आपदामपहर्तारम्
दातारं सर्वसम्पदाम् ।
लोकाभिरामं श्रीरामम्
भूयो भूयो नमाम्यहम् । ।
समस्त आपत्ति, विपत्ति, दुःख, पीडा, कष्ट आदिलाई जरैदेखि नाश गर्ने, सम्पूर्ण सम्पत् अर्थात् सम्पूर्ण अणिमा, महिमा, गरिमा आदि गरिएका आठ प्रकारका सिद्धिलाई प्रदान गर्ने, भूलोक, भूवर्लोक, स्वर्लोक, अतल, वितल, सुतल आदि चौध लोक तथा अखिलकोटि ब्रह्माण्डमा विद्यमान समस्त जीवजन्तुलाई भयरहित आनन्द प्रदान गर्ने यस्ता मर्यादा पुरुषोत्तम भगवान् श्रीरामलाई बारम्बार प्रणाम गर्दछु ।
भगवानको जन्मकुण्डली विश्लेषण गर्न सक्ने क्षमता हामी मनुष्यमा कहाँ छ र ? तरपनि एउटा साधारण मनुष्यजस्तै जीवन र जगतको उद्धार तथा आदर्श स्थापित गर्न जन्म लिनुभएका भगवानको मर्यादित एवं अनुशासित कार्यादिलाई ज्योतिषीय दृष्टिले हेर्दा गोस्वामी तुलसीदासजीको रामचरितमानसअनुसार मर्यादा पुरुषोत्तम भगवान् श्रीराम राजा दशरथ र महारानी कौशल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमी तिथि तथा पुनर्वसु नक्षत्रको चतुर्थ चरण एवं कर्कट लग्नमा भगवान् श्रीरामको जन्म भएको हो ।
लग्नमा चन्द्रमासँग बृहस्पति र सूर्य, मङ्गल, शुक्र, गुरु र शनि पाँचवटा ग्रह आफ्नो–आफ्नो उच्च राशिमा भएको बेला कौशल्याले भगवान् श्रीरामलाई यस धरातलमा जन्म दिनुभयो । यस्तो कुण्डली साधारण मनुष्यको हुन सक्दैन यो एक उच्चकोटीको मात्र हुनसक्छ, बृहस्पति कर्कट राशिमा उच्च हुन्छ, बृहस्पति लग्नमा स्वगृही चन्द्रमासंग स्थित छ, जसले गर्दा प्रबल कीर्ति दिने गजकेशरी योग बन्दछ, यस्तो अद्वितीय योग भएपनि शनि चतुर्थ भावमा आफ्नो उच्च राशि तुलामा स्थित भएर लग्नलाई पूर्ण दृष्टिले देखिरहेको छ । मंगल सप्तम भावमा आफ्नो उच्च राशि मकरमा बसेर लग्नमा पूर्ण दृष्टिले देखिरहेको छ । यो कुंडलीमा दुईवटा सौम्य ग्रह गुरु र चन्द्रमालाई दुई पाप ग्रह शनि एवं मंगलले आफ्नो–आफ्नो उच्च राशिमा बसेर हेरिरहेको स्थिति छ, यस्तो स्थितिमा प्रबल राजभंग योग बन्दछ । फलस्वरूप श्रीरामजीको राज्याभिषेकदेखि जीवनभरी सबै कार्यमा व्यवधान उत्पन्न भयो ।
जुन समय श्रीरामको राज्याभिषेक हुनुथियो त्यस समय शनिको महादशामा मंगलको अंतरदशा चलिरहेको थियो यसै प्रकारले शनि एवं मंगलले श्रीरामजीलाई अनेकौँ संघर्ष गर्न बाध्य बनायो । श्रीरामजी मंगला थिए, सप्तम (पत्नी) भावमा मंगल छ, यस कारण पत्नी वियोग सहनु पर्यो । राहु यदि ३,६, या ११औं भावमा स्थित भयोभने अरिष्टताको सामना गर्नुपर्दछ, यस्तो ग्रह स्थितिको प्रभावले भगवान श्रीरामजीको जन्मकुण्डलीमा दाम्पत्य, मातृ, पितृ, भौतिक सुख आदि प्राप्त गर्ने योग बनेको छैन भन्ने प्रष्ट हुन्छ । शुक्र पत्नीको प्रतिनिधि ग्रह मीनमा उच्च रहेको कारण राजा जनकी छोरी माता सीताजस्ती दिव्य कन्यासंग विवाह हुनु स्वाभाविक हो । पंचमेश मंगलको पंचमबाट तेस्रो स्थानमा मंगल भएको कारणले भगवान रामका पुत्र अत्यन्त पराक्रमी भए । जैमिनी ज्योतिषशास्त्रअनुसार लग्नेश र अष्टमेश चल राशि भयो भने जातक दीर्घायु हुन्छ, भगवान् श्रीरामको लग्नको चन्द्रमा चल राशिमा छ त्यसैको फलस्वरूप भगवान् श्रीरामले दीर्घायु प्राप्त गर्नुभयो ।
दशम भावमा उच्च राशि मेषमा स्थित सूर्यले भगवान् श्रीरामलाई एउटा सुयोग्य एवम् आदर्श शासकको रूपमा प्रतिष्ठित गरायो जसलेगर्दा श्रीरामको शासनकाल तथा रामराज्य वर्तमान समयमा पनि मर्यादित एवम् आदर्शको प्रतीकको रूपमा स्थिर रहिरहेको छ । यसमा कुनै सन्देह छैन । श्रीरामजीको कुण्डली विश्लेषण गर्दा थाहा हुन्छकि कुन–कुन ग्रहको कारणले भगवानलाई भौतिक सुख हुन सकेन । तर हामीले याद राख्नुपर्ने कुरा भगवान् श्रीरामले त्याग र संघर्षजस्तो कष्टकर मार्गमा हिंडेर स्वयंलाई मर्यादा पुरुषोत्तमको स्वरूपमा स्थापित गर्नुभयो । सत्यको मार्गमा सदा–सर्वदा हिँडीराख्नुभयो, अनेकौँ कष्ट सहेर पनि लोक र कल्याणको लक्ष्यभन्दा बाहिर नगई, सदा–सर्वदा कर्तव्य निष्ठा र सत्मार्गको पथमा अगाडी बढ्दै जानुभयो, यसको प्रमुख कारण लग्नमा गुरु र चन्द्रमाको युति हुनु हो ।
प्राचीन कालमा लंकाको राजा रावण परम विद्वान् हुनुको साथै एकदमै दुराचारी तथा अत्याचारी थियो । रावणको अत्याचारबाट मनुष्य मात्र नभई ऋषि तथा देवातागण पनि अत्यन्तै त्रसित थिए । रावणले ब्रह्माजीबाट अमर हुने वरदान पाएको थियो त्यसैले उसलाई कसैले केहि पनि गर्न सक्दैनथे । रावणको अत्याचारबाट सबै दिक्क भएर सबै देवतागण भगवान् विष्णुलाई भेट्न गए र समस्त जगतको कल्याणको लागि प्रार्थना गर्दा त्यतिखेर भगवान् विष्णुले सम्पूर्ण सृष्टिको कल्याण, धर्मको पुनःस्थापना र रावणको वध गर्नको लागि राजा दशरथको पुत्रका रूपमा जन्मलिने निश्चय गर्नुभएको थियो ।
वाल्मीकि रामायण तथा गोस्वामी तुलसीदासजीको रामचरितमानसअनुसार अयोध्याका राजा दशरथका तिन पत्नीहरू कौशल्या, कैकेयी र सुमित्रा, थिए । धेरै समयसम्म पनि सन्तान नभएपछि ऋषि वशिष्ठले राजा दशरथलाई पुत्र प्राप्तिको लागि पुत्रेष्टि यज्ञ गराउन सल्लाह दिनुभयो, यस्तो सल्लाह सुनेर राजा दशरथले खुशि हुँदै महर्षि ऋष्यशृङ्ग ऋषिलाई यज्ञ गर्नको लागि विन्ती गर्नुभयो । महर्षि ऋष्यशृङ्गले दशरथको विन्तीलाई स्वीकार गरी यज्ञ सम्पन्न गराई महर्षिले तिनै वटी रानीहरूलाई प्रसादको रूपमा खीर दिनुभयो र त्यही खीरको प्रभावले केही समयमानै तिनै वटी रानीहरु गर्भवती भएपछि चैत्र शुल्कपक्ष नवमी तिथिको अभिजित मुहूर्तमा मध्य दिनमा राजा दशरथकी जेठी रानी कौशल्याले रामलाई जन्म दिनुभयो, कैकेयीले भरतलाई र सुमित्राले दुई जुम्लिया लक्ष्मण र शत्रुघ्नलाई जन्म दिनुभयो र त्यसै समयदेखि त्यही पवित्र शुभ दिनलाई रामनवमीको रूपमा मनाउन थालिएको हो । रामनवमी चैत्र नवरात्रको नवमी अर्थात् अन्तिम दिन पर्दछ । यस दिन माता दुर्गा भगवतीको आराधना सहित दुर्गापूजा विसर्जन र रामनवमी एकैदिन मनाइने भएकाले यसदिनको महत्व अझै बढ्दछ ।
सूर्यवंशअन्तर्गत अयोध्याका राजा दशरथ र महारानी कौशल्याको जेठो सन्तानको रूपमा जन्मिएका भगवान् श्रीराम विष्णुको अवतार मनिएका माछा, कछुवा, वाराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की मध्ये सातौं अवतार हो, जसले त्रेतायुगमा रावणजस्तो व्यक्तिलाई संहार गरी समस्त चराचर जगतको उद्धारको लागि यस धर्तीमा अवतरित हुनुभयो । वर्षभरिका चार नवरात्रहरू मध्येको वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको विभिन्न शास्त्रहरूमा वर्णन गरिएको छ । कौशल्यानन्दन प्रभु श्रीराम आफ्ना भाइ लक्ष्मण, भरत, शत्रुघ्नलाई समानरूपमा प्रेम गर्नुहुन्थ्यो, वहाँले माता कैकेयीको १४ वर्ष वनवासको इच्छालाई सहर्ष स्वीकार गर्दै पिताले दिएको वचनलाई पालना गर्नुभयो । रघुकुलको वंश परम्परालाई जीवन्तता दिँदै
‘रघुकुल रीत सदा चली आई,
प्राण जाय पर वचन न जाय’
यस उक्तिलाई सिद्ध पार्नुभयो । रामको राज्यमा सारा मानिस खुसी, अनुशासित, मर्यादित र नियन्त्रित थिए, त्यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ । भगवान् श्रीरामले आफ्नो जीवन कालमा अनैतिक तथा अव्यावहारिक कार्य कहिल्यै पनि कसैसँग नगरेको कारणले नै भगवान् श्रीरामलाई मर्यादा पुरुषोत्तम भनिन्छ । श्रीरामले जीवनमा कहिल्यै पनि मर्यादाको उल्लंघन गर्नु भएन, माता–पिता र गुरुको आज्ञालाई कहिल्यै पनि किन ? भन्ने प्रश्न गर्नुभएन । भगवान् श्रीराम एउटा आदर्श पुत्र, आदर्श शिष्य, आदर्श भाइ,आदर्श पति, आदर्श पिता, आदर्श राजा बन्नुभयो र युगौं युगसम्म रामराज्यको ज्वलन्त उदाहरणका रूपमा स्थापित हुनुभयो ।
-प.नारायणप्रसाद दुलाल
Liked by: