लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को पन्ध्रौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको पन्ध्रौं अध्यायका २० श्लोकहरु यसप्रकार छन् ।
अध्याय १५ , श्लोक ०१
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (पिपलको वृक्ष जस्तै रहेको यो संसार अविनाशी छ भनेर शास्त्रहरूमा उल्लेख गरिएको छ। यो वृक्षको माथिको जरा आदि पुरुष, तलको शाखा ब्रह्मरुप र पातहरू वेद हुन्। यो वृक्षलाई जसले जान्दछ त्यो वेदवेत्ता हो।)
श्रीभवानुवाच ऊर्ध्वमूलमध:शाखमश्वत्थं प्राहुरव्ययम्। छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्।।१।।
अध्याय १५ , श्लोक ०२
(सत्, रज र तम गुणहरूद्वारा बाँधिएको यस संसार-वृक्षको विषयरुप पातयुक्त शाखाहरू मनुष्य, पशु इत्यादि निम्न योनीहरूमा र देवताहरू उच्च योनीमा फैलिएका छन्। कर्मफल- कर्म प्रवाहजनक भोग र वासनाको रुप लिएका जराहरू तलतिर र निरन्तर विकसित भइरहेका छन्।)
अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा गुणप्रवृद्धा विषयप्रवाला:। अधश्च मुलान्यनुसन्ततानि कर्मानुबन्धीनि मनुष्यलोके।।२।।
अध्याय १५ , श्लोक ०३-०४
३-४ (यस वृक्षको वास्तविक स्वरुपलाई यस संसारमा बुझ्न सकिँदैन। यो कहाँ समाप्त हुन्छ, कहाँ सुरू हुन्छ र कहाँ अवस्थित छ भन्ने कुरा कसैले पनि बुझ्न सक्दैन। तर मोहत्याग रुपि हतियार द्वारा दृढ निश्चय भएको व्यक्तिले भने बलियो गरी जरा गाडेको यो रूखलाई काटेर ढाल्न सक्छ। त्यसकारण त्यस्तो स्थानको खोजी गर्नुपर्दछ जहाँ पुगेर फर्किनु पर्दैन र त्यहा पुगेर आफूलाई त्यो परमेश्वरमा समर्पित गर्नु पर्दछ जसले अति प्राचीन समयदेखि सम्पूर्ण कुराहरूको विस्तार गर्नु भएको छ।)
न रुपमस्येह तथोपलभ्यते नान्तो न चादिर्न च सम्प्रतिष्ठा। अश्वत्थमेनं सुविरुढमूलम् असंगशस्त्रेण दृढेन छित्त्वा।।३।। तत: पदं तत्परिमार्गितव्यं यस्मिन् गता न निवर्तन्ति भूय:। तमेव चाद्यं पुरुषं प्रपद्ये यत: प्रवृत्ति: प्रसृता पुराणी।।४।।
अध्याय १५ , श्लोक ०५
(त्यस्ता मुक्त व्यक्तिहरूले प्रभुको शरण प्राप्त गर्दछन् जो घमण्ड तथा मोह नभएका छन्, आसक्ति जस्तो दोषबाट मुक्त छन्, आत्म अनुशासनमा तत्पर रहन्छन्, भोग विलासको इच्छा राक्दैनन् र सुख एवं दु:ख नामक द्वन्दबाट छुटकारा पाएका छन्। यस्ता गुणहरू भएका व्यक्तिहरू प्रभुमा मिल्दछन्।)
निर्मानमोहा जितसंगदोषा अध्यात्मनित्या विनिवृत्तकामा:। द्वन्द्नदैर्विमुक्ता: सुखद:खसंज्ञैर् गच्छन्त्यमूढा: पदमव्ययं तत्।।५।।
अध्याय १५ , श्लोक ०६
(मेरो परमधाममा पुगेर फेरि यो भौतिक जगत्मा फर्किनु पर्दैन। मेरो परमधामलाई सूर्य, चन्द्र, अग्नि कसैले पनि प्रकाशित गर्न सक्तैनन्।)
न तद् भासयते सूर्यो न शशांको न पावक:। यद् गत्वा न निवर्तते तद्धाम परमं मम।।६।।
अध्याय १५ , श्लोक ०७
(यस भौतिक संसारमा रहेका शरीर धारण गरेका आत्माहरू मेरा सनातन-कहिले नाश नहुने अंशहरू हुन। तर ती अंशहरू भौतिक प्रकृतिसँग आवद्ध रहेको हुनाले शरीर भित्रका पाँच इन्द्रियहरू सहित मनसँग हरपल संघर्ष गरिरहेका हुन्छन्।)
ममैवांशो जीवलोके जीवभूत: सनातन:। मन:षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति।।७।।
अध्याय १५ , श्लोक ०८
(यस भौतिक संसारमा इन्द्रियहरूका मालिक देहधारी जीवले नया शरीर प्राप्त गर्दा र पुरानो शरीर परित्याग गर्दा आफ्ना छ इन्द्रियहरूलाई साथमा लिएर त्यसै गरी यात्रा गर्दछ जसरी बतासले फूलहरूबाट गन्ध आफ्नो साथमा लिएर यात्रा गर्दछ।)
शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वर:। गृहीत्वैतापनि संयाति वायुर्गन्धनिवाशयात्।।८।।
अध्याय १५ , श्लोक ०९
(यो जीवआत्माले पाँच इन्द्रियहरू-कान, आँखा, छाला, जिभ्रो, नाक र मनसहतिको माध्यमबाट विषयहरूको भोग गर्दछ।)
श्रोत्रं चक्षु: स्पर्शनं च रसनं घ्राणमेव च। अधिष्ठाय मनश्चायं विषयानुपसेवते।।९।।
अध्याय १५ , श्लोक १०
(जीव आत्माले शरीर त्याग गरेको वा जीव आत्मा शरीरमा नै रहेको अज्ञानीहरूले अनुभूत गर्न सक्तैनन् र गुणहरूसँग आवद्ध भएर इन्द्रियहरूका सुखबाट आनन्दित हुन्छन्। तर ज्ञानका आँखा हुनेहरूले भने देख्न र अनुभूत गर्न सक्छन्।)
उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम्। विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष:।।१०।।
अध्याय १५ , श्लोक ११
(अन्त:करण अर्थात हृदयमा अवस्थित यो आत्मालाई योगीहरूले यत्नद्वारा देख्न सक्छन तर अविवेकी एवं अज्ञानीहरू, जसको हृदय पवित्र छैन, ले जतिसुकै प्रयत्न गरेता पनि देख्न सक्दैनन्।)
यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम् यतन्तोSप्यकृतात्मानो नैनं पश्यन्त्यचेतस:।।११।।
अध्याय १५ , श्लोक १२
(जुन तेजले सूर्य, चन्द्र र अग्निमा रहेर सारा संसारलाई प्रकाशित गर्दछ त्यो तेजलाई मेरो नै प्रकाश हो भन्ने बुझ।)
यदादित्यगतं तेजो जगद् भासयतेSखिलम्। यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम्।।१२।।
अध्याय १५ , श्लोक १३
(र, म पृथ्वीमा प्रवेश गरेर आफ्नो शक्तिले सम्पूर्ण चर र अचर प्राणीहरूलाई धारण गर्दछु र म नै अमृतमय चन्द्रमा बनेर सम्पूर्ण बिरुवा अर्थात औषधिहरूलाई पोषित समेत पनि गर्दछु।)
गामाविश्य च भूतानि धारयाम्यहमोजसा। पुष्णामि चौषधी: सर्वा: सोमो भूत्वा रसात्मक:।।१३।।
अध्याय १५ , श्लोक १४
(म जठराग्नि अर्थात पाचनशक्ति बनेर प्राणीहरूको शरीरमा रही प्राण वायु र अपान वायुको संयोगबाट चार किसिमका अन्नहरूलाई पचाउँछु।)
अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रित:। प्राणापानसमायुक्त: पचाम्यन्नं चतुर्विधम्।।१४।।
अध्याय १५ , श्लोक १५
(म सबै प्राणीहरूको हृदयमा अन्तर्यामीको रुपमा स्थित छु। मबाट नै स्मृति, ज्ञान र विस्मृति उत्पन्न हुन्छ। सबै वेदहरूमा जानिने म नै हुँ। यथार्थमा भन्ने हो भने वेदहरूका रचनाकर्ता र वेदहरूका ज्ञाता पनि म स्वयं नै हुँ।)
सर्वस्य चाSहं हृदि सन्निविष्टो मत्त: स्मृतिर्ज्ञानमपोहनं च। वैदेश्च सर्वैरहमेव वेद्यो वेदान्तकृद् वेदविदेव चाहम्।।१५।।
अध्याय १५ , श्लोक १६
(यस चौध लोकमा क्षर र अक्षर गरी दुई किसिमका पुरुष तत्वहरू छन्। सम्पूर्ण प्राणीहरूलाई क्षर र जीवआत्माहरूलाई अक्षर भन्ने गरिन्छ।)
द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च। क्षर: सर्वाणि भूतानि कूटस्थोSक्षर उच्यते।।१६।।
अध्याय १५ , श्लोक १७
(तर पहिले भनिएको क्षर र अक्षर तत्व भन्दा भिन्न एक उत्तम पुरुष छन् जसलाई परमात्मा भन्ने गरिन्छ। परमात्मा ईश्वर हुन् र निर्विकार छन्। तिन लोकहरूमा प्रवेश गरेर परमात्माले ती लोकहरूको भरण पोषण गर्दछन्।)
उत्तम: पुरुषस्त्वन्य: परमात्मेत्युदाह्रत:। यो लोकत्रयमाविश्य विभर्त्यव्यय ईश्वर:।।१७।।
अध्याय १५ , श्लोक १८
(किनकि म क्षर भन्दा अति प्राचीन र अक्षरहरूमा उत्तम छु। त्यसकारण म लोकमा र साथै वेदमा पनि पुरुषोत्तम नामले प्रसिद्ध छु।)
यस्मात्क्षरमतीतोSहमक्षरादपि चोत्तम:। अतोSस्मि लोके वेदे च प्रथित: पुरुषोत्तम:।।१८।।
अध्याय १५ , श्लोक १९
(हे भारत, जो ज्ञानीले मोहशून्य भएर मलाई यसप्रकारले पुरुषोत्तम भनी जान्दछ त्यो सर्वज्ञ हो र उसले सर्व प्रकारले मलाई नै भज्दछ।)
यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम्। स सर्वविद्भजति मां सर्वभावेन भारत।।१९।।
अध्याय १५ , श्लोक २०
(हे निष्पाप भारत, यसप्रकार यो अति रहस्यपूर्ण शास्त्र मैले तिमीलाई वर्णनन् गरी अवगत गराएँ। यसलाई जानेर बुध्दिमान् व्यक्ति अझै कृतार्थ अर्थात ज्ञानले पूर्ण प्रकाशित हुन्छ।)
इति गुह्यतमं शास्त्रमिदमुक्तं मयाSनघ एतद् बुद्ध्वा बुद्धिमान् स्यात्कृततकृत्यश्र्च भारत।।२०।।
Liked by: