विश्व मुख स्वास्थ्य दिवसः सिकाइ र सचेतना | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

विश्व मुख स्वास्थ्य दिवसः सिकाइ र सचेतना





पृष्ठभूमिः
मुख स्वास्थ्य भन्नाले दाँतको समस्या मात्र नभएर टाउको, मुहार र मुख भित्रका दाँत, गिँजा, जिभ्रो, गाला, तालु, ओँठ समेत समग्र मुखका स्वास्थ्य अवस्थालाई जनाउँदछ । मुख स्वास्थ्य वा दन्त चिकित्सा मानव सभ्यताको सुरूदेखिनै प्रचलनमा रहेको छ । मुख स्वस्थ नभएसम्म पुरै शरीर स्वस्थ हुन नसक्ने कुरा पुष्टि भैसकेको छ । मुख स्वास्थ्यका सर्वाधिक घातक कारणहरूमा गुलीयो र सूर्ती तथा सूर्तीजन्य पदार्थ हुन् । विश्वका ३.५ अरब मानिसहरू केही सावधानी अपनाएमा जोगिन सकिने तर लापर्वाहीको कारण एउटा न एउटा मुख स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित छन् जसमा ९० प्रतिशत (२.३ अरब) को दाँत किराले खाने समस्या रहेको छ ।

विश्व मुख स्वास्थ्य दिवसः
१. ऐतिहासिक विकासक्रमः
मुख स्वास्थ्य सम्बन्धी जनचेतना जागृत गराई स्वस्थ मुख मार्फत स्वस्थ जीवन बनाउने पुनित उद्देश्यले सन् २००७ मा विश्व मुख स्वास्थ्य दिवस मनाउने घोषणा भयो । तर सन् २०१३ को मार्च २० का दिन मात्र F.D.I. को अव्हानमा प्रथम विश्व मुख स्वास्थ्य दिवस मनाइएको थियो । त्यसपछि, हरेक वर्ष मार्च २० का दिन नेपाल लगायत विश्वका १३० मुलुकहरूमा गोष्ठि, जुलुस प्रदर्शनी, शिबिर छलफल लगायतका मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

२. नारा (Theme):
F.D.I. को अव्हानमा बर्षेनि मार्च २० का दिन विश्वभर मनाइने विश्व मुख स्वास्थ्य दिवसका विगत बर्षहरूमा निम्न तालिका अनुसारका नाराहरू तय गरिएको थियो ।
तालिकाः मुख स्वास्थ्य दिवसका नाराहरू
बर्ष (सन्)                                                                         विश्व मुख स्वास्थ्य दिवसको नारा
२०१३                                                                                स्वस्थ जीवनको लागि स्वस्थ दाँत (Healthy Teeth for Healthy Life)
२०१४                                                                                स्वस्थ मुखको लागि ब्रस गरौँ (Brush for a Healthy Mouth!)
२०१५                                                                                जीवनको लागि मुस्कfन (Smile for Life!)
२०१६                                                                                 स्वस्थ मुख स्वस्थ शरीर (It All Starts Here. Healthy mouth. Health body.)
२०१७                                                                                 दुरूस्त मुख सहित बाँचों (Live Mouth Smart)
२०१८                                                                                  लोः मुख सोँचोः स्वास्थ्य सोँचों (Say Ahh: Think Mouth, Think Health)
२०१९                                                                                  लोः मुख स्वास्थ्यका लागि लागों (Say Ahh: Act On Mouth Health)
२०२०                                                                                  लोः मुख स्वास्थ्यका लागि जुटों (Say Ahh: Unite for Mouth Health)
२०२१–२३                                                                           आफ्नो मुखको गर्व गरौँ (Be Proud of Your Mouth)]


FDI ले अफ्नो मुखको गर्व गरौँ भन्ने नाराका साथ सन् २०२१ देखि मानिसको शारीरिक, सामाजिक तथा मानसिक स्वास्थ्य अवस्थाको सुधारको लागि सञ्चालन गरेको असल मुख स्वास्थ्य अभ्यासको लागि सचेतना अभियानमा सरिक बन्न उत्प्रेरणा गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवस कसरी मनाउने तरिकाः
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा मुख स्वास्थ्यका बारेमा जनचेतजा जागृत गराउने अभिप्रायले सकारात्मक सन्देश प्रवाहित हुने गरी गरिने केही कृयाकलापहरू निम्नानुसार छन्
१. दाँत ब्रस गर्नेः यो काम अफुबाटै सुरू गर्न सकिन्छ । सर्प्रथम बिहानै फ्लोरिनयुक्त मञ्जन प्रयोग गरेर अफ्नै दाँत माझ्ने, कुल्ला गर्ने, भएसम्म माउथवास प्रयोग गर्ने र स्वच्छ हावा लिएर दिनभर स्फूर्त रहने । सकेसम्म जुनसुकै खाना खाइसकेपछि र नभए बेलुकाको खाना खाइसकेपछि सुत्नु अँघि पुनः दाँत माझ्नु स्वस्थ्यवर्धक हुन्छ ।

२. छलफल गर्नेः अफ्नो परिवार, छरछिमेक र भएसम्म सञ्चार मिडियाको समेत प्रयोग गरी मुख स्वास्थ्यका जोखिम, सावधानी र फाइदा सम्बन्धी सचेतना जागृत गराउने खालका बिषयमा चर्चा र छलफल गर्ने ।

३. सूचना सम्प्रेषणः
मुख वा दन्त चिकित्साको बारेमा सत्य तथ्य सूचना सामग्री तथा प्रविधिलाई लेख रचना तथा सञ्चार माध्यबाट प्रकाशित वा प्रसारित गर्ने र सबै सरोकारवालालाई सजग गराउने ।

४. सूचना सामग्रीः मुख स्वास्थ्य सम्बन्धी पुस्तक, पुस्तिका, लिफ्लेट, ब्रोसियर, पर्चा, पाम्फ्लेट अदि सूचना सामग्री प्रकाशन, प्रसारण र वितरण गर्ने ।

५. जँचाउनेः मुख स्वास्थ्य दिवसको अवसरमा दन्त चिकित्सकलाई जँचाएर यो दिवस मनाउनु उत्तम कार्य हो । यस अवसरमा कतिपय क्लिनिकमा निशुल्क जाँच गरिनुका साथै अन्य सेवा सुविधाबाट पनि लाभान्वित हुन सकिन्छ ।

६. शिबिरः श्रमिक, स्कुल, कलेज, उध्द्योग तथा पछाडि परेक समुदायमा मुख स्वास्थ्य शिबिर सञ्चालन गरी गुणस्तरीय दन्त चिकित्सा सेवा सर्वसाधारणलाई सुलभ गराउने ।

७. क्षमता विकासः
सेमिनार, गोष्ठी, बैठक सञ्चालन गरी प्रविधि तथा अनुभव आदानप्रदान गरी क्षमता विकास गर्ने ।

८. विद्यालय शिक्षाः
विद्यालयमा मुख स्वास्थ्य सम्बन्धमा लेक्चर, प्रदर्शन, कक्षा वा शिबिर सञ्चालन गर्ने ।

९. सडक नाटक, प्रदर्शनी
तथा अन्य उपयुक्त प्रविधि प्रसार कार्यक्रमहरू गर्ने ।

मुख स्वास्थ्य दिवसको सिकाइ र सचेतना सामग्रीः
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सबै सरोकारवालाहरूलाई निम्नानुसार गरी गराई स्वस्थ मुख स्वस्थ शरीरको अवधारणा अनुसार अफ्नो मुखप्रति गर्व गर्न सक्ने बन्न मुख स्वास्थ्य सम्बन्धी केही महत्वपूर्ण पक्षहरूलाई आजैदेखि आआफ्नो स्थानबाट लागु गर्न गराउन आव्हान गरिएको छ ।
१. मुख नै सबै थोकः
(१) मुख स्वस्थ नभएसम्म शरीर स्वस्थ हुन सक्दैन । सम्पूंर्ण स्वास्थ्यको लागि मुख स्वास्थ्य अत्यावश्यक हुन्छ । मुखको सरसफाइ नगरेमा मुखमा रोग लाग्ने र पिडा हुने मात्र हैन यसबाट अफ्नो सामाजिक मर्यादा र व्यक्तित्व विकासमा समेत वाधा पर्दछ ।

(२) नवजात शिशु मात्र विना दाँत हाँसेको सुन्दर देखिन्छ तर वयस्क देखिँदैन । मुखमा दाँत नहुँदा नराम्रो देखिने मात्र हैन खानपिन, कुराकानी, बोलिचाली, मुस्कान, सामान्य व्यवहार र सामाजिक जीवनमा समेत असजिलो पर्दछ ।

(३) मुखका समस्याहरूको शरीरका मुटु, मस्तिष्क, कलेजो लगायतका अन्य अंग प्रत्यंगसंग अनोन्याश्रित सम्बन्ध हुने हुंदा मुख स्वास्थ्यलाई उच्च प्राथमिकता दिनु पर्दछ । मुख स्वास्थ्यप्रति सचेत भएर आजैदेखि कुनै पनि लापर्वाही नगर्ने र सूर्ती, मदिरा, लागु पदार्थ लगायतका सबैखाले लत र खराब बानी व्यहोरामा सुधार गर्दै अफ्नो मुखको गर्व गरौँ ।

२. मुखको सरसफाइ, ब्रसिंग र कुल्ला गर्नेः
(१) फ्लुराइडयुक्त दन्त मञ्जनको प्रयोग गरी नरम ब्रसले सकेसम्म हरेक पटक खाना खाइसकेपछि र नभए कम्तिमा पनि साँझ बिहान हल्कासंग ब्रसिंग गर्नाले मुखमा लागेको लेउ तथा फोहोर हटाउन र दाँतमा किरा लाग्नबाट जोगाउन सकिन्छ ।
(२) जे सुकै खाइसकेपछि मुख कुल्ला गर्नाले ब्रसले पनि फेला पार्न नसक्ने दाँतको बिचमा वा गिँजामा टाँस्सिएको लेउ र खानेकुराको अंश वा दाग सहजै हटाउन सकिन्छ ।
(३) एण्टिसेप्टिक माउथवासले मुख कुल्ला गर्नाले मुखमा भएका सूक्ष्मजीवाणु (ब्याक्टेरिया) नष्ट हुने र मुख स्वच्छ हुन्छ ।

३. सन्तुलित भोजनः
शरीरलाई चाहिने सबै पोषणतत्वहरू भएको खानेकुरा खानाले दाँत बलियो बन्दछ । पोषण पाएको स्वस्थ दाँतलाई सामान्यतया सहजै रोग लाग्दैन।

४. अहारबिहार, अनिबानी र सचेतनाः
(१) अमिलो र गुलियो सिमितः गुलियो र अम्लीय खाद्य पदार्थ र कार्बोनेटेड चिसो पेय पदार्थ (कोकाकोला, फेन्टा, मिरिन्डा, ड्यू, पेप्सी, लगायत) सेवन नगर्ने वा सिमित गर्नाले पनि दाँत खिइने, किरा लाग्ने र सडने जोखिम कम हुन्छ ।
(२) धुम्रपान र मदिरापान परित्यागः मदिरापान, धुम्रपान तथा सूर्ती र सूर्तीजन्य पदार्थको सेवन गर्दा गिँजाका रोग र मुखको क्यान्सर समेत हुने भएकाले यस्ता पदार्थको सेवन परित्याग गरी मुख स्वास्थ्य कायम गर्नु पर्दछ ।
(३) माउथगार्ड लगाउनेः कुनै खेल खेल्दा वा रातीमा दाँत किट्ने बानी भएकाहरूले माउथगार्ड लगाउनाले दाँत खिइने एवं गाला, गिँजा वा जिभ्रो टोकिने वा मुखमा घाउ हुने लगायतका क्षती हुनबाट सुरक्षा गर्छ ।
(४) तनाव कमः तनावले दाँत वा बंगारा चबाउने (किट्ने) जस्ता धेरै समस्या देखिने हुँदा तनाव र थकान व्यवस्थापन गर्न सकेमा मुख स्वास्थ्य कायम गर्न सहयोग पुग्दछ ।
(५) सचेतना जागरणः मुख स्वास्थ्यमा लापर्वाही गर्नाले भित्रभित्रै शरीरमा जटिल रोगावस्था सिर्जना भएर मृत्युको मुखमा पुगेको पत्तै नहुन पनि सक्छ ।

५. समयमै उपचारः
(१) नियमित दाँतको जाँच गराउनाले मुखमा कुनै स्वास्थ्य समस्या देखा पर्न लागेको भए त्यसको एकदमै सुरूको अवस्थामै पत्ता लाग्न सक्छ । अधिकांश मुखका समस्याहरू समय मै जँचाएर थाहा पाउन र उपचार गर्न पाएमा निको पार्न सकिन्छ ।
(२) तर ढिलो भएमा रोग निदान र उपचार गर्न कठिन पर्ने र खर्चिलो हुने मात्र हैन साविकमा सामान्य ठानिएका समस्याहरू पनि कालान्तरमा उपचारै गर्न नसकिने क्यान्सर, हृदयघात, मस्तिष्कघात जस्ता दुसाध्य अवस्थामा परिणत भएर अल्पायु र अकालमै ज्यान जान सक्दछ ।

सारांशः
जीवनमा आरोग्यता प्राप्त गर्न स्वस्थ मुख हुन जरूरी छ । धेरैजसो मुखका समस्याहरू मानिसको लापर्वाहीले गर्दा उत्पन्न हुने र समय मै जँचाउने, चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने तथा सावधानी अपनाएमा त्यस्ता समस्या निको हुने र थप समस्या देखिंदैन । मानिसमा मुख स्वास्थ्य सम्बन्धी चेतना जागृत गराई लापर्वाही नहोस् र मुख स्वास्थ्य कायम होस् भन्ने अभिप्रायले बर्षेनी मार्च २० का दिन मनाइने विश्व मुख स्वास्थ्य दिवसको अभियानमा सरिक हुन आफैबाट सुरू गरौँ । खराब बानी त्यागेर स्वस्थ मुख राख्दै आरोग्यता हासिल गरौँ र अफ्नो मुखप्रति गर्व गरौँ ।

डा. प्रतिक्षा घिमिरे, डा. आदर्श खनाल, डा. सिमा घिमिरे र डा. नारायण घिमिरे
सुमेन डेण्टल होम प्रा.ली., बसुन्धारा, काठमाण्डु



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.