युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

युरिक एसिडले हुने बाथ रोग - गाउट (Gout) को समस्या




   डा. प्रबल प्रधान - May 24 2023

गाउट (Gout) भनेको एक किसिमको इन्फ्लामेटरी आर्थ्राइटिस (Inflammatory arthritis) हो। यासमा प्रायः शरीरको एउटा जोर्नीमा युरिक एसिडका मणिभ/क्रिस्टलहरू (Monosodium urate) जम्मा भएर सुन्निने र दुख्ने गर्दछ। ५०% भन्दा बढी बिरामीमा यो समस्या खुट्टाको बुडी औँलामा देखिने गर्दछ, यसलाई "पदाग्रा" (Podagra) पनि भनिन्छ। कुनै समय दुखाई अति नै ज्यादा हुने गर्दछ भने कहिले काहीँ कुनै दुखाई बिरामीलाई महसुस हुँदैन। गाउटमा दुखाई एक्कासी हुने गर्दछ। दुखाई बाहेक प्रभावित स्थानमा रातोपना, तातोपना, सुन्निने पनि हुने गर्दछ। कसै कसैमा भने एकैचोटीमा २ वा २ भन्दा धेरै जोर्नीहरू पनि दुख्ने गर्दछ। गाउट हुन त पुरुष महिला दुबैमा देखिने समस्या हो, तर धेरै जसो ४० वर्ष कटेका पुरुषहरूमा र महिनावारी रोकिइसकेका महिलाहरूमा धेरै देखिन्छ।

किन बढ्छ युरिक एसिड?
युरिक एसिड भनेको खानाबाट शरीरमा जाने तथा शरीर मै प्राकृतिक रूपमा रहने प्युरिन (Purine) भन्ने तत्त्व टुक्रेर बन्ने शरीरलाई नचाहिने तत्त्व हो जसलाई शरीरले पिसाब या दिसाबाट बाहिर फाल्छ। युरिक एसिडलाई शरीरबाट बाहिर फ्याल्नको लागि शरीरमा विभिन्न तत्त्वहरू हुने गर्दछन् जसले युरिक एसिडलाई शरीरबाट बाहिर फाल्न मद्दत गर्दछ। जब प्युरिन धेरै भएका खानेकुराहरू खाइन्छ अथवा शरीरमा युरिक एसिड फाल्न चाहिने तत्त्वहरूको कमी हुन्छ र शरीरमा युरिक एसिडको मात्रा बढ्दछ।

रगतमा युरिक एसिड बढ्दैमा गाउट हुन्छ त?
रगतमा युरिक एसिड बढ्दैमा गाउट भन्न मिल्दैन। गाउटको सुरुवात भने हुनसक्दछ। करिब ८०% बिरामीमा रगतमा युरिक एसिड बढेको देखिन्छ तर जोर्नी दुख्ने वा अन्य कुनै लक्षणहरू देखिन्न। त्यस्तै गाउट भएका सबै बिरामीमा कहिलेकाहीँ रगतमा युरिक एसिड बढेको देखिन्न। जब युरिक एसिडका क्रिस्टल/मणिभहरू जोर्नीमा बस्छन् र तिनीहरूले गर्दा जोर्नी दुख्ने, सुन्निने गर्छ। त्यस अवस्थालाई गाउट भनिन्छ। त्यसैले गाउटमा रगतमा युरिक एसिड बढ्ने मात्रै हैन, जोर्नी भित्र युरिक एसिडका क्रिस्टलहरू जमेर जोर्नीमा इन्फ्लामेसन हुने हो।

लक्षणहरू
गाउटमा निम्न लक्षणहरू देखिन्छन् :
जोर्नी मा एक्कासी दुखाई सुरु हुने
जोर्नी तातेको जस्तो हुने
जोर्नी चलाउँदा एकदम दुखाई हुने
जोर्नी सुन्निने
धेरै लामो समय युरिक एसिड यसरी जोर्नीमा जम्दा त्यो जोर्नीमा डल्लो परेको जस्तो भएर जान्छ, जसलाई हामी Tophaceous Gout (Tophus) भन्छौँ।

कतिखेर डाक्टरसँग परामर्श लिने?
डाक्टरसँग परामर्श गर्दा कुन स्थितीको युरिक एसिडको समस्या रहेछ र अबको उपचार के कस्तो तरिकाले गर्नुपर्छ भन्ने खुल्छ। डाक्टरले दुखाइ या अन्य स्थितीको व्यवस्थापनको लागि औषधि लेखिदिन सक्छन्। यदि जोर्नी दुखाइले समस्या पारेको छ भने समस्या जटिल हुनु पहिले नै परामर्श लिएर सल्लाह अनुसार उपचार गराउनु भएर लाभ लिनुहोस्।

“हाम्रो पात्रो हेल्थमा नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित २४ विशेषज्ञतामा रहेका २३० जना भन्दा बढि डाक्टरहरू उपलब्ध हुनुहुन्छ। हाम्रो पात्रो हेल्थबाट यहाँले आफ्नो सहजतामा संसारको जुनसुकै स्थानबाट पनि प्रत्येक्ष भिडियो कलमा डाक्टरसँग परामर्श लिनसक्नुहुन्छ। थप जानकारीको लागि https://health.hamropatro.com/ मा हेर्नुहोस्”

बेलायतका डाक्टर थोमस सिदेन्हमले गाउटको राम्रो परिचय दिएका थिए, “राती आराम सित सुतिएको थियो, बिहान सबेरै खुट्टाको बुडी औँलामा जिउ नै सिरिङ्ग पार्ने गरेर जोर्नी नै खुस्केको जस्तो दुखाई भयो। जोर्नी रातो थियो, हन्हन्ती तातिएको थियो, सुरुमा दुखाई मन्द थियो, एकछिनमा एकदमै दुख्न थालेको थियो ।”

उपचार
गाउटको उपचार भनेको पहिलो चरणमा खानपान र जीवनशैली मिलाउने हो। रगतमा युरिक एसिड बढेको तर लक्षणहरू नदेखिएका बिरामीहरूले कुनै पनि औषधि खान जरुरी हुँदैन, खाना बार्दा मात्रै पनि पुग्छ। गाउट पहिलो पटक भएका बिरामीले भने दुखाई र सुन्निएको कम गराउने औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ। लामो समय देखि युरिक एसिड बढेका बिरामीहरूमा भने कहिले काहीँ युरिक एसिड घटाउने औषधिहरू लामो समयलाई चलाउन पर्ने हुन्छ। औषधि र खाना बाहेक गाउट भएका बिरामीहरूलाई दुखेको जोर्नीमा चिसोले सक्ने, खुट्टामा भए खुट्टा अलि उचाईमा राख्ने गर्नु पर्दछ। कतिपय व्यक्तिहरूलाई केही औषधिहरूले जस्तै
Thiazide diuretics
loop diuretics
cyclosporine
ethambutol
pyrazinamide
low dose aspirin
levodopa
nicotinic acid

आदिले गर्दा पनि युरिक एसिड बढाउन सक्दछ, त्यस्तो अवस्थामा सम्बन्धित डाक्टरको परामर्श लिएर ती औषधिहरूको सेवन बन्द गर्न पर्ने हुन सक्दछ। युरिक एसिड बढेका बिरामीहरुले प्रशस्त मात्रामा फलफुलहरू, पानी खानुपर्छ।

युरिक एसिड बढेका बिरामीहरूले के खाने के नखाने ?
युरिक एसिड धेरै हुने बिरामीहरूले प्रशस्त मात्रामा प्युरिन हुने रातो मासु (जस्तै खसी, राँगो, बँदेलको मासु) र "Organ meat" ( जस्तै कलेजो, मुटु, मृगौला), माछाहरू, प्राउन खानु हुँदैन। त्यस्तै जाँड, रक्सी, कोला, फेन्टाजस्ता पेय पदार्थहरू पनि सेवन गर्नु हुँदैन। दुध र दुधबाट बनेका परिकारहरू, सेतो मासु (जस्तै कुखुरा, हाँसको मासु), दाल तथा गेडागुडीहरू, काउली, पालुङ्गो, गोलभेडा, च्याउ, फर्सी, भन्टा, अन्डा, पेस्ता, बदाम, काजु, ओखरहरू पनि युरिक एसिड धेरै हुने बेला बार्नु राम्रो हुन्छ। पछि युरिक एसिड सामान्य अवस्थामा आइसकेपछि, गाउटको समस्या नहुँदा थोरै मात्रामा कहिले काहीँ खान सकिन्छ। प्रशस्त मात्रामा खान हुने भनेको माथि लेखेको हरियो सागपातहरू बाहेकका अरु हरियो तरकारीहरू, ताजा फलफूलहरू, गाजर, चामल गहुँका परिकारहरू, आलु इत्यादी हुन्। त्यस्तै पानी पनि प्रशस्त मात्रामा पिउनु पर्छ। खाना बाहेक, युरिक एसिड धेरै भएका बिरामीहरुलाई नियमित कसरत, योगासन, व्यायामहरू पनि एकदमै फलदायी हुन्छन्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.