विश्वकै सर्वप्राचीन धर्म हिन्दू धर्म हो । हिन्दू शब्दको अर्थनै हिंसा देखि रहित भन्ने हुन्छ । जसले मन, कर्म र वचनले कसैको हिंसा गर्दैन वा अपकार गर्दैन त्यो नै वास्तवमा हिन्दू हो । हाम्रो सनातन परम्परामा हामीले यिनै कुराहरुलाई आत्मसाथ गर्दै आएकोले नै हामी आफूलाई हिन्दू स्वीकार गर्दछौ । हिन्दू कुनै जात जाति बिशेष मात्र होइन अहिंसाको पक्षधर जोसुकै पनि हिन्दू हुन सक्छन । विश्वमा जति पनि हिंसाका विरोधी छन् ती सबै हिन्दू हुन् । अहिंसा भनेको कुनै पनि प्राणीलाई मन, वचन वा कर्मले कुनै पनि रूपमा आघात नपुर्याउनु हो । भने हिंसा भनेको यसैको विपरीत आचरण हो । यसर्थ आफूलाई हिन्दू भन्न रुचाउनेहरुले कुनै पनि प्राणीको हिंसा गर्ने कार्यलाई छोडनै पर्दछ । मानवसभ्यताको विकासका क्रममा धर्मका नाममा धेरै विकृतिहरुले हाम्रो समाजमा जरा गाडेको जगजागहेर नै छ । यस्तै विकृतिहरु मध्यको एक हो पशुबलि । वास्तवमा धर्मको आवरणमा देवदेवीलाई खुशीपार्ने नाममा चलिआएको एक जघन्य कुप्रथा पशुबलि, हिदूत्वको भावना बिपरित एवं मानवता विरोधी कार्य भएकाले यस्ता कुप्रथालाई निरुत्साहित गर्दै यसलाई अन्त्य गर्नु पर्नेमा सबै हिन्दुहरुको ध्यान जानु आवश्यक छ ।
पशुबलि हिसांकै एक रुप हो । वास्तवमा हिंसा गर्नु मांसाहारी हिंश्रक जीवजन्तु एवं राक्षसी प्रवृति भएका व्यतिको मात्र कार्य हो । मानवत विवेकशील बुद्दिमान प्राणी हो । दया करुणा, उदारता, सेवा, अहिंसा आदि सद्गुणहरु नै दैवी गुण हुन् । यी गुणहरुलाई नै मानवले अवलम्वन गर्नु र्पदछ । यसरी हेर्दा पशुबलि दिनु एवं मासाहार गर्नु मानवोचित कर्म हुदै होइन । यस्तो कर्मबाट देवदेवी खुशी हुन्छन् भन्ने ठान्नु त महान् भूल हो । खासगरी हाम्रो देश नेपाल एवं भारतमा विशेषत नवरात्र पर्वमा विभिन्न देविका मन्दिरमा देविलाई भोग दिने नाममा पशुबलि गर्ने चलनले ब्यापकता पाएको छ । जसबाट मन्दिरको सौन्दर्य र स्वरूप समेत नष्ट हुदै गइरहेको देखिन्छ । हाम्रो हिन्दु धर्म अनुसार पृथ्वीका सबै प्राणीहरू देवी माताका पुत्र हुन् । तिनै देवीका अगाडि तिनैका सन्तान पशुहरुको भोग दिएर देवी कसरी खुशी हुन सक्लिन् ?
एउटा अबोध सन्तानलाई उसकै आमाका अगाडि भोग दिएर ती आमालाई खुशी पार्छु भन्नुत विष रोपेर अमृत फलाउँछु भने जस्तै हो ।
हाम्रा धर्म ग्रन्थहरुले कुकर्मलाई कहि पनि समर्थन गरेका छैनन् । यद्यपि हिन्दु धर्मका कुनै कुनै तान्त्रिक ग्रन्थहरुमा पशुबलि भन्ने यसको विधान पाइन्छ र यसको तात्पर्य कुनै पनि अबोध प्राणीको हत्या गर्नु भन्ने होइन । हाम्रा धर्मग्रन्थ वा पुराणहरुमा कतिपय कुराहरु साक्षात् नभनेर लाक्षणिक रुपमा भनिएका छन् । ती वचनको वास्तविक तात्पर्यार्थ वा लक्षार्थ के हो भन्ने राम्रो संग बुभ्नु पर्दछ । पुराणहरुमा उल्लेखित पशुबलिको तात्पर्यार्थ भनेको मानिस भित्र रहेको अन्तरिक पाशाविक (पशुमा हुने स्वार्थीपन निर्दयता आदि) दुर्गुणहरुलाई देवदेवीका सानिध्यमा त्याग्नु भन्ने हो । तर आडम्बरी र विकृत मानसिकताका दास व्यक्तिहरुले पुराणको यथार्थलाई नबुझिकन वा बुझेर पनि बुझपचाएर आफ्ना खराब आचरणलाई स्थापित गर्नका लागि वास्तविकतालाई लुकाउने प्रयत्न गरेको पाइन्छ । जुन प्रवृतिले धर्मको वास्तविक स्वरूपलाई आच्छादित गरेको छ ।
हाम्रो धर्ममा कुनै पनि प्राणीको हिंसा, पीडा. आदि आसुरी प्रवृत्तिलाई सर्बदा निषेध गरिएको छ सर्बे भवन्तु सुखिन: अर्थात पृथ्वीका सबै प्राणीहरु सुखी रहुन भनेर उद्घोस गर्ने हिन्दु धर्ममा देखिएका पशुबली जस्ता प्रबृत्तिहररू बस्तुत धर्मानुकुल हुन नसक्ने हुनाले अब प्रत्येक व्यक्ति या हिन्दुले एस्तो कुप्रथाको बिरुद्दमा सशक्त रूपमा लाग्नुपर्ने देखिन्छ । " आत्मन: प्रतिकूलानि परेषां न समाचरेत् " अर्थात् जुन ब्यवहार आफूलाई अरुले गरेमा राम्रो लाग्दैन या मन पर्दैन त्यस्तो ब्यवहार अरु कसै प्रतिपनि गर्नु हुदैन, भन्ने हिन्दू धर्मको महान विचारलाई आत्मसात गर्दै सभ्य एवं समुन्नत हिंसा रहित समाजको निर्माणमा अगाडि बढ्नु पर्दछ । अब कमसेकम मानव समाजको सर्वोकृष्ट विवेकशिल प्राणी भएकोले ती जनावरहरूको पनि रक्षा गर्नु मानवको कर्तव्य हो । विवेकी पुरुषले केवल आफनो मात्र कल्याण नगरेर सम्पूर्ण जगतको कल्याण गर्दछन् । हिंसा गर्नु मानवोचित कर्म नभएकाले अब आइन्दा मन्दिर क्षेत्रलाई पशुबलि निषेधित क्षेत्र घोषित गर्नु पर्दछ । सात्विक सुगन्धित फूल, चन्दन, फलादिद्वारा पूजन गरेर सात्विक भोजन गरेर चाडबाड मनाउनु पर्दछ । यसैमा सबैको कल्याण छ । अस्तु ।
Liked by: