कोभिड-१९ महामारीका कारण कति अभिभावक घरबाट टाढा बस्नु बाध्य भएका होलान् - यस्तो अवस्थामा आमाबाबुले कसरी आफ्ना बालबालिकाको हेरचाह गर्न सक्छन्?
बालबालिकाको सर्वाङ्गिण (शारिरीक, बौद्धिक, सामाजिक, भाषिक तथा संवेगात्मक) विकासमा राम्रो स्वास्थ्य, पर्याप्त पोषण, प्रारम्भिक सिकाईको अवसर, सकारात्मक उत्प्रेरणा र सुरक्षा तथा संरक्षणको महत्व हुन्छ । यी सबै पक्षहरूको संयोजन र सुनिस्चितता गर्ने प्रमुख दायित्व हामी अभिभावकहरूको हो । अहिलेको सामाजिक तथा आर्थिक परिवेशमा हामी धेरै आमाबाबुहरू दुवै घरबाट बाहिर गएर काम गर्छौँ । यसले गर्दा आफ्ना बालबालिकालाई पर्याप्त समय र उत्प्रेरणा दिन सकिरहेका हुदैनौं।
बालबालिकासँग सम्बन्धित केही लेखहरूमा सामान्य परिस्थिति र वर्तमान बन्दाबन्दी (लकडाउन)को परिस्थितिमा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ, उनीहरूलाई के कस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यहरूमा ब्यस्त राख्न सकिन्छ जसले गर्दा उनीहरूको सिक्ने प्रकृयालाई निरन्तरता दिन सकियोस् भन्ने जस्ता विषयमा विभिन्न विचारहरू प्रकाशन भएका छन् जुन निकै महत्वपूर्ण छन् । तर यो आलेख अलि फरक छ ।
आमाबाबु दुबै वा दुईमध्ये कोही एकजना कामको सिलसिलामा घरभन्दा टाढा हुनु सामान्यजस्तै भइसकेको हाम्रो समाजमा ती आमाबाबुले आफ्ना बालबालिकालाई सकारात्मक उत्प्रेरणा कसरी दिने? बालबालिकाको विकास प्रकृयामा कसरी सघाउने त? त्यस्ता आमाबाबुले अहिलेको कोरोना भाइरसको महामारीको अवस्थामा कसरी टाढाबाट आफ्ना बालबालिकालाई हेरचाह गर्ने? यो आलेखमा हामी यसै विषयको सेरोफरो रही केही कुराहरू गर्छौँ ।
घरभन्दा बाहिर हुँदा पनि टेलिफोन, मेसेन्जर, भाइबर लगायतका सामाजिक सञ्जालहरूको माध्यमबाट बालबालिकासँग नियमित रुपमा संवाद र अन्तरक्रिया गर्न सकिन्छ । यसले उनीहरूको भाषिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदछ । कथा, कविता वाचन गरेर, सँगै पढेर, प्रश्नोत्तर गरेर पनि उनीहरूको कल्पनाशक्ति तथा तार्किक क्षमता विकासमा सकारात्मक योगदान पुर्याउन सकिन्छ ।
म आफै पनि कामको सिलसिलामा घरबाट टाढा बस्छु । साढे चार वर्ष र साढे छ वर्षका दुई छोराहरू उनीहरूको आमासँगै बस्छन् । बाबुआमाको मायामा डुबुल्की मार्ने नैसर्गिक अधिकार भएका मेरा दुबै छोराहरूलाई सकारात्मक उत्प्रेरणा प्रदान गर्न मैले गरेका केही अभ्यासहरू यहाँहरूसँग साट्ने जमर्को गरेको छु ।
सम्भव भएसम्म इन्टरनेट नभए मोबाईल फोनबाटै पनि मैले मेरा छोराहरूसँग दिनमा कम्तिमा पनि तीनपटक कुरा गर्छु । बिहान, विद्यालयबाट आईसकेपछि र राती सुत्ने बेलामा ।
बिहान विद्यालय जानुभन्दा अगाडि, नमस्कार, शुभ प्रभात वा गुड मर्निङ भन्न । यसबेला आजको दिन हामी सबैको लागि विशेष छ । आज हामी धेरै राम्राहरू कामहरू गर्न सक्छौँ, लगायतका कुराहरूबाट उनीहरूमा एक किसिमको सकारात्मक उर्जाको सञ्चार गराउने प्रयास गर्दछु । यसबाट उनीहरूमा एक किसिमको उर्जा भरिएको र दिनभरको लागि तयार भएको अनुभूति सजिलै गर्न सकिन्छ ।
दोश्रो संवाद विद्यालयबाट आएर खाजा खाइसकेपछि हुन्छ । यसबेला उनीहरूसँग मैले तीनवटा प्रश्नहरू नियमित रुपमा सोध्ने गरेको छु ।
मेरो अनुभवमा यी तीन प्रश्नहरूले मेरा छोराहरूलाई एकछिन भएपनि गहिरिएर सोच्न, दिनभर गरेका गतिविधिहरूलाई पुनःस्मरण गर्न र अरुलाई सहयोग गर्नुपर्दछ भन्ने भावना भित्रैदेखि विकास गराउन ठूलो सहयोग गरेको छ । किनकी यतिबेला उनीहरू विद्यालयमा वा विद्यालय जाने गाडीमा हुँदा साथीहरूलाई गरेको सहयोग र साथीहरूले उनीहरूलाई गरेको सहयोग खुसीसाथ खुलेर सुनाउँछन् ।
तेश्रो र अलि लामो संवाद राती सुत्ने बेलामा हुन्छ । यसबेला हामी बाबुछोराको प्रश्नोत्तर हुन्छ । छोराहरू आफ्नो मनमा लागेका कुनै पाँचओटा प्रश्नहरू सोध्ने र बाबुले त्यसको सही जवाफ दिने काम हुन्छ । कहिलेकाँही त छोराहरूले सोधेको प्रश्नको उत्तर नआएर, यसको उत्तर मलाई थाहा भएन, भोलि पढेर वा कसैसँग सोधेर बताउँछु भनेर पनि भनेको छु र भोलिपल्ट जहाँबाट खोजेर वा अध्ययन गरेर भएपनि ती प्रश्नहरूको सही उत्तर दिने गरेको छु । यसले गर्दा छोराहरूमा नयाँ नयाँ कुराहरू सोच्ने, कल्पना गर्ने, प्रश्न गर्ने हौसला प्राप्त हुन्छ भने, सबैलाई सबै कुरा आउँदैन तर सिक्न सकिन्छ भन्ने सन्देश पनि राम्रैसँग प्रवाह भएको मैले महशुस गरेको छु ।
सुत्ने बेलाको दुरसंवादमा मैले गर्ने अर्को महत्वपूर्ण काम भनेको बालबालिकालाई हौसला र उत्प्रेरणा प्रदान गर्ने खालका कथा, कविता, जीवनी तथा गीतहरू सुनाउने वा अगाडी नै किताब राखेर बाचन गर्ने हो । यसले गर्दा उनीहरूमा धैर्य गरेर सुन्ने तथा कथा, कविताहरू पढ्ने बानीको विकास हुँदै गरेको पाएको छु । छोराहरूलाई सुनाउनकै लागि भनेर दिनमा मेरो कम्तिमा आधादेखि एकघण्टा समय उत्प्रेरणामूलक कथा, कविता, लेख, जीवनीहरू खोज्न र अध्ययन गर्नमा सदुपयोग गर्ने गरेको छु ।
यसका अतिरिक्त श्रीमतीसँग कुरा गर्दा पनि छोराहरूले सुन्ने गरी उनीहरूको खुलेर प्रशंसा गर्ने, विद्यालयका शिक्षकहरूले छोराहरूको बारेमा भनेका राम्रा कुराहरू सुनाउने, दिनभरी आफुले गरेका राम्रा कामहरूबारे चर्चा गर्ने, आफुले सिकेका नयाँ र चाखलाग्दा कुराहरू सुनाउनुले पनि श्रीमति र छोराहरूमा एकप्रकारको सकारात्मक उर्जा प्रवाह भएको महशुस गरेको छु ।
बन्दाबन्दी (लकडाउन)को वर्तमान परिवेशमा हामी बाबु छोराबीच हुने संवादमा केही विषयहरू थपिएका छन्- कोरोनाभाइरस रोग (कोभिड–१९) सँग सम्बन्धित केही महत्वपूर्ण जानकारीहरू । "मैले त आज १२ पटक साबुनपानीले मिचिमिचि हात धोएँ, तपाईँहरूले कतिपटक धुनुभयो? हाछ्युँ गर्दा वा खोक्दा प्रयोग गर्ने रुमाल पनि साबुनपानीले मज्जाले धोएँ, तपाईँले के गर्नुभयो? अरु मानिसहरूसँग अलिकति टाढा बस्दा र सरसफाईमा ध्यान दिँदा कोरोनाभाइरस रोग (कोभिड–१९) बच्न सकिन्छ?" भन्ने विषयको हामी बाबु छोराहरूबीचको संवाद घरका अरु सदस्यहरू खासगरी मेरो आमाबुवाको लागि मनोरञ्जन तथा जानकारीको रमाइलो श्रोत साबित भएको छ । छलफल, हाँसो ठट्टा अनि शिक्षा सबै एकपटक, क्या रमाइलो । होइन त !
बेलाबेलामा घर जाँदा कोसेलीको रुपमा केही बालकथा, बालकविता, बालबालिकाले सजिलै बुझ्न सक्ने खालका महत्वपूर्ण ब्यक्तित्वका जीवनीहरू, महत्वपूर्ण वैज्ञानिक आविष्कारहरूसँग सम्बन्धित पुस्तकहरू लैजानु र ती पुस्तकहरूलाई क्रमैसँग पढेर सुनाउनु र सो सम्बन्धमा छलफल गर्नुले पनि छोराहरूलाई जिज्ञासु हुन र पुस्तकहरूप्रति रुचि जगाउन मद्दत गरेको मेरो अनुभव छ । कहिलेकाँही कामको सुरमा (सँगै हुँदा) बिर्सिन खोजियो पनि छोराहरूले पुस्तक लिएर आइहाल्छन् र कम्तिमा २ ओटा (दुबैको रोजाईको एकएक) ओटा कथा, कविता र जीवनी सुनाउनैपर्छ । अहिले त मलाई पनि बानी नै परी सक्यो । छोराहरूसँग संवाद गर्न र केही नयाँ सुनाउन पाइएन भने आफैलाई कस्तो कस्तो नमज्जा लाग्छ ।
यसको परिणाम पनि राम्रै छ । विद्यालयमा छोराहरू पढाईसँगै अतिरिक्त क्रियाकलापहरू जस्तै गीत गाउने, नृत्य तथा अभिनय गर्ने, समूहमा मिलेर बस्ने, साथीहरूलाई सहयोग गर्ने, मनमा लागेका कुराहरू खुलेर भन्ने, कथाहरू सुन्ने र सुनाउने तथा चित्र र पेन्टिङ मार्फत आफ्ना सृजनाहरू पस्किने कुरामा अब्बल छन् । निडर र सहयोगी पनि उत्तिकै छन् । घरका धेरैजसो कुराहरू विद्यालयका शिक्षक र साथीहरूलाई र विद्यालयका कुराहरू घरमा खुलेर सुनाउँछन् । स्वस्थ्य, फुर्तिला र जाँगरिला छन् । आफ्नो काम आफै गर्न सधैँ तत्पर हुन्छन् । एउटा बाबुले यी सबै राम्रा कुराहरू देख्न र सुन्न पाउँदा मन हर्षले गद्गद हुन्छ ।
अन्त्यमा, काँचो माटोरुपी बालबालिकालाई मानव बनाउने यस महान् अभियानमा घरबाट टाढा भएपनि उनीहरूको सर्वाङ्गिण विकासको महत्वपूर्ण पक्षमा सकारात्मक उत्प्रेरणा दिन कुनै कन्जुस्याई नगरौँ । बालबालिकासँग खुलेर संवाद गरौँ, उनीहरूको कुराहरू सुनौँ, आफ्ना कुराहरू खुलेर राखौँ, सकारात्मक उत्प्रेरणा दिने र दिमाग खियाउने खालका प्रश्नहरू सोधौँ, उनीहरूले सोधेका प्रश्नहरूको सही उत्तर दिने बानी बसालऔं। यसले गर्दा बालबालिका र हामी अभिभावकहरूबीचको सम्बन्ध सुमधुर र प्रगाढ हुनुको साथसाथै एक अर्काप्रतिको विश्वास एवम् अन्तरनिर्भरता बढेर जान्छ । घरमा रहनु हुने परिवारका सदस्यहरूलाई साथ र सहयोग हुन्छ र सबैभन्दा महत्वपूर्ण बालबालिकाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान पुग्दछ ।
श्रोत : युनिसेफ
Liked by: