श्रीकृष्ण जन्माष्टमी पर्व सनातन वैदिक धर्ममा भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मोत्सवको रुपमा धुमधामले मनाउने गरिन्छ, यीनै भगवान् श्रीकृष्णले आफ्नो कालमा गरेको कृयाकलापलाई नियालेर हेर्दा हाम्रो जीवनको सम्पूर्ण पक्षलाई चित्रण गरेको पाईन्छ ।
भगवान श्रीकृष्णको सम्पूर्ण जीवनका प्रत्येक घटना प्रेरणादायी छ । वहाँले कार्य धर्म-कर्म, पाप-पुण्य, नैतिक-अनैतिक भन्दापनि धेरै माथि पृथक र पूर्ण पुरुषको अवधारणालाई साकार गर्नुभएको छ । श्रीकृष्णको चरित्र रस, दार्शनिकका साथै व्यावहारिकपनि छ अत: संक्षिप्तमा भन्नुपर्दा भगवान् श्रीकृष्ण जीवनको प्रतीक नै हो, त्यसैले वहाँ नैतिक-अनैतिक, सत-असतभन्दा धेरै माथि हुनुहुन्छ । श्रीकृष्णको जीवन साधारण व्यक्तिको असाधारण चित्र रहेको छ । यसमा संघर्ष, रस, प्रेम, विरह, सफलता, कलह, सुख, युद्ध, ज्ञान, भक्ति, वैराग्यआदि सबै कुरा समाहित छ ।
श्रीकृष्णको जीवन विशेषगरी चार नगर हरूमा व्यतीत भएको थियो । मथुरामा जन्म, उज्जयिनमा शिक्षा, हस्तिनापुर र छेउछाउको क्षेत्र कर्मक्षेत्र भयो र अन्त्यमा द्वारिकामा राज्य गरेर परमधाम प्राप्त हुनुभयो । यसरी श्रीकृष्णको व्यक्तित्वको विश्लेषण गर्दा वहाँ मानव, नेतृत्वकर्ता, गृहस्थ, योद्धा, सारथी, योगिराज र देवताको रूपमा भक्तहरूको हृदयमा बस्नु भएको छ ।
श्रीकृष्णको जन्म देखि महापथ गमन सम्मको गाथा यही नै हो कि कारावासमा जन्म हुनु, जन्म हुनेबित्तिकै हत्याको योजना, कसै गरी बचेर माता-पिताबाट टाढा एउटा यस्तो परिवारमा पालन-पोषण भयो जहाँ न कुनै नाता-गोता, बालकपनमा गाई चराउँदा बाल-ग्वालाको रूपमा दही-मक्खन चोर्नु , पुतना र कालिय नागको प्राण लिनु । गोवर्धन पर्वत उठाएर बृजवासिहरूको रक्षा गर्नु र कंस-जरासंध-शिशुपाल जस्ता आततायीहरूको समूल नाश गर्नु, लताकुंजमा राधा लगायत गोपिनीहरूको साथ माधुर्य लीला गर्नु, महाभारतको युद्धमा सारथी बन्नु, युद्धमा पाण्डवहरूलाई विजय प्राप्त गराउनु र पाण्डवहरूलाई राज्यारोहण गरेर द्वारिकामा आफ्नी पटरानीहरू सङ्ग गृहस्थ जीवन व्यतीत गर्दै परमधाम हुनुभयो ।
यसरी हेर्दा उहाँको पूरा जीवन उतार-चढ़ाव, संघर्ष-झमेलाआदिले परिपूर्ण रह्यो, वहाँ तीनै लोकको सत्ताधारी हुँदापनि सामान्य साम्राज्यमा विचरण गरी रहनुभयो ।
महाभारतको युद्धभन्दा पहिले वहाँले आफ्नु भरपुर प्रयास गर्नुभयो कि युद्ध न होस् भनेर । वहाँ युद्धको परिणामको ज्ञाता थिए, त्यसैले कौरव र पाण्डवको बीच सन्धि गराउने र शान्ति स्थापना गराउने प्रयास गरेका थिए ।
अन्तत: जब शान्ति स्थापनाको सम्पूर्ण प्रयास असफल भयो तब वहाँले नै अर्जुनलाई युद्ध गर्न र आफ्नो कर्मलाई निर्वहन गर्नको लागि श्रीमद्भगवद्गीताको माध्यमबाट समस्त प्राणिको कल्याणकोलागि दिव्य उपदेश दिनुभयो, जसमा धर्म, कर्म, ज्ञान, वैराग्य, योग, राजनीति, कूटनीति, दर्शनआदिको ज्ञान दिनुभयो त्यसैगरी श्रीकृष्णले महाभारत युद्धमा एक प्रकारले ‘non playing captain’ जस्तै हुनु भएको छ, जसले अत्याचारको सत्तालाई समूल नास गरी धर्म रक्षा र अधर्मको समूल विनाश हुन्छ भन्ने ज्ञान योगेश्वरले दिनुभयो ।
श्रीकृष्ण पौराणिक ग्रन्थमा प्रेम र मित्रताको प्रतीकको रुपमा परिचित हुनुहुन्छ । श्रीकृष्ण र सुदामाको प्रेम त सर्वविदित नै छ, तर द्रौपदी सङ्गको वहाँको साथ र मित्रताले हामीलाई अचम्भित गर्दछ । श्रीकृष्णले प्रतिज्ञा लिएका थिए कि “म सत्य र साँचो मित्र जस्तै भएर द्रोपदीको सदा रक्षा गर्नेछु" श्रीकृष्णले यस प्रतिज्ञाको पालन हरपल गरे । चीरहरणको समयमा श्रीकृष्णले द्रौपदीको रक्षा गर्नु भयो । उद्धवसङ्ग होस् या अर्जुन सङ्गको प्रेम र मित्रताको वर्णन अतुलनीय छ ।
श्रीकृष्णको सम्पूर्ण जीवनको चरित्र-चित्रणबाट स्पष्ट हुन्छ कि वहाँ यस युगको आध्यात्मिक र राजनीतिक द्रष्टा रहनु भयो । समाजको मंगलकामनाको लागि, धर्म-सत्य र न्यायलाई सिंहासनमा प्रतिष्ठित गर्नकोलागि, सज्जनको रक्षा र दुर्जनको समूल विनाश गर्नकोलागि योगेश्वरले अवतार लिनुभएको थियो, त्यसैले सनातनीय धर्मग्रन्थमा भनिएको छ कि “जहाँ-जहाँ श्रीकृष्ण हुनुहुन्छ, त्यहाँ-त्यहाँ विजय निश्चित छ" । अस्तु ॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥
यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ।।
Liked by: