उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

उष्णप्रदेशीय उपेक्षित रोगहरूको बढ्दो प्रकोप र नियन्त्रण





विश्व उपेक्षित रोग दिवसः
विश्व स्वास्थ्य संगठनले कुष्ठ रोग, डेंगु लगायतका २० वटा उपेक्षित रोगहरूको सन् २०३० सम्म पूर्ण रूपमा नियन्त्रण गर्ने लक्ष्य लिइ सम्बध्द सबै देशहरूलाइ नियन्त्रण कार्यक्रम सञ्चालन गर्न मार्ग दर्शन गरेको छ । यसको लागि सरोकारवालाहरूको सचेतना अभिबृध्दि गर्दै सहकार्य गर्ने अभिप्रायले हरेक बर्षको जनवरी ३० तारिखको दिनलाइ त्यस्ता रोगहरूको बारेमा सचेतना जागृत गराउने विविध कार्यक्रमहरू सहित नेपाल लगायत विश्वभर उष्णप्रदेशीय उपेक्षित रोग दिवसको रूपमा मनाउने गरिएको छ ।

उपेक्षित रोगः
उष्णप्रदेशीय उपेक्षित वा वेवास्ता गरिएका रोग भन्नाले १. डेंगु र चिकनगुनिया, २. रेबिज, ३. ट्रकोमा, ४. बुरुली अल्सर, ५. यज, ६. कुष्ठरोग, ७. चागस रोग, ८. ह्युमन अफ्रिकन ट्रिपानोसोमियासिस, ९. कालाजार, १०. टेनियासिस र न्यूरोसिस्टीसर्कोसिस, ११. ड्राकुनकुलियासिस (गिनिया वोर्म रोग), १२. इसिनोकोकोसीस, १३. खाना जन्य ट्रीम्याटोडीयासिस, १४. हात्तीपाइले, १५. ओङ्कोसर्सियासिस (रिभर अन्धोपना), १६. सिस्टोसोमियासिस, १७. माटोबाट सर्ने जुका, १८. माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरू डिप माइकोसेस, १९. सर्पदंश, २०. लुतो र अरू बाह्यपरजीवि समेतका किट, भाइरस, ब्याक्टेरिया, ढुसी, परजीवी, विषाक्त पदार्थ तथा वातावरणीय प्रभावका कारण हुने रोगहरूलाइ बुझाउँदछ । कतिपय उपेक्षित रोगहरूको उत्पत्ति, प्रकोप तथा विस्तार प्रकृयामा स्वयम् मानिस, घर पालुवा पशुपन्छी एवं वन्यजन्तुको संलग्नता हुने गरेको पाइएको छ । यी रोगहरूको समय मै निदान, उपचार, रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा स्वयं सरकार र अन्तर्राष्ट्रिय निकायहरू उदासिन रहने गरेकोले पनि यी रोगहरूलाइ उपेक्षित वा वेवास्ता गरिएका रोग भन्ने गरिएको हो ।

उपेक्षित रोगको बढ्दो प्रकोपः
१० वर्ष अघिसम्म तराईमा देखिने डेंगु, चिकनगुनिया, कालाज्वरलगायतका रोगहरू पछिल्लो समय पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेकोले उपेक्षित रोगहरू मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यका हिसाबले बढ्दो चुनैतिको रूपमा देखिन थालेका छन् । रेबिज र डेंगु लगायतका रोगहरू बर्षेनी नयाँ नयाँ स्थानमा फैलँदै ठुलो संख्यामा मानिसमा संत्क्रमण गर्ने तथा ५० भन्दा अधिक मानिसको मृत्युनै गराउने गरेको पाइएको छ । अहिलेभन्दा दइ दशक अँघिसम्म केबल तराइमा मात्र सिमित डेंगु रोग विगत ५ बर्षदेखि नेपालका सबैजसो जिल्लामा देखिदै हाल सबै जिल्लामा देखिएको र धेरै मानिसको ज्यान लिइसकेको छ । काठमाणडु उपत्यकामा २,४ बर्ष अँघिसम्म नदेखिएको डेंगु अब बाह्रै महिना देखा पर्न थालेको र यस बर्ष ज्यादै कडा स्वरूपमा व्यापक रूपमा देखा परी धन जनको ठुलो क्षति पुराएको छ । सर्पदंशका कारण बर्सेनि १ हजारभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ ।

जनस्वास्थ्यमा असरः कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता उपेक्षित रोग अचेल बाह्रै महिना देशव्यापीरूपमा फैलिने र विगत २,३ दशकदेखि बढ्दोक्रममा रहेको पाइएको छ । उपेक्षित रोगका प्रकोपहरूबाट बर्सेनि विश्वभर करिब २ अर्ब ७ करोडभन्दा बढी मानिस प्रभावित हुने गरेका, १९ लाख मानिसमा विभिन्न अपाङ्गतासँग सम्बन्धित समस्या देखिने गरेको र २ लाख मानिसको मृत्यु हुने गरेको छ ।

पशुपन्छी तथा वातावरणीय स्वास्थ्यमा असरः कतिपय उपेक्षित रोगहरूले मानिस तथा पशुपन्छी दुवैलाइ संक्रमण गर्ने जुनोटिक प्रकृतिका भएको पनि पाइएको छ । यसरी उपेक्षित रोगहरूबाट मानिसकासाथै पशुपन्छी र वातावरणीय स्वास्थ्य तथा अर्थिक एवं सामाजिक क्षेत्रमा ठुलो क्षति पुग्ने गरेको छ । पृथ्विमा जलवायु परिवर्तसंगै माथि उल्लेखित उपेक्षित रोगहरूको प्रकोप र क्षति विगत ३, ४ दशक यता धेरै नै बढ्दो क्रममा रहेकोले वेवास्ता गरिएका रोगहरू आर्थिक, सामाजिक तथा समग्र स्वास्थ्यका दृष्टिकोणबाट बढ्दो चुनोतिको रूपमा देखा परेका छन् ।

जोखिम, रोकथाम तथा नियन्त्रणः
नेपालमा उपेक्षित रोग निवारणका लागि आवश्यक जनचेतनाको कमी हुनुका साथै यथोचित जनशक्ति परिचालन र निदान तथा उपचार सेवा सुविधाको विस्तार हुन नसक्दा यी रोगहरू नियन्त्रणको क्रममा रहेका भएतापनि सरकारकै उदासिनताका कारण रोग फैलेन जेखिम जोखिम क्रममा रहेको छ । अधिकांश उपेक्षित रोगहरू निवारण हुन त परैजावस यी रोगहरूबाट के कति धन जनको क्षति हुने गरेको छ भन्ने यथार्थ जानकारी समेत किटान गर्न सकेको छैन ।

नेपालमा उपेक्षित रोग नियन्त्रणः
विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको छ । नेपालमा कुष्ठरोग, कालाजार, हात्तीपाइले र डेगुं समेतका ४ गोटा उच्च प्राथमिकताप्राप्त र रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, लुतो समेतका ११ वटा रोगलाई उपेक्षित रोगका रूपमा पहिचान गरी तिनीहरूको निवारण एवम् नियन्त्रणको लागि योजनाबध्द रूपमा कार्यक्रम सञ्चालित छन् ।

अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गरी डब्लुएचओलबाट सन् २०१८ मा प्रमाणीकरण गराइ विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटौ र दक्षिण एसियाली क्षेत्रमा पहिलो देश बन्न सक्नुले नेपालले चाहेमा उपेक्षित रोगको पूर्ण नियन्त्रण तथा उन्मूलन समेत गर्न सक्ने कुरा पुष्ट भएको छ ।

उपेक्षित रोग निवारण कार्यक्रम नेपाल सरकारको प्राथमिकतामा परेको र तिनको निवारणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा छुट्टै शाखा नै कायम गरेर काम गरिरहेको सरकारको दावी रहेको छ। सरकारले हात्तीपाइले र कुष्ठरोग लागेका बिरामीलाई नियमित औषधि सेवन गराउनेदेखि निःशुल्क उपचारसम्मका कार्यक्रम गर्ने गरेको दावी गरेको छ । कुष्ठरोग उन्मूलनका लागि सरकारले घरघरमा गएर बिरामी पत्ता लगाउने अभियान चलाएको छ भने हात्तीपाइले रोग निवारणका लागि निशुल्क औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ । तथापि, उल्लेखित उपेक्षित रोगहरूको नियन्त्रणको लागि कार्यान्वयन गरिएका सरकारी कार्यक्रमको कार्यान्वयनमा समुदायको सकृय सहभागिता सुनिस्चित नभएको प्रकारण भावकारीतामा भने प्रश्न उठ्ने गरेको विज्ञहरूको ठहर छ ।

तथापि, नेपालमा सरकारले नै माथि उल्लेखित सबै उपेक्षित रोगहरूको निदान, उपचार, नियन्त्रण तथा सचेतना सम्बन्धी कार्यलाई अपेक्षाकृत रूपमा सम्बोधन नगरेकरो कारण पनि बर्सेनि लाखौं मानिस यसबाट प्रभावित हुने गरेका छन्र । सरोकारवालाहरूको सचेतना जागृत गर्दै उपेक्षित रोगहरूको सहभागितात्मक नियन्त्रण गर्न जनजागरण गराउने अभिप्रायले ति रोगहरूको बारेमा छलफल, बहस, समिक्षा लगायतका सचेतना मूलक कार्यक्रमहरू गर्ने गरिन्छ । नेपालमा उपेक्षित रोगहरूको रोकथाम तथा नियन्त्रणको लागि सचेतना सम्बन्धी केहि प्रयासहरू भएपनि प्रभावकारी रूपमा थप प्रयास हुनु जरूरि देखिएको छ ।

दन्त चिकित्साको भूमिकाः
अधिकांश उपेक्षित रोगहरूले मुखमा तन्तु परिवर्न गरेर वा संकेत देखाएर मुख स्वास्थ्यमा असर गर्दछन् । दन्त चिकित्साको सन्दर्भमा रोगीको स्वास्थ्य जाँच गर्दा उपेक्षित रोगहरू सहजै शंका वा निदान गर्न सकिन्छ । यसर्थमा, उपेक्षित रोगहरूको निदान, उपचार तथा नियन्त्रण गर्नमा र विशेषगरी रोगी तथा समुदायमा सचेतना अभवृध्दि गर्ने सम्बन्धमा दन्त चिकित्सकको अग्रणी भूमिका रहन्छ ।

सचेतना र सुझावः
सरकारले उपेक्षीत रोगहरूको समयमै निदान, उपचार तथा नियन्त्रण गर्नको लागि नीतिगत, संस्थागत तथा प्राविधिक क्षमता र साधन स्रोतको उपयुक्त व्यवस्थापन गर्नु पर्ने देखिएको छ । बर्सेनि देखा परिरहने रेबिज, डेंगु, चिकनगुनिया, कुष्ठरोग, कालाज्वर, ट्रकोमा, हैजालगायत रोगहरूको निवारणका लागि सरकारले जारी गरेका जनचेतनामूलक र रोकथामका कार्यक्रमहरू ठोस रणनीति, कार्यक्रम तथा बजेटको तालमेल, दन्त चिकित्सा तथा पशु चिकित्सा समेतका सरोकारवालाहरूको सक्रिय सहभागितामा सर्भिलेन्स कार्यक्रममा समुदायको परिचालन गर्न सकेमा अबको ८ बर्ष भित्रमा उपेक्षित रोगहरूलाइ पूर्ण रूपमा नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष पुरा गरी मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षण गर्न सकिने देखिन्छ ।

उपेक्षित रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बध्द निकायको तत्काल ध्यानाकर्षण हुन अत्यावश्यक भएको छ ।

संघ, प्रदेश र स्थानीय तह समेत तनै तहका सरकारको स्वास्थ सेवाको सम्बन्धमा स्पष्ट संवैधानिक व्यवस्था हुँदाहुँदै पनि देशबाट उपेक्षित रोग निवारण गर्न उपरोक्त तीनै तहका सरकारबीच यथोचित समन्वय, सहकार्यको वातावरण सिर्जना गर्न र अनुगमन हुन आवश्यक देखिएको छ ।
उपेक्षित रोगहरूको निदान, उपचार, नियन्त्रण तथा उन्मूलन कार्यक्रममा समुदायको सक्रिय सहभागिताको अभावमा लामो समयसम्म रोग लुकाएर बस्ने र बिरामीले औषधि सेवन नगरिदिने समस्या अत्यधिक हुँदा कार्यक्रम प्रभावकारी बनाएर सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने भएको छ ।

नेपालमा उपेक्षित रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन, अनुभवबाट सक्दै शैक्षिक क्षेत्र एवं अध्ययन अनुसन्धानका निष्कर्ष र बिषय विज्ञहरूका सुझावहलाइ नीतिगत रूपमा रूपान्तरण गरी कार्यान्वयन गर्ने गरिएमा उपेक्षित रोग नियन्त्रण कार्यक्रम अझबढि प्रभावकारी हुन सक्ने देखिएको छ ।

उपेक्षित रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृध्दि गर्न सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिनु पनि त्यत्तिकै आवश्यक रहेको छ ।

कर्तव्य र दायित्वः
नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ । आफ्ना नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्नु, नागरिक समेतका सरोकारवालाको सचेतना जागृत गराउनु, उपेक्षित रोगहरू निवारणका लागि सरोकारवालाको क्षमता विकास गर्दै नागरिक समेतका सरोकारवालाको सकृय सहभागितामा विशेष पहलकदमी लिनु र र उनीहरूको जीवन रक्षा गर्ने दायित्व र प्रतिबध्दता पुरा गर्न सरकार चुक्नु हुँदैन। जसरी कोरोना महाव्याधिमा सबै जनाले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गरे त्यसरी नै उपेक्षित रोगको उन्मूलनका लागि सबैले हातेमालो गर्दै राज्यलाइ सहयोग गर्नु नागरिकको कर्तव्य भएकाले आजैदिख आ–आफ्नो स्थानबाट लागि पर्न सकेमा विश्व उपेक्षित रोग दिवस सार्थक हुने छ ।

डा. सिमा घिमिरे, डा. प्रतिक्षा घिमिरे, डा. आदर्श खनाल र डा. नारायण घिमिरे
सुमेन डेण्टल होम, बसुन्धरा, काठमाण्डु



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.