हड्डी खिइँदै, कमजोर हुँदै जाने क्रम सबै मानिसमा उमेर अनुसार बढ्दै जान्छ। यो स्वाभाविक रूपमा सम्पूर्ण मानिसहरूमा समय अनुसार देखिन्छ। यो समस्यालाई हामी अङ्ग्रेजीमा "ओस्टियो-आर्थ्राइटिस" (osteoarthritis) भन्छौँ। देख्न त यो उमेर ढल्किदै जाँदा सबै मानिसमा ढिलो चाँडो देखिन्छ तर महिनावारी रोकिने समय वा रोकिएका महिलाहरूमा अलि तिब्र रूपमा देखा पर्दछ। विशेष रूपमा यो रोग पुरुषहरूमा ५० -६० वर्षको उमेरमा देखिन्छ भने स्त्रीहरूमा ४० -५० वर्ष मै देखिन सुरु हुनसक्छ। जोर्नी किन खिइँदै जान्छ भनेर बुझ्न सर्वप्रथम जोर्नी क हो भन्ने बुझ्न जरुरी हुन्छ।
जोर्नी भनेको दुई हड्डीहरू आपसमा जोडिने ठाउँ हो। जोर्नीमा हड्डीलाई कार्टिलेज नामक सुरक्षात्मक तन्तुले ढाकेको हुन्छ। उमेर अनुसार या अन्य कारणले, यो कार्टिलेजको संश्लेषण र विश्लेषणको सन्तुलनमा अवरोध आउँछ र कार्टिलेज खिइन्छ, जसले गर्दा जोर्नी चलाउँदा हड्डीहरू एकआपसमा घोटिइन्छन् र जोर्नीहरू दुख्ने गर्दछ। ओस्टियो-आर्थ्राइटिसले कुनै पनि जोर्नीलाई असर गर्न सक्छ तर प्रायः घुँडा, कम्मर, मेरुदण्ड, काँध, हात, औँलाहरूमा समस्या निम्त्याउँछ।
यो समस्या उमेर बाहेक विगतको जोर्नीमा लागेको चोट (लिगमेन्ट च्यातिएको, मेनिस्कस च्यातिएको, हड्डी भाँचिएको, जोर्नी खुस्किएको), मोटोपना, बाथ इत्यादीका कारणहरूले पनि देखिन्छ। साथै धेरै उभिएर काम गर्ने , दौडिने , धेरै उकालो ओरालो या सिँडी चढ्ने र झर्ने, भारी बोक्ने मान्छेहरूमा पनि यो समस्या अलि कम उमेरमा नै देखा पर्दछ। जोर्नीको विकृति, जेनेटिक्स, होर्मोनल परिवर्तनहरूले पनि जोर्नी खिइने समस्यालाई छिटो निम्त्याउन सक्दछ।
ओस्टियो-आर्थ्राइटिसका लक्षणहरू निम्न अनुसार छन् :
जोर्नी दुख्ने
जोर्नी चलाउन गाह्रो हुने, कक्रक्क पर्ने
जोर्नीहरू सुन्निने
हिड्डुल गर्न गाह्रो हुने
जोर्नी चलाउँदा क्रेपिटस, वा ग्रेटिङ, क्र्याकिङ, क्लिक, वा पपिङ आवाज आउने
धेरै जोर्नी खिइसकेकाहरूमा दैनिक क्रियाकलाप गर्न अफ्ठ्यारो हुने
ओस्टियो-आर्थ्राइटिसको उपचार हड्डी कतिसम्म खिइएको छ र लक्षणहरू के कस्ता छन् भन्ने कुरामा भर पर्दछ । सजिलो भाषामा भन्दा यसको ४ वटा वर्गिकरण (ग्रेडिङ) हुन्छ जसलाई एक्सरे हेरेर वर्गिकरण गरिन्छ। सामान्यतया हल्का मात्रै हड्डी खियिएको भए (ग्रेड १) व्यायाम, फिजियोथेरपी, मनतातोले सेक्ने गर्दा मत्र गर्दा पनि ठिक हुन सक्छ। कसै कसैलाई दुखाइ कम गर्ने औषधि खान पर्ने हुन्छ। ग्रेड २ मा पनि धेरैलाई यसले नै सजिलो बनाउँछ। केही ग्रेड २ र ग्रेड ३ क बिरामीहरूलाई यसले मात्रै नपुगेर नियमित रूपमा दुखाइ कम गर्ने औषधि खान पर्ने पनि हुन सक्छ भने कतिलाई जोर्नी भित्र औषधि दिन पर्ने हुन्छ। जोर्नी भित्र कतिलाई ह्यलुरोनिक एसिड दिइने गरिन्छ गर्दछन् जसले जोर्नी भित्र चिल्लोपना प्रदान गर्दछ। कतिलाई स्टेरोइड पनि दिने गरिन्छ जसले जोर्नी भित्र सुन्निएको कम गर्दछ। तर स्टेरोइडले आफ्नै धेरै समस्या सिर्जना गर्न सक्छ त्यसैले कति डाक्टरहरूले स्टेरोइडले दिदैनन् या दिएपनि १ -२ पटक भन्दा बढी दिँदैनन्। अहिले प्रविधि राम्रो हुँदै गइरहेको अवस्थामा PRP (Platelet rich plasma), ACS (Autologous Conditioned Serum) जस्ता पद्धतिहरू पनि आएका छन् जसले पनि बिरामीको अवस्थामा धेरै सुधार ल्याएको देखिन्छ। यी पद्दतीहरूमा बिरामीको आफ्नै रगतमा हुने सुनिएको कम गराउने तत्वहरू र ग्रोथ फ्याक्टरहरूको माध्यमबाट उपचार हुने हुँदा कुनै नकारात्मक असर पर्दैन र जति पटक पनि प्रयोग गर्न सकिन्छ। कतिमा यसले मात्रै नभए जोर्नी भित्र दुरबिन छिराएर सफा गर्न पर्ने पनि हुन सक्छ जसलाई मेडिकल भाषामा "अर्थ्रोस्कोपिक लावाज" भनिन्छ। घुडा बाङ्गो भएको र उमेर धेरै नढल्केका मानिसहरूमा कहिलेकाहीँ अवस्था हेरेर घुडा सोझो बनाउने शल्यक्रियाहरू पनि गरिन्छ जसको पनि नतिजा राम्रो देखिन्छ र केही बिरामीहरू जोर्नी प्रत्यारोपण सम्म जानै पर्ने हुन्छ। कतिपय ग्रेड ३ र धेरै जसो ग्रेड ४ को बिरामीहरूलाई औषधिहरूले मात्रै ठिक नगरेको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नु पर्ने हुन्छ। जोर्नी फेरेपछि यस्ता बिरामीहरूमा दुखाइ कम हुन्छ र बिरामीहरू आफ्नो दैनिक कार्यहरूमा सजिलोसित फर्कन्छन्। प्रविधिको विकाससँगै हाल शरीरका धेरै जसो जोर्नीहरू फेर्न सकिन्छ।
Liked by: