हाम्रो वैदिक सनातन धर्मको मूल आधार वेद हो । व्याकरण शास्त्रका अनुसार वेद शब्द विद् धातुबाट बन्दछ । विद् धातु सत्ता, विचारण, लाभ र ज्ञान अलग अलग अर्थमा रहेको छ । तथापि समग्रमा यी धातुको अर्थको अर्थलाई केलाएर हेर्दा धर्म, अर्थ, काम, मोक्ष चतुर्विध पुरुषार्थ प्राप्तिसँग सम्बन्ध देखिन्छ । यसरी हेर्दा वेद ज्ञान हो, ज्ञानको साधन हो, मानवमात्रलाई मानवीय कर्ममा लगाउने कानुनजस्तो पनि हो, जिउनका लागि आवश्यक शिक्षा हो, मर्न सिकाउने मास्टर पनि हो । मोक्षमार्गको सिँढी पनि वेद हो ।
वेदका मन्त्रको कर्मकाण्डीय प्रयोग पवित्र आचरणले युक्त ब्राह्मणहरूले मात्र गर्नसक्ने भएपनि यसको आचरण तथा ज्ञानपक्ष सम्पूर्णका लागि हो । वेदका अनुसार सम्पूर्ण वस्तुका अधिष्ठातृ देव हुन्छन्, त्यतिमात्र नभएर दिनका, रातका बारका महिनाका देवहरू हुन्छन् त्यसैअनुसार हामी साधना गर्छौं र त हाम्रो जीवन वास्तविक रूपमा जीवन्त छ । हामी श्रावणमा शिवको आराधना गर्छौं । असोजमा पितृको उपासना गर्छौं । कार्तिकमा लक्ष्मीपूजा, तुलसी(दामोदरको उपासना गर्छौं । माघमा स्वस्थानीको पूजा गर्छौं आदि आदि । त्यसैगरी पुस महिनामा कसको आराधना गर्ने उपासना गर्ने त ?
ज्योतिषशास्त्रका अनुसार पुषा महिनामा सूर्य धनु राशिमा हुने र सूर्य ग्रहहरूको राजा पनि भएकाले भाग्यवृद्धि र विभिन्न रोगहरूबाट मुक्तिका लागि सूर्यको उपासना उपयुक्त मानिन्छ । त्यसैगरी पुराणअनुसार पुस महिनाको आइतबारमा भगवान् सूर्यको उपासना गर्ने विधि पाइन्छ । जाडोले गर्दा हामी दिनभर प्रायः घाममै बस्ने गर्दछौं । एकदिन घाम लागेन र कोठाभित्र हिटर एसि वा दाउरा बालेर बस्नुपर्ने स्थिति आएमा हाम्रो बिजुलीको बील बढेर आउँछ, दाउरा खोज्न दुस्ख हुन्छ भने भगवान् सूर्यले हामीलाई तातो दिनुहुन्छ तर कहिल्यै बिल पठाउनुहुन्न । त्यसले गर्दा पनि हामीले सूर्यप्रति कृतज्ञ बन्न सूर्यको उपासना गर्नु उपयुक्त हुन्छ । सूर्यको उपासनाबाट र आयुर्वेदका दृष्टिले सूर्यस्नानबाट कुष्ठरोग चर्मरोग आदि धेरै प्रकारका रोगको उपचार पनि हुने भएकाले सूर्य भगवान्को उपासना गर्नु उत्तम हुन्छ ।
त्यसैगरी वेदविहित चतुर्विध पुरुषार्थमध्ये उत्तम पुरुषार्थ मोक्ष हो । मोक्षको अर्थ भगवत्प्राप्ति पनि हो । मोक्ष वा भगवत्प्राप्तिका लागि कर्म ज्ञान भक्ति आदि उपाय रहेका छन् । त्यसैअनुसार मोक्ष वा भगवत्प्राप्ति रूप पुरुषार्थ सिद्धिका लागि शास्त्रमा बताइएका विविध उपायको विधसन छ । गोपीनीहरूले यसै समयमा कात्यायनीको उपासना गरेर भगवान् कृष्णलाई प्राप्त गरेका थिए । त्यसैगरी आजभन्दा करीब एघार सय वर्षपूर्व दक्षिणभारतको तमिलनाडुको बिल्लिपुत्तुर भन्ने ठाउँमा लक्ष्मीस्वरूपा गोदा माताको अवतार भएको थियो । एकजना विष्णुचित्त नाम भएका आचार्य हुनुहुन्थ्यो । उहाँले फुल तुलसीद्वारा नित्य रङ्गनाथ भगवानको सेवा गर्नुहुन्थ्यो । त्यसै क्रममा एकदिन उहाँ बगैँचामा फुल तुलसी लिन गएको बेलामा त्यस बगैंचामा राजा जनकले सीता मातालाई भेट्टाएजसरी गोदा मातालाई प्राप्त गर्नुभयो र घरमा ल्याएर पालनपोषण गर्नुभयो । गोदाजीले पिताले गरेको नित्य भगवत्सेवाको अवलोकन गरिरहनुहुन्थ्यो । विष्णुचित्त स्वामीजीले रङ्गनाथ भगवान्का लागि माला तयारगरेर कतै जानुभएको थियो ।
त्यसै समयमा गोदाजीले भगवान्लाई राखिएको माला स्वयंले धारण गर्नुहुन्थ्यो र आफू भगवान्का लागि योग्य भएँ कि भइन भन्दै कल्पना गर्नुहुन्थ्यो । यही क्रम दिनदिनै दोहोरिन थाले । कुनै समयमा आफ्नी छोरी गोदाको यो कार्य एकदिन पिता विष्णुचित्तले देख्नुभयो र छोरी यो भगवान्लाई राखेको माला तिमीले लगाइदियौ अब यो माला उच्छिष्ट भयो भनेर त्यो मालालाई कतै राखेर भगवान्का लागि अर्को माला बनाई लगाइदिन लाग्नुभएको थियो । तर भगवान्ले मलाई गोदाले लगाएको माला नै अत्यन्त प्रिय छ, त्यसैले मलाई त्यही माला ल्याइद्यौ भन्नुभयो । विष्णुचित्त स्वामीजीले पनि आफ्नी छोरी सामान्य मान्छे होइनन् लक्ष्मीकै अवतार रहिछन् भन्ने बुझ्नुभयो र त्यही माला ल्याएर लगाइदिन थाल्नुभयो ।
यता गोदा माताले सम्पूर्ण जीवहरुको कल्याणको उपाय सम्झेर आफूलाई गोपीभाव गरेर सम्पूर्ण जीवहरुलाई गोपिनीहरु सम्झँदै धनुर्मासभरि भगवान्को व्रत गरी रंगनाथ भगवान्लाई प्राप्त गर्नुभएको थियो । यसैलाई आधार मानी आचार्यहरुले पुष महिनाभरि भगवान् गोदारंगनाथ भगवान्को आराधना, सत्संग र व्रत गर्ने परम्परा अहिले पनि नेपाल र भारतका समस्त श्रीवैष्णव सम्प्रदायका मन्दिरहरुमा चल्दै आइरहेको छ । त्यसैले निष्काम कर्म गरेर भगवात्प्राप्तिरुप मोक्ष चाहने भक्तहरुका लागि यो महिना उत्तम मानिन्छ ।।
–ज्यो. प. चेतनारायण लामिछाने
Liked by: