तस्वीरहरु हेरेपछि अाफैसंग प्रतिप्रश्न गर्न मन लाग्छ, वास्तवमा कसरी उदाउन सके खेर गएका फोहोरमा हराएका सामानहरु ?
शहर सफा गर्ने हात भन्दा फोहोर गर्नकालागि धेरै हातहरु सक्रिय भएका कारणले गर्दा नै होला हाम्रा शहरहरु दिनहूँ फोहोर हुँदैगरेको । फोहोर! सुन्दै फोहोरी, गन्हाउने, घिनलाग्दो, दूरावस्था अनि बिषम परिस्थितीजन्य कुराहरुका रुपमा बुझिन्छ, रोगहरुको घर अनि निर्घिन यी फोहेरहरु त्यसैकारणले छिछि र दुरदूरको विषय बन्दछ । स्मरण रहोस् यी फोहोरहरु कुनै दिन हामी सबैको भान्सा, बैठक कोठा र जीवनशैलीका शोभाहरु भएर फालिएका प्रिय वस्तुहरू हुन् ।
संसारमै फोहोरलाई कम गर्नकालागि थ्रि आर को सिद्धान्त धेरै शहर अनि देशहरुले अपनाएका छन्, पहिलो आर रिसाईकल अर्थात प्रशोधन, दोश्रो आर अर्थात रियूज पूनःप्रयोग अनि तेश्रो आर अर्थात रिड्यूस ।
आज कुरा गर्छौ तस्बिर खिचनमा फरक प्रयोग गर्न रूचाउने नेपाली शिल्पकर्मी बारे... शिल्पकर्मी नै भन्न रुचायौं किनभने हामीले यो सामाग्रीकालागि प्राप्त गरेका यी तस्बिरहरूलार्इ ठ्याक्कै हिलोमा हाँसिरहेको कमलको स्वरूपमा अाफ्नो सीप भर्न सफल भएका छन् जसमा फोहोरहरुलाई प्रयोग गरेर सजावटकालागि अब्बल दर्जाका तस्बिर बनाउन सफल यी ब्यक्तित्वको यो सीप वास्तवमैं गज्जबको छ । फालिएका फोहोरका डङ्गुरलार्इ कलात्मक ढङ्गले क्यामराबाट फरक बनाउन सफल यी नेपाली हुन् वीरगञ्जमा फोटो पत्रकारीतामा सक्रिय युवा मनिष पौडेल...
मनिषले यि फोहोरहरुमा देखेका मूल्य कुनै दिन काठमाण्डौवासीले पनि देख्ने हुन वा होईनन थाहा छैन तर आज उनको तस्बिर मार्फत् गरीएको यो प्रयोगले फोहर पनि सुन्दर बन्नसक्छ भन्ने कुरालार्इ प्रमाणित भने अवश्य गर्छ ।
उनका अनुसार, नेपालको राजधानी अनि बाग्मती सभ्यताको केन्द्रविन्दु काठमाडौ शहर छिर्ने वित्तिकै जोकोहीले पनि शहरको फोहर ब्यवस्थापन कमजोर भएको सजिलै चाल पाउँदछन् । वैदिक सनातन हिन्दू सभ्यता र सनातन संस्कारको केन्द्रविन्दु बागमती खोला जसको पवित्रतामा जन्मदेखि मृत्यूसम्मका हाम्रा वैदिक सनातन संस्कारहरु लुटपुटिएका छन्, त्यस खोलाको पवित्रता आज आँखै अगाडि प्रष्ट छ । खोलाको पूल पुलेसामुन्तिर होस् या घरको पछिल्तीर, फोहोरका डंगुरहरुले आँखा उघारेर हाम्रो सभ्यतालाई प्रश्न उठाईरहेका छन्, अर्कोतर्फ सरकारी तवरबाट पनि फोहोर ब्यवस्थापन गर्न पूर्नप्रयोग गर्न मिल्ने फाहोर र प्रशोधन गर्नुपर्ने फोहोर अलग्ग राख्ने चलन र ब्यवस्थापनका मापदण्डहरु तयार हुन नसक्नु एउटा दुर्भाग्य हो । तर नागरीक अगुवार्इमा बाग्मतिको फेरीएको अनुहार भने विस्तारै अाकर्षक बन्दै गएको छ ।
मनिष भन्नुहुन्छ, 'विडम्वना त के छ भने सम्भवतः नेपालमै सबैभन्दा साक्षर र शिक्षित जनसंख्या काठमाडौ शहरमै छ तर फोहर व्यवस्थापनको गैरजिम्मेवारीपूर्ण चलनले यदाकदा यहाँ वसोवास गर्ने हरेक शिक्षितहरुलाई उपहास गरिरहेकै हुन्छ ।'
'मैले फोहोरहरु संकलन गरेर तिनीहरुलाई छानेर अनि छुट्टाएर राख्ने काम धेरै अगाडीवाट शुरु गरेको हुँ, एउटा फोटोग्राफर पनि भएका कारणले मैले अन्य ब्यवसाहीक उत्पादनहरुजस्तै ती फोहोरका पनि तस्वीरहरु लिन थाले । संकलित तथा प्रर्दशीत तस्वीरहरु मैले फोहोरबाट बनाएको सजावटका सामानहरु हो ।'
'हामीहरुले फाहोरलाई काम नदिने रद्धी भन्ठानेका छौ तर एकदिन फोहोर भित्रको मोहोरको पहिचान गर्न सकेमा फोहोरको महत्व हामीले बुझ्नेछौ अनि यो काठमाडौ शहरले बुझ्नेछ ।'
तस्वीरहरु हेरेपछि अाफैसंग प्रतिप्रश्न गर्न मन लाग्छ, वास्तवमा कसरी उदाउन सके खेर गएका फोहोरमा हराएका सामानहरु ?
----
सुयोग ढकालद्वारा प्रस्तुत यो सामाग्रीका तस्बिरहरू मनिष पाैडेलले उपलब्ध गराउनु भएको हो ।
Liked by: