"शंका" | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / लघू कथा

"शंका"





महेश २८ वर्षको भयो अनि हामीले विदेश मा सङ्गै झण्डै डेढ वर्ष बिताईसक्दा, म ऊसको जिन्दगिबाट धेरै नै प्रभावित छु। उसको बोल्ने शैली अनि उ आफ्नो कुरा प्रती ढुक्क हुने बानी साह्रै  मन पर्यो मलाई। धेरै साथीहरुले श्रीमतीसङ्ग फोनमा कुरा गरेको सुनिनथ्यो हालाकी ऊनीहरु सुनाउन चाहिरहेका हुँदैन थिए।प्रायः प्रश्न हरु- त्यहाँ किन गाको? किन नभनी गाको ? कति बेला गाको? कोसंग गाको? एक्लै गको भए किन एक्लै गाको? किन कसैलाई साथमा नलगेको? किन फोन ढिला उठाएको? ...आदि प्रश्नहरु आवेगमा हल्का रिसाएको जस्तो खश्रो बोलिमा सोधिरहेका हुन्थे उताबाट के जवाफ आउँथ्यो थाहा भएन। कहिले फोन यत्तिकै काटिन्थे कहिले बिस्तारै ऊनीहरूआफै शान्त भएर आउँथे । सायद उताको प्रतिक्रिया अनुसार महेशले पनि यस्ता कुराहरू नसोध्ने हैन सोध्थ्यो तर नरम बोलिमा सामान्य भएर: कहाँ गएकी थियौ? अनि एक्लै गाको बोर लागेन मलाई त एक्लै कतै जानू पर्यो भने साथी नभै जाने मनै लाग्दैन भन्या? फोन आको थाहा पाएन हो? त्यपछी घरपरिवार,आफन्त सबैको हालखबर बुझेर अन्त्यमा मायाका कुरा गरेर सम्वाद टुंगिन्थ्यो।सुर्ती चुरोट जाँडरक्सी केहिको लत थिएन। रक्सी चैं  कहिले काहीँ त्यो पनि त्यस्तै अवसरहरुमा धेरै परिकार हरु मासु, फलफूल, सलाद, दालमोठ,पापड, सबै तयारी गरेर मात्र, त्यो पनि साथीहरूलाइ हल्का साथ मात्रै दिन्थ्यो। जिन्दगी र हरेक सम्बन्धहरुको बारेमा धेरै प्रष्ट थियो ऊ।

साथीहरुलाई सहयोग गर्ने , कुनै कुरा चित्त बुझेन भने अगाडि नै चित्तबुझ्दो गरि खुलस्त भन्ने।काममा पनि जिम्मेवार। हुन त बाउको कम्पनी हैन तर नुन खाएपछि नुनको सोझो गर्नु पर्छ ऊ भन्थ्यो। तर अरुलाई यसो गर उसो नगर भनेर नमागी सल्लाह दिदैनथ्यो । ऊसले भन्थ्यो यदि मनले खाको साथी छ भने सम्झाउँछु नत्र अहँ । एक दिन अचानक उसलाई चुरोटको धुवाँ उडाउदै गरेको देखेँ, ऊ जानी नजानी सर्को लगाउँदै रहेछ । कोठा भरि कुइरी मण्डल बनाएछ ।के भयो ? सोधेँ । आज कम्पनीमा केटाहरू कुरा गर्दै थिए  कस्को हो बुडि फेसबुकबाट माया गाँसेर फरार भएको रे । अनि के नौलो भो त यस्ता हल्ला त रोजै आउँछ्न् त मैले भने ।

कुरा बाँकी नै छ, उस्ले भन्यो । भन् न त, मैले भनें।कम्पनीबाट फर्किँदा बसबाटै बुडिलाई फेसबुकमा संदेश पठाको जवाफ आएन फोन गरेको फोन उठेन, फोन बन्द छ ।मलाई त तनाब हुन थाल्यो त्यो अघि केटाहरुले कतै मेरै कुरा गरेको त हैन । घरमा फोन गरेको उठेन बुवाले मोबाइल बोक्नु हुन्न। अब अरुलाइ फोन गरेर के सोध्ने झन तनाब भो । शंका  बढ्न थाल्यो ।

शंका के पुरै बिश्वास लाग्न थाल्यो कि कम्पनिमा केटाहरूले मेरै कुरा गरेका रहिछन् । बुढीको घरमा फोन गरेर सोध्ने विचार गरें, फेरि सोचें के भनेर सोध्नु अफ्ठेरो लाग्यो सोधिन।शंका बढ्दै गयो ,कोठामा आएको एक घन्टामै मैले धेरै ठुलो मानसिक तनाब खेपिसकेको थिएँ। मनमा अनेक कुराहरु खेल्न थाले।मैले के पुर्याएको थिइन र ? उसैको लागि त यत्रो दु:ख गर्दैछु ,झन तेत्रो माया दिएँ आदि । छातिभित्र मानौ आगो लाग्यो र त्यो आगो लाई आँधिले उडाएर पुरै शरीर भरि दन्किदैछ। आँखा राता ,कान ताता,सास पुरै फुलेर आयो । अझै उसैको नम्बरमा फोन गरि रहें तर लागेन । कोठामा पुगेको २ घन्टा जति भाको हुँदो हो ।

उताबाट  फोन आयो हेरेको बुडिको बुवाको रैछ । पक्कै छोरिकै बारेमा भन्न फोन गरे बुढाले।सोचें उठाउँ कि नउठाउँ दोधार भयो। म त्यो कुरा सुन्न चाहन्न थें ,जुन कुरा सोचिरहेको थिएँ । लागि रहेको थियो कि मेरो सोच सबै गलत होस्। तर फेरि सोचें, म विदेस आको डेढ बर्ष सम्म बुडाले फोन त के मिसकल सम्म पनि गरेका थिएनन् । पक्कै केही गडबड छ,  पक्कै  कुरा त्यहि हो । मैले मानौ छैठो इन्द्रिय बाट त्यो कुरा पहिले नै महसुस गरिसकेको थिएँ। ससुराको फोन  बारम्बार आइरहेको थियो । जे त होला फोन उठाएँ । ज्वाईंसाब दर्शन ! दर्शन बुवा मैले भने । म कुरा बुझ्न एकदमै अतालिएको थिएँ तर गफ सामान्य रूपमै गरिरहेको थिएँ। हेर्नुस न ज्वाइँसाब छोरिलाई हजुरले सम्झाईदिनु पर्यो,हामीले भनेको नै मान्दिन । मेरो मनमा झन् जोडले ढ्याङ्ग्रो बज्न थाल्यो ।मनमनै भनें आफैं सम्झाउनु नि । बुढा भन्दै थिए : हेर्नुस् पहिला त एकदम ठिक थिई तपाइँले मोबाइल पठाएर फेसबुक चलाउन थाले पछि के भो के भो तेस्लाइ । ओहो! गल्ती त मेरै हो नि मैले ब्यर्थै मोबाइल नपठाउनु पर्ने हैट। पहिले त खासै केही थिएन अहिले त अति नै गरि भनेको पनि केही मान्दिन हजुरले सम्झाउनु भयो भने पक्कै मान्छे । आफ्नो जन्मदिने बाउ आमाले भनेको नमान्नेलाइ मैले के सम्झाउनु । आखिर सम्झाएर नि के फाइदा जानू गैइहाली मनमनै सोचें।केही भनिन । फोनमा कुनै केटिमान्छे बोलेको जस्तो सुनियो अनि बुडाले भने ज्वाईंसाब एकछिन ल छोरिलाई होस आयो रे,यत्ति भनेर बुढाले फोन राखे।

खासमा भाको चैं के रैछ त महेश? बुढाले फोन राखेपछी मलाई झन अर्कै चिन्ताले घेर्न थाल्यो । कुरा के हो-के हो? फोन गरें । बुढाले फोन उठाए। बुवा हजुरले के भन्नू भाको मैले त केहि बुझिन ।बुढाले भने :जबदेखी फेसबुक चलाउन थाली के-के समाचार दिने पत्रीकाहरु लाइक गरेकी छे । खाली त्यतातिरको कालेहरुले लुटेको, काटेको, मारेको समाचार मात्रै हेरेर झन्झन् डराएर पहिला हप्तामा एक दिन व्रत बस्ने मान्छे अहिले त शुक्रबार संतोषी माताको, शनिबार शनीदेवको,आइतबार सुर्यको, सोमबार शीवजीको, मङ्गलबार गणेशको व्रत राख्छे  अनि दिनभर पानी पनि खान्न भन्या । बेलुकी अलिकति खाना खान्छे हैरान पारी सकि ,भनेको मान्दै मान्दिन । ऊल्टै हामिलाइ सम्झाउँछे बुडा विदेश मा हुनुन्छ । धेरै खतरा छ। मैले फेसबुकमा हेरेको, तपाइँहरु जे सुकै भन्नुस, म उहाँ को लागि व्रत बसि नै रहन्छु । मलाई केही हुँदैन र उहाँलाई पनि म केही हुन दिन्न भन्छे। उसै त रक्तचाप न्युन छ ,कमजोरिले बेहोस भैछे दिउँसो अनि अस्पताल लिएर आउनु भाको रैछ सम्धीहरुले । यति भनेर ससुरा बाले फोन मेरि बुडिलाई दिनु भयो । मलाई माफ गर मैले भने । लौ किन ? ऊनले भनिन् । त्यो भन्न मिल्दैन , तिमी मात्र यत्ति बुझ कि तिमी जस्तो बुडि पाउन मैले ऊ जुनि मा धेरै पून्य गरेको थिएँ  होला । अनि यो व्रत धेरै नराख हप्तामा २ दिन जति मात्रै राख ल । हेर त बुवा आमा सप्पैलाइ कति तनाब भयो । भनेर सम्झाएँ  महेशले भन्यो अनि यत्ति जाबो कुरामा के साह्रो तनाब भाको जस्तो पुरै चुरोट तानिराको त मैले भने । उसले भन्यो मलाई यो अहिलेको घटना ठूलो हैन । मैले जसरी सोचें ,जसरी त्यति धेरै माया गर्ने बुडिलाई शंका गरें , मेरो अफ्नो सोच प्रती घृणा लाग्यो मलाई यार । हैट्! यस्तो सानो तिनो कुरामा नि चिन्ता लिने हो । कहिलेकाँही यस्तो सोच सबैलाई आउँछ । शंकालाई विस्वासले थिच्नु पर्छ । खै ले चुरोट,खान जान्नु सान्नु छैन त्यत्तिकै तानेको छ । उसको हातबाट चुरोट खोसेर तान्न थालें । उ पनि मनको ब्यथा बिसाएर होला केही शान्त देखियो । बट्टा नै ल्याएछ्स धन्यवाद तँलाई ।

परदेशको जिन्दगी नै यस्तै छ । सकारात्मक सोचाइ र विस्वास नभए गार्‍हो छ। किनकि विदेशमा कल्पना मै रमाउनु पर्छ ,वर्तमान मा दु:ख गरेर सुनौलो भविस्यको कामनामा रम्नुपर्छ।आफ्नो रिस मा नियन्त्रण हुनुपर्छ ,आफ्नो जवानी मा नियन्त्रण हुनुपर्छ । आफ्नो मनलाई लगाम लगाएर राख्न सक्नुपर्छ । अनि अरुले सुनाएका कुराहरु लाई आफैं विश्लेषण गर्न सक्नुपर्छ । सय जना विवहित मध्ये बढीमा ५ गृहस्थी साँच्चै टुट्छ्न् । बाँकी ९५ ले आफ्नैलाई शंका गर्न थाल्छ्न अनि सम्बन्ध कमजोर बनाउछ्न । शंका यस्तो खिया हो जस्ले फलाम जस्तो पक्का सम्बन्धलाई पनि गलाइ दिन्छ । तपाईं सात समुन्द्र पारी हुनुहुन्छ भनेर के तपाईंको बुवा आमाले अर्को छोरा खोज्नु हुन्छ र के उहाँहरुको माया मा कमि आउछ र ??? अझै बढ्छ बरु। हो त्यस्तै हो श्रीमती को माया पनि अझै बढ्छ ,घट्छ त केबल तपाइको विश्वास ।


दिलिप पोखरेल
मकवानपुर गढी-६
हाल : मलेशिया 
इमेलः [email protected]


Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.