कोरोना भाइरस (कोभिड-१९) महामारीको असर संसार भरी नै महशुस गरिएको छ। धेरै बालबालिकाको लागि यसको अर्थ शिक्षा रोकिनु, परिवारमा कोहि बिरामी पर्नु र परिवारको आय गुम्नु पनि हुनसक्छ जसले अत्यन्तै विपन्न वर्गका बालबालिकालाई सबै भन्दा धेरै प्रभाव पार्ने गर्दछ।
बालबालिकाको हेरचाहको लागि तलबी बिदा, बिरामी बिदा, समयानुकुल परिवर्तन गर्न सकिने समयतालिका सँगै बाल हेरचाहका लागि गुणस्तरीय तथा सस्तो सेवा जस्ता परिवार मैत्री रोजगारको व्यवस्था गर्नुका साथै कामकाजी अभिभावकहरूलाई आफ्ना बालबालिकाको हेरचाह गर्न आवश्यक समय र सुविधा दिँदा बालबालिकाको बोझ र कठिनाई न्युनिकरण गर्न सहयोग पुग्दछ।
कोभिड-१९ को प्रकोपका समयमा आफु, आफ्ना बालबालिका तथा परिवारका सदस्यहरूको हेरचाह गर्ने जिम्मेवारी लिएका कर्मचारीहरूलाई सघाउन व्यवसायी तथा रोजगारदाताहरूले अपनाउन सक्ने सात अभ्यासहरू:
१) तपाईंको कार्यालयमा हाल लागु गरिएका विभिन्न नीति नियमहरूले कर्मचारीका परिवारलाई सघाउने वा नसघाउने मुल्यांकन गर्नुहोस्।
के हालका नीति नियमहरू कर्मचारीका परिवारलाई पर्याप्त रूपमा सघाउन समर्थ छन्? कामकाजी अभिभावकका सबैभन्दा महत्वपूर्ण आवश्यकताहरूलाई विश्लेषण गर्दै यो मुल्यांकनको शुरुवात गर्नुहोस्। अस्थायी, अनौपचारिक, आप्रवासी, गर्भवती वा स्तनपान गराईरहेका आमाहरू, अपांगता भएका कर्मचारी जस्ता जोखिममा रहेका समुहका साथै तलबी बिरामी बिदाजस्ता सुविधाबाट बञ्चित रहेकाहरूलाई विशेष ध्यान दिनुहोस्।
२) आफ्नो अनुकुल समयमा काम गर्ने सुविधा।
आफ्नो अनुकुल समयमा काम गर्ने सुविधाले कर्मचारीहरूलाई आफ्नो परिस्थिति अनुसारको समय र स्थानबाट आफ्नो कामको जिम्मेवारी पुरा गर्ने स्वतन्त्रता दिन्छ। कामकाजी अभिभावकहरूको आवश्यकताहरू भिन्न हुने हुनाले आफ्ना बालबालिका तथा परिवारको हेरचाह गर्न मिल्ने गरि काम पुरा गर्नमा बिभिन्न प्रकारको लचकता दिन सकिन्छ। लचकदार कामको तालिका अन्तर्गत फोन तथा ईन्टरनेट मार्फत काम गर्ने, काम गर्ने हप्तालाई छोटो बनाउने वा रोजगार सुरक्षित रहने गरि लामो समयसम्म विदा दिने व्यवस्था गर्दा उनीहरूलाई विरामी, वृद्ध तथा अपांगता भएका परिवारजन र आफन्तजनको हेरचाह गर्न सहयोग पुग्छ।
३) सुरक्षित, सहज र उचित मुल्यमा बालबालिका हेरचाह सेवा लिन सघाउनुहोस्।
धेरै स्थानमा विद्यालयहरू बन्द भएको अवस्थामा कामकाजी अभिभावकहरूले बालबालिकाको हेरचाह गर्ने सेवा लिन समस्या भोगिरहेका छन्। कतिपय अभिभावकले सिमित सीप भएका हेरचाहकर्ताहरूको जिम्मामा आफ्ना बालबालिका छोड्न पर्दा सुरक्षा जोखिम बढेको छ। बालबालिका हेरचाहको सेवामा एक बाट अन्यमा सिफारिस गर्ने सुविधा, आवश्यक आर्थिक सहायता तथा लचकदार समय जस्ता सेवा-सुविधा दिएर रोजगारदाताहरूले आफ्ना कर्मचारीलाई सघाउन सक्छन्।
४) कार्यालयको भित्र तथा बाहिर सरसफाईका असल अभ्यासहरूको प्रवर्धन गर्नुहोस्।
अत्यावश्यक सेवा पुर्याउने अभिभावकहरूलाई रोजगारदाताले पर्याप्त पानी र साबुन सहितको हात धुने स्थान र सो नभएमा अल्कोहलमा आधारित हात स्यानीटाईजरको व्यवस्था गरि सफा र स्वच्छतामा आधारित वातावरण सिर्जना गर्न सक्छन्। आमाहरूलाई सफा र आरामदायी स्थानमा स्तनपान गराउने सुविधा दिनुपर्दछ। भिन्न स्थानमा बसेर काम गर्ने लगायत आफ्ना सबै कर्मचारीहरूलाई रोगको रोकथामका उपायहरू, यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू, तथा आफ्ना बालबालिकासँग यसबारे कुरा गर्ने तरिका आदि महत्वपूर्ण सुचनाहरू बाढेर पनि रोजगारदाताहरूले ठुलो योगदान दिन सक्छन्।
५) आफ्ना कर्मचारीहरूलाई स्वास्थ्य सेवा कसरी प्राप्त गर्ने भन्ने बारे जानकारी दिनुहोस्।
कोभिड-१९ का लक्षणहरू देखापरेका आफ्ना कर्मचारीहरूलाई रोजगारदाताहरूले सहि मार्गनिर्देशन गर्न सक्छन्। उदाहरणको लागि स्थानीय अस्पताल, स्वास्थ्य अधिकारीहरू तथा आपतकालीन हटलाईन फोन नम्बर आदि सुचना प्रकाशन गर्न सकिन्छ। स्वास्थ्य संस्था सम्म सुरक्षित तवरले आवतजावत गर्ने विधि समेत सिकाउन सकिन्छ।
६) आफ्ना कर्मचारी तथा तिनका परिवारलाई तनाव व्यवस्थापन गर्न सघाउनुहोस्।
कोभिड-१९ को महामारी फैलिएका बेला चिन्तित, असमंजस वा भय महसुस गरिरहेका कर्मचारीका लागि रोजगारदाताहरूले विशेष सेवाको व्यवस्था गर्नुपर्दछ। आफ्ना बालबालिकाको चिन्ता र भयलाई व्यवस्थापन गर्न पनि रोजगारदाताहरूले आफ्ना कर्मचारीलाई सघाउन सक्छन्। विश्वसनीय श्रोतबाट प्राप्त सुचना मात्र कर्मचारीसम्म पुगेको सुनिश्चित गर्नुका साथै सबै कर्मचारीका लागि मनोसामाजिक परामर्शको सेवाहरू उपलब्ध गराउनुपर्दछ। यसका साथै कर्मचारीहरूलाई आफ्ना बालबालिकाको हेरचाह र ख्याल गर्नका लागि आवश्यक समय र श्रोत उपलब्ध गराउनुपर्दछ। एक आपसमा संवाद गर्न, खेल खेल्न तथा अन्य उत्प्रेरक गतिविधिहरू गर्न सघाउने उपकरणहरू यस अन्तर्गत पर्दछन्।
७) कोभिड-१९ को संक्रमणबाट कर्मचारी तथा तिनका परिवारका सदस्य बिरामी परेमा आईपर्ने आर्थिक बोझ न्युनिकरण गर्नुहोस्।
कोभिड-१९ को संक्रमणबाट कामकाजी अभिभावकहरूमाथि थपिन सक्ने सम्भावित आर्थिक बोझ न्युनिकरण गर्नु अत्यन्तै महत्वपूर्ण छ। आफ्ना कर्मचारीहरूलाई रोजगारको सुरक्षा, तलबी बिरामी बिदा तथा बालबालिकाको हेरचाहका लागि आर्थिक सहयोग र स्वास्थ्य खर्चमा अनुदान आदि सुविधा दिएर सघाउन सकिन्छ। जोखिममा रहेका समुह, जस्तै न्युन आय भएका तथा अनौपचारिक क्षेत्रका कर्मचारीहरूलाई विशेष ध्यान दिनुपर्दछ।
रोजगारदाताहरूले आफ्ना सबै कर्मचारीहरू (स्थायी वा अस्थायी सबै प्रकार तथा जुनसुकै लिंगका) का लागि परिवार मैत्री नीति लागु गर्नुपर्दछ। विद्यमान नीति नियमहरूको उपयोग गर्दा भेदभाव र बैरभाव/बदलाको डर नहुने वातावरणको प्रवर्धन गर्नु अत्यन्तै महत्वपूर्ण छ। पुरुष भन्दा तुलनात्मक रूपमा कामको धेरै भार बहन गर्ने भएकोले कामकाजी महिलाहरूले आफ्नो निर्णयका कारण दण्डित हुनु नपर्ने प्रावधान स्थापित गर्नुपर्दछ।
स्रोत: युनिसेफ
Liked by: