मलाई सानै देखी चराहरु मनपर्छ, चरा विनाको आकाश शुन्य लाग्छ अनि गुलेली देखि घृणा लाग्छ । मेरो एकजना मजस्तै मन मिल्ने साथी छीन्, लिडिया लामा उन्को नाम । पेशाले शिक्षिका लिडिया एकजना फोटोग्राफर अनि भिडियो ग्राफर पनि हुन् ।
काठमाडौको जाम अनि धुलो विच, धुँवा खाँदै हामी दुबैजना कहिले दुईचक्केमा त कहिले सार्वजनिक यातायातमा धक्का खाँदै अनि हतारमा हिड्ने गर्दछौ ।
जमल वाट ठमेल चौक हुँदै सोह्रखुटे जाने वाटोमा अहिलेको परराष्ट्र मन्त्रालय अझ भनौ पासपोर्ट लिने कार्यलय अगाडि रुखहरुमा केही समय अगाडि हामीमध्य धेरैले निकै चराहरु उडेका र चराहरुको बासस्थानका रुपमा ति वाटा छेउका रुखहरुलाई देखेका थियौ तर अहिले विकासक्रम सँगै वाटो वढाउन अनि ठूलो भवन वढाउनकालागी रुखहरुको विनाश गरियो, नकाटे पनि ठुटाहरुमात्र राखियो, ताछियो । त्यो ठाँउ अझ चमेरोहरुको परम्परागत स्थल अनि पुर्खोदेखिको चमेरी बासस्थल झै थियो तर अहिले कता गए त ति चमेराहरु ? रुख त फेरि पलाउला तर ति त्यसमा वास लिने वासिन्दा चराहरु कहाँगए होला भनेर मैले र लिडियाले कफी शपमा चिन्ता ब्यक्त गर्दै वात मार्यौ । मैले भने, डार्विनले एडाप्टेशनको थियोरी प्रतिपादन गरेका छन्, ति चराहरु पनि कहिँ कतै एडाप्ट भएर बस्नेछन भनेर । छेउकै नारायणहिटी दरवारका रुखहरु पनि त छन्, उन्ले भनिन , मैले मुन्टो हल्लाए ।
म चरा भएको भए के गर्थे होला ? मेरो घर विथोलिएको भए मलाई कति आपत पर्नेहोला भनेर म सोचमग्न भए । लिडियाले आईडिया लगाई कि म भोलीपल्टै गएर फोटो खिचेर ल्याउछु अनि ति चराहरुका वारेमा नेपालीहरुको अत्यन्त लोकप्रिय एप हाम्रो पात्रोमा हालौ भनेर । नभन्दै भोलिपल्टै फोटा आयो, मैले लेख्दैछु, आज पर्सिपल्ट हो ।
ति चराहरु कतै देख्नु भयो भने हामीलाई भन्नुहोला ल ? एकमुठि चामल लिएर म छर्न आउनेछु । यी ताछीएकारुखहरु माथी पनि केही काग र बकुल्ला शायद हराएका वासस्थानको शोकमा बसेका होलान्, तिनीलाई नि क्यामराले कैद गरेको छ , यो चीसोमा पानी पर्दा ती चराहरु कता गए होलान भनेर चिन्ता लागिरहन्छ, आखिर मान्छेले बनाएका घरमा चरा बस्दैन अनि चराको घर मान्छेले जहिल्यै भत्काएकै छ । त्यतीका धेरै चराहरु बस्ने ठाँउमा अहिले रुख विनाश भएपछी चराहरु धेरै भए तर वासस्थान थोरै भए शायद त्यहा पनि अहिले वास वस्नकालागी पहिल्यै ठाँउ रिजर्भ गर्ने चलन पो छ कि ? भाडामा कोठा जस्तै गुँड पनि पाईन्छ कि ? शक्तिशाली र नेतृत्व पक्तिंकाले सहजै गुँण पाउने त छैन ? जे होस्, जस्तो होस्, चराहरु हराउदै छन् अनि म र लिडिया लगायत धेरैलाई चराविहिन आकाश मनपर्दैन ।
चरा प्रेमी सुयोग ढकाल
फोटोः लिडिया लामा
Liked by: