अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा पमुख अतिथिको भूमिका निर्वाह गरेर उनी घर फर्किए । सधैँभन्दा साँझ अलि बाक्लिएको थियो । श्रीमतीले ढोका खोलिन् । हँसिलो र स्फूर्त मुद्रामा उनी भित्र पसे । पछिपछि एउटी महिला पनि थिइन् ।सोफामा बस्दै ती महिलालाई पनि बस्न इशारा गरे उनले । त्यसपछि श्रीमतीको हात समातेर आफूसँगै सोफामा बसाले । चम्किला आँखाहरुले श्रीमतीको जिज्ञासु अनुहारतिर हेरे ।“रमिता ! तिमीलाई बहिनी ल्याइदिएको छु नारी दिवसको उपहार ।”श्रीमतीको असमन्जस अनुहार हेरे, उनको मुस्कान झन गहिरियो । त्यसपछि मीठो स्वरमा भने– “यिनी सविता हुन् ।”सवितातिर इशारा गरे, सविताले नमस्ते गरिन् । कुटिल मुस्कानसाथ उनले थपे– “हेर रमिता ! तिम्रो स्वास्थ्यले तिमीलाई साथ दिइरहेको छैन । सविताको पनि यो दुनियाँमा कोही छैन । त्यही भएर यो घरको र तिम्रो पनि रेखदेख गर्न यिनलाई लिएर आएको । म तिमीसँग बसिराख्न पनि त भ्याउँदिन, काममा पनि त जानुपर्छ ।"“त्यो त ठीकै हो तर कलावती छँदैछे त मेरो हेरविचार गर्ने ।” श्रीमतीको झिनो प्रतिवाद ।“त्यसो भनेर कहाँ हुन्छ ? त्यो रामलालकी स्वास्नीलाई घर जान मात्रै हतार हुन्छ जहिले पनि । लोग्ने र छोराछोरीको मात्र चिन्ता भइराख्छ । साँझ पर्न नपाउँदै घरतिर दौडिहाल्छे । सविता त सधैँ यहीँ बस्छिन् । यिनका केटाकेटी पनि छैनन् । घरधन्दा मात्र नभएर यिनले तिम्रो पनि रेखदेख राम्ररी गर्न सक्छिन् । मेरा लुगाकपडा धुने, इस्त्री गर्ने, आवश्यक्ताहरु विचार गर्ने जिम्मेवारी पनि अब यिनकै हो । तिमीलाई भोलिदेखि आरामै आराम ।”श्रीमतीको कुनै प्रतिक्रिया नपाएपछि अँध्यारिएको चिउँडो उचाल्दै उही मुस्कानसाथ सोधे –“अब भन त प्यारी ! तिमीलाई मेरो नारी दिवसको उपहार कस्तो लाग्यो ?”
Liked by: