"बेस्ट फ्रेन्ड" | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / लघू कथा

"बेस्ट फ्रेन्ड"




   मनोज श्रेष्ठ - Jun 04 2018

"Who is your best friend?"
कक्षा ७ मा पढ्दै गर्दा एक दिन बेन्चमा उभ्याएर अंग्रेजी विषयको मिसले सोध्नु भएको प्रश्न हो यो।
"Miss, My best friend is Manoj"
उस बेला मोहनको आवाजमा यो वाक्य सुनेर म छक्क परेको थिएं। मैले कैल्यै सोचेको थिइन, म कक्षामा कसैको बेस्ट फ्रेन्ड हुन सक्छु।मैले कैल्यै आश गरेको थिइन, सबै सामु मलाई कसैले बेस्ट फ्रेन्ड भनी यसरी संवोधन गर्छ।

"Manoj, what do you think about him?" मिसले बेन्चमा उठाएर मलाई सोध्नु भयो।
मोहनको जवाफ सुनेर यसै पनि म जिल्ल परि रहेथें। मिसको सवालले झनै अवाक बनायो। अब कक्षामा सबै सामु के बोलुं, मोहनको बारेमा! दिमागमा कुनै वाक्य उम्रेको थिएन। आफ्नो अंग्रेजी यसै पनि झुर थियो। अंग्रेजीमा बोल्नु पर्ने हुनाले म मिससित खासै बोल्थिनं।

"Is he your best friend too, Manoj?"
मिसले अर्को सवाल तेर्साइन्, मैले उनको पहिलो सवालको जवाफ नै दिएको थिइनं।
मोहन लगायत कक्षाका सबै साथीहरु मेरो जवाफको प्रतिक्षा गरि रहेझैं देखिन्थे।

कक्षाको ट्यालेन्टेड विद्यार्थीहरुमध्ये एक थियो मोहन। अंग्रेजी विषयमा सबैभन्दा बढी मार्क्स आउथ्यो उसको। यसैले अंग्रेजी विषयको शिक्षकको नजरमा निकै प्यारो थियो ऊ।
ऊ र म बस्ने ठाँउ नजिकै थियो।
यसैले स्कुल जादा आउदा बाटोमा संगै हुन्थ्यौं।
यस हिसाबले ऊ मेरो साथी नै थियो।
कक्षामा पढाइ अनि व्यवहार कुनै कोणबाट नि म राम्रो विद्यार्थी थिइनं। अंग्रेजीमा त सधैं गुल्टिन्थें। बोर्ड परिक्षामाचाही शिक्षकले मार्क्स थपथाप गर्दिन्थे क्यारे, जसोतसो पास हुन्थें।
    "यो मनोज टर्मिनल इक्जाममा त कैल्यै पास हुदैन, बोर्डमा चैं कसरी पास हुन्छ?" कक्षामा सबैले मलाई बिल्ला हान्थे। हात हाल्नेलाई त हातैले ठिक पार्दिन्थें। तर वचनले हान्नेलाई केहि गर्न सक्थिनं। अरुलेझैं अर्काको कमजोरीमाथी बिल्ला हान्ने बानी मेरो थिएन।
"Miss, as much as I know him.." मोहनतिर हेर्दै मैले मिसलाई जवाफ दिएको थिएं,"He is a brilliant student. He is close to me. And yes, I can say he is best friend for me too." आफ्नो टुटेफुटेको झ्याउरे अंग्रेजीमा मैले जवाफ दिए।
कक्षामा सबैले ताली बजाएका थिए, मेरो जवाफ सुनेर। मिस पनि निकै खुसी देखिनु भयो। सायद, मोहनको संगत गर्यो भने म पनि सुध्रिन्छ कि भन्ठान्नु भएकोले होला।
"Ok Mohan.." मिसले मोहनतिर नज़र मोड्दै भन्नु भयो,"Do teach your best friend, how to learn English and how to speak in English." मिसको कुरा सुनेपछि उसले पुलुक्क मतिर हेर्यो। अनि हल्का मुस्कुराउदै मिसलाई भनेको थियो,"Ok miss, I will try my best."
सम्भवत: त्यतिन्जेलसम्म मैले बाचेको जीवनको सबभन्दा मिठो दिन थियो यो। निकै ख़ुशि थिएं म। कक्षाको ट्यालेन्टेड विद्यार्थीमध्ये एक मोहन ठाकुरको बेस्ट फ्रेन्ड बनेको हुँ यति बेलादेखि म।

"तिमी भविष्यमा के बन्न चाहन्छौ?" एक दिन उसले यस्तै सोधेको थियो। जवाफ यति बेला मसंग थिएन।
"तिमी चै के बन्न चाहन्छौ नि?" मैले उल्टै उसलाई सोधेथें।
"म त डक्टर बन्नी हो!" उसको जवाफ यस्तो थियो।
एक वर्षसम्म स्कुलमा हामी बेस्ट फ्रेन्डका रुपमा रह्यौं। स्कुलमा ऊ सधैं टिफिन लिएर आउथ्यो। आधा ऊ खान्थ्यो, आधा म खान्थें। खै किन हो कुन्नी, स्कुलमा टिफिन लान मलाईचाही बच्चादेखि नै मन पर्थेन। सायद्, त्यसरी आफ्नो टिफिन बाडेर ख्वाउने साथी भएकोले होला।कैल्यै टिफिन बोक्नु पर्छ भन्ने महशुस नै भएन।
उसले मलाई अंग्रेजी सिकाउथ्यो। म उसलाई नेपाली। अरु विषयमा झुर भए तापनि नेपाली विषयमाचाहि म ट्यालेन्ट नै थिएं। मोहनको मातृभाषा मैथिली रहेछ। यसैले उसलाई नेपाली राम्ररी बोल्न आउथेन। कक्षा पांचसम्म बोर्डिङमा पढेकोले उसको अंग्रेजीचाहि निकै राम्रो थियो।

सात कक्षा पास गरेपछि स्कुल छोडेर ऊ गयो। रौतहट भन्थ्यो उसले आफ्नो गृह जिल्ला। आज १५ वर्ष पुगेछ, हामी छुटेको। छुटेदेखि कैल्यै भेट भएन। कक्षा सातपछि अंग्रेजीमा मैले कैल्यै पछाडि फर्केर हेर्नु परेन।एक प्रकारको छाप नै छोडेको थियो उसले मभित्र।
पन्ध्र वर्षको यो अन्तरालमा धेरै साथीहरु आए, बेस्ट फ्रेन्डका रुपमा। प्रायले मलाई बेस्ट फ्रेन्ड माने। मलाई पनि उनीहरु बेस्ट फ्रेन्ड जस्तै लाग्थ्यो। तर मनलाई यस्तो मात्रै लाग्थ्यो, उनीहरु मेरा बेस्ट फ्रेन्ड हुन्। तथापि कैल्यै यो अनुभव भएन कि उनीहरु साचिकै मेरा बेस्ट फ्रेन्ड हुन्।
बारम्वार दिमागमा सवालहरु उब्जि रहन्थे,"एउटा मान्छेको कति ओटासम्म जीवन साथी हुन्छन्? एउटा व्यक्तिको बा-आमा कति ओटा हुन्छन्? अनि एक व्यक्तिको जीवनमा बेस्ट फ्रेन्ड कति ओटासम्म हुन्छन्?"
अरुको बारेमा त यसै भन्न सक्दिन, तर मेरो जीवनमा चैं सबै कुराहरु एउटा मात्रै छन् जस्तो लाग्छ। चाहे यो जीवन साथी होस्, चाहे बा र आमा होऊन् या त बेस्ट फ्रेन्ड नै।

यसैले होला, १५ वर्षको अवधीमा न कसैको बेस्ट फ्रेन्ड बन्न सकें। न त कसैलाई बेस्ट फ्रेन्ड बनाउन चाहें।
अझै पनि बारम्वार सोच्ने गर्छु, यति बेला कहाँ होला मोहन। कहा पुग्यो होला उसको पढाइ यात्रा। डक्टर पढ्ने उसको सपना पुरा भयो होला कि नाईं। कल्पनामा बारम्वार आइ रहन्छ, डक्टरको रुपमा स्टेथोस्कोप भिर्दै बिरामीको सेवा गरि रहेको उसको रुप। कत्ति गर्व गर्दा हुन्, उसका बा-आमाले आफ्ना छोरोप्रति।
यहाँ गौरव मानि रहेछु, म पनि आफ्नो साथीप्रति। गौरव मानि रहेछु म, उसको साथ र त्यो साथित्वप्रति। जीवनमा आउदो कुनै दिन या कुनै पल। त्यो साथी, मेरो बेस्ट फ्रेन्डलाई भेट्ने साइत जुर्ला या नजुर्ला। तर एउटा तथ्य सत्य छ, उसको सम्झनाले मलाईचाहि अवस्य पुर्ला, हिउका सेता कणले हिमाल नै पुरे जसरी।

निकै दिन भइ सकेथ्यो, आमालाई रोगले च्याप्न थालेको। क्याम्पसको कक्षामा दिनु पर्ने लेक्चरको कामले गर्दा फुर्सद मिलेको थिएन, आमालाई हस्पिटल लैजान। दिनानु दिन आमाको अबस्था बिग्रिन थालेपछि अफिसमा बिदा लिइ आज हस्पिटल ल्याएको छु। उहाको अवस्था निकै नाजुक छ।
टिकट काउन्टरको लाइनमा छु। आमा पनि छेउमै छिन्। करिब आधा घन्टा लाइनमा उभिएपछि बल्ल पालो आयो। टिकट लिएपछि मात्रै जाँच गर्न पाइने अरे! हस्पिटलको नियम!!
"कुन डक्टरकोमा जानु म्याम?" टिकट लिएपछि म काउन्टरवालीलाई सोध्छु।
उनको जवाफ,"डा.मोहन ठाकुर। कोठा नं. १२"

म आमालाई लिएर अहिले कोठा नं. १२ अगाडि उभि रहेछु। बिरामीको बाक्लै भीड छ यहाँ। डक्टरको कोठा बन्द छ। सायद् कोठाभित्र चेक जाचको कामचाहि भइ राखेको छ। अरु व्यक्तिबाट यस्तै सुचना पाउछु। झन्डै डेढ घन्टा भयो, पालो कुरेर बसेको। पालो आउदैन।
"आमा, कस्तो छ तपाइलाईं?" आमालाई सोध्छु।
"अलि गारो हुन थाल्यो बाबु!" आमा बिस्तारै जवाफ फर्काउनु हुन्छ।
बिस्तारै आएको आमाको जवाफले मेरो धड्कनको गति बढाउन थाल्छ।
दुइ घन्टा भयो, कुरेको समय। न कोठाबाट कोहि बाहिर निस्कन्छ। न त बाहिरबाटै कोहि बिरामी भित्र छिर्छ।
"हैन, यो हस्पिटल हो कि कुरुवा घर!" दिमागमा यस्तै सवाल खेल्न थाल्छ।
आमा झन् लुलो र निन्याउरो देख्न थाल्नु भयो। अन्य बिरामीको अवस्था पनि यस्तै देखि रहेछु।

"अन्टी, तपाईं यहाँ?" निकै बेरपछि मैले यस्तो आवाज सुनें,"चेक अप सुरु भएको छैन अझै?"
मेरा नजर तुरुन्तै यो आवाजको स्रोततिर पुग्छन्।
हल्का कालो वर्ण, आखामा पावरवाला चस्मा लाएको, शरिरमा सेतो कपड़ा अनि गलामा स्टेथोस्कोप भिरेको। यो दृश्यले म केहिबेर त अलमल्ल परेछु।मैले जे देखि रहेछु, के यो यथार्थ हो? आफैसंग प्रश्न गर्छु।
 यसरी मेरो सामु उभिने मोहन हो। उसले आमालाई चिनि सकेछ। तर मलाई चिनेको छैन। "के म यति सारो चेन्ज भा छु र, कुनै बेला मलाई बेस्ट फ्रेन्ड भन्नेले आज नचिन्नलाई?" मनमनै सोच्दछु।
"लौ त अन्टी, कोठा भित्र आउनुस्। म हजुरको स्वास्थ्य चेक गर्छु। भर्ना नै गर्नु पर्ने जस्तो अवस्था देखि रहेछु म त!" यति बोलेर उनी कोठा नं. १२ मा छिर्छन्।भित्रबाट मोहनको आवाज आइ रहेछ,"आज म बाहिर जानु परेकोले अर्कै डक्टरलाई यस कोठाको ज़िम्मा दिएर गएको थिएं। उनी त आउनै भ्याएनन् जस्तो छ।"
भीड छिचोल्दै आमा पनि कोठामा छिर्नु भयो।
म बाहिरै पर्खि रहेछु आमालाई।
दिमागमा एउटै कुरा खेलि रहेछ,"के मोहनले मलाई नचिनेकै हो त!" जवाफ कि त आमा बाहिर आउनु भएपछि थाहा पाइएला, नत्र म आफैं मोहनसंग बोल्न गएपछि चाल पाइएला।
अहिले यी दुवै गर्न सक्ने अवस्था छैन।
अन्य विरामीसंगै म पनि कुरि रहेछु। फरक यति छ, उनीहरु चेक गराउने पालो कुरि रहेका छन्, मचाही कोठा बाहिर आमा निस्किनु हुने पल कुरि रहेछु।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.