शिव हिन्दु धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वरको रूप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । शिव प्राणीहरुको चेतनाको अन्तर्यामी हुनुहुन्छ ।
रुद्रहृदयोपनिषद् अनुसारः–
सर्वदेवात्मको रुद्रः सर्वे देवाः शिवात्मकाः ।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दनः ।।
यो रुद्रः सः स्वयं ब्रह्मा यो ब्रह्मा सः हुताशनः ।
ब्रह्मविष्णुमयो रुद्रः अग्निषोमात्मकं जगत् ।।
उपरोक्त श्लोक अनुसार रूद्र नै सम्पूर्ण देवताहरुको आत्मस्वरूप हुनुहुन्छ, सम्पूर्ण देवताहरु शिवजीका आत्मस्वरूप छन् । रुद्रबाट नै जगत्को बीज उत्पन्न हुन्छ र त्यस बीजको कारण जनार्दन भगवान् हुनुहुन्छ । रुद्र नै ब्रह्मा, ब्रह्मा नै हुताशन अर्थात् अग्नि हुनुहुन्छ, त्यसैले रुद्र ब्रह्मा र विष्णुमय हुनुहुन्छ, यो जगत् अग्नि सोमात्मक छ । यस संसारको सृष्टि, पालन र संहारको लागि एउटै ई्रश्वर नै बिभिन्न नामद्वारा परिचित हुनुहुन्छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुनुहुन्छ र उनै काल महाकालनै ज्योतिष शास्त्रका आधार हुनुहुन्छ ।
शिव भन्दाबित्तिकै जटा पालेको डमरु त्रिशुल धारण गरेको बाघको छाला लगाएको यस प्रकारको स्वरूप हामीले सम्झिन्छौँ । के यही स्वरूप शिव हो वा के हो त शिव भनेको ? व्याकरण अनुसार शास्त्रमा शिव शब्दको व्युत्पत्ति विभिन्न तरिकाले गरिएको छ :
१. संस्कृत व्याकरणमा सुत्नु अर्थमा शीङ् स्वप्ने धातुबाट –शेरते अस्मिन् अर्थात् विद्यन्ते अस्मिन् अणिमादयः अष्टौ सिद्धयः) विग्रहमा वन् प्रत्यय भएर शिव शब्द बन्दछ जसको अर्थ अणिमादि सिद्धिहरू जसमा रहेका छन् भन्ने हुन्छ ।
२. शिवं कल्याणम् अस्ति अस्मिन् यस व्युत्पत्ति अनुसार शिव शब्दबाट मत्वर्थमा अ प्रत्यय भएर शिवः शब्द हुन्छ जसको अर्थ कल्याणतम भन्ने हुन्छ ।
३. श्यति (छिनत्ति) अशुभम् यस व्युत्पत्ति अनुसार शो तनूकरणे धातुबाट वन् प्रत्यय भएर शिव शब्द बन्दछ जसको अर्थ पनि अशुभको नाश गर्ने भन्ने अर्थ बुझिन्छ ।
४. श्यायते (गच्छति सर्वदा) यस व्युत्पत्ति अनुसार श्यै गतौ धातुबाट वन् प्रत्यय भएर शिव शब्द बन्दछ यसको अर्थ लोक कल्याणका लागि हिँडिराख्ने भन्ने बुझिन्छ ।
५. वेदमा पनि प्रायः सबै ठाउँमा शिव शब्दको अर्थ कल्याणका लागि नै प्रयोग गरिएको छ । उपर्युक्त व्युत्पत्तिबाट शिव शब्दको अर्थ कल्याणकारी भन्ने बुझिन्छ ।
हो शिव भगवानको स्वरूप कल्याणमय छ । शिव भगवान् सदा सर्वदा कल्याणका लागि विचरण गर्नुहुन्छ, लोकको कल्याणका लागि सदा सर्वदा तपस्यारत हुनुहुन्छ । हामी जीवहरू सधैँ आफ्नो कल्याणका लागि लागिपरेका हुन्छौँ, आफ्नै लागिमात्र सोच्दछौँ तर शिव भगवान् लोकको कल्याणका लागि आफूले कष्ट सहेर तपस्या गर्नुहुन्छ । लोकको कल्याणका लागि गङ्गालाई शिरमा धारण गर्नुभएको छ ।
शिव भगवानको अनन्त नामहरू छन् तीमध्ये शम्भु, शङ्कर पनि मुख्य नाम हुन्, शम् भवति यस्मात् इति शम्भुः अर्थात् कल्याण हुन्छ जसबाट यस अर्थमा शम् पूर्वक भु धातुबाट शम्भु शब्द बन्दछ । शिवजीबाट सम्पूर्ण जगत्को कल्याण हुने भएकाले शिवजीको नाम शम्भु रहन गयो । यसैगरि शम् करोति यस विग्रहमा शम् पूर्वक कृधातुबाट शङ्करः शब्द बन्दछ र यसको अर्थ कल्याण गर्नेवाला भन्ने हुन्छ । शङ्कर भगवानले सबैको कल्याण गर्नुहुन्छ । शिव भगवानको अर्को नाम हो निलकण्ठ । देवता र दानव मिलेर समुद्रमन्थन गरेका बेलामा समुद्रबाट हलाहल विष निस्क्यो, त्यो हलाहल विषले सारा जगत्लाई जलाउन थाल्यो धेरै देव दानवहरू त्यतिखेरै हताहत भए । त्यसपछि बाँचेका सबैजना मिलेर शिव भगवानको स्तुति गरे, शिव भगवान्ले मेरो काम त कल्याण गर्ने हो भन्ने सोच्नुभयो र त्यो हलाहल विषलाई पान गरिदिनुहुन्छ । त्यस विषलाई शिव भगवान्ले कण्ठमा धारण गर्नुहुन्छ, विषका कारणले शिव भगवान्को कण्ठ(घाँटी) नीलो भयो । जसका कारण शिवजीको नाम नीलकण्ठ भयो ।
यसरी शिव भगवानको स्वरूप सर्वकल्याणमय छ । शास्त्रहरूले पनि शिव भगवानले सर्वकल्याणमयी नारायण भगवानको चरणामृतस्वरूपा गङ्गालाई धारण गर्नुभएकाले, लोककल्याणका लागि जगत् विनाशक विष धारण गर्नुभएकाले शिव शिव हुनुभयो र शिव भगवान्को स्वरूप नै कल्याणमय भयो भनेका छन् । शिवको अर्थ कल्याणकारी मानिएपनि शिवले सँधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गर्नुभएको छ । भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ. ।
हामी शिवोऽहम् शिवोऽहम् भन्दछौं, शिवोऽहम् भनेर मात्र हामी शिव हुँदैनौँ, त्यसका लागि हामीले लोकको कल्याण गर्ने प्रयास गर्नुपर्दछ, हाम्रो पनि जीवन लोक कल्याणका लागि होस् । त्यो कल्याण गर्न सक्ने शक्ति हामीलाई प्राप्त होस्, शिव भगवानले हामीलाई त्यो शक्ति प्रदान गर्नुहोस्, हामी पनि प्रयास गरौँ र शिव बन्न सकौँ ।
पं. नारायणप्रसाद दुलाल
Liked by: