"विश्वगीता"को सत्रौं अध्याय | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

"विश्वगीता"को सत्रौं अध्याय




   Bishwa Raj Adhikari - Apr 18 2017
"विश्वगीता"को सत्रौं अध्याय बिशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को सत्रौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्यायको लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको  सत्रौं अध्यायका २८ श्लोकहरु यसप्रकार छन् । 

अध्याय १७, श्लोक ०१ 
अर्जुनले बिन्ती गरे (हे कृष्ण, जसले शास्त्रको विधिलाई अवलम्वन नगरेर केवल श्रद्धायुक्त भइ भजन गर्दछन् भने त्यस्ताहरूको निष्ठा वा स्थिति कस्तो हुन्छ? तिनीहरू सात्विक, राजसी वा तामसी कस्तो हुन्छन्?)
अर्जुन उवाच ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विता:। तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तम:।।१।।

अध्याय १७, श्लोक ०२ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (प्रत्येक व्यक्तिले प्राकृतिक विश्वास अर्थात खास प्रवृत्तिका साथ जन्म लिएको जुन्छ। त्यो प्राकृतिक विश्वासलाई सात्विक, राजसिक र तामसिक गरी तीन वर्गमा विभाजित गरिएको छ। तिनीहरू के के हुन तिमी अब सुन)
श्रीभगवानुवाच त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा। सात्त्विकी राजसी चैव तामसी चेति तां शृणु।।२।।

अध्याय १७, श्लोक ०३ 
(हे भारत, सबै व्यक्तिहरूको श्रद्धा उनीहरूको आ-आफ्नो अन्त:करण अर्थात स्वभाव अनुरुप हुने गर्दछ। व्यक्ति उसको श्रद्धाद्वारा जानिन्छ। कुनै व्यक्तिले जस्तो कुरामा श्रद्धा राख्दछ उसको चित्त पनि त्यस्तै किसिमको हुन्छ।)
सत्त्वाSनुरुपा सर्वस्य श्रद्धा भवति भारत। श्रद्धामयोSयं पुरुषो यो यच्छ्द्ध: स एव स:।।३।।

अध्याय १७, श्लोक ०४ 

(सात्विक गुण भएका व्यक्तिहरूले देवताहरूको पूजा गर्दछन्। राजसिक गुण भएका व्यक्तिहरूले यक्ष र राक्षसहरूको पूजा गर्दछन्। अन्य व्यक्तिहरू जो तामसिक गुण भएका छन् उनीहरूले भने भूत र प्रेतहरूको पूजा गर्दछन्।)
यजन्ते सात्त्विका देवान् यक्षरक्षांसि राजसा:। प्रेतान् भूतगणांश्चान्ये यजन्ते तामसा जना:।।४।।

अध्याय १७, श्लोक ०५-०६ 
(जो व्यक्तिहरू घमन्ड र अहङ्कारको वशीभूत भएर केवल काम एवं आसक्तिको बलमा कठिन तपस्या त गर्दछन् तर त्यस्तो तपस्या शास्त्रको विरुद्ध भएर गर्दछन् र आफ्नो शरीरमा रहेको पञ्चमहाभूतको समूहलाई एवं अन्त:करणमा रहेको मलाई कष्टदिन्छन त्यस्ता व्यक्तिहरू अज्ञानी एवं आसुरी प्रवृतिका हुन भन्ने जान।)
अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जना:। दम्भाहंकारसंयुक्ता: कामरागबलान्विता:।।५।। कर्षयन्त: शरीरस्थं भूतग्राममचेतस:। मां चैवान्त:शरीरस्थं तान् विद्ध्यासुरनिश्र्चयान्।।६।।

अध्याय १७, श्लोक ०७ 

(जसरी तिन किसिमका आहारहरू सबैलाई प्रिय हुन्छन् त्यसैगरी यज्ञ, तपस्या र दान पनि तिन किसिमका हुन्छन्। तिनीहरूको फरकलाई यसप्रकार थाहा पाऊ।)
आहारस्वत्वपि सर्वस्य त्रिविधो भवति प्रिय:। यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु।।७।।

अध्याय १७, श्लोक ०८-१० 

 (आयु, उत्साह, बल, आरोग्य, सुख तथा प्रीति बढाउने रसिलो, चिल्लो, पौष्टिक र हृदयलाई आनन्द दिने आहारहरू सात्विक व्यक्तिहरूलाई प्रिय हुन्छ। तितो, अमिलो, नुन बढी, अधिक तातो, तेज, रुखो, पोल्ने एवं दु:ख, शोक र रोगहरू उत्पन्न गराउने आहारहरू राजसिक व्यक्तिहरूलाई प्रिय हुन्छ। यसैगरी जुन खाने वस्तु राम्रोगरी पाकेको छैन्, रसिलो छैन्, दुर्गन्धले भरिएको छ, बासी, जुठो र अपवित्र पनि छ, त्यस्ता आहारहरू तामसी व्यक्तिहरूलाई प्रिय हुन्छ।)
आयु:सत्त्वलारोग्यसुखप्रीतिविवर्धना:। रस्या: स्निग्धा: स्थिरा हृद्या आहारा: सात्त्विकप्रिया:।।८।। कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिन:। आहारा राजसस्येष्टा दु:खशोकामयप्रदा:।।९।। यातयामं गतरसं पूति पर्युषितं च यत्। उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।।१०।।

यो पनि हेर्नुहोस् : संक्षिप्त रामायण (अडियो सहित)

अध्याय १७, श्लोक ११ 
(शास्त्रमा उल्लेख भए अनुसार यज्ञसँग सम्बन्धित अनेक धार्मिक कार्यहरू गर्दा कर्तव्यको पालना गरेको हुँ भन्ने ठानेर मनलाई एकत्रित गरी फलको कामना नराखेर व्यक्तिहरूद्वारा गरिने यज्ञ सात्विक यज्ञ हो।)
अफलाकाङ्क्षिभिर्यज्ञो विधिदिष्टो य इज्यते। यष्टव्यमेवेति मन: समाधाय स सात्त्विक:।।११।।

अध्याय १७ , श्लोक १२ 

(हे भरतश्रेष्ठ, तर, घमन्डले भरिएर एवं यज्ञको फलको उद्देश्य राखी गरिने यज्ञ राजसिक यज्ञ हो।)
अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत्। इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम्।।१२।।

अध्याय १७, श्लोक १३ 

(शास्त्रहरूमा उल्लेख भएका विधिहरूको पालना नगरिएको, अन्न दान नगरिएको, मन्त्रहरूको प्रयोग नभएको, दक्षिणा नदिइएको र श्रद्धाविहीन भइ गरिने यज्ञ पण्डितहरूको विचारमा तामसी यज्ञ हो।)
विधिहीनमसृरष्टान्नं मन्त्रहीनमदक्षिणाम्। श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते।।१३।।

अध्याय १७, श्लोक १४ 
(शुद्धता, सरलता, ब्रह्मचर्य र अहिंसाद्वारा देवता, ब्राह्मण, गुरु र विद्वान् व्यक्तिहरूको गरिने पूजा शारीरिक तप हो)
देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम्। ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्चते।।१४।।

अध्याय १७, श्लोक १५ 
(उद्वेग उत्पन्न नगर्ने, सत्यले भरिएका, शिष्ट तथा हितकारी वचन बोल्नु र साथै वैदिक पाठहरूको अभ्यास गर्नु नै वाचिक तप हो। शिष्ट किसिमबाट सत्य एवं हितकर वचन बोल्नु नै वाचिक तप गर्नु हो।)
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्। स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते।।१५।।

अध्याय १७, श्लोक १६ 
(मन प्रसन्न राख्नु, शान्त भावमा रहनु, मौनधारण गर्नु, संयमित चित्त राख्नु र व्यवहारमा कुनै किसिमको कपटता हुन नदिनु जस्ता गुणहरू राख्नु मानसिक तप गर्नु हो।)
मन: प्रसाद: सौम्यत्वं मौनमात्मविनिग्रह:। भावसंशुद्धिरित्येतत् तपो मानसमच्यते।।१६।।

अध्याय १७ , श्लोक १७ 
(भोग एवं विलासको इच्छा नराख्ने निष्कामी व्यक्तिहरूद्वारा फल प्राप्तिको उद्देश्य नराखेर श्रद्धापूर्वक एकाग्र चित्तले गरिएका शारीरिक, वाचिक र मानसिक यी तिन प्रकारका तपहरूलाई सात्विक तप भन्ने गरिन्छ।)
श्रद्धा परया तप्तं तपस्तत् त्रिविधं नरै:। अफलाकाङ्क्षिभिर्युक्तै: सात्त्विकं परिचक्षते।।१७।।

अध्याय १७, श्लोक १८ 
(जुन तप सत्कार, मान प्रतिष्ठा एवं पूजाको लागि घमण्डले भरिएर गरिएको हुन्छ त्यसलाई अनित्य एवं अनिश्चित राजसिक तप भन्ने गरिन्छ।)
सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत्। क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम्।।१८।।

अध्याय १७, श्लोक १९ 
(जुन तप मूर्खतापूर्वक आफू स्वयंले नै पनि कष्ट उठाउने तथा अरुको विनाश समेत गर्ने उद्देश्यले गरिएको छ भने त्यस्तो तपलाई तामसी तप भन्ने गरिन्छ।)
मूढग्राहेणाSSत्मनो यत् पीडया क्रियते तप:। परस्योत्सादनाSर्थं वा तत्तामसमुदाहृतम्।।१९।।

अध्याय १७, श्लोक २० 
(दान दिनु कर्तव्य हो भन्ने भाव राख्दै दान दिएको बदलामा कुनै लाभ प्राप्त गर्ने उद्देश्य नराखेर उपयुक्त तथा दान पाउन योग्य व्यक्तिलाई पुन्यकाल अर्थात उचित समयमा र यसै गरी तीर्थस्थल अर्थात उचित स्थानमा दिइने दान सात्विक दान हो।)
दातव्यमिति यद्दानं दीयतेSनुपकारिणे। देशे काले च पात्रे च यद्दानं सात्त्विकं स्मृतम्।।२०।।

अध्याय १७, श्लोक २१ 
(तर पछि पश्चाताप गर्नु पर्ने तथा इच्छा नभएर गरिएको साथै दान गरेर त्यसको बदलमा केही प्राप्त गर्ने उद्देश्य राखेर अथवा केही फल पाउने उद्देश्यका साथ गरिएको दान राजसिक दान हो।)
यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुन:। दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम्।।२१।।

अध्याय १७, श्लोक २२ 
(गलत समय र स्थान अर्थात स्थितिमा खराब व्यक्तिलाई, सम्मान नगरेर तथा गलत विधिहरूको प्रयोग गरी गरिने दान तामसी दान हो।)
अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते। असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम्।।२२।।

अध्याय १७, श्लोक २३ 
(ब्रह्मको तिन किसिमको निर्दैशक नाम रहेको छ। ओम, तत् र सत्। ओम, तत् र सत् द्वारा नै आदिकालमा ब्राह्मण अर्थात पुरोहितहरू, वेदहरू र यज्ञहरू निर्मित भएका हुन।)
ऊँ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध: स्मृत:। ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिता: पुरा।।२३।।

अध्याय १७, श्लोक २४ 
(प्रभु समक्ष पुग्ने अर्थात प्रभुले प्राप्त गर्नु हुने भएकोले नै ब्रह्मवादीहरूको शास्त्रयुक्त यज्ञ, दान र तप-तपस्याका कार्यहरू सँधै ओम उच्चारण गरेर प्रारम्भ हुन्छ।)
तस्माद् ऊँ इत्युदाहृत्य यज्ञदानतप:क्रिया:। प्रवर्तन्ते विधानोक्ता: सततं बह्मवादिनाम्।।२४।।

अध्याय १७, श्लोक २५ 
(मोक्ष अर्थात जीवन-मृत्युको चक्रबाट मुक्ति चाहनेहरूले कर्मफलको इच्छा नराखेर तत् र सत् शब्दको उच्चारण गर्दै अनेक किसिमका यज्ञ, दान, तप आदि कार्यहरू गर्दछन्।)
तदित्यनभिसन्धाय फलं यज्ञतप:क्रिया:। दानक्रियाश्र्च विविधा: क्रियन्ते मोक्षकाङ्क्षिभि:।।२५।।

अध्याय १७, श्लोक २६ 
(हे पार्थ, ब्रह्मत्व र ब्रह्मवादित्वमा सत् को प्रयोग गरिन्छ। यसै किसिमले असल कर्म गर्दा पनि सत् शब्दको प्रयोग गरिन्छ।)
सद्भावे साधुभावे च सदित्येतत् प्रयुज्यते। प्रशस्ते कर्माणि तथा सच्छब्द: पार्थ युज्यते।।२६।।

अध्याय १७, श्लोक २७ 
(यज्ञ, दान र तप तथा यी कार्यहरु गर्नका लागि निश्चित स्थानहरुमा पनि सत् शब्दको प्रयोग हुन्छ। परमेश्वरका लागि गरिएका कार्यहरुलाई नै सत् भनिएको हो।)
यज्ञे तपसि दाने च स्थिति: सदिति चोच्यते। कर्म चैव तदर्थीयं सदित्येवाभिधीयेते।।२७।।

अध्याय १७, श्लोक २८ 
(हे पार्थ, श्रद्धा नराखेर गरिएको हवन, दिइएको दान र गरिएको तपस्या वा गरिएको जुनसुकै कर्म असत् हो। असत् कर्म गर्नाले न त यस लोकमा न त मरेपछि नै लाभ प्राप्त हुन्छ।)
अश्रद्धा हुतं दत्तं तपस्तप्तं कृतं च यत्। असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह।।२८।।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.