कालिदास बन्न सकौं | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

कालिदास बन्न सकौं




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Apr 04 2018

एकपटक सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसार कस्तो हुन्थ्यो होला ! हामी भन्ने गर्दछौं जो संग बुद्धि र विवेक छैन त्यो मूर्ख हो | जनावरहरू विद्वान् हुँदैनन् त्यसैले उनिहरू मूर्ख पनि हुँदैनन् | विश्वमा मनुष्यमात्रै विद्वान र मूर्ख हुन्छन् । यो संसारमा मुर्खहरू नभए विद्वान हरूको अस्तित्व हुँदैन थियो होला | यो संसारमा विद्वान् होस् या नहोस् तर पनि मूर्खचैं अवश्य हुन्छ र मूर्खहरू रहुन्जेल यो संसारमा बुद्धिजीवीहरुका लागि रोजीरोटी सुरक्षित छ | सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसारमा सत्य, प्रेम, अहिंसा, शांति, सद्भाव, बन्धुता, करुणा, त्याग, तपस्या र बलिदानको कुरा बारम्बार कस्ले गर्थ्यो ? आदर्शको झंडा आकाशमा कस्ले फहराउँथ्यो ? ब्रह्माजीले सृष्टिको प्रारम्भकालदेखि नै मूर्खको आवस्यकता छ भन्ने ठानेर सृष्टि गर्नुभएको हो भन्ने मान्यता परापूर्वकालदेखि बर्तमान समयसम्म ऐतिहासिक, पौराणिक एवम् किम्वदन्तीका रुपमा भइरह्यो | 

अहिले छन् र रहने नै छन् | सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसारमा सबै बुद्धिजीवीहरु मात्रै भए यो दुनिया कस्तो हुन्थ्यो होला ? कसले कसको सुन्थ्यो ? तँ पनि विद्वान् म पनि विद्वान्, न म तेरो सुनौं, न तँ मेरो सुन्, मूर्ख नभए यस्तै यस्तै कुराहरू सुनिन्थ्यो होला र आज हामीले मूर्ख तथा मूर्ख्याईंको चर्चा गर्न पनि पाउँदैन थियौं होला | सृष्टिको प्रारम्भिक समयदेखि दैत्य र दानव दुवै थिए त्यसै समयदेखि दैत्यहरू मुर्ख थिए किनकी दैत्यहरु आफ्नो मायावी शक्ति प्राप्त गरेर सृष्टि बनाउने ईश्वरलाई नै चुनौती दिन्थे र त्यसको अन्त्य भयानक प्राणनाशक हुन्थ्यो | सत्ययुग, द्वापरयुग, त्रेतायुग हुँदै अहिले एक्काइसौं शताब्दीको वर्तमान समयसम्म पनि मूर्खताको कमिको आभास भएको देखिंदैना | दैत्य तथा ऋषिकुलसंग संबंध राख्ने रावण त्रेतायुगमा सबैभन्दा ठुलो विद्वान मानिन्थ्यो | तर उसले पनि एउटा मूर्खतागर्यो र उसको यो मूर्खता नै उसको मृत्युको कारण बन्न पुग्यो । रावणले माता सीताको अपहरण गर्यो, जसको कारण ऊ नष्ट भयो ।

आज मूर्खदिवस भएकाले संस्कृत साहित्यका महाकवि कालिदास र उनको चरित्रको वारेमा कुरा गर्न मन लाग्यो | कलियुगमा मूर्खताको धरोहरको रूपमा रहेका आदर्श व्यक्ति हुन् महाकवि कालिदास, संस्कृत साहित्यका भास्कर कालिदास जसरी महाकवि बने त्यो एउटा प्रचंड पुरुषार्थ र दृढ संकल्पको प्रतिफल थियो | राजा विक्रमादित्यको राज्यमा विद्योत्तमा नामकी एउटी राजकुमारी एकदमै विदुषी थिईन् । उनले घोषणा गरेकी थिईन् कि जुन पुरुषले मलाई शास्त्रार्थमा हराउँछ म उसैसँग विवाह गर्छु, अरू संग गर्दिन |

लावण्यवती विदुषी राजकुमारीलाई प्राप्त गर्नका लागि शास्त्रार्थ गर्न विभिन्न राज्यबाट राजकुमार, विद्वानहरू आए तर विद्योत्तमालाई कसैले पनि शास्त्रार्थमा हराउन सकेनन् सबैले शिर झुकाएर हिड्नुको विकल्प थिएन सबै थाके तर राजकुमारीलाई हराउन कसैले सकेन, नसकेपछि सबै विद्वान,पण्डित,राजकुमारहरू मिलेर एउटा षड्यन्त्र रचे कि त्यो घमण्डी राजकुमारीको विवाह कुनै मूर्खसंग गराईदिउँ अनिमात्रै हामीहरू पक्का पण्डित हुनेछौं भन्दै सबै राजकुमारीको लागि मूर्ख खोज्नतिर तल्लीन भए | केहि समय पश्चात् विद्वानहरुले एउटा मूर्ख ....महामूर्ख भेटे | एउटा रुखको हाँगामा बसेर सोहि हाँगा काट्दै थियो, त्यो देखेर अब उ भन्दा मूर्ख....महामूर्ख अरु को हुनसक्थ्यो ? पण्डितहरूले सोचेकि राजकुमारीको लागि यो दुलाहा ठीक छ । राजकुमारीको विवाह यसैसंग गरिदिउँ । विद्वान्हरूले भने “हामी तिम्रो विवाह राजकुमारीसंग गरिदिन्छौं तर एउटा शर्त छ, तिमी मौन रहनुपर्छ, केहि बोल्न पाईंदैन, बाँकि हामी सम्हाल्छौं ।” अत: विद्वानहरूको सभामा मूर्खको मौनता नै उचित हुन्छ … पण्डितहरूले त्यस मूर्खलाई लिएर गए, एउटा विद्वानको जस्तो भेषभूषा हुन्छ त्यस्तै बनाई कपडाआदि लगाइदिए, मूर्खलाई मौनी गुरुको नाटक गर्न लगाए र राजकुमारीसँग शास्त्रार्थको लागि लिएर गए र भने: “हाम्रो गुरुजी हजुरसंग शास्त्रार्थ गर्न चाहनुहुन्छ ? तर वहाँ मौन बस्नुहुन्छ, हजुरसंग हिम्मत छ भने मौन इसारामा प्रश्न सोध्न सक्नुहुन्छ र इसाराले दिएको प्रश्नको उत्तर बुझ्न सक्नुहुन्छ, यदि हाम्रो गुरुजी हजुरसंग शास्त्रार्थ गर्न चाहनुहुन्नभने हामी राजकुमारीलाई कायर समझिनेछौँ |" 

राजकुमारीलाई यो चुनौती थियो र हुन्छ भन्दिनुभयो | पण्डितहरूको सभा भयो, यस्तो अभूतपूर्व शास्त्रार्थ हेर्न भिड लग्यो, पण्डितहरूले मौनी गुरुका असल शिष्यजस्तो नाटक गर्दै उनलाई मानपूर्वक सभामा लगेर उच्च आसनमा विराजमान गराए । बिना वाणीको शास्त्रार्थ सुरु हुनलाग्यो र राजकुमारीले गुरुजीलाई एउटा औंला देखाईन्, गुरुजीले सम्झे कि राजकुमारी मेरो एउटा आँखा फोड्दिन चाहन्छिन्, त्यसको बदलामा गुरुजीले दुई औंला देखाउँछन् यदि तिमीले मेरो एउटा फोडे म तिम्रो दुवै फोड्दिन्छु, पण्डितहरूले आफ्नो गुरुजीको भाषाको अर्थघटन गर्दै राजकुमारीलाई भने: “हजुर भन्नु हुन्छ कि ईश्वर एउटा हुनुहुन्छ तर हाम्रो गुरुजी भन्नुहुन्छ ईश्वरबाट यो जगत् बन्दैन, ईश्वर र ईश्वरको शक्ति माया, पुरुष र प्रकृति यिनै दुईबाट जगतको सृजना हुन्छ ।” कुरा युक्तियुक्त र शास्त्रसम्मत थियो, राजकुमारीले मानिन् । फेरी राजकुमारीले दोस्रो प्रश्न गर्दै हातको पन्जा देखाईन्, मूर्खले सम्झियोकि यो राजकुमारीले मालाई 'थप्पड हान्छु' भनेजस्तो छ भनेर मुर्खले मुड्की देखायो, “यदि तिमीले मलाई थप्पड हाने म तिमीलाई मुड्कीले हानेर तिम्रो नाक भाँचीदिन्छु ।” पण्डितहरूले राजकुमारीलाई भने “हजुर भन्नुहुन्छ कि पाँच ज्ञानेन्द्रिय हुन्छन्, तर हाम्रो गुरुजी भन्नुहुन्छ कि पाँच ज्ञानेन्द्रियलाई नियन्त्रित गरोभने परमात्मासँग मिलन हुन्छ ।” फेरी राजकुमारीले सातओटा औंला देखाईन्, बदलामा मूर्खले नौवटा औंला देखायो, पण्डितहरूले जकुमारीलाई भने: “हजुर सात औंलाद्वारा पाँच ज्ञानेन्द्रिय, मन अनि बुद्धि, यसरी सात प्रकरको भन्नुहुन्छ, तर हाम्रो गुरुजी भन्नुहुन्छ कि त्यसका साथै चित्त र अहंकार पनि गन्नुपर्छ, त्यसैले यो सबै मिलाउँदा नौ हुन्छ ।” राजकुमारीले जिब्रो देखाइन्, मूर्खले मुखमा हात राख्यो: “यदि तिमीले मलाई जिब्रो देखायौ भने म तिम्रो मुख बन्द गरिदिन्छु ।” पण्डितहरूले जकुमारीलाई भने: वहाँ भन्नुहुन्छ जिब्रोले बोलिन्छ तर हाम्रो गुरुजी भन्नुहुन्छ कि वाणीको संयम गर्नाले शक्ति बढ्छ, बोल्दैमा परमात्मा भेटिँदैन, मौनको अभ्यास चाहिन्छ, अत: अन्तर्मुख हुन आवश्यक छ , व्यर्थ बोल्ने मान्छेले त जुत्ता खानुपर्छ । यस्तो प्रकारको संस्कृतका विद्वानहरूबिच विशाल सभामा शास्त्रार्थ भयो | पण्डितहरूले आफ्नो महाविद्वान गुरुजीको मौन इसाराको अर्थ घटाएर शास्त्रोक्त विचारधारा अनुसार शास्त्रार्थ गरेर देखाए । महाविद्वान मौनी गुरुजीको शास्त्र सम्मत र युक्तियुक्त कुरा राजकुमारीलाई मान्नै पर्यो र त्यो मूर्खसँग राजकुमारीको विवाह सम्पन्न भयो । राती भयो, दुवै महलमा गए र राजकुमारीले झ्याल बाहिर हेर्दा ऊँट उभिएको देखिन्, राजकुमारीले आफ्नो पतिदेवसंग संस्कृतमा सोधिन्: “यो के हो ?” संस्कृत मा ऊँटलाई 'ऊष्ट्र' भन्दछन्, मूर्ख त्यो शब्दलाई कसरि जानोस् ? राजकुमारीले बुझिहालिन् कि यो पक्कैपनि मूर्ख हो, र त्यसै समय मूर्खलाई घर बाहिर निकाली दिईन् र भनिन्: “मूर्ख ! तँ मेरो पति कसरी हुन सक्छस् ? जा विद्वान् भएर मात्रै मलाई मुख देखा, मेरो विवाह त भइसक्यो अव म अर्को विवाह त गर्न सक्दिन तर तँ विद्वान् भएर आईस् भने अवश्य तँलाई स्वीकार गर्नेछु ।" त्यो मूर्ख युवकलाई मनमा गहिरो चोट पर्यो र उसले दृढ संकल्प गर्यो कि "म संस्कृतको महान विद्वान् बनेरै छोड्छु" भन्दै उ जंगलतिर लग्यो ।

संकल्पबलको अगाडी प्रतिकुलता के टिक्न सक्छ र ? उपासना-आराधना गर्दा-गर्दै उस्को कुण्डलिनी शक्ति जागृत भई साक्षात् कालीजीको दर्शन भयो । चित्तमा सात्विकता र दृढ संकल्पबल भए काली पनि आउने, राम पनि आउने, कृष्ण पनि आउने र शिव पनि आउँछन् | त्यो आत्मज्ञान पाउँनका लागि चित्तको शुद्धि आवश्यक छ । चित्त शुद्ध हुने वित्तिकै देवीजी प्रकटहुनुभयो र त्यस संकल्पवान् युवकलाई वरदान दिनुभयो किः “जाऊ वत्स ! तिमी महान् विद्वान् हुनेछौ र महाकविको रूपमा यस संसारमा प्रसिद्ध हुनेछौ ।” माता काली प्रसन्न भईन् फेरी के को कमी ? जे पढेपनि याद हुने भएपछि । जसरी ज्ञानीले जे देख्यो त्यो ब्रह्म, अज्ञानीले जे देखो त्यो मेरो...तेरो..., तेरो...मेरो... र ज्ञानीले जे देख्यो त्यो ब्रह्मस्वरूप, यसैगरी त्यस युवकले जे देख्यो, जे पढ्यो त्यो सबै उसैको भयो र त्यसमाथि आफ्नो अधिकार पायो | यस्तै गर्दा-गर्दै त्यो युवक महान विद्वान् भयो | विद्या र प्रसिद्धि आर्जन गरेर कालिदास फर्किए तव जीवनको सहि बाटो देखाउने आफ्नो पत्नी विद्योत्तमालाई गुरु माने, कालिदासले भक्तिपूर्वक कालीजीको आराधना र कालीजीको आशीर्वादबाट कालिदास ज्ञानी र धनवान बने | ज्ञान प्राप्ति पश्चात् जब घर फर्के तव कालिदासले ढोका खट-खटाउँदै भने– कपाटम् उद्घाटय सुन्दरी (ढोका खोल,सुन्दरी)। विद्योत्तमा आश्चर्य भएर भनिन्- अस्ति कश्चिद् वाग्विशेषः (कुनै विद्वान् लाग्दछ)।

कालिदासले विद्योत्तमालाई आफ्नो पथप्रदर्शक गुरू माने र उनको यो वाक्यलाई आफ्नो काव्यमा स्थान दिए र उनि यति धेरै महान विद्वान् भए कि उनले संस्कृतमा रघुवंश महाकाव्य लेखे र महाकविको उपाधि प्राप्त गरि महाकवि कालिदास बन्न पुगे । महाकवि कालिदासले शाकुन्तलम्, मालविकाग्निमित्र, विक्रमोर्वशीय जस्ता विश्व प्रसिद्ध नाटक लेखे पछि कुमारसंभव, मेघदूत, ऋतुसंहार रघुवंश जस्ता महाकाव्यको रचना गरे र अरुपनि अनेकौं संस्कृतका रचनाहरू उनले लेखे पछि विदेशी भाषाहरूमा कालिदासका रचना काव्यहरूको भाषानुवाद भयो । जर्मनीका गेटे नामक एक प्रसिद्ध कविले जब महाकवि कालिदासको ‘शाकुन्तलम्’ नाटक पढे तब उनि यति धेरै प्रसन्न भए कि नाटक सिरमा राखेर खुल्ला सड़कमै नाच्न थाले रे । यस्तो शाकुन्तलम् नाटक महामूर्खबाट महा विद्वान्, महाकवि बनेका कालिदासद्वारा लेखिएको थियो ।

यसप्रकार कालिदासको जीवनीबाट हामीलाई धेरै शिक्षा मिल्दछ | यदि कसैले हाम्रो कमी-कमजोरीलाई देखाउँछ भने त्यसलाई सकारात्मक पक्षबाट लिनुपर्दछ | जव हामी कुनै कार्य गर्ने सोचमा हुन्छौ ताव जस्तोसुकै कठिनाई भएपनि हामी आफ्नो बाटो नबिराई दृढ संकल्पबल लिएर अघि बढ्नुपर्छ | जीवनमा यदि अन्धकार आयो भनेर आत्तिनु हुँदैन | हामीले अरुलाई मूर्ख बनाउनुभन्दा आफूभित्रको अज्ञान र मूर्खतालाई सहि ढंगले पहिचान गरि कालिदासजस्तै महामानव बन्न सकौं अस्तु |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.