वनभोज | Hamro Patro

ब्लग - साहित्य / लघू कथा

वनभोज




   दिलिप किसान - Oct 04 2016

भोलि साथीहरुले के-के गर्लान् , के-के खेल्लान् ,गीत गाउलान् ,नाच्लान्, कति रमाइलो गर्लान्।अनि पर्सि विद्यालमा सुनाउने छन्।



मुनाल आज ज्वरो आएर विद्यालय नगएकोले उसले भोली हुने वनभोजको खबर साझ मात्रै पायो।घरमा खाना खाने बेलामा कुरा गर्यो तर बुवाले सन्चो नभएको हुँदा सामान्य हिसाबले नै पर्दैन भन्नू भयो। उसले दोहोर्‍याएर सोधेन, ऊ चुप लाग्यो ।सानै देखि ऊ भिन्न स्वाभावको थियो।गिरिस ऊ भन्दा केही माथिल्लो कक्षामा पढ्थ्यो ।ऊसले एकदिन तेरो बाउ भनेर कुनै साथीलाई गाली गरेको मुनालले सुन्यो र सिधै प्रधान अध्यापक सङ्ग सिकायत गर्न पुग्यो। यो सुनेर सबै गुरुहरु दङ्ग परेर हाँसे।आज सम्म धेरै विद्यार्थीहरु त्यो विद्यालयबाट पढेर गैसकेका थिए र धेरै अझै पढ्दै पनि थिए तर अरु कसैलाई दिइएको सामान्य गालीको लागि अर्को कुनै छात्रले गरेको सिकायत यो पहिलो थियो।उसले केबल पढिरहेको थिएन पढेका कुराहरु व्यबहारमा उतार्ने कोसिस गर्दै थियो।यति सानो उमेरमा नै ऊ कति धेरै बुझ्ने भैसकेको थियो।गुरुहरुको मुहार मा बेग्लै आनन्द प्रष्ट देखिन्थ्यो। हेडसरले मुनाललाई देखाउन कै लागि भए पनि गिरिसलाई बोलाएर झपार्नु भयो। पछि ऊसलाई बाटोमा गिरिसले तेरो बाउ भन्दै जिस्क्याउँदै शब्दको अर्थ सोध्यो तर उ चुपचाप बिना प्रतिक्रिया घरतिर हिड्यो।उसलाई वास्तवमै त्यसको अर्थ कसरी नराम्रो थाहा थिएन मात्र यत्ति थाहा थियो कि त्यो गलत हो।भोलिपल्ट फेरि सिकायत गर्यो।गिरिस अचम्ममा पर्यो।ऊनिहरुको घर नजिकै थियो।मुनाल उसको भाइ सरह नै थियो।प्रायः सङ्गै खेल्थे तैपनि सिकायत गरेछ।ऊसले बुझ्यो कि कोहि गलत छ भने मुनालले कसैलाई नछोड्ने रहेछ। हुन त ऊसले त्यति ठुलो पराक्रम केही गरेको थिएन तरपनि उसको सच्चाई एउटा नौलो रोचक प्रसङ्ग थियो।त्यो दिनबाट मुनालको चर्चा केबल विद्यालयमा मात्र सिमित रहेन चियापसल,चोक,चौतारी हुँदै सबै घर घरमा पुग्यो र उ एउटा उदाहरण बन्न पुग्यो।
           

मुनालको बोली केही खस्रो थियो।खासै नचाहिने कुरामा बोल्दैन थियो।तर जब बोल्थ्यो,उसको कुराले मन छुने मात्र हैन प्रायः दुख्थ्यो।उसको बोली सिधा अनि कडा सुनिन्थ्यो।कानमा पर्दा कान दुख्ने अनि छातीमा पर्दा दिल दुख्ने।त्यसैले उसका साथीहरु सिमित थिए ।उसले सबैको लागि दिल खोलेको नै थिएन ।ऊसलाई आवश्यक नै थिएन सायद।तर उ गलत भने हुदैन थियो। मजाकमा पनि उसले केही हदबन्दी लगाएको थियो सायद। कुनै-कुनै बेला मजाकलाई नबुझी माहोल नै बिगार्थ्यो। ऊ सङ्ग मजाक गर्न सक्ने केबल एउटा मात्रै मान्छे थियो सम्शेर।ऊसलाई पनि मुनाल गाली त गर्थ्यो तर मुनालको दिल बुझिसकेको हुनाले उसले चित्त सानो पार्दैन थियो बरु उसको मनस्थिति नै परिवर्तन गर्ने खुबी थियो सम्शेर सङ्ग।
       

घरमा आमाले जे खाजा बनाएको हुन्थ्यो खान्थ्यो, बनाएको थिएन केही गुनासो गर्दैन थियो। बोलीमा चेपारो उसलाई मन पर्दैन थियो।साथीहरूसङ्ग त ठिकै हो ,घरमा बुवा-आमा ले पनि "मेरो बाबू ,मेरो राजा अलि खाउन बाबा हेरत दुब्लाएर हड्डी देखिसक्यो" भनेर माया देखाउँदा उसलाई अफ्ठेरो हुन्थ्यो, अनि भन्थ्यो "यस्तो चेपारो घसेको मन पर्दैन, खाना जति रुच्छ खाएकै छु नि।"कहिलेकाहीँ आमा झोक्किन्थिन "यस्ताले कस्तो स्वास्नी पाउला खै ?" "कस्तो हुनु नि सिधा-सिधा कुरा गर्ने" ऊ भन्थ्यो। घरमा अरु कसैको नराम्रो कुरा भएको सुन्नै चाहँदैन थियो।ऊ भन्थ्यो "कि उनिहरुकै अगाडि गएर भन्नू ,नत्र म नभएको बेला कुरा गर्नु तर मेरो अगाडि कसैको कुरा नकाट्नु।" कहिलेकाहीँ अनायासै आमाले अरुको बारे नराम्रो बोलेको सुनेमा खाँदै गरेको भाग छोडेर उठिहाल्थ्यो।पछि त आमा पनि सजग भैसकेकी थिइन्। खाना खाइसके पछि मात्रै कुरा झिक्थिन् तर उ आफ्नो कोठातिर दौडि हाल्थ्यो।"यस्को अगाडि त केही भन्नै हुन्न भन्या" आमा भन्थिन् ।"सबैले गर्छ्न त अरुका कुरा हामीले गर्दा के भयो त ? " उ भन्थ्यो "सबैको आमा र मेरि आमामा केही त फरक होस्।" आमालाई थाहा थियो कि यदि ऊ सहि छ भने सम्झाउन असम्भव छ,त्यसैले आफैं चुप लाग्थिन्।
           

वनभोज त जान मन थियो ऊसलाइ तर हुँदैन भनेपछी दोहोर्‍याएर सोध्दा पनि त बुवाको जवाफ एउटै त हुन्थ्यो।रातभरी ऊसलाई छट्पटीले खासै निन्द्रा परेन। भोलि साथीहरुले के-के गर्लान् , के-के खेल्लान् ,गीत गाउलान् ,नाच्लान्, कति रमाइलो गर्लान्।अनि पर्सि विद्यालमा सुनाउने छन्। यस्तै सोच्दा-सोच्दै कतिबेला भुसुक्क निदाएछ। बिहानै आमासँगै बिउँझियो अनि बुवा सङ्गै दुध बेच्न डेरितिर लाग्यो।सम्शेरको घर पनि डेरिसङ्गै जोडिएको थियो। डेरि नजिकै पुग्दा साथीहरू भेला हुँदै रहेछ्न्। सम्शेरले उस्लाई देखिहाल्यो।अनि दौडिँदै ऊ सम्म आयो।मुनालको मुहार केही मलिन भएको कुरा उसका बाबुले महसुस गरि सकेका थिए।त्यसमाथि सम्शेरले आएर अनुरोध गरेपछी उहाँले अनुमती दिनुभयो।"तर धेरै चिल्लो पिरो नखानु अनि धेरै नउफ्रीनु नि फेरि, ज्वरो फर्किन सक्छ ।" मुनाललाई सम्झाउने हिसाबले बुवाले भन्नुभयो ।मुनालले "हस!"भन्दै टाउको हल्लायो।अनि के कति रकम उठाएको छ भन्नू भयो ।सम्शेरले १ माना दूध ,१ गिलास चामल र १०-१०रुपैयाँ उठाएको बतायो।बुवाले १० रुपैयाँ र त्यहीँ बेच्न लगेको दूध बाट १ माना उनीहरुलाई दिनु भयो।
                 

"मुनाल पनि जाने भो!" कराउँदै सम्शेर घरमा जम्मा भएका साथीहरू तिर दगुर्यो, मुनाल पनि सङ्गै दगुर्यो।सम्शेर ले मुनालको लागि पनि चामल हाल्यो।अनि कसैको घरबाट आलु, कसैकोबाट काउली,कसैकोबाट गोलभेंडा, प्याज,अदुवा, लसुन,खुर्सानी आदि गर्दै हिजोको सल्लाह बमोजिम नै सबै कुरा जम्मा भै-सकेको थियो।खिर पकाउन को लागि केही मरमसला, चिनी,नुन,तेल,केराउ चैंं हिजो नै किनेर सम्शेर को घरमा लगेर राखेको रहेछ। केराउ हिजो बेलुका नै भिजाएको रैछ।सबैले घरबाटै आ-आफ्नो लागि चम्चा,थाल र केही पकाउने भाडा बोकेका थिए। मुनालको लागि भाडाहरु पनि सम्शेरले नै हाल्यो।
           

 सुर्योदय हुनै लाग्दा सुनौलो प्रकाशमा फुरुङ्ग हुँदै हल्ला खल्ला गर्दै नजिकैको वनमा भोजको लागि उनिहरुले यात्रा प्रारम्भ गरे । आज मुनालको मुहारमा धेरै चमक थियो कि बिहानीको सूर्यमा छुट्टाउन मुस्किल थियो।

--------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.