यदि तिमी ब्राह्मिण हुँ भन्छौ भने ब्राह्मिण माताको कोखबाट जन्म लिएका भन्छौ भने तिमी जन्मिँदा कुनै विशेष नलीबाट जन्मियौ के ?
“साथी,
तिमीसँग एउटै त जिन्दगी थियो
त्यो पनि खेर फाल्यौ ।”
१५ औंँ शताब्दीका रहस्यमयी कवि कबीरका कृतिहरुको अनुवाद गरेका छन् प्रसिद्ध भारतीय कवि अरविन्द कृष्ण मेहरोत्राले । माथि उल्लिखित कविताको अंश उनै मेहेरोत्राले अनुवाद गरेका “सङस् अफ कबीर”को उत्ति हो ।
कबीरका लेखहरु अनुवादित भएको यो पहिलो पटक भने होइन । चर्चित कवि रविन्द्रनाथ टेगोरदेखि हालसाल लिण्डा हेस, शुकदेव सिंह, विनय ढारवाडकरले समेत उनका लेखहरुको अनुवाद गरेका छन् ।
कबीरका लेखहरुको आधिकारिक संकलन आजसम्म भेटिएको छैन न त उनका पूर्वपदहरुको आधिकारिक पुष्टि नै छ । कवितामार्पmत् औपचारिक धार्मिक संरचनालाई चुनौती दिने उनै सर्जक कबीरको धार्मिक आस्थाको ठोस प्रमाण भने भेटिन मुस्किल छ । उनको नाममा समाधि गरिएको छ भने उनैको नाममा चिहान पनि खडा गरिएको छ । उनी मुसलमान हुन् कि हिन्दू भन्नेमा विवाद छ । १५ देखि १७ औँ शताब्दीमा हिन्दूस्तानमा भक्ति आन्दोलनमा धार्मिक विचारहरुबीच हुन थालेको संगममाझ नै उनको अस्तित्व रहेको पाइन्छ । यस समयमा धार्मिक पहिचानभन्दा मानवीय दूरदृष्टिले बढी महत्व पाउँथ्यो । इतिहासको यही कालखण्डका अन्य मुख्य हस्तीहरु तुलसीदास, मीराबाइ, चैतन्य तथा गुरु नानक पनि हुन् ।
यी जनकविहरु तथा विद्वानहरुबीच के समानता थियो त ? उनीहरु हिन्दू धर्ममा बढ्दै गइरहेको जातीय विभाजन र मुसलमानहरुमा शेरियाका नाममा बढ्दै गइरहेको जातीय विभाजन र धर्मको संस्थागत गर्ने अवधारणाको कठोर विरोधी थिए । कबीरका ब्राह्मिण समुदायप्रति लक्षित गरिएका कविताले भारतमा वर्षौँदेखि रहिआएको जातीय विभेदको उजागर गर्दछ ।
यदि तिमी ब्राह्मिण हुँ भन्छौ भने
ब्राह्मिण माताको कोखबाट जन्म लिएका भन्छौ भने
तिमी जन्मिँदा कुनै विशेष नलीबाट जन्मियौ के ?
ब्राह्मिणहरुले आफ्नो समुदायको स्वार्थपूर्तिको लागि साधारण मानिसहरुमाथि गरिएको विभाजनको उनले खरो विरोध गरेका छन् ।
यदि सृष्टिका सर्जक
जातलाई लिएर यति सजक हुन्थे भए
हामी सबै यो संसारमा आउँदा
निधारमा जातको दाग बोकेरै आउँथ्यौँ ।
भलै उनका कविताहरुमा कार्ल माक्र्सको जस्तो संगठित अभिव्यक्ति नपाइएला तर उनका भक्ति आन्दोलनमा वर्गीय प्रतिरोध हुने गर्दथ्यो । कुर्रातुलेन हाइडरको सर्वोत्कृष्ट उर्दू भाषामा रचित कृति “आगका दार्या”मा एक पात्रको अनुभव यसरी लेखिएको छः
राजा, सम्राट तथा सेनाहरुको संसारबाट बिदा भएपछि, कमलले अर्को संसार देखे । यो अर्को संसारमा कामदार, नाइ, किसान, तथा गरिब कालिगढहरु बस्थे । यो प्रजातान्त्रिक हिन्दुस्तानमा सन्तहरुले ती कामदार र उनीहरुको बासस्थानको रक्षा गर्दथे । शताब्दिऔँदेखि सास्ती भोगिरहेका अछुतहरुले पनि माथिल्लो जातका ब्राह्मिणको मध्यस्थताबिना नै राम नाम पुकारिरहेका थिए । यो अनौठो संसार थियो, हिन्दू र मुसलमानको पहिचानभन्दा माथि उठेको संसार । यहाँ मायाले शासन थियो र कमल इनसानको खोजिमा थिए ।
विभेदको यस्तो वातावरणमा कबीरले उनका समकालिन कृतिहरुमा अनुष्ठानको औपचारिकतालाईभन्दा आध्यात्मिकताको सर्वोच्चतालाई बढावा दिन्थे ।
जाऔँ !
सबैजना भन्ने गर्छन्,
यसरी भन्छन् कि उनीहरुलाई थाहा छ स्वर्ग कहाँ छ,
तर उनीहरुलाई सोधी हेर्नु
उनीहरुले टेक्ने धर्तीमुनि के छ भनेर,
उनीहरुले तिमीलाई रित्तो आँखाले हेर्नेछन् ।
कबीरका लेखहरुमा विविधता पाइन्छ । उनी चिन्तनशील लेख जति लेख्थे, त्यति नै अस्तित्ववादसम्बन्धि पनि लेख्थे । उनको अनुवादित कृति “सङस् अफ कबीर”ले कविका यी भिन्नभिन्न लयलाई नौ वटा अध्यायमा विभाजित गर्दै विश्व पाठकसामु प्रस्तुत गरिएको छ । उनका लेखहरुमध्येमा धर्मको ढोंगीपना विरुद्धका लेख अभैm पनि उत्तिकै शक्तिशाली र सान्दर्भिक लाग्दछन् ।
कबीर हिन्दू धर्मका अनुष्ठानविरुद्ध मात्र होइन, मुसलमानी विधिप्रक्रिया तथा मुल्लाहकाविरुद्ध पनि उर्लिएका छन् । खासमा भन्न पर्दा उनका प्राय कृतिहरुमा भगवानको अवधारणा र धर्मको संस्थागततालाई नै नकारिएको छ । कबीरका कृतिको अर्का अनुवादक ढारवाडकरका अनुसार कबीरले मान्ने गरेको भगवानको कुनै विशेषता थिएन । उनी निगुर्ण भगवान मान्ने गर्थे । धार्मिक नभइकनै भगवान मान्न सकिने उनको विचार थियो । भगवानको अवधारणालाई उनले अपरिहार्य रुपमै स्वतन्त्र र निष्पक्ष बनाइदिएका थिए । यी कविलाई अभैm नजिकबाट चिन्नका लागि उनका अनुवादित लेख “सङस् अफ कबीर” पढ्नैपर्छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: