झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाई बहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चकको पहिलोदिन काग तिहार र धन्वन्तरि जयन्ती कात्तिक २८ गते शुक्रबार रहेको छ । काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई खानेकुरा खान दिइने परम्परा छ र धन्वन्तरि जयन्ती (धन तेरस) कै दिन सुन, चाँदी,तामा र पीत्तलका सामान किनेर घर भित्र्याउनाले लक्ष्मी प्रसन्न हुने विस्वास गरिन्छ ।
नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा २९ गते रहेको छ, नरक चतुर्दशीका दिन बिहानै उठेर तीर्थमा स्नान गर्नाले यसलोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । २९ गते शनिबार श्रद्धा एवं भक्तिले लक्ष्मीजीको पूजा जतिबेलापनि गर्न सकिन्छ । लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधुली स्थिर लग्न (वृष) र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५/१२ बाट ०७/०८ सम्मको समय उत्तम रहेको छ भने सिंह लग्नको शुभ समय रात्री ११/४३ देखि १/५५ को समय उत्तम छ । यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ । कार्तिक ३० गते आइतबार गाईपूजा, गोवर्द्धन पूजा र नेवार समुदायको म्ह(आत्म)पूजा गरिन्छ ।
मंसिर १ गते सोमबार दाजु-भाइहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम तर्फ भइ टिका लगाई दिदी बहिनीले दाजु-भाई लाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ ।
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि ११ बजेर ३७ मिनेटमा रहेको छ, तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर आफ्नो अनुकूल समयमा टीका लगाउन हुन्छ । भाई टिका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । यसै दिन कार्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि प्रारम्भ हुन्छ । सुस्वास्थ्य र सुरक्षित तिहारको शुभकामना ॥
-ज्यो. प. नारायणप्रसाद दुलाल
[email protected]
Liked by: