"म आफ्नो जुन गुणको कारणले वेदमा, लोकमा र शास्त्रमा पुरुषोत्तम नामले प्रसिद्ध छु, त्यसै प्रकार मलमासपनि ‘पुरुषोत्तम’नामले प्रसिद्ध हुनेछ र म स्वयम् मलमासको स्वामी हुनेछु ।” भन्दै यसरी अधिक मासको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकारगरी नेतृत्व गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।
जेष्ठ १ गते बेलूका ५:५३ बाट प्रतिपदा शुरू भएसंगै अधिक मास पनि प्रारम्भ हुन्छ र जेष्ठ ३१ गते प्रातः २ बजे औंशी समाप्त भएसंगै अधिक मास पनि समाप्त हुनेछ । अतः जेष्ठ गते नै अधिक मासको समाप्तिमा गरिने पूजा तथा दानमा विशेष गरी अपुप अर्थात् मालपुवा दान गरेर समापन गर्ने गरिन्छ ।
ज्योतिष विज्ञानका अनुसार सूर्यको गतिलाई आधार मानि गणना गरिने वर्षलाई सौर्यवर्ष भनिन्छ र यो सौर्यवर्षको मान ३६५ दिन १५ घडी २२ पला र ५७ विपला हुन्छ । जबकि चन्द्रमाको गतिको आधारमा गणना गरिने वर्षलाई चान्द्रवर्ष भनिन्छ । चाद्रवर्ष ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ । यसप्रकार सौरवर्ष र चान्द्रवर्षको वर्षमानमा प्रतिवर्ष १० दिन ५३ घडी २१ पला अर्थात् लगभग ११ दिनको फरक पर्दछ अत: सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार वर्षमा ११ दिन फरकहुने गर्दछ । यसै अन्तरलाई समानता बनाउन चान्द्रवर्ष प्रत्येक लगभग ३ वर्षमा १२ महिनाको ठाउँमा १ महिना अधिक भई १३ महिनाको हुन्छ । यसरी गणना गर्दा प्रत्येक ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पूराभएपछि अर्को अधिकमासबाट अर्को अधिकमास आउँछ । सूर्यले एउटा राशिबाट आर्को राशिमा प्रवेश गर्नुलाई संक्रान्ति भनिन्छ र चन्द्रमासको शुक्लपक्ष र कृष्णपक्ष भित्र सूर्य संक्रान्ति नपरेकै कारण अधिकमास हुन पुग्दछ , अधिमासलाई मलमास या पुरुषोत्तम मासपनि भनिन्छ । यस्तो अधिकमास यसपाली जेष्ठ महिनामा परेकोछ । विशेष कुरा के छ भने अधिक मास चैत्र देखि अश्विन सम्म मात्रै हुन्छ । कार्तिक, मार्गशीर्ष पौष महिनामा क्षय मास हुन्छ र माघ फाल्गुनमा अधिक या क्षय मास कहिल्यैपनि हुँदैन ।
पौराणिक कथा अनुसार पुरुषोत्तम महिना सम्पूर्ण महिनाहरुभन्दा महत्वपूर्ण एवम् पावन मानिन्छ । प्रत्येक महिना, राशि, नक्षत्र, आदिको स्वामी हुनु, तर मलमास अर्थात् अधिकमासको कोहीपनि स्वामी नभएको कारणले गर्दा अधिक मासमा सम्पूर्ण देव कार्य, शुभ कार्य एवम् पितृ कार्य यस महिनामा पूर्ण वर्जित मनियेकोछ । वर्षभरिका १२ महिनाको नेतृत्व भानु, इन्द्र, रवि, अरुणआदिलाई सूर्य तथा कुनै न कुनै देवीदेवताले नेतृत्व तथा सुरक्षा गर्ने तर, यो अधिक महिनालाई अपनाउन कसैले पनि मानेनन् र अधिक महिना साह्रै उपेक्षित बन्न पुग्यो । मलमासको अधिपत्य सूर्यलगायत अरु देवता कसैलेपनि स्वीकार गरेनन् र अधिकमास अर्थात् मलमास दुखित हुँदै, चिन्तातुर भएर, कान्तिहीन तथा उदासीनताका साथ भगवान् विष्णुलाई आफ्नो पीडा, व्यथा एवम् एक्लो भएको कथा भगवानलाई सुनाएपछि भगवान् विष्णुले मलमासलाई सम्झाउँदै:
अहमेते यथा लोके प्रथितः पुरुषोत्तमः।
तथायमपि लोकेषु प्रथितः पुरुषोत्तमः।।
"म आफ्नो जुन गुणको कारणले वेदमा, लोकमा र शास्त्रमा पुरुषोत्तम नामले प्रसिद्ध छु, त्यसै प्रकार मलमासपनि ‘पुरुषोत्तम’नामले प्रसिद्ध हुनेछ र म स्वयम् मलमासको स्वामी हुनेछु ।” भन्दै यसरी अधिक मासको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकारगरी नेतृत्व गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । भगवान् पुरुषोत्तमले पुरुषोत्तम महात्म्यमा भन्नुभएको छ:
सीतानिक्षिप्तविजानि वर्धन्ते कोटिशो यथा ।
तथा कोटिगुणं पुण्यं कृतम् मे पुरुषोत्तमे ।।
अर्थात् खेतमा छरिएका बीजहरू जसरी करोडौं गुणा बढ्दछन्, त्यसैगरी मेरो पुरुषोत्तम मासमा गरेको पुण्यपनि करोडौं गुणा बढ्नेछ । यस अधिक मलमासमा कसैले पनि यो महिनाको ब्रत, भगवान् नारायणको पूजा गर्ने, आराधना गर्ने, श्रीमद्भागवत महापुराण सुन्ने, पुरुषोत्तम महात्म्य सुन्ने, श्रीमद्भागवतगीताको पाठगर्ने, सूर्यनारायणलाई अर्घ निवेदन गर्ने र तिल, केरा, धार्मिकग्रन्थ, मालपुवाआदि दान, धर्म, परोपकार गर्ने परम्परा छ ।
श्री पुरुषोत्तम मासको व्रत उद्यापन को लागि महिनाको अन्तिम दिन अथवा अरुदिन बिहान शुद्ध चित्त भएर आसनमा बसी भगवान् विष्णुको पूजा को लागि मनलाई एकाग्रता पारेर दियो, कलश, गणेश स्थापना गरी भगवान् विष्णुको पूजा आराधना गर्ने, देश काल र परिस्थिति अनुसार यथाशक्य यथासम्भव भगवानको पूजा गर्नु पर्दछ यथासम्भव पूजा गरिसकेपछि विशेषगरी बिष्णु भगवानको "जिष्णु-बिष्णु-महाविष्णु-हरि-कृष्ण-अधोक्षज-केशव-माधव-राम-अच्युत-पुरुषोत्तम-गोविन्द-वमन-श्रीश-श्रीकण्ठ-विश्वसाक्षी-नारायण-मधूरिपु-अनिरुद्ध-त्रिविक्रम-वासुदेव-जगद्योनि-शेषतल्पगत-संकर्षण-प्रद्युम्न-दैत्यारी-विश्वतोमुख-जनार्दन-धराधर-श्रीधर-गरुडध्वज-हृषिकेश-पद्मनाभ" यी ३३ नामले पुजा गर्ने र सम्भव भए यिनै ३३ नामले हवन गर्नु राम्रो मानिन्छ । तत्पश्चात काँसको थालमा राखि ३३ वटा मालपुवा राखी काँसैको थाल वा पहेंलो वस्त्रले ढाकी ब्राह्मणलाई दान गर्नाले अनन्त पूण्यफल मिल्ने शास्त्रोक्त कथनछ ।
उल्लेखित विधिनूरूप क्षमता नभए यथाशक्ति एवं भक्तिले गरीएको हरेक दानपूण्य तथा कर्मकाण्ड इश्वरका लागि स्विकार्य रहन्छ ।
श्रीमद्भागवतगीतामा भनिएको छः
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥
यसै पुरुषोत्तम मासमा तीर्थाटन एवम् तीर्थ स्थलमा स्नान र दानकोपनि उत्तिकै महत्व छ । पुरुषोत्तम मासमा यस्तो गर्नाले सबै मनोकामना पूर्णभई यस लोकमा दु:ख, कष्ट नष्टहुने र सम्पूर्ण भौतिक सुख एवम् सुविधाले युक्तभई पछि वैकुण्ठलोकको वास मिल्ने कुरा धर्मग्रन्थहरूमा उल्लेख छ । भगवान् पुरुषोत्तमले स्वयम् भन्नु भएकोछ:
अकाम: सर्वकामो वा योऽधिमासं प्रपूजयेत् ।
कर्मणि भस्मसात् कृत्वा मामेवैष्यत्यसंशयम् ।।
अर्थात् जो प्राणी कुनै इच्छा नराखी वा इच्छा राखेर अधिकमासको पूजा गर्दछन् त्यो आफ्ना सबै लौकिक कर्महरुलाई भास्मीभूत पारेर अन्त्यमा निश्चय ममा नै मिल्दछ अर्थात् मलाई प्राप्त गर्दछ ।
यसैगरी नव विवाहीताले विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने किम्वदन्ती कथाहरूमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता हाम्रो लोक परम्परा रहिआएको छ । यसका साथै मलमासमा श्राद्ध तथा पितृकर्म र शुभ मूर्हुतका कुनैपनि कर्म गर्नु हुदैन जस्तो विवाह, व्रतवन्ध, चूडाकर्म, महारुद्रि, शतचण्डी, गृह प्रवेश, गृहारम्भ, नयाँ कार्यको थालनी, गर्भाधानआदि कर्म निषेध गरिएको छ ।
दानम् वितरणम् प्रोक्तम् मुनिभी: तत्वदर्शीभि:
यस कारण दान र त्यागको ठूलो महत्व मानिएको छ जहाँसम्म हुनसक्छ यथाशक्ति दान तथा सेवा गर्नाले दानीलाई कैले पनि हानि हुँदैन । हामीले आजसम्म गरेका अनैतिक र कुकर्मको बलिदान गर्नु नै त्याग हो । इमानदारीता र मिहेनतले कार्य गरेमा एकदिन आवश्यक लक्ष्य प्राप्ति हुनेछ, आजैबाट अनैतिक एवं कुकर्मलाई त्यागेर सत्मार्गमा लागे हाम्रो जीवन अवस्य सार्थक हुनेछ, अस्तु ।
Liked by: