकाले क्षय रोग नियन्त्रण तथा उन्मूलन गर्नमा उपेक्षित पशुपन्छी सम्बध्द जुनोटिक क्षय रोगको पक्ष थप जटिल बनेको छ ।
जोखिमपूर्ण दन्त चिकित्साः
क्षय रोगका जीवाणुले फोक्सोमा संक्रमण गर्नुका साथै मुखमा पनि घाउ गराउंदछ । मुख स्वास्थ्य वा मुख चिकित्सामा संलग्न चिकित्सकले होसियारी पूवर्क निर्धारित प्रोटोकल अनुसरण गरी बिमारी जाँच गर्नु पर्दछ अन्यथा स्वयम् संक्रमण भइने जेखिम रहन्छ ।
मुखमा क्षय रोगका घाउहरूः
क्षय रोग सामान्यतया फोक्सोमा लाग्ने र स्वास प्रस्वासको माध्यमबाट सर्दछ । कतिपय फोक्सोका क्षय रोगीहरूको मुखमा पनि घाउहरू देखिन्छन्र । मुखमा देखा पर्ने क्षय रोग सम्पूर्ण क्षय रोगको करिब ०.१ देखि ५.० प्रतिशतसम्म हुने गरेको पाइएको छ । मुखको क्षय रोग मुखको बाहीरी इपिथेयलियल अबरण तन्तु, मासु वा हड्डी लगायत जुनसुकै स्थानमा देखा पर्न सक्दछ । तथापि, अधिकांश अवस्थामा जिभ्रोको बिशेषगरी दायाँ बायाँ किनारमा निको नहुने किसिमका घाउ (अल्सर), चिरा पर्ने, फुट्ने, गाँठा पर्ने जस्ता लक्षण देखा पर्दछ । मुखको क्षय रोग बिशेषगरी जिभ्रो, गिँजा, ओँठ, तालु र हाडमा समेत निको नहुने तर नदुख्ने चर्किएका घाउको रुपमा देखा पर्दछ । पान, सुपारी, खैनी, गुट्खा लगायतका सूर्र्ती तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने, मुखको सरसफाइ नगर्ने, गिँजा सुन्निने, पाक्ने, हर्षा पर्ने वा मुखमा अन्य रोग हुने मानिसमा क्षय रोगको संक्रमण बढि हुने गर्दछ । मुखमा देखिने क्षय रोगका घाउहरू मध्ये ३ प्रतिशतमा क्यान्सर समेत संलग्न हुने, कतिपयमा ढुसीबाट संक्रमण हुने लगायतका जटिलता हुने हुनाले मुखका दागहरूको गम्भिर रूपमा अन्वेषण हुन जरूरी पर्छ । यिनै घाउको आधारमा क्षय रोगको समय मै निदान, उपचार तथा नियन्त्रण गर्नंमा दन्त चिकित्सकले जोखिमपूर्ण र अग्रणी भूमिका निर्वाह गर्दछन् ।
क्षय रोगका लक्षणः
क्षय रोगबाट फोक्सोमा संक्रमण भएपछि लक्षण देखाउनै पर्छ भन्ने छैन । यो रोगका जीवाणु सुसुप्त अवस्थामा लामो समयसम्म तन्तुमा रहने र उपयुक्त समयमा क्लिनिकल अवस्थामा विकास भएपछि मात्र लक्षण देखाउन पनि सक्दछन् । फोक्सोमा क्षय रोग लागेका अधिकांश रोगीमा निम्नानुसारका प्रमुख लक्षणहरू देखा पर्ने गर्दछन्
तीन चार हप्ताभन्दा लामो समयसम्म खोकी लाग्ने
कफमा म्यूकस र रगत मिसिएको हुन सक्ने
खोक्दा वा सास फेर्दा छाति दुख्ने
बिनाकारण शरीरको वजन घट्ने, थकाइ लाग्ने र ज्वरो आउने
रातीमा पसिना आउने र जाडो लागेर जीउ काम्ने
मुख भित्र देखिने क्षय रोगका दागहरूमा धेरैजसो क्यान्डिडा जातको ढुसीबाट पनि संक्रमण हुने ।
क्षय रोगको निदानमा दन्त चिकित्साः
दन्त चिकित्साको शिलशिलामा मुखको जाँच गर्दा क्षय रोगको शंका लागेका बिमारीलाई नजिकको क्षय रोग निदान सेवा सुविधा भएको अस्पतालमा सम्पर्क गर्न पठाउनु उपयुक्त हुन्छ । क्षय रोगको निदानका अधारहरू निम्नानुसार छन्
१. बिमारीको इतिहास, लक्षण, क्लिनिकल जाँच र मुखमा देखिएका तत्नु परिवर्तनहरू
२. छातीको एक्स रेः फोक्सोमा क्षय रोगले गरेका परिवर्तनका दागहरू
३. ट्युबरकुलिन टेस्टः छालामा ट्युबरकुलिन सुइ दिएर ७२ धण्टासम्म एलर्जि प्रतिकृयाले सुन्निएको सुइ दिएको छालाको भागलाई भर्नियर क्यालिपरले नापेर रोगको अनुमान गर्ने ।
४. खकारको नमूनाबाट प्रयोगशालामा माइकोब्याक्टेरियम जीवाणु बृध्दि गरी पहिचान गर्ने ।
क्षय रोगको उपचारः
क्षय रोगका एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्वारा तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नु पर्दछ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो ।
क्षय रोग निको हुन पर्याप्त पोषण पुग्नु पर्दछ । उपचारको क्रममा रोगीले आराम गर्ने, पोषणयुक्त भोजन गर्ने, मद्यपान र धूमपान गर्नु हुँदैन । तर प्रशस्त हरियो सागपात, फलफूल, अण्डा, माछा–मासु खानु पर्छ ।
बिशेषगरी बालबालिका, वृध्दबृध्दा, दीर्घ रोगी, एचआइभी एड्स संक्रमित, मधुमेह र प्रतिरक्षा शक्ति कमजोर भएका जोखिम समूहमा क्षय रोगको अधिक प्रकोप रहन्छ । क्षय रोगको पहिचान भएर नियमित औषधि सेवन गर्नेहरूमध्ये पनि ९१ प्रतिशत रोगीहरू उपचार पछि निको हुन्छन् । तर उपचारको क्रममा बीचैमा औषधि छुटाउनेहरू, नियमित चिकित्सकको सम्पर्कमा नआउने र औषधिको मात्रा नमिलेकाहरूको भने उपचार सफल नहुन सक्छ । औषधि प्रतिरोधि क्षय रोगीहरूमा रोगमुक्त हुने दर ७३ प्रतिशत रहेको छ।
क्षय रोग रोकथामका उपायहरूः
१. क्षय रोग लागेर उपचार गर्नु भन्दा क्षय रोगको बारेमा राम्रो जानकारी हासिल गरी रोग लाग्नबाट आवश्यक सुरक्षा गर्नु उपयुक्त हुन्छ । हाम्रो जस्तो क्षय रोगको अधिक जोखिम भएको मुलुकमा जुनसुकै समयमा क्षय रोग लाग्ने, लागेर पनि सुसुप्त अवस्थामा रहने र शरीरको प्रतिरक्षा शक्ति कमजोर भएको जुनसुकै अवस्थामा पनि रोग देखिने जोखिम रहन्छ । रोग लागिहाल्यो भने पनि सुरू मै रोगको पहिचान, निदान र उपचार गर्ने बारे सचेत बन्न जरूरी छ ।
२. बचावटका सावधानीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्षय रोग दिवसको अवसरमा क्षय रोग रोकथामका लागि निम्नानुसारका उपायहरू सुझाएको छः
सुर्तीजन्य पदार्थ, मदिरा वा लागु पदार्थ सेवन नगर्ने
मानसिक तनाव कम गर्ने
सन्तुलित आहारको प्रयोग गर्ने
उचित मात्रामा व्यायाम गर्ने
बेला बेला छातिको एक्स रे गराउने र मुखमा देखिने क्षय रोगको लागि दन्तचिकित्सकलाई जँचाउने ।
२ हप्ताभन्दा बढी खोकी र ज्वरो आए वा अन्य लक्षण देखिए परीक्षण गराउने
शिशु जन्मेको ३० दिन भित्रमा वी.सी.जी. खोप लगाउने
३. दन्त चिकित्सामा सावधानीः
दन्त चिकित्सकले निम्नानुसार गरी गराई क्षय रोगको निदान र नियन्त्रणमा योगदान गर्न सक्दछन्
मुख स्वास्थ्यको जाँच तथा उपचार गर्ने क्रममा बिमारीसंग मुखामुख हुने र सास तथा मुखबाट निस्कने बाफ (एरोसोल) का बाछिटासंग सोझै सम्पर्क भै रोग सर्ने प्रबल सम्भावना हुने भएकाले मास्क, फेसशिल्ड, ग्लोब्स, चस्मा, लगायतका सुरक्षा पोशाक प्रयोग गरी बिमारी, आफु र स्वास्थ्यकर्मीहरूमा रोग फैलिनमा रोक लगाउने ।
क्षय रोगको शंका लागेमा बिमारीलाई क्षय रोगको निदान र उपचार गर्न सुविधा प्राप्त अस्पतालमा रेफर गर्ने ।
बिमारी र बिमारीका हेरालुलाई क्षय रोगको बारेमा प्रशिक्षित गरी रोगको शिघ्र निदान, उपचार तथा रोकथाममा योगदान गर्न सकिन्छ ।
सारांशः
हाल विश्वमा भैरहेको क्षय रोगको बढ्दो प्रकोप, उच्च मृत्यु दर र धेरै वा सबै औषधिले काम नगर्ने खालका बहु औषधि प्रतिरोधी (ड्रग रेसिस्टेण्ट) जीवाणुको तिब्र प्रसार र एड्स संक्रमितहरूमा हुने गरेको उच्च मृत्यु दर समेतका कारण क्षय रोगको बारेमा सबैले जानकारी लिन आवश्यक देखिएको छ । समय मै निदान र उपचार गरेमा निको हुने क्षय रोग मानिसको लापर्वाहीको कारण नेपाल लगायत विश्व मै मानिस तथा पशु पन्छीको गम्भिर स्वास्थ्य चुनौती बनेको छ । यस नरसंहारकारी विभिषिकाको समय मै निदान तथा रोकथाम गर्नमा दन्त चिकित्सकको अग्रणी भूमिका रहेको छ । क्षय रोगको नियन्त्रण तथा उन्भूलन गर्ने अभियानमा जनस्वास्थ्यको मात्र एकल प्रयासले नहुने भएकाले दन्त चिकित्सा, पशु चिकित्सा समेतका सरोकारवालाहरूको क्षमता बृध्दि गर्दै समन्वय र सहकार्यमा एक स्वास्थ्यको अवधारणा अनुरूप क्षय रोग उन्मूलन अभियान सञ्चालन गर्न सकेमा विश्व क्षय रोग दिवस मनाएको र हो, हामी क्षय रोग निर्मूल गर्न सक्छों भन्ने नारा सार्थक हुने देखिन्छ ।
डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे, डा. आदर्श खनाल र डा. नारायण घिमिरे
सुमेन डेण्टल होम प्रा.लि, बसुन्धरा, काठमाण्डु
Liked by: