उच्च रक्तचाप नियन्त्रणका ६ उपाय | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

उच्च रक्तचाप नियन्त्रणका ६ उपाय




   डा. प्रकाशराज रेग्मी - Jun 19 2017

जीवनशैलीमा परिवर्तन
उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो । अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्यधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पुर्याउँछ । आजको युगमा काम नगर्ने, उच्च आकांक्षा नराख्ने व्यक्ति विकासको गतिमा पछाडि पर्छ । अगाडि बढ्ने होडबाजीले रक्तचाप पनि माथि पुर्याउँछ । यसको मतलब रक्तचाप नियन्त्रण गर्न विकासको गीतमा रोक लगाएर जोगी नै बनेर हिँड्नुपर्छ भन्न खोजेको अवश्य होइन । तर रक्तचाप बढ्ने रोग लागेका व्यक्तिले यस प्रकारको व्यस्त जीवन शैलीमा परिवर्तन ल्याउन सके रक्तचाप नियन्त्रण गर्न सजिलो पर्छ ।

यो पनि हेर्नुहोस् : अनुहार बेस्सरी दुख्ने यो कस्तो रोग हो?

निश्चित दिनचर्याअनुसार काम गर्ने, बढी कार्यबोझ नलिने, विवादास्पद काममा हात नहाल्ने, अफिसको काम घरमा कहिल्यै पनि नल्याउने, महत्वाकांक्षी नबन्ने, काममा फलको आशा बढी नगर्ने, असफलतालाई सजिलैसँग स्वीकारी हतोत्साहित नहुने, छुट्टीको दिनमा मिटिङ तथा अफिसका काम छाडेर श्रीमती-श्रीमान् र बालबच्चालाई पनि समय दिने, उनीहरुसँग छुट्टीको समयमा घुम्न जाने, प्रत्येक वर्ष एक पल्ट दुई–तीन हप्ताको छुट्टी मिलाई विश्राम र मनोरञ्जन गर्ने बानी बसाल्ने गर्नुपर्छ । यस प्रकार जीवनशैलीमा परिवर्तन ल्याउन आफूले प्रयास गरे असम्भव छैन ।

नुनको मात्रा घटाउने
उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । रक्तचाप घटाउन खाद्य पदार्थमा नुनको मात्रामा कटौती गर्नु अत्यावश्यक छ । एक स्वस्थ व्यक्तिले दैनिक १०–१५ ग्राम नुनको उपभोग गर्दछ । उच्च रक्तचापको नियन्त्रण गर्न तीनदेखि पाँच ग्रामभन्दा बढी नुनको उपभोग गर्नु हुँदैन । त्यससँगै केही प्रयास यसरी पनि गर्न सकिन्छ । जस्तै खाना पकाउँदा नुन कम राख्ने, अतिरिक्त नुन उपभोग नगर्ने, बट्टाका खाद्य पदार्थ नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन, विस्कुट, चिज, बटर नखाने । स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्न सकिन्छ।

मोटोपन घटाउने
धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । तौल घटाउने विभिन्न उपाय छन् । तर मुख्य सिद्धान्त तौल घटाउन खाद्य पदार्थबाट लिने क्यालोरी (शक्ति) भन्दा कामबाट खर्च गर्ने क्यालोरी बढी हुनुपर्छ भन्ने कुरामा आधारित छ । अर्को शब्दमा भन्ने हो भने काम बढी माम घटी गर्नुपर्छ । पेट मजाले भरे हुन्छ तर बढी क्यालोरीयुक्त पदार्थ खानामा समावेश गर्नु हुँदैन ।

योग गर्ने
मन र मस्तिष्क शान्त पार्न सके उच्च रक्तचाप पनि कम भएर जान्छ । योग अभ्यासको माध्यमबाट मन र मस्तिष्क शान्त पार्न सकिन्छ । स्वास्थ्य भनेकै शरीर र मस्तिष्कबीचको शान्तिपूर्ण सह–अस्तित्व हो । उच्च रक्तचापले यस्तो शान्तिपूर्ण सहअस्तित्वलाई खलबल पार्छ । यो खलबलीलाई ठिक पार्ने तन्त्रयोगका चार खुड्किलामध्ये प्रथम खुट्किलो हठयोग (आसन) हो भने अन्तिम अर्थात् चौथो खुट्किलो राजयोग हो । ध्यानको एक माध्यम हो राजयोग । राजयोग उच्च रक्तचाप घटाउने अत्यन्त प्रभावकारी उपाय हो । यस प्रकार तन्त्रयोगले हठयोग र राजयोगजस्ता वैज्ञानिक उपायद्वारा शरीर र मस्तिष्कलाई शान्त बनाइ उच्च रक्तचाप तथा मुटुका अन्य रोगको उपचारमा सहयोग पुर्याउँछ । यसले मुटुको रक्षाका लागि दुवै प्रतिकारात्मक र उपचारात्मक महत्व राख्छ ।

नियमित व्यायाम गर्ने
व्यायामले रक्तचाप घटाउन मद्दत पुर्याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने आदि जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका खेल्छन् । यी व्यायामहरु नियमित गर्ने बानी बसाल्नुपर्छ । सबैभन्दा सजिलो र प्रभावशाली व्यायाम नियमित रुपमा दैनिक एक घन्टा कम्तीमा चार किलोमिटर प्रतिघण्टाको दरले हिँड्नु हो । हिँड्दा शरीरलाई असजिलो हुनु हुँदैन । छाती दुख्ने, दम फुल्ने अवस्थासम्म पुग्ने गरी व्यायाम गर्नु हुँदैन । विस्तारै सुरु गरेर पछि रफ्तार बढाउँदै जानुपर्छ ।

खानपानमा ध्यान पुर्‍याउने
उच्च रक्तचाप भएका व्यक्तिहरुले दैनिक खानपानमा विशेष ध्यान दिनु पर्दछ । खानामा नुन, चिनी, घिउ, तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, युरिक एसिड, उच्च रक्तकोलेस्ट्रोल पनि हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानपिनमा विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । मुटु र आहारबारे पनि चनाखो हुनुपर्छ ।
----------------
स्रोतः स्वास्थ्य खबरपत्रिका



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.