दशैंको दक्षिणा अनि मेरो चलचित्र हेर्ने सपना | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / लघू कथा

दशैंको दक्षिणा अनि मेरो चलचित्र हेर्ने सपना




   Suyog Dhakal - Oct 14 2016

रमाइलै रमाइलाको विचमा दशैंका १५ दिन विजुली चम्केको भन्दा छिटो बित्थे



कुरा त्यतिबेलाको हो जब म स्कूलमा अध्यन गर्थे , घटस्थापनाबाट पूर्णेसम्म डल्लै बिदा हुन्थ्यो अनि सरकारी बिद्यालय भएकाले दशैं भ्याकेशन वर्कहरु हुदैन थियो । दशैं नितान्त दशैं थियो, यी १५ दिनले १५ लाख किलोग्राम खुशी दिन्थे ।

पहिलो रमाइलो लुगा किन्ने, दोश्रो रमाइलो खसी काट्ने अनि तेश्रो रमाइलो दक्षिणा जम्मा पार्ने । यी रमाइलै रमाइलाको विचमा दशैंका १५ दिन विजुली चम्केको भन्दा छिटो बित्थे , दशैं आँउथ्यो अनि हराउथ्यो, अर्को वर्षको क्यालेण्डरमा खोज्नुपर्ने रातो मितीको रुपमा ।

खँसी खानमा भन्दा काट्नमा रमाइलो हुन्थ्यो, दशमीको टीकाको रातो केही दिनसम्म निधारमा होलीको रङ्गजस्तै बसिरहेको हुन्थ्यो, दशैं र तिहारसँगै आउने भएकाले पनि दशैंको दक्षिणा तिहारको देँउसीले दोब्बर पारि तुल्याउथे त्यसमाथी आफू त परियो भट्याउने मान्छे, अरुभन्दा मेहेनत पनि धेरै अनि आय पनि धेरै हुनपर्छ भन्ने मान्यता थियो । स्कूले जिवनभरि मैले दशैंको दक्षिणा जोगाइरहे अनि देँउसी खेलेर दोब्बर पारिरहे, कहिलेकाही त दोब्बरभन्दा धेरै ।

दशैंकाे शुरुवातमा  कपडाको रौस हुन्थ्यो, त्यसपछी खँसी काट्ने अनि दशैंको फाइनल रमाईलो हो दक्षीणा, नयाँ नोट अनि सुटुक्क पैसा लुकाउने ठाँउ कतै किताबहरु भित्र त कतै ओछ्यानको डस्नामुनी ।

धेरै दक्षिणा दिने घर या आफन्त त्यस वर्षको सुपरहिट प्यारो हुन्थे, तर रिस चाँही त्यतीबेला उठ्थ्यो जब आफू सरहको अरुलाई धेरै दक्षीणा दिएर आफूलाई थोरै दिन्थे । दक्षिणा नपाउने र गोडामा ढोग्नुपर्ने ठाँउमा वर्षौंसम्म टिका लगाउन गइएन ।

एउटा वर्षको दशैं अन्य वर्षहरुजस्तै औसतरुपमा बितिरहेको थियो, त्यसवर्ष एक्कासी दक्षीणाको भागमा वृद्धी भयो, म परपरको मामाघर नि गएँ, हजुरआमासीत अन्य ठाँउहरु पनि गए अनि सधैँ गर्इने ठाउँमा पनि दक्षिणाहरु राम्रै हातपर्यो ।

मलाई त्यो सालबाट आफु अलिक हुर्केको अनि वयस्क भएको, अझ भनौ तन्नेरी भएको अनुभव भएको थियो, दक्षीणाको ब्यवस्थापन पनि मलाई वयस्क स्टाइलमै गर्न मन थियो जस्तै कि केही किनेर, कतै गएर या फिल्म हेरेर । फिल्मवाला अप्शन मलाई शानदार लागेको थियो तर फिल्म हेर्न जानलाई एकजना साथी नभईकन आँट आएन ।

अब मैले त्यो पैसामा फिल्म देख्न थाले, हलको टिकट किन्ने झ्यालको गन्ध पाउन थाले, अनि द्धन्द अनि गीतका दृश्यहरु कल्पन थाले । नजिकैको हलमा प्रायशः हिन्दी चलचित्रहरु र ती पनि एकदमै पुराना अनि उति रहर नलाग्ने, त्यो हलको सिटहरु पनि काठका थिए, माटोको भुई थियो अनि टर्च बालेर फिल्मको विच्चमा एउटा कपाल पालेको दाजु टिकट जाँच्न आँउथे । मलाई नेपाली चलचित्र हेर्न थियो । क्लासमा केटाहरुलाई गफ दिन पनि चल्तीका चलचित्रकै मज्जा आउनेगर्छ, मैले इटहरीको चलचित्र घर जाने निर्धो गरे, तर साथी पाईन । स्वर्गीय श्रिकृष्ण श्रेष्ठ र निरुता सिंह अभिनीत आफ्नो मान्छे चलिरहेको थियो । मेरो चलचित्र फेन्टासी, मलाई त्यहा जानै पर्ने गरी उत्कट चाहना भयो ।

कसैलाई कुरा नचुहाउने साथीको खोजी भयो, आफू सरहका साथीहरु टिकट काट्न साना हुने र मज्जा नआउने निक्र्योल गरे, मेरो खोजी अब शुरु भयो, चलचित्र सहयात्रीको ।

दक्षीणाको पैसालाई थपथाप पारेर नाताले भतीजो पर्ने तर गाँउले दौतरी प्रकाशले बजारबाट फोल्ड हुने घडी ल्याएछ, म मनमनै त्यसको बुद्धि देखेर हाँसे, फिल्म नहेरेर के घडी लाइरहेको होला भन्ने मनमा आयो । फिल्मको टिकट तल बसेर हेर्यो भने रु १२ थियो, रु ६ को गाडीभाडाले जानआउन पुग्ने थियो अनि हाफटाइममा पापडको रु ५ जून दुइजनाले बाडेर खाने मेरो हिसाव थियो । यो रफ क्यालकुलेशनले रु ४२ सम्म दुइजनालाई पुग्ने मेरो इष्टीमेशन भयो । ५० को खुद्रा एक ठाउमा छुटै राखे, घरमै कामगर्ने तिर्थलाई गुपचुप आफ्नो योजनामा सामेल गराए । तिर्थ मभन्दा केही उमेर बढीको मान्छे हो, मैले भन्दा धेरै भोटो फटाएको छ अनि मुख्य विशेषता के हो भने उसले कसैलाई भन्दैन ।

चलचित्रको त्यो चाहनाले हामीलाई हलसम्म पूर्याए, घरमा अरुलाई भनिएन । केटाकेटीले चलचित्र हेरेको नराम्रो मानिन्थ्यो, अझै यो कुरा परिवारका धेरैलाई थाहा छैन । तिर्थले टिकट काट्यो, उस्ले टिकटलाई टिकस भन्थ्यो, मलाई हाँस उठ्थ्यो ।

राम्रो लुगा र जुत्ता लगाएर हिँड्दा घरमा शकांहुने भयले हामी सुरुवाल र चप्पलमै हल पुग्यौँ, हलको माहाैल अराजक रमाईलो थियो । मलाई त्यहासम्म पूर्याएको मा दशैंलाई मनमनै धन्यवाद दिए, दशैं त वर्षमा दुइपल्ट आओस् जस्तो लाग्यो । त्यहाँ धेरै खाल्का मान्छेहरु थिए, कोही परिवारसित आएका, कोही साथीसीत अनि कोही उमेर पुगेकाहरु हुनेवाला जिवनसाथीसित, प्रेम जोडीहरु र यी धेरैजसो प्रेमजोडीहरु चाउचाउका प्याकेटहरु आदि लिएर छिरेका थिए, उतिवेला चाउचाउको मुल्य रु ११ गोटाको थियो ।

मेरै उमेरका दुइजना राम्रा लुगा लगाएका सुकुमारी केटीहरु पनि थिए, शायद आफ्ना बुवा या काकासँग आएका हुनपर्दछ । चलचित्र हेर्दै गर्दा मैले ति केटीहरुलाई धेरैपटक हिरोइनसँग दाँजेर हेरे अनि आफूलाई हिरोसँग । मलाई उनिहरु कति राम्रा लाग्यो त्यतीवेला अझैपनि वर्णन गर्न शब्द र भावना छैन, फिल्मको भावनाले पनि सुन्दरता थपेको हुनपर्दछ ।

मैले रु ५ का दुइवटा पापड किने हाफ टाइममा, जेम्स क्यामरुनको टाइटनिक पनि त्यती रोमान्टीक लागेन जति त्यो चलचित्र थियो, गरिब हिरोको धनीकी छोरीसँग लभ पर्यो । म आफु पनि त्यस्तै गरिब हुन पाए हुने भन्ने लाग्यो, हाहा संझनामा पनि हाँस उठ्छ ।

चलचित्रका केही सिनहरुजस्तै बच्चाले अदालतमा बाेलेको, रोएको अनि हिरोले दुख्ख गरेको आदीहरुले मेरा पनि आँशु नखसेको हैन, अँध्यारोमा मैले तिर्थलाई हेरिन बरु ति सुकुमार केटीहरुतिर नजर लाए ।
चलचित्र हेरेर धरान विराटनगरको लोकल बस चढेर हामी घर फर्किदा साँझ परिसकेको थियो, म भान्साबाट छत उक्लेर पूजाकोठामा छिरे, तिर्थले लुकाएर राखेको हिजो काटेको घाँसको बाेरा लिएर घर पस्यो । चलचित्र हेरेको शानले मलाई गर्व दिइरहेको थियो, तर चलचित्रका बारेमा कहिले स्कुल खुल्छ र साथीहरुलाई सुनाँउला भन्ने भयो ।

मेरो मुखमा उहिलेका बाजेका पालामा भन्ने गीत धेरै पछिसम्म घन्किरह्यो, त्यस वर्षको तिहारमा देँउसी खेल्दा आफूलाई मनपर्न खोजेकी एकजना सखीको घरमा यही गीतमा नाँचे, गीत चाँही रिक्शामा बाेकेको एप्लिफायरवाट बजाइयो, दुइजना साथीहरु मज्जाले नाच्न जान्ने थिए, उनिहरुको हिन्दी गीतमा देखाइएको नाचको अगाडी मेरो नजानिदो नाच पक्कै हीट खाएन तर जस्लाई देखाउन त्यसो गरेथे उन्ले ताली दिइन । खानेकुरा प्रशस्तै दिए पनि दक्षिणा चाही केवल ११ रुपैया दिए, हामी सोहोरेर हिड्यौ, मैले त्यस वर्ष तिहारको देँउसीको पैसालाई थपेर एउटा ब्रिक गेम किनेको थिए ।

दशैंको दक्षिणाले मलाई चलचित्र हेर्ने रहर र साहस दियो, बेलाबेलामा तिर्थले उहीलेका बाजेका पालामा भन्ने गीत नगाईराख फेरि काकालाई शंका हुन्छ हामीले टिकस काटेर फिलिम हेरेको भन्थ्यो तर अझै कसैलाई थाहा छैन ।

विस्तारै सीडीमा हिन्दी फिलिम हेर्ने चलन बढ्यो, दादाले सिडि, डेग उपहार पठायो, चलचित्र मन्दिर उति गइएन । अहिले पुराना दशैंको याद आँउदा मलाई ति दुइजना चुटुक्क परेका केटीहरुको याद आँउछ, अब ती पनि म जस्तै ठूला भइसके होलान । त्यो हलमा एउटा संसारकै छोटो प्रेमकथापनि लेखियो जस्लाई आज हाम्रो पात्रोमार्फत तपाइका लागी कोसेली । कस्तो लाग्यो, भन्नुहोला ल ।

------------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.