Shraddha Ko Mahatwa | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

श्राद्धको महत्त्व भाग- १





ॐ देवताभ्य : पितृभ्यश्च महायोगिभ्य एव च ।
नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः ।।


“श्रद्धया दीयते यस्मात् श्राद्ध तेन निगद्य जुन” श्रद्धाले अर्पण गरिन्छ भने त्यही नै श्राद्ध होर “श्राद्ध वा पितृ यज्ञ: स्यात्” अत: श्राद्ध भनेकै पितृ यज्ञ हो । वैदिक ग्रन्थहरूमा मनुष्यको लागि तीन प्रकारको ऋण बताईएको देव ऋण, ऋषि ऋण र पितृ ऋण । आश्विन महिनाको कृष्ण पक्षमा पितृलाई तृप्त गर्नको लागि मृत्युको तिथिमा श्राद्ध गरेर पितृ ऋणबाट मुक्त हुन सकिन्छ र यो श्राद्धमा तर्पण, ब्राहमण भोजन र दानको विशेष विधान रहेको हुन्छ ।

एवं श्राद्धं बुधः कुर्यात् पित्र्यं मातामहं तथा ।
श्राद्धैराप्यापिता दद्युस्सर्वान्कामान्पितामहाः ॥


विष्णु पुराणमा भनेको छ कि श्राद्धबाट तृप्तभएका पितृगणले शुभाशीष प्रदान गरी समस्त कामना पूरा गरिदिन्छन् । यस लोकमा मनुष्यद्वारा दिईएको हव्य (देवतालाई चढाईने कुरा) वा कव्य (पितृलाई चढाइने कुरा) हृदयदेखिनै चढाउनु श्राद्ध हो र हव्य र कव्य पदार्थ पितृहरू कसरी प्राप्त गर्दछन् ? यो विचारणीय प्रश्न हो ।

जो व्यक्ति मृत्युलाई प्राप्त गर्दछन्, उनीहरूले आफ्नो वायुरूपी शरीर प्राप्त गरेर जो जुन आफ्नो पुण्यात्मा भए स्वर्गमा जान्छन् , कोही आफ्नो पाप कर्म गरेको कारण पापको दण्ड भोग्न नर्कमा जान्छन् र कोही आफ्नो कर्मानुसार स्वर्ग तथा नर्कमा सुख या दु:खलाई भोग्न समायावधि पूर्ण गर्न नयाँ शरीर प्राप्त गरेर पृथ्वीमा जन्म लिन्छन् ।

जबसम्म पितृ श्राद्धकर्ताको तीन पुस्ता भित्र रहन्छन् तव सम्म पितृ स्वर्ग र नर्कमा पनि भोक, प्यास, जाडो तथा गर्मीको अनुभव लिन सक्दछन् तर सत् कर्म गर्न नसकेको कारणले गर्दा आफ्नो भोक, तिर्खा आदि आफै मेट्न असमर्थ हुन्छन् । त्यसैले श्रृष्टिको आदि कालदेखि नै पितृको निमित्त श्राद्धको विधान प्रारम्भ भयो । देवलोक वा पितृलोकमा स्थित पितृगण श्राद्ध कालमा आफ्नो सूक्ष्म शरीरबाट श्राद्धमा आमन्त्रित ब्राह्मणको शरीरमा स्थित भएर श्राद्धको सूक्ष्म भाग ग्रहण गर्दछन् र पुन: आफ्नो लोकमा फर्कन्छन् । श्राद्ध कालमा पितृ लोकको स्वामी यमले प्रेत तथा पितृहरूलाई श्राद्धको भाग ग्रहण गर्नको लागि वायु रूपमा पृथ्वी लोकमा जाने अनुमति दिन्छन् । तर जो पितृ कुनै योनीमा जन्म लिई सकेको भए उसको भाग सार रूपबाट अग्निष्वात, सोमप, आज्यप, बहिर्पद, रश्मिप, उपहूत, आयन्तुन, श्राद्धभुक् र नान्दीमुख नौ दिव्य पितृ जो नित्य एवं सर्वज्ञ छन् र उनै दिव्य पितृहरू ग्रहण गर्दछन् र जीव जुन शरीरमा हुन्छ त्यहाँ उसलाई शुभाशीष तथा उसैको अनुकूल भोग प्राप्ति गराएर तृप्त गर्दछन् । त्यसैले पहिले दिव्य पितृलाई तर्पण गरिन्छ र पछि आफ्नो पितृको ।

यदाहारा भवन्त्येते पितरो यत्र योनिषु ।
तासु तासु तदाहारः श्राद्धन्नेनोपतिष्ठति ॥
यथा गोषु प्रनष्टासु वत्सो विदन्ति मातरम् ।
तथान्नं नेते विप्रो जन्तुर्यत्रावतिष्ठते ॥ (गरुड पुराण)


समस्त जीवधारीहरुको कर्म विचारेर मृत्युपछि उसलाई के गति दिने त्यको निर्णय दिव्यपितृ गर्दछन् । जसका अधिष्ठाता यमराज मानिन्छन् । यमराजको गणना पितृहरुमा गरिएको हुन्छ । चित्रगुप्त, मृत्यु, धर्मराज, काव्यवाडनल, सोम, अर्यमा र यमआदि यिनीहररू यस जमातका सदस्य हुन् ।
महाभारतमा भगवान् श्री कृष्णले आफ्नो परिचय दिंदै भनेका छन् :

अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणामर्यमा चास्मि यमः संयमतामहम् ॥ - गीता

हे धनंजयनागहरूमा म शेषनाग हुँ, जलचरहरुमा म वरुण हुँ, पितृहरुमा म अर्यमा तथा नियमन गर्नेमा म यमराज हुँ । उपरोक्त अर्यमा भनेको पितृहरूका राजा हुन् ।

मनुष्य मृत्यु पश्चात आफ्नो कर्मद्वारा जुन योनिमा जन्म लिन्छ उसलाई श्राद्ध अन्न त्यसै योनिको आहारको रूपमा प्राप्त हुने हुन्छ । पितृको निमित्त ब्राह्मणलाई गराईएको भोजन श्राद्धान्नको रूपमा स्वत: उसलाई पुग्ने हुन्छ । श्राद्धमा पितृको नाम, गोत्र र मन्त्र अथवा स्वधा शब्दको उच्चारणले नै प्रापक हुने हुन्छ, जुन पितृ समक्ष सूक्ष्म रूपले हव्य (देवतालाई चढाईने कुरा) वा कव्य (पितृलाई चढाइने कुरा) पुग्ने हुन्छ । यदि पितृमुक्त भई सकेको भए श्राद्धको पुण्य श्राद्धकर्तालाई नै मिल्दछ, व्यर्थ हुँदैन । क्रमश....



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.