माहामारी नियन्त्रणको पूर्वतयारी दिवस
संयुक्त राष्ट्र संघले सन् २०२० मा डिसेम्बर २७ तारिखलाई अन्तराष्ट्रिय माहामारी नियन्त्रणको पूर्वतयारी दिवसको रुपमा मनाउने निर्णय गरेको हो । माहामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा समन्वय र सहकार्य गर्नको लागि सरोकारवालाको सचेतना अभिबृद्धि गर्ने अभिप्रायबाट यो दिवस विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रमहरु सहित विश्वभर मनाउने गरिन्छ ।
माहामारीको बड्दो जोखिमः
विगत ३, ४ दशकदेखि बर्ड फ्लु, स्वाइन फ्लु, सार्स, डेङ्कु, मर्स, इबोला, औषधिले काम नगर्ने मलेरिया, सबै औषधि पचाएको क्षय रोग र यस्तै अन्य माहामारीहरुको प्रकोप बर्षेनी बढ्दो क्रममा फैलने गरेको छ । अचेल एण्टिवायोटिक औषधिलाई निस्प्रभावी बनाएर सामान्य रोग पनि विकराल स्वरुपमा प्रस्तुत हुने गरेको छ । हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड पाण्डेमिक अन्तिम नभएर यस्ता माहामारी देखा परिरहने जोखिम आंकलन गरिएको छ । मानिसका सम्पूर्ण संक्रामक रोगहरुमध्ये करिब ६० प्रतिशतको उत्पत्तिमा कुनै न कुनै पशुपन्छीको संलग्नता हुने गरेको पाइएको छ । मानव सभ्यताको लागि चुनौतीको रुपमा रहेका सम्भावित माहामारीहरुको जुनसुकै समयमा देखा पर्न सक्ने प्रबल जोखिममा बृद्धि हुंदै गरेको पाइएको छ ।
मुख स्वास्थ्य र माहामारीः
दाँत किराले खाने (Dental caries), गिँजा पाक्ने र सुन्निने (Gingvitis), पेरिओडोन्टाइटिस (Periodontis), फ्यारिन्जाइटिस (Pharyngitis), टन्सीलाइटिस (Tonsilitis), क्यान्सर लगायत मुखका समस्याहरु सूक्ष्मजीवले उत्पन्न गर्दछन् । उदाहरणको लागिः
१. भाइरसः पेपिलोमा भाइरस, एच आइ भि एड्स, हस्पेजभाइरस, इन्फ्लुएन्जा, कोरोनाभाइरस ।
२. ब्याक्टेरियाः क्षय रोग (Tuberculosis), दाँत किराले खाने (Streptococcosis), भिरङ्गी (Treponema sp; Neisseria sp), एक्टिनोमाइकोसिस, हाड कुहिने (Staphylococcosis)
३. ढुसी वा फङ्गसः थ्रस, हिस्टोप्लाज्मोसिस, कक्सिडिओइडिस, ब्लास्टोमाइकोसिस, एस्पर्जिलोसिस, जाइगोमाइकोसिस आदि ।
४. परजीविः लिस्मानियासिस (Leishmaniasis)
मुखको जाँच गरेर धेरै रोगहरुलाई समय मै निदान र उपचार गरी मुख स्वास्थ्य ठिक राख्दै माहामारीबाट धेरैहदसम्म सुरक्षित रहन सकिन्छ । मुखका समस्याहरूले मधुमेह, मृगौला, मुटु रोग, निमोनियाँ लगायतका शरीरका अन्य समस्याहरुलाई थप जटिल बनाउन सक्दछन् । मुखका रोगलाई समय मै नजँचाएर धेरै ढिला गरेमा सामान्य समस्या पनि क्यान्सर लगायतका उपचार गर्न नसकिने गम्भिर अवस्थामा परिणत हुने र मृत्यु समेत हुन सक्दछ ।
सचेतना र पूर्वतयारीः
माहामारीको समय मै निदान, रोकथाम र नियन्त्रण गर्न मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य क्षेत्रका सम्बन्धित सरोकारवाला निकायले पूर्र्वतयारी र सर्भिलेन्स गरिराख्न अपरिहार्य भएको छ । गुणस्तरीय पशु चिकित्सा सेवा सुलभ गराएर माहामारीको उत्पत्ति स्थलमै निदान, नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।
कुनै पनि माहामारीलाई उत्पत्ति भएको स्थलमै व्यवस्थापन गर्नको लागि निम्नानुसार गर्न उपयुक्त हुने देखिन्छः
१. सरोकारवालाहरुबीच समन्वय, सहकार्य र एक स्वास्थ्य अवधारणा अनुरुप सर्भिलेन्स, निदान र नियन्त्रण गर्ने क्षमता विकास र परिचालन
१. आधारभूत चिकित्सा सेवाको विस्तार र पहूँचको सुनिस्चितता
२. जनशक्ति, प्रविधि, सूचना र श्रोत परिचालनमा समन्वय र सहभागिता
३. हाइजिन, पोषण र स्वस्थ अभ्यास
४. सचेतना र शिक्षा
सारांशः
माहामारीको समय मै निदान, रोकथाम र नियन्त्रण गर्न सम्बन्धित निकायले पूर्र्वतयारी र सर्भिलेन्स गरिराख्न अपरिहार्य भएको छ । यसको लागि गुणस्तरीय मुख स्वास्थ्य समेतको आधारभूत स्वास्थ्य सेवा सुलभताको सुनिस्चितता र एक स्वास्थ्य अवधारणा अनुरुप सरोकारवालाहरुबीच समन्वय र सहकार्यमा योजनाबद्ध रुपमा परिचालित हुन आवश्यक छ । साथै, आम नागरिकमा माहामारीको उत्पत्ति, कारण, सर्ने तरिका, रोकथाम र सावधानीको बारेमा पर्याप्त जानकारी भै आआफ्नो स्थानबाट सकृय योगदान हुन पनि त्यत्ति कै आवश्यक देखिन्छ ।
डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे, डा. आदर्श खनाल र डा. नारायण घिमिरे
सुमेन डेण्टल होम, बसुन्धरा, काठमाण्डौ ।
Liked by: