"हिजो गाई व्यायो" आमाले भन्नुभएको । | Hamro Patro

ब्लग - साहित्य / लघुकथा

"हिजो गाई व्यायो" आमाले भन्नुभएको ।





लेखकः सुरज सुवेदी
भोजपुर तर हाल बिराटनगर
https://www.facebook.com/surazz.subedi

"के पायो?" मैले सोधे ।
"छोरी । सपक्क परेकी आफुजस्तै कोईलि छोरी ।"
बोलीको लवज सुन्दा थाहा हुन्थ्यो आमा खुशि हुनुहुन्थ्यो ।

----
कोईलि गाई थियो हाम्रो घरमा । हामी सानो हुँदादेखिनै पालेको । वच्चा हुन्जेल उसको सिङसँग डर लाग्थ्यो हामीलाई । भरसक उसको नजिक नपरी परपर भाग्थ्यौ । तर घाँस काट्न सक्ने भएपछि दुरि कम भयो । घाँस हालेको गुन कोईलिले विर्सिएन । चिन्न थाल्यो । मित्रता झाङ्गियो । 'कोईली' भन्दै टाँङमुनिवाट छिर्दा पनि केहि गर्न छोड्यो ।

भोक लाग्यो भनेर कोइली कहिल्यै कराएको याद छैन । दिनभर खान नपाउदा पनि उसको पेट कहिल्यै टाँसिदैनथ्यो । सानो कदको होचो पुन्टे गाई वाच्छो चाटेरै अघाउथ्यों । गाँउका मान्छेले नाम राखिदिएका थिए¸ 'सन्तोकी गाई' ।

विठ्याई नभएको होईन । कोईली दुध लुकाउथ्यो । उसले ढाड कुप्रो पारेर बल गरेपछि दुधको छिर्कै झर्दैनथ्यो । बाच्छोले खाएको थुनपट्टि भने दिन्थ्यो ।

"बानि बिगारेको तपाईले हो, अलिकति दुहेर छोड्दिहाल्नुहुन्छ अनि ।" आमा बुवासँग रिसाउनुहुन्थ्यो ।
"ठिकै छ । वाच्छो हुर्काउछ ।" बुवाको रेडिमेट जवाफ थियो यो ।

----
मैले पनि दुध दुहुन कोहिली गाईकै थुनवाट सिके । दुईचारपटक लात्ति पनि हान्यो । गल्ति मेरै रहेछ । नङ नकाटी दुहेको कुरो वुवाले थाहा पाउनुभयो । गाली गर्नुभयो । नङले थुनमा चोट लागेकाले पो रिसाएको रहेछ गाई ।

कोईली वुढि हुँदै गएको थियो । हामिले जानिकनै आठ वाच्छा, वाच्छि जन्माईसकेको । अगाडि तीन होला । 'एघार बेते' भन्थे सवैले ।

एकदिन सुँईके खेतमा चर्न गएको वेला कोईली बितेछ । गाँउलेले मरेको खवर सुनाईदिएन् । उकालो चढ्ने वेला नसकेर ढलेछ अनि उठ्न सकेनछ । देख्नेहरुले भनेअनुसार सँगै चर्न गएकी वाच्छि कस्तरी अत्तालिएर यता र उता कुदिछे । कसैसँग सहयोगको याचना मागेजस्तोगरी । बुवाहरू हेर्न जाँदा कोईलीको लाश नजिकै उभिईरहेकि थिई रे । सानै त थिई । कोईलीलाई पुरेर उकालो ल्याउने वेलामा घर आउनै नमानेकि रे । आमा त सुनेर रूनुभएछ ।

आमाले फोनमा सुनाउदा म भावुक भएको थिँए । कोईली निकैबेरसम्म दिमागमा घुमिरह्यो ।

----
कोईलीले वहर तथा वाच्छी दुवै जन्मायो । कुनै काला तथा कुनै झालि त कुनै मालि । तर अन्तिमपटक जन्माएकि बाच्छि भने कोईली थिई । त्यहि खेतमा यताउता अत्तालिएर कुद्ने । ठ्याक्कै आमाजस्तै । रूप,स्वभाव, व्यवहार सप्पै । दशैमा घर जाँदा पुरानै गाई नयाँ भएर आएजस्तो लागेको थियो । अवतार नै जस्तो ।

सानी वाच्छी वढ्दै गएसँगै गाईको थलामा रौनक आयो । 'बाबा' राखिदिनुभएछ आमाले नाम । उ सवैकि बाबा भई । हामीले 'सानि कोईली' पनि भन्यौ । उसका नाम धेरै भए
उ प्यारि हुँदै गई । उसको दाजु र सानिमा पनि थिए¸ बुबाले वेचिदिनुभएछ । उनिहरू सारै छुच्चा थिए । हान्थे । त्यसैले माया लाएनन् । सानि कोईलि भने विल्कुलै भिन्न । उसलाई हामी गएर कन्याईदिए आनन्द लाग्थ्यो । हामिले खाएको हेर्दै बल गर्थि । जे खुवाईदिएपनि खाने । अझ खोले दिँदा त भुस उघाएर खुवाईदिनुपर्ने । खस्रो जिब्रोले चाटिचाटि खान्थी।

घरमुन्तिर सुर्काका गरा थिए । बाँसले वारेको थियो वरिपरिवाट । कोईलिलाई त्यहि लगेर पगाहा लगाउनुहुन्थ्यो बुवा । मान्छेले काटेजसरी मिहिन पारेर घाँस चर्थि उ । त्यति गरेर थोरै पानी दिनासाथ अघाईथाल्थि । पाल्नलाई सारै सजिलो ।

फेरि थलामा लगाईदिएको घाँस पनि छर्दिनथि । खोले घोप्ट्याएको थाहा छैन । बिस्तारै हामी छोराछोरी पढ्नलाई शहर निस्किएपछि कोहि घरमा भएनौ । । उ नै घरकी छोरि थिई ।
हामी दशैमा घर जाँदा उ ब्याउने थिई ।

आमा अफिसवाट आउनसाथ 'बाबा' भनेर वोलाउनुहुन्थ्यो । उ चंख भएर हेर्थि ।

----
दशैं सकिएपछिको एकदिन:
बाबाले घाँस खाईन । पानी पनि खाईन । स्वाँ स्वाँ गरेर नाकबाट हावा मात्र फालिराखि । बसेपछि उठ्न र उठेपछि वस्न सकिन । जिउ थेग्न नसकेर थर्थर काँपेजस्ति भई । हामि चिन्तित भयौ, बाबा विरामी परि ।

भोलिसम्म हेरौ भन्ने कुरा भयो । तर भोलिपल्ट पनि निकै भएन । आमा राती वाह्र वजे हेर्न जानुभएछ । त्यसरिनै उभिईरहेकि थिई रे !

भोलिपल्ट बेलुकीपख दबाई खुवाउने भयौ । पेटको वाच्छालाई असर गर्छ कि भनेर पर्खिएका थियौ । निको नभएपछि जोखिम लिनैपर्यो । उसलाई मनपर्ने केरामा दबाई मिसाएर खुवाउन खोज्यौ । निल्नै सकिन । घाँटिमा केहि अड्किएजसरी खोकिरहि । जेनतेन तातो पानिले ठेलेर खुवायौ ।

भोलिपल्ट पनि दबाई खुवाउन उस्तै चर्को पर्यो । पर्सिदेखि परेन । कलिलो घाँस खाने भई । उसलाई विहानै कलिलो घाँस खुवाउन शितमा घाँस काट्न पनि गए । बाबा निको भई ।

तिहारमा उसलाई पुजा गर्यौ । पुजामा भन्दा पनि नाङ्लाको रोटिमा वल गरि उसले । टिका, माला लगाईदिएर सिँगार्यौ ।

तिहार सकेर यता फर्कनेवेला "चाँडै ब्याउनु है" भन्दै कान तान्देर हिँडेको थिए ।
पछि आमाले फोन गरेर सुनाउनुभयो ।

" के पाईन्? " मैले सोधेको थिँए ।
"छोरो ।" आमा हाँस्नुभएको थियो ।

----
आमाको फोन आयो। उहाँको आवाजमा मिसिएको गम्बिरताले मलाई बिचलित पार्यो ।

"वोलि मधुर छ त , के भयो? विरामी हुनुहुन्छ?" मैले सोधेँ ।

"दुखद खवर छ कान्छा ।" उहाँ भक्कानिनुभयो ।

"के भयो?" म आत्तिए । "बाबा लडेर मरेछ ।" निक्कै साहास गरेर आमाको वोलि निस्कियो ।

मेरो वरपर चकमन्न भयो । केहि सोच्नै सकिन । उहाँ भन्दै हुनुहुन्थ्यो "कहिल्यै चर्न नजाने ठाँउमा गएर लडेछ"  सँधै आउने गाई बेलुका घर आएनछ । कहाँ गयो भनेर भोलिपल्ट खोज्दा मृत भेटिएछ ।

"वाच्छो? " मलाई बाच्छोको पिर पर्यो ।

बाच्छो एकमहिनाको मात्र भएको थियो । दुधदानी किनेर दुध खुवाउन थाल्नुभएछ । आमाको काखमा अर्को बच्चा थपिएको थियो ।

----
बेलुका फेरि आमाले फोन गर्नुभयो । गाँउबाट सानो कोईलो बाच्छि किनेर ल्याउनुभएछ । खुशीको कुरा त्यसले सानो बाच्छोलाई हानेनछ ।


-----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.